२३ कात्तिक, काठमाडौं । प्रतिनिधिसभा ब्युताउन नेकपा एमालेका निवर्तमान सांसदहरूको हस्ताक्षर संकलन जारी छ । यही कात्तिक २० गतेदेखि हस्ताक्षर संकलन सुरु भएको हो ।
२० जना भन्दा बढीको हस्ताक्षर संकलन भएको भनिएको छ तर, यकिन संख्या सार्वजनिक गरिएको छैन ।
निवर्तमान सांसदहरू जिल्ला–जिल्लामा रहेका र पार्टीको वडा/पालिकास्तरीय कार्यक्रममा समेत व्यस्त रहेकाले काठमाडौंमा उपलब्ध निवर्तमान सांसदहरूले हस्ताक्षर संकलन गरेका छन् ।
एमालेले गत शुक्रबार वडास्तरीय भेला गरेको थियो । यही कात्तिक २५ गते पालिकास्तरीय भेला गर्दैछ । त्यसपछि जिल्लास्तरीय सभा र आगामी मंसिर ६ गते काठमाडौंमा प्रदर्शनको आयोजना गर्दैछ । यी भेला र प्रदर्शनमार्फत एमालेले प्रतिनिधिसभा पुनर्स्थापनाका लागि दबाब दिने नीति लिएको छ । साथै महाधिवेशनको तयारी समेत भनिएको छ ।
नेताहरूका अनुसार सर्वोच्च अदालतमा समेत प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा निवर्तमान सांसदहरू कति जना छन् जस्ता प्रश्न उठेकाले निवर्तमान सांसदहरूको हस्ताक्षर संकलन सुरु गरिएको हो ।
निवर्तमान सांसदहरू निवेदन लिएर अदालत जाने कि प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा छौं भनेर मत प्रकट मात्रै गर्ने भन्ने छलफलमा छन् ।
सर्वोच्च अदालतमा यसअघि नै प्रतिनिधिसभा पुनर्स्थापनाको माग लिएर १६ वटा निवेदन परिसकेका छन् । त्यसउपर छलफल भएर कारण देखाउ आदेश जारी भइसकेको छ ।
प्रतिनिधिसभा गत २७ भदौमा विघटन भएको हो । २३ र २४ भदौमा जेनजी आन्दोलन भएको थियो । आन्दोलनका क्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा दिन बाध्य भएका थिए । त्यसपछि प्रतिनिधिसभाबाट सरकार बन्ने अवस्था नरहेको भन्दै राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटन गरी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरेका थिए । अन्तरिम सरकारले आगामी फागुन २१ मा चुनावको मिति घोषणा गरेको छ । ।
एकातर्फ सरकार र निर्वाचन आयोग तोकिएको मितिमा चुनाव गराउने कार्यमा अगाडि बढिरहेका छन् भने अर्कोतर्फ सरकार गठन र प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेको छ ।
एमालेले भने प्रतिनिधिसभा पुनर्स्थापना हुनुपर्ने बताउँदै आएको छ । यही सन्दर्भमा उसले आफ्ना सांसदहरूको हस्ताक्षर संकलन विगत केहीदिनदेखि जारी राखेको छ । विघटित प्रतिनिधि सभामा एमालेका ७९ जना सांसद थिए ।
प्रतिक्रिया 4