News Summary
Generated by OK AI. Editorially reviewed.- नेता भिम रावल प्रचण्ड, माधव नेपाल नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीमा आबद्ध हुने करिब अन्तिम टुंगोमा पुगेका छन्।
- आज साँझ प्रचण्ड, माधव नेपाल, भिम रावल, प्रकाश ज्वाला, भानुभक्त जोशीबीच सकारात्मक छलफल भएको छ।
- नेपाली कम्युनिस्ट पार्टीले जनता समाजवादी पार्टीका नेताहरुलाई पनि समेट्ने प्रयास गरिरहेको छ।
२३ कात्तिक, काठमाडौं । एमाले पार्टीबाट निष्कासनमा परेपछि ‘मातृभूमि राष्ट्रिय जागरण अभियान’ सुरु गरेका नेता भिम रावल प्रचण्ड, माधव नेपाल नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीमा आबद्ध हुने करिब अन्तिम टुंगोमा पुगेको छ ।
आज आइतबार साँझ भएको छलफलको अनौपचारिक सहमति नभत्केको अवस्थामा केही दिन मै रावल नेपाली कम्युनिस्ट पार्टीमा आबद्ध हुन सक्नेछन् । आइतबार साँझ प्रचण्ड, माधव नेपाल, भिम रावल, प्रकाश ज्वाला, भानुभक्त जोशीबीच छलफल भएको थियो । उक्त छलफल सकारात्मक छ ।
गत साता नै १० दलको एकता घोषणा समारोहमै रावललाई पनि मिसाउने तयारी थियो । तर कुरा धेरै अघि नबढेकोले रावलबारे निर्णय भएको थिएन । अहिले चाहीँ सहमति नजिक पुगेको नेताहरुले बताएका छन् ।
गत वर्ष पुसमा पार्टीको अनुशासन उल्लंघन गरेको भन्दै रावललाई एमालेले कार्बाही गरेको थियो । त्यसपछि उनले राष्ट्रवादी अभियान घोषणा गरेका थिए ।
छलफलमा संलग्न नेपाली काम्युनिस्ट पार्टीका नेता प्रकाश ज्वालाका अनुसार छलफल सकारात्मक दिशामा छ । ‘हामी धेरै समूह र नेताहरुसँग छलफलमा छौं । त्यसैक्रममा भिम रावलसँग पनि कुरा भएको हो’ उनले भने,’ कुराकानी सकारात्मक छ ।’

नेपाली कम्युनिस्ट पार्टीका नेताहरुले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीलाई पनि समेट्न कोसिस गरिरहेका छन् । जसपाका नेताहरुसँग एउटै दलमा समेटिनेबारे कुराकानी चलिरहेको छ । जसपाका एक नेताका अनुसार राजेन्द्र श्रेष्ठ लगायतका नेताहरु एउटै दल बनाउनेबारे अलिक बढी लचक छन् ।
अशोक राई भने पहिले नै कम्युनिस्ट पार्टी छोडेर हिँडेकाले अहिले फेरि कम्युनिस्ट दलमा समेटिन अप्ठेरो मानिरहेका छन् । उनले एमालेसँग विद्रोह गरेर नयाँ दल संघीय सामाजवादी बनाएका थिए । उक्त दलले पछि उपेन्द्र यादवको पार्टीमा एकता गरेको थियो ।
प्रतिक्रिया 4