+
+
Shares

कांग्रेसमा खैलाबैला : संसद पुनर्स्थापनाको हस्ताक्षर थाल्ने इसारा कसको ?

विघटित प्रतिनिधिसभा पुनर्स्थापनाका लागि पार्टीले जारी केन्द्रीय कार्यसमिति बैठकबाट निर्णय ठोस लिनुपर्ने भन्दै दबाब सिर्जनाका लागि तत्कालीन प्रमुख सचेतक श्यामकुमार घिमिरेले हस्ताक्षर संकलन अभियान चलाएपछि कांग्रेसमा आइतबारदेखि थप विवाद चुलिएको छ ।

केशव सावद केशव सावद
२०८२ कात्तिक २४ गते २२:२५

२४ कात्तिक, काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापनाका लागि एमालेले अघि सारेको एजेन्डालाई साथ दिने गरी संस्थापन खेमाको एउटा समूहले हस्ताक्षर संकलन थालेपछि कांग्रेसमा खैलाबैला मच्चिएको छ ।

विघटित प्रतिनिधिसभाका प्रमुख सचेतक श्याम घिमिरेको अगुवाइमा आइतबारदेखि सुरु भएको अभियानले संस्थापन र संस्थापनइतर दुवै समूह तरंगित भएका छन् ।

आसन्न प्रतिनिधिसभा निर्वाचन अघि पार्टीको १५औं महाधिवेशन भ्याइन्छ कि भ्याइन्न भन्ने गलफतीमै डेढ महिना बढी बिताइसकेको कांग्रेसमा अब प्रतिनिधिसभाको पुनर्स्थापनाको विषय पनि विवादको नयाँ मसला बनेको हो ।

विघटित प्रतिनिधिसभा पुनर्स्थापनाका लागि पार्टीले जारी केन्द्रीय कार्यसमिति बैठकबाट निर्णय ठोस लिनुपर्ने भन्दै दबाब सिर्जनाका लागि तत्कालीन प्रमुख सचेतक श्यामकुमार घिमिरेले हस्ताक्षर संकलन अभियान चलाएपछि कांग्रेसमा आइतबारदेखि थप विवाद चुलिएको छ ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको गठन र प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको निष्कर्ष निकालेको थियो ।

कार्यसम्पादन समितिको निष्कर्षका आधारमा न्यायालयको ढोका ढकढक्याउन आफूले ‘सिग्नेचर क्याम्पेनिङ’ सुरुवात गरेको नेता घिमिरेको भनाइ छ । कार्यसम्पादनले सरकार गठन र संसद् विघटन असंवैधानिक र अलोकतान्त्रिक भनिसकेको अवस्थामा केन्द्रीय कार्यसमिति बैठकबाट पुनर्स्थापनाको निर्णय गर्नुपर्ने उनको तर्क छ ।

संस्थापन पक्षले धोबिघाटमा आयोजना गरेको दुई दिने आन्तरिक छलफलमा विशेष अधिवेशनमा जान नसकिने, चुनावलाई प्राथमिकता दिने र आगामी वैशाखमा महाधिवेशन गर्ने ‘बटमलाइन’ तय गर्दै नेताहरूलाई संसद् पुनर्स्थापनाबारे नबोल्न निर्देशन दिएको अवस्थामा घिमिरेले हस्ताक्षर संकलन सुरु गरेका हुन् ।

ललितपुरको धोबिखोला बैठक (११–१२ कात्तिक) मा दिइएको निर्देशनअनुसार संस्थापन पक्षीय अधिकांश नेताहरूले केन्द्रीय कार्यसमिति बैठकमा २१ फागुनको निर्वाचनपछि महाधिवेशन गर्नुपर्ने धारणा राखेका थिए ।

तर, केही संस्थापन पक्षीय नेताहरू समूहको निर्देशनविपरीत चुनाव अघि महाधिवेशनको पक्षमा मुखरित भए भने केही पूर्वसांसद समेत रहेका केही केन्द्रीय सदस्यहरूले संसद् पुर्स्थापनाको पक्षमा धारणा पनि राखे । उनीहरूको धारणालाई व्यक्तिगत धारणाका रूपमा हेरिएको थियो ।

तर, एकाएक निवर्तमान प्रमुख सचेतक घिमिरेले हस्ताक्षर अभियान चलाएपछि कांग्रेसमा थप विवाद चुलिएको छ । महामन्त्री गगनकुमार थापा र केन्द्रीय सदस्य डा. शेखर कोइरालानिकट मानिने पूर्व सांसदहरूले संसद् पुनर्स्थापनाका लागि हस्ताक्षर गर्न अस्वीकार गरेका छन् ।

यस्तै संस्थापन पक्षीय कतिपय सांसदहरूले घिमिरेको अभियानप्रति अनिच्छा देखाएका छन् । झन्डै दुई महिनासम्म प्रतिनिधिसभा पुनर्स्थापना विषयमा मौनता साँधिरहेको कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्कानिकट घिमिरेको अगुवाइमा हस्ताक्षर संकलन सुरु भएपछि अनेक टिका–टिप्पणी भइरहेको छ ।

कतिपयले कांग्रेस पूर्वसत्ता साझेदार नेकपा एमालेको पथमा हिँडेकोसमेत आरोप लगाइरहेका छन् । एकथरिले सिंगापुरमा रहेका सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति खड्का निर्देशनमा नै संस्थापन पक्षीय नेताहरूले हस्ताक्षर संकलन अभियान सुरु गरेको दाबी पनि गरिरहेका छन् ।

तर, कांग्रेस बैठकमा संसद् पुनर्स्थापनाको पक्षमा धारणा राखेका पूर्वसांसद एवम् केन्द्रीय सदस्य दिनेशकुमार यादव उक्त दाबीमा सहमत छैनन् । ‘पार्टीमा बुझाउनका लागि हस्ताक्षर गरिएको हो । संसद् पुनर्स्थापना भए सबै कुराको समाधान हुन्छ भनेर केही माननीय लाग्नुभएको हो,’ उनले भने, ‘सभापति, कार्यवाहक सभापति कसैले पनि सुरु गर्नुस् भनेर भन्नुभएको होइन ।’

कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले संसद् पुनर्स्थापनाको माग पार्टीको आधिकारिक निर्णय नभएको प्रतिक्रिया दिए ।

‘संसद् पुनर्स्थापना लागि हस्ताक्षर संकलन गर्ने हाम्रो आधिकारिक निर्णय होइन र त्यो प्याटर्नमा हामी छलफल पनि गरिरहेका छैनौँ,’ उनले अनलाइनखबरसँग भने, ‘हस्ताक्षर संकलन आधिकारिक होइन, कार्यवाहक सभापतिले पनि आधिकारिक होइन भन्नुभएको छ ।’

एमालेले पनि प्रतिनिधिसभा पुनर्स्थापना लागि हस्ताक्षर अभियान सञ्चालन गरिरहेको छ । सर्वोच्च अदालतमा यसअघि नै प्रतिनिधिसभा पुनर्स्थापनाको माग लिएर १६ वटा निवेदन परिसकेका छन् । अदालतमा त्यस उपर छलफल भएर कारण देखाउ आदेश जारी भइसकेको छ ।

२३ र २४ भदौमा भएको जेनजी आन्दोलनको बलमा अन्तरिम सरकार गठन भएपछि २७ भदौमा प्रतिनिधिसभा भएको थियो । आन्दोलनका क्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली पदबाट राजीनामा दिन बाध्य भएका थिए । अन्तरिम सरकारले २१ फागुनमा प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा गरेको छ ।

एकातर्फ सरकार र निर्वाचन आयोग तोकिएको मितिमा चुनाव गराउने कार्यमा अगाडि बढिरहेका छन् भने अर्कोतर्फ सरकार गठन र प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेको छ ।

महामन्त्री थापाको आपत्ति

संस्थापन पक्षले संसद् पुनर्स्थापनाका लागि हस्ताक्षर संकलन सुरु गरेपछि महामन्त्री थापाले सोमबार सार्वजनिक रूपमै आपत्ति जनाएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् संविधानलाई सही मार्गमा ल्याउने एक मात्र बाटो निर्वाचन भएको बताएका छन् ।

‘२१ फागुनको निर्वाचनबाटै नयाँ संसद् आउने छ । संविधानलाई सही मार्गमा ल्याउने यही एक मात्र बाटो हो, यसमा कुनै अलमल छैन,’ उनले लेखेका छन्, ‘नेपाली कांग्रेस पार्टीको तर्फबाट प्रधानमन्त्रीको उपस्थितिमा सम्पन्न सर्वदलीय बैठकमा पार्टीको यो निर्णय स्पष्ट रूपमा प्रस्तुत गरिसकेका छौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको पनि यही निर्णय हो ।’

महामन्त्री थापाले कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा भइरहेको अलमल प्रतिनिधिसभा पुनर्स्थापनाको विषयमा नभएको पनि प्रष्ट्याएका छन् ।

‘नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा अहिले भइरहेको अलमल यो विषयका सन्दर्भमा होइन । यस सन्दर्भमा हामी स्पष्ट छौँ,’ उनले भनेका छन्, ‘निर्वाचनअघि अधिवेशन गर्नुपर्छ, किनकी अधिवेशनबाट आउने नेपाली कांग्रेसको नीति र नेतृत्वले मात्र हामीलाई निर्वाचन लड्न योग्य बनाउँछ भन्ने हाम्रो अडान हो ।’

महामन्त्री थापाले २१ फागुनमा प्रतिनिधिसभा निर्वाचनबारे द्विविधा नराख्न पनि भनेका छन् । ‘अहिलेको छलफल र अलमल यही विषयमा मात्र हो, २१ फागुनको निर्वाचनका बारेमा होइन,’ उनको भनाइ छ, ‘नेपाली कांग्रेसले २१ फागुनको निर्वाचनमा भाग लिन्छ मात्र होइन, यसलाई सफल पनि बनाउँछ । यसमा कसैले पनि द्विविधा नराखौँ ।’

सन्तुष्ट छैनन् कार्यवाहक सभापति खड्का

तत्कालीन प्रमुख सचेतक घिमिरेले विघटित प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा औपचारिक निर्णयका लागि दबाब दिन हस्ताक्षर अभियान सञ्चालन गरेपछि कार्यवाहक सभापति खड्काले असन्तुष्टि जनाएका छन् ।

उनीनिकट एक केन्द्रीय सदस्यले हस्ताक्षर संकलन अभियान सुरु गरेकोप्रति कार्यवाहक सभापति खड्काले नेता घिमिरेलाई सचेत गराएको पनि बताए ।

‘पूर्ण दाइलाई जानकारी नदिएरै घिमिरेजी हस्ताक्षर गराउन लाग्नुभएको रहेछ, कार्यवाहक एकदमै एग्रिसिभ्ली रिसाउनुभएको थियो,’ तीन नेताले भने, ‘मैले किन गरेको भनेर गाली गरिसकेँ भन्नुभयो ।’

ती नेताका अनुसार पूर्वप्रमुख सचेतक घिमिरे कार्यवाहक सभापतिलाई नै बुझाउनका लागि हस्ताक्षर संकलन गरिएको जवाफ दिएका छन् । ‘उहाँ (घिमिरे) ले तपाईंहरूलाई नै बुझाउनका लागि गरेका हौँ । पार्टीको बैठकमा धारणा राख्नलाई गरेका हौँ भन्नुभए छ,’ संस्थापन पक्षीय ती नेताले भने ।

केन्द्रीय कार्यसमितिमा प्रतिनिधिसभा निर्वाचनमै जाने झन्डै–झन्डै सर्वसम्मत जस्तो देखिएका बेला अचानक हस्ताक्षर अभियान संकलन सुरु हुँदा आफू अचम्मित भएको संस्थापन पक्षकै अर्का नेताको प्रतिक्रिया छ ।

‘केन्द्रीय समितिमा चुनावमै जाने लगभग–लगभग सर्वसम्मत जस्तो देखिएको थियो,’ पार्टीका तर्फबाट मन्त्रालयको जिम्मेवारी सम्हाली सकेका ती नेताले भने, ‘बैठक तीन दिन ग्याप हुँदा कोसँग बस्नु भयो र सल्लाह भयो, मलाई त केही थाहा पनि भएन । हामी नै अचम्म छौँ ।’

पार्टीमा थप विवाद सिर्जना हुने गरी हस्ताक्षर अभियान संकलनमा सक्रिय देखिएका पूर्वप्रमुख सचेतक घिमिरेले पुनर्स्थापनाको पक्षमा धारणा राख्नेहरूले यो अभियान थालेको बताए ।

महामन्त्री थापानिकट एक सांसदले आफूलाई पूर्वप्रमुख सचेतक घिमिरे र पूर्व सचेतक सुशीला थिङले हस्ताक्षर गर्न बोलाए हस्ताक्षर नगरेको जानकारी दिइन् । ‘श्याम घिमिरे र सुशीला थिङले बोलाउनुभएको थियो । हामी हस्ताक्षर नगर्ने भन्ने छ,’ ती नेतृले भनिन् ।

यस्तै कांग्रेसमा छुट्टै विचार समूहको नेतृत्व गर्दै आएका नेता कोइरालानिकट पूर्व सांसदले पनि हस्ताक्षर नगर्ने जानकारी दिए । ‘अनअफिसियल किन सिग्नेचर गर्नु ?  सिग्नेचर साह्रै सस्तो भयो के,’ उनले भने, ‘अनअफिसियल गराइरहेका छन् । पार्टीको बैठक चलिरहेको छ । बैठकले निर्णय गर्नु परेन ?’

केन्द्रीय कार्यसमिति बैठकले औपचारिक रूपमा निर्णय गरेको अवस्थामा भने संसद् पुनर्स्थापनाका लागि हस्ताक्षर गर्ने उनको भनाइ छ ।

प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा हस्ताक्षर नगरेका संस्थापन निकट एक सांसदले केन्द्रीय कार्यसमिति बैठकबाट हुने निर्णय मानिने बताइन् । ‘पार्टी बैठक चलिरहेको छ । पुनर्स्थापनाको कुरा पनि उठिरहेको छ । निर्णय गर्ला नि ।,’ उनले हस्ताक्षर संकलनबारे अनभिज्ञता प्रकट गर्दै भनिन्, ‘मलाई हस्ताक्षर संकलन भइरहेको बारेमा मलाई जानकारी नै छैन ।’

पार्टीमा थप विवाद सिर्जना हुने गरी हस्ताक्षर अभियान संकलनमा सक्रिय देखिएका पूर्वप्रमुख सचेतक घिमिरेले पुनर्स्थापनाको पक्षमा धारणा राख्नेहरूले यो अभियान थालेको बताए ।

‘हामीलाई सही लागेको बाटो एमालेलाई पनि लाग्न सक्छ । पुनर्स्थापना गर्नुपर्छ भन्ने साथीहरुले आफैं हस्ताक्षर अभियान थालेका हौं,’ उनले भने,’ यो अभियान थाल्नका लागि हामीलाई अरू कसैले भनेको होइन ।’

लेखक
केशव सावद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?