+
+
Shares

मर्यादाहीन माननीय (भिडियो)

मर्यादित भूमिकामा रहने पद भएकाले प्रदेश प्रमुख, मन्त्री, सांसदहरूलाई ‘माननीय’ शब्द प्रयोग गरिन्छ । तर उनीहरूले मर्यादाहीन गतिविधि गरेर ‘माननीय’ पदकै बदनाम गरेका छन् ।

दुर्गा खनाल शैलेन्द्र महतो दुर्गा खनाल, शैलेन्द्र महतो
२०८२ कात्तिक २५ गते २१:४५

२४ कात्तिक, काठमाडौं । नेपालको राजनीतिक रंगमञ्चमा प्रहसनको खाँचो हुँदैन । एउटा घटनाक्रमको मञ्चन भइसक्दा अर्को तयार भइहाल्छ । त्यही शृङ्खलामा सोमबार बिहान अर्को प्रहसन देखियो- मधेशका मुख्यमन्त्रीको नियुक्ति । जुन प्रहसनको नायक बनिन्- प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी, सहनायक बने एमालेबाट मुख्यमन्त्री बनेका सरोजकुमार यादव ।

मञ्चको आवरणमा राजनीतिक नाच नाच्ने यिनीहरू देखिएपछि यो प्रहसनको केन्द्रमा अनेक राजनीतिक पात्र जोडिएका छन् । जसले लोकतान्त्रिक प्रक्रिया र मधेशमा पछिल्लो समय चुलिँदै गएको असन्तोषमाथि अर्को मसला थपिएको छ ।

नेपालको संसदीय गणितको खेलमा हुने यस्तै अप्रिय घटनाहरूले संसदीय प्रणालीप्रति नै प्रश्न उठाएका छन् । जसले हुर्किँदै गरेको संघीयताको जगलाई नै कमजोर बनाउन मलजल गरेको छ ।

मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले आफ्नो कर्मका कारण पद गुमाइसकेकी छन् । सरकारको सिफारिसमा राष्ट्रपतिले उनलाई पद मुक्त गरिसकेका छन् । तर उनको कर्मका कारण सिर्जित मधेशको तनाव भने शान्त भएको छैन ।

मंगलबार मधेश प्रदेशका ७४ जना सांसदहरूले सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् । एउटा अर्को रिटमा नवनियुक्त मुख्यमन्त्रीलाई काम गर्नका लागि सर्वोच्चले रोक लगाएको छ ।

उता एमालेबाट निर्वाचित सभामुख रामचन्द्र मण्डलको राजीनामा माग गर्दै अन्य दलका कार्यकर्ताहरू मंगलबार पनि सडकमा उत्रिएका छन् ।

होटलमा शपथ खाएका मुख्यमन्त्री सरोजकुमार यादवले पदभार ग्रहण गरेका छन् । तर बाहिर तनाव उत्पन्न भएको छ । अहिले पनि तनाव जारी छ । नेताहरू आफ्ना कार्यकर्ताहरू लिएर विरोधमा उत्रेका छन् ।

राजनीतिक असहमति हुँदा विरोध हुनु स्वाभाविक हो । तर विरोध उग्र बनाउने र आफ्नै मर्यादा भुलेर नेताहरू उत्रिने गरेका छन् ।

यस्तै दृश्य अहिले मधेशमा देखिएको छ । मधेशमा चुलिएको राजनीतिक तनावको मुख्य शिकार भने कर्मचारी र प्रहरी भएका छन् । उनीहरूमाथि हातपात र कुटपिटमा प्रदेशको शासकीय भूमिकामा रहँदै आएका प्रदेश सांसद र नेताहरू नै संलग्न भएका छन् ।

उनीहरूले सोमबार मुख्यमन्त्री नियुक्तिको विरोधमा भएको प्रदर्शनका क्रममा गरेका गतिविधिले नेता र सांसदहरूको आफ्नै मर्यादाकै खिल्ली उडाउने खालको छ ।

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधान र पदीय मार्यादा विपरीत होटलमा लगेर नवनियुक्त मुख्यमन्त्रीलाई शपथ गराएकी थिइन् । तर उनको कदमको विरोध गर्ने नाममा राजनीतिक दलका सांसद् र नेताहरूले समेत आफ्नो मर्यादा भुले ।

विरोध गर्ने नाममा उनीहरू मधेश प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्री कार्यालय पुगेर कर्मचारी कुटे । प्रहरीमाथि हातपात गरे । राष्ट्रिय झण्डा फाले । यस्तो हर्कत गर्ने को-को थिए ? हामीले केही फुटेजहरू मार्फत् प्रतिनिधिमुलक पात्रहरूलाई केलाएका छौं ।

ती फुटेजहरूका आधारमा मधेश भवन भित्रको तोडफोडमा संलग्नमध्ये एक हुन्- राजकुमार गुप्ता । उनी हाल जसपा नेपालबाट प्रदेश सभा सांसद् छन् ।

विरोधी समूहको नेतृत्व गर्दै मुख्यमन्त्रीको कार्यालयभित्र छिरेर तोडफोडमा संलग्न भएको देखिन्छ । राजकुमार गप्ताले टेबुलमा रहेको सजावट फूलको गमला तोडेको दृश्य देखिन्छ । उनले कार्यालयमा तालाबन्दी गर्नका लागि ताला ल्याउनका लागि फोन मार्फत् निर्देशन दिएको पनि देखिन्छ ।

उनीसँगै समूह बनाएर हिँडेका अर्का व्यक्ति छन्- वीरेन्द्र सिंह । उनी कांग्रेसबाट प्रदेश सांसद्‌ छन् । उनी यसअघि मधेश प्रदेशका मन्त्री समेत भइसकेका व्यक्ति हुन् ।

कांग्रेसका प्रदेश सांसद्‌ रहेका वीरेन्द्र सिंहले राष्ट्रिय झण्डा फाले । कार्यालय तोडफोड र राष्ट्रिय झण्डा फालेको भिडियो सहितको समाचार बाहियो । अनि कांग्रेस प्रदेश सांसद्‌ वीरेन्द्र सिंहले आफूले झण्डा जोगाएको भन्दै उल्टै प्रतिवाद गरेका छन् । जबकी उनले झण्डा फालेको स्पष्ट देखिन्छ ।

सिंहसहित विरोधमा संलग्न हुने अर्का व्यक्ति थिए, अनिरुद्धकुमार सिंह । उनी जसपा नेपालबाट सांसद्‌ छन् ।

प्रदेश सांसद्‌हरू नै तोडफोडमा उत्रिँदा कर्मचारीले सामान जोगाउन खोजे । तर उल्टै उनीहरूले कर्मचारीमाथि हातपात गरे । समान जोगाउन खोज्दा कर्मचारी कुटपिट गर्ने एक व्यक्ति हुन्, लोसपाका नेता जितेन्द्र झा । उनीसँग लोसपाका पूर्व प्रदेश सांसद्‌ परमेश्वर साह पनि संलग्न थिए । साह र झाले कर्मचारीमाथि टाउकोमा ताकेर कुटेको देखिन्छ । कार्यालयको कम्प्युटर जोगाउन खोज्ने कर्मचारीबाट कम्प्युटर खोसेर तोडफोड गर्ने प्रयास गरेका छन् ।

तोडफोड र हातपातमा संलग्न अर्की उग्र सांसद्‌ हुन्- रुपाकुमारी यादव । उनी लोसपाबाट प्रदेश सांसद्‌ मात्र होइन, प्रदेश सभाको महिला बालबालिका तथा सामाजिक न्याय समितिकी सभापति पनि छन् । उनी कार्यालय भित्र र बाहिर दुवै स्थानमा तोडफोडमा संलग्न थिइन् ।

उनले मुख्यमन्त्रीको कार्यालय भित्र मात्र होइन मधेश भवन छिर्न गेटमा प्रहरीमाथि हातपात गरेको भिडियो फुटेजमा देखिन्छ । सांसद्ले नै हातपात गरेपछि केही प्रहरी भवनभित्र छिर्छन् । केही बाहिर गेटमा बसेर सुरक्षा दिन कोसिस गरेका छन् ।

प्रदेश प्रमुखको आवास बाहिर स्वागतका लागि राखिएका गमला र गाग्री फुटाउने अर्की सांसद् हुन्-ललिता पासवान विद्रोही । उनी जसपा नेपालबाट प्रदेश सांसद्‌ छिन् । उनले प्रदेश प्रमुख कार्यालयको गेटमा राखिएको सुमित्रा सुवेदी भण्डारीको नेमप्लेपट तोडेको स्पष्ट देखिन्छ ।

पासवानलाई नेमप्लेट फोड्नका लागि लोसपाका नेता पप्पु चौधरीले साथ दिएका छन् । यसबाहेक अन्य धेरै नेता र कार्यकर्ताहरू तोडफोडमा संलग्न छन् ।

शासन सत्ता चलाउने, विधि निर्माण गर्ने भूमिकामा रहेका राजनीतिक नेताहरू नै यस्तो हर्कतमा उत्रिनु लज्जाजनक अवस्था हो ।

मर्यादित भूमिकामा रहेन पद भएकाले सांसद्‌हरूलाई संसद्‌मा ‘माननीय’ शब्द प्रयोग गरिन्छ । तर उनीहरूले मर्यादाहीन गतिविधि गरेर माननीय पदको बदनाम गरेका छन् ।

मधेश मामिलाका जानकार इन्दुशेखर मिश्रले मुख्यमन्त्री प्रकरणमा भइरहेका घटना र त्यको प्रतिक्रियाको विरोध शैली ठीक नभएको बताए । ‘संवैधानिक पदमा बसेर प्रदेश प्रमुखले बिरामी भएर काठमाडौं जान्छु भनेर मुख्यमन्त्री नियुक्ति र होटलमा शपथ ग्रहण गराउनु भयो, यो ठीक भएन’ उनले भने,’संविधानको धाराको नाममा क्रिया नै गलत भयो । त्यसको प्रतिक्रिया स्वरुप प्रदेश सांसदहरूले व्यवहार भयो त्यो पनि उचित भएन ।’

उनका अनुसार जनप्रतिनिधि पनि संविधानबाट बाँधिएको हुन्छ । ‘संविधान र झण्डाको शपथ लिएर प्रदेशसभाको सदस्य छन्,’ उनले भने,’यस्तो गतिविधि आम जनताले गर्दा प्रहरीले पक्रन्छ ।’

राजनीतिक विश्लेषक रोशन जनकपुरीले प्रदेशमा गैरराजनीतिक व्यक्तिहरू हुँदा राजनीतिक संस्कार नै बिर्सेको बताए । ‘विभिन्न हतकण्डा अपनाएर जसरी पनि सदनमा पुगिरहेका छन् । राजनीतिक संस्कारको कमी छ,’ उनले भने,’जसरी प्रदेश प्रमुख मुख्यमन्त्री नियुक्ति गर्ने तरिका ठीक भएन । आक्रोशमा जसरी तोडफोड भयो । त्यहाँ कुनै संस्कार देखिएन ।’ उनले कर्मचारी प्रहरी कुटपिट गर्ने सार्वजनिक सम्पत्ति तोडफोड गर्ने काम गलत भएको बताए ।

अहिले आफूहरूमाथि हातपात गर्नेहरूमाथि कारबाही गर्नुपर्ने कर्मचारीहरूले माग गरेका छन् ।

कर्मचारीहरूले कार्यालय समयमा काम गरिरहेका बेला प्रदेश सांसद्, पूर्व सांसद्‌हरूले आफूहरूमाथि हातपात गरेको भन्दै कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय धनुषामा ज्ञापन पत्र बुझाएका थिए । कर्मचारीहरूले बुझाएको पत्रका आधारमा मंगलबार प्रशासन कार्यालयले जिल्ला प्रहरी कार्यालयलाई आवश्यक कारबाही गर्न पत्र पठाएको छ । यता ईन्जिनियर दिपेन्द्रकुमार साहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमै कारबाहीको माग गर्दै पत्र दर्ता गरेका छन् ।

आफ्नो पदीय गरिमा विपरीत काम गर्ने प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त भइसकेकी छन् । तर विरोधका नाममा फौजदारी प्रकृतिक काममा उत्रिने सांसद्‌ र नेताहरूलाई कसले कारबाही गर्ने ? कसले जिम्मेवार बनाउने ?

लेखक
दुर्गा खनाल

खनाल अनलाइनखबरका समाचार सम्पादक हुन् ।

शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?