२६ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका तर्फबाट विघटित प्रतिनिधिसभामा प्रमुख सचेतक रहेका नेता श्यामकुमार घिमिरेले संसद् पुनर्स्थापनाका लागि सुरू गरिएको हस्ताक्षर अभियानबारे पार्टीलाई जानकारी गराएका छन् ।
सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा उनले बुधबार केन्द्रीय सदस्यको हैसियतमा धारणा राख्ने क्रममा आफूले संसद् पुनर्स्थापनाका लागि सुरू गरेको हस्ताक्षर अभियानबारे जानकारी गराएका हुन् ।
नेता घिमिरेले केन्द्रीय कार्यसमिति बैठकमा बुझाउनका लागि मात्रै पूर्वसांसदहरूको हस्ताक्षर संकलन गरिएको र अन्यत्र कतै पनि प्रयोग नगरिने प्रष्टीकरण दिए ।
‘हामी केही साथीहरू बसेर एउटा निष्कर्ष निकालेर अभियान सुरू गर्यौँ । चालु केन्द्रीय समितिमै बुझाउने गरी यो गरिएको हो,’ उनले भने, ‘यो केन्द्रीय समितिले नै निर्णय गरोस् भनेर बुझाउने कुरो थियो । हामीले यसको कतै अन्यत्र प्रयोग गर्न खोजिएको होइन । म यो कुरा प्रष्ट गर्न चाहन्छु ।’
घिमिरेले सभापति, कार्यवाहक सभापति र महामन्त्री कसैको पनि निर्देशनमा हस्ताक्षर अभियान सुरू नगरिएको पनि प्रष्टीकरण दिए । ‘यो सभापतिको निर्देशनमा, कार्यवाहक सभापतिको निर्देशनमा, महामन्त्रीहरूको निर्देशनमा कसैको पनि निर्देशनमा यो काम भएको होइन,’ उनले भने, ‘म यसमा प्रष्ट हुन आग्रह गर्न चाहन्छु । विभिन्न किसिमका भ्रमहरू सिर्जना गरिएको छ । आरोप–प्रत्यारोपहरू पनि भएका छन् मलाई थाहा छ । तर, यो कसैको सहमतिमा, निर्देशनमा भएको कुरा होइन ।’
पूर्व प्रमुख सचेतक घिमिरेले हस्ताक्षर अभियान सुरू गर्दा केही नेताहरू आफूसँग रिसाएको पनि गुनासो गरे । उनले हस्ताक्षर संकलन गर्दा कसैले रिसाउनु पर्ने कारण नभएको पनि जिकिर गरे ।
‘केही सांसदहरू चिया खानलाई जम्मा भयौँ, जम्मा हुँदाखेरि ल यो बाटोबाट जाउँ न भनेर सुरूवात गरेको हो,’ घिमिरेले भने, ‘त्यो पनि पार्टीलाई आग्रह गर्न अनुरोध गर्न गरेको हो । मसँग केही नेताहरू रिसाउनु पनि भयो । रिसाउनु पर्ने कुनै कारण छैन ।’
प्रतिक्रिया 4