+
+
Shares

आत्मभर्त्सना सबैभन्दा निकृष्ट तहको आत्मप्रशंसा

जीवनमा आफ्ना आदर्श र सत्यको अनपेक्षित विघटन हुँदा, आफ्ना प्रयत्नलाई प्रारब्धले विफल तुल्याउँदा मानिसको आफ्नै व्यक्तित्वको क्षय हुन्छ। हामीले पढ्ने, देख्ने गरेका आत्मालाप, आत्मभर्त्सना परिस्थितिका प्रतिकूल क्षणका आवाज हुन्।

कञ्चन कुमार बस्नेत कञ्चन कुमार बस्नेत
२०८२ कात्तिक २६ गते १८:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मानिसको जीवन सामान्यतया बाल्यकालदेखि चोलोअवधिसम्मको क्रमिक विकास र कर्तव्य सम्पन्नतामा आधारित हुन्छ।
  • निराशावादी र शून्यवादी लेखक तथा अनुयायीहरूले जीवनमा निराशा र शून्यताको भाव फैलाउने कृत्रिम रोग सिर्जना गरेका छन्।
  • स्वयंभर्त्सना निराशावादी किशोर र नवयुवाहरूमा देखिने आत्मद्रोह र आत्मप्रशंसाको निकृष्ट रूप हो जसले जीवनको अर्थहीनता बढाउँछ।

सामान्य जीवनको रूपरेखालाई यी वाक्यहरूमा अभिव्यक्त गर्न सकिन्छ- बालककालमा मानिस खेलबाडमा आप्लावित हुन्छ, किशोरकालमा जीवनप्रतिका आफ्ना अपेक्षाहरू झाङ्गिन थाल्छन्, युवावयमा ती झांगिएका आशा-अपेक्षाहरूको छाँटकाँट हुन्छन्, त्यसपछिको समय आफ्नो सामर्थ्य र सीमाको बोधको हो, अन्ततः केही कर्तव्यहरू सम्पन्न गरिसके पश्चात् मनुष्य चोलाको अन्त्य हुन्छ।

असल जीवन भन्नु नै यसप्रकारको सामान्य जीवन हुन जान्छ होला। जीवनका आनन्दलाई सहजतापूर्वक स्वीकार गर्दै, दुःख दैन्यका समयमा दृढ रहनु असल तथा सामान्य जीवनको प्राथमिक विशेषता हो। यद्यपि यी शब्दत: उल्लेख गरिए भन्दा अत्यन्त कष्टकर छ, त्यसलाई जीवनमा उतार्नु। कसैको जीवनमा त झन् ठूला–ठूला कर्तव्यको भार हुन्छन्।

तर यस रूपरेखामा विस्तारै एउटा रोगले क्रमभङ्गता ल्याएको छ। शुरू–शुरू देख्दाखेरि अत्यन्त संयोगिक लाग्ने तर विस्तारै मानिसको अविराम अङ्ग बन्न पुगेको छ यो रोग। यो रोग कृत्रिम हो, जसलाई मानिसले निर्माण गरेर व्यवसाय बनाएको छ। यस रोगका निर्माताहरू हुन्: निराशावादी, शून्यवादी लेखक लेखिकाहरू र यिनका अनुयायी।

संज्ञा जे दिए नि भयो, यस्ता लेखक र यिनका अनुयायी सस्तो भावनाको भाषिक बोझको पहाडमा निराशाको सारांश प्रस्तुत गर्छन्।

लोकलाजलाई अत्यन्त ख्यालमा राखेर, अरूको परिश्रमले आर्जन गरेको इज्जत र प्रतिष्ठालाई सम्मान गरेर नाम चाहिं उल्लेख नगरौं। त्यसमाथि समयविशेषको रोग भएकोले सिङ्गो समयलाई सामान्यीकृत गरेर सम्बोधन गर्दा उपयुक्त होला।

हिटलरले आफ्नो आत्मकथाका आरम्भिक अध्यायहरूमा कतै लेखेका छन्- राजनीति गर्न इच्छा भएका युवा पात्रहरूले तीस वर्षको उमेरसम्म समाजको अध्ययन गर्नुपर्छ। शायद यस्तै आशयको एउटा वाक्य छ उनको। यस कथन पछाडिको निहितार्थ भने बडो महत्वपूर्ण छ।

केही मानिसहरू किशोरकालदेखि नै राजनीतिमा अत्यन्त अभिरुचि राख्ने गर्दछन्। उनीहरू राजनीतिक प्राणी नै बन्न पुग्छन्। यद्यपि त्यो समयको अभिरुचिमा बोध कम, उत्साह अधिक हुने गर्छ। त्यसैले उनीहरूको असंयत ऊर्जाले भन्ने गर्छ कि समाज परिवर्तनको लागि मभन्दा उपयुक्त पात्र इतिहासले छनोट गर्दैन। तर उसको परिवर्तनको आधार के हुन्छ त ?

वर्तमान व्यवस्थाको विरोध र सो व्यवस्थाभन्दा भिन्न समाजको काल्पनिक विचारधारा। समय बित्दै जाँदा, परिवर्तनको नाममा अराजकता र अव्यवस्था बढ्दै जाँदा उसले विस्तारै आफ्नो लोकलाई बुझ्दै जान्छ। आत्मगत रूपमा इमानदार भए आफ्नो विगतलाई सम्झेर पश्चात्ताप पनि गर्ला।

विषय राजनीतिको होस् कि साहित्यको कि विज्ञानको, असंयत ऊर्जाका आफ्नै दोषहरू हुन्छन्। कहिलकाहीं त अत्यन्त बीभत्स र अमानवीय पनि। लेखकको सन्दर्भमा पनि यही कुरा लागू हुन जान्छ।

मानिसका सबैभन्दा अभिमानयुक्त चाहनाहरूमा ‘अरूभन्दा पृथक् देखिने’ चाहना सबैभन्दा निर्घिनी हुन्छ। तर अरूभन्दा पृथक् देखिन चाहने लोभको पनि यौटा आधार त हुन्छ। परम्परा या समकालका कुनै वञ्चिति अथवा अभावको पूर्ति गर्न पृथकताको चाहना राख्नुपर्ने हुन सक्छ। परम्परा या समकालका कुनै दोषको उपचार गर्न पनि पृथकताको चाहना राख्नुपर्ने हुन्छ। तर केवल चाहना मात्रले अभिप्रेरित हुनु समाजको स्थायित्वलाई बिथोल्ने क्रिया हुन जान्छ।

कैशोरका आवेगहरूमा लेखक सोच्दछ कि म नवीन प्रयोग, योजना र प्रणिधानको साथ स्वत्वको नयाँ सूत्रपात गर्छु। यद्यपि यस स्वत्वको कुनै लेखकीय मूल्य हुँदैन यदि उसको स्वत्व केवल प्राच्यको विरोध र निषेधमा अडेको छ भने। स्वत्व विरोध र निषेधमात्रको गर्भबाट जन्मिंदैन, यो त गतिशील सिर्जनवृत्तिबाट जन्मिन्छ।

स्वयम् लेखकले पनि खोज्नै पर्दैन, सृजनापन्थमा उपयुक्त अवसरमा मिलिहाल्छ। तर विना कुनै प्रेरणा र अर्थ, स्वैराचारको आवेगमा फसेर किशोर र नवयुवकहरू लहडको भरमा निराशावाद र शून्यवादको बाटो समात्न थाल्दछन्। मानिस र समाजको मान्यताको विपरीत धारमा पौडिएर उनीहरू जीवनको शून्यता र अर्थहीनताको अथम् गनगन गरिराख्छन्।

आत्मभर्त्सना: आत्मगौरवको अप्रत्क्षय बयान

उपशीर्षक अलिकति अनौठो लाग्यो होला। भारतमा प्रसिद्ध शायर जावेद अख्तरले कुनै अन्तर्वार्तामा भनेका छन्- ‘जसरी मानिसले आफ्नो सुखमा घमण्ड गर्नुहुँदैन, त्यस्तै गरी आफ्नो दुःखमा पनि घमण्ड गर्नुहुँदैन।’

आफ्नो दुःखमा घमण्ड गर्ने प्रवृत्ति अवलोकन गर्नलाई बडो सूक्ष्म दृष्टि चाहिन्छ। मनोवैज्ञानिक सत्यलाई उद्घाटन गरिदिने उपन्यास या चलचित्र हेर्नुभयो या स्वाध्याय (आफ्नो अध्ययन) गर्दाखेरि अचम्मित हुन सकिन्छ कि सुखको अभिमानको तुलनामा दुःखको अभिमान विपुल हुन्छ।

माथि उल्लिखित निराशावादी किशोर र नवयुवाहरूको आत्मभर्त्सना हेर्दा अनौठो, कहिलेकाहीं त पीडादायी देखिन्छ। आफ्ना व्यक्तित्वका सर्वतत्त्वलाई घृणाको दृष्टिले हेर्ने, निरन्तर भर्त्सना गरिराख्ने व्यक्तिहरूको लागि यस्ता क्रिया अप्रतिस्थाप्य बनेका हुन्छन्।

आत्म भर्त्सनाबाट नै आफ्नो अक्षमता र वेदनाको आगो भुलाउन सजिलो हुन्छ। शून्यता, निराशा र विफलताका वृत्तान्त उनीहरूको विदीर्ण जीवनलाई क्रियाशील बनाउने दिग्भ्रान्त संवृति हो। आत्मभर्त्सनामा आत्मद्रोही व्यक्ति परामुखापेक्षी हुन्छ, ऊ सहानुभूतिको अपेक्षा गर्दछ।

एक वाक्यमा सङ्क्षेप गर्ने हो भने- आत्मभर्त्सना सबैभन्दा निकृष्ट तहको आत्मप्रशंसा हो।

किशोर भएतापनि, यौवनको आरम्भिक खुड्किलामा टेक्दै गरे तापनि उनीहरू जीवनका केस्राकेस्रा, रेसा–रेसा बुझेको छु भनेर वाक्ताण्डव मच्चाउँछन्।

सस्तो भावनाराशिमा आकण्ठ डुबेर प्रेमचिन्तन गर्नु उनीहरूको अर्को चरित्र हो। यद्यपि जीवनका वास्तविकता भने अर्कै देखिन्छ। प्रेमलाई जीवनको दुष्कर र अर्थहीन कुरा मानिराख्दा स्वर्गीय लेखक इन्द्रबहादुर राईले भने अर्कै कुरा भनेका छन्- “प्रेम माउ भावना हो, यसलाई चलाएपछि अन्य सबै भावनाहरू यसै सलबलाउँदछन्।’

तथापि किशोरहरू सांसारिक प्रेमको अवमूल्यन गर्न छाड्दैनन्। यद्यपि ती किशोरहरूको अवमूल्यनयुक्त विचारले कुनै आश्चर्य प्रदान गर्दैनन्, स्वाभाविक लाग्छन्। अपनत्वलाई कुल्चिएर हिंड्ने मानिसले अरू मान्छेको भावना तथा आन्तरिक मूल्यलाई पहिचान गर्न सक्दैन।

त्यस्तै दृष्टान्तको लागि अर्को पक्ष हेर्दा हुन्छ। यस्ता किशोरहरू परम्पराको, साहित्यको अवमूल्यन गर्नमा एकदम चाख लिन्छन्। झर्कोलाग्दो स्वरमा स्वर्ग र नर्कको अनभिप्रेत/अनर्गल अर्थहरू निकालिरहेका हुन्छन्। निषेध नै निषेधले बनेका घरमा निवास गर्नेहरू स्वर्गाधिकारी बन्न सक्दैनन्। कारण, स्वर्गको अधिकृत निर्णायक तत्त्व हुन्छ- जीवनको सदुपयोग।

निराशावादीहरूको पाखण्ड

त्यसो त उनीहरू आदर्शको सदा प्रतिरोधमा हुन्छन्। तर उनीहरूका पनि आफ्नै आदर्श पात्रहरू छन्, जसले निर्दयतापूर्वक आत्महत्या गरे, जसले जीवनको अर्थहीनतालाई बेचेर आफ्नो जीवन वैभवयुक्त र अर्थपूर्ण बनाए।

उनीहरूको आदर्श पुरुषहरूले उनीहरूको अवसादलाई अनवरुद्ध चल्न दिएका छन्। तिनले निराशा फैलाउने क्लिष्ट तथा अर्थहीन कविता, आख्यान लेखेर कलाको सुबोधता समेत नष्ट गरेका छन्।

जीवनका अन्य क्षेत्रमा आदर्शको विरोध गर्ने उनीहरू आफ्नो अवस्थामा भने उनीहरूका आदर्शबाट आज्ञप्त कार्य/परियोजना भने अविलम्ब सम्पन्न गर्छन्।

शून्यवादी साहित्य: औसत भावको बेजोड शिल्पकर्म

अघि माथि भने झैं लोकलाजको निम्ति नाम नलयु होला। नेपाली भाषामा एउटा उपन्यास छ, जो अत्यन्त प्रसिद्ध भयो, जसले प्रसिद्ध पुरस्कार पनि प्राप्त गर्‍यो।

पुरस्कार र प्रशंसाको खुड्किला टेकेर सो किताब साहित्यमा एउटा मानक साबित भइदियो। तर आजसम्म सो कथाको तारतम्य, वास्तविक जीवनसँगको सम्बन्ध, हाम्रो लोकमा त्यस कथाको जीवन्त दृष्टान्त या सो दृष्टान्तका सम्भावना मैले आजसम्म देखेको छैन।

यसमा मतभेद छैन कि उक्त उपन्यासको भाषिक शिल्पकारिता अद्भूत छ। तर यसको निचोड के? भन्न खोजेको कुरा के? आजसम्म यसका प्रशंसक पनि अन्योलमा छन्, यदि उनीहरूले इमानदार भएर जवाफ दिने हो भने।

तर एउटा पाठकले उक्त शिल्पकर्मको के गर्छ ? त्यसबाट उसले के प्राप्त गर्छ ? आफ्नो स्थिति र कल्पनाबाट पनि अत्यन्त टाढा किताबको अध्ययनबाट के प्राप्त गर्ला ?

प्लेटोले आदर्श राज्यमा कला, साहित्य र सङ्गीतमा एक प्रकारको नियन्त्रितताको स्थान दिए भनेर उनको सर्वत्र आलोचना गरियो। यो आलोचना आजसम्म कायम छ। तर मनोयोगका साथ प्लेटोलाई बुझ्न कोशिश गर्ने हो भने उनले कलालाई शर्तहरूमा बाँध्न खोजेको देखिंदैन।

यदि कोही कलाकर्मीले वैयक्तिक प्रतिष्ठाको लागि फगत पृथक् हुन खोज्ने चाहनाले समाजमा निराशा सञ्चार गर्ने, मानवीय दोषको फाइदा लिन खोज्ने, मान्छेका आधारभूत अस्मितालाई मेटाउने इत्यादि कार्य गर्न खोजे सो कार्य कलामा गनिन सक्दैन। त्यस्तै नियोजित रूपमा विकृतिको आरोपण गर्ने विचारहरू कहिलेकाहीं कलाको आवरण ओढेर प्रस्थान गर्ने गर्दछन्।

प्लेटोका विचार त्यस्ता विकृतिको बारेमा सचेत प्रतिरोध थियो। त्यस्तो तथाकथित कलाको मूल्य के होला र जसले जीवनका अप्ठ्यारा र दुर्दशामा आत्मबोध अनि धैर्य प्रदान गर्न सक्दैन!

टुङ्ग्याउनी :

तर जति नै निराशा, आत्मालाप र आत्मभर्त्सना गरे पनि यी तत्त्वहरू जीवनका कुनै क्षणका वास्तविकता हुन्। जति नै शारीरिक शौर्य, कुशाग्र बुद्धिमत्ता भए तापनि मानिसका चाहना विपरीत अनेकन् घटना घट्छन्। भन्ने गरिन्छ, प्रारब्धको सम्मुखमा पुरुषार्थको पनि केही लाग्दैन।

भन्न खोजिएको कुरा के भने (तर) निराशाको र आत्मभर्त्सनाको पनि बेग्लै गरिमा छ। जीवनमा आफ्ना आदर्श र सत्यको अनपेक्षित विघटन हुँदा, आफ्ना प्रयत्नलाई प्रारब्धले विफल तुल्याउँदा मानिसको आफ्नै व्यक्तित्वको क्षय हुन्छ। हामीले पढ्ने, देख्ने गरेका आत्मालाप, आत्मभर्त्सना परिस्थितिका प्रतिकूल क्षणका आवाज हुन्।

जीवनका विफलताका अनुभवबाट अछुतो भएर, प्रारब्धका घातक चक्रका अनुभूतिको सम्पर्कबाट दूर रहेर केवल आफ्नो निजी रूमानी स्वैराचारको लागि गरिएका आत्मभर्त्सना, पहिलो पाइला नचाली जीवनको शून्यता देख्ने भ्रमित आँखा आफैंलाई मूर्ख बनाउने सफल प्रयास मात्र हुन्। यस्ता साहित्य र साहित्यानुरागीबाट बच्नु भनेको अस्वस्थताबाट बच्नु हो।

लेखक
कञ्चन कुमार बस्नेत

लेखक साहित्यकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?