भदौ २३ र २४ को अप्रत्याशित जेनजी उथलपुथल पछि नेपाली कांग्रेस नयाँ नेतृत्व चयन गर्ने कि नगर्ने भन्ने आन्तरिक विमर्शमा रुमल्लिएको छ। असोज २८ बाट शुरु भएको केन्द्रीय कार्य समिति बैठकले कहिलेको लागि महाधिवेशनको तय गर्छ केही टुङ्गो छैन। मैले यस लेखमा गणतन्त्रको युगको लोकतान्त्रिक पार्टीको शीर्ष नेतृत्वको बहिर्गमन कसरी गर्ने भन्नेबारे केही सैद्धान्तिक र दार्शनिक कुरा गर्ने कोसिस गर्नेछु।
प्रसंग सुरु गरौं २०८२ जेठमा अनलाइनखबरमा प्रकाशित लेखको शीर्षकबाट। ६ महिना पहिले अनलाइनखबरको कभर स्टोरीका लागि ऐतिहासिक दृष्टिमा कांग्रेसको आगामी महाधिवेशन वरिपरि केन्द्रित रहेर लेख लेखेको थिएँ। त्यसको शीर्षक थियो ‘१५औं महाधिवेशनसम्म लम्बिनेछ गणतान्त्रिक कांग्रेसको प्रसव व्यथा।’
कांग्रेसभित्रको दुई महिना लामो आन्तरिक किंकर्तव्यविमूढता र किचलो देखेर त्यतिबेला चयन गरेको शीर्षकका शब्द ‘गणतान्त्रिक कांग्रेस’ र त्यसको ‘प्रसव व्यथा’ ले पुन: एकपटक आकर्षित गरेको छ।
माथि चर्चा गरिएको लेखमा के नेपाल गणतान्त्रिक युगमा प्रवेश गरेको भएर मात्रै ‘गणतान्त्रिक कांग्रेस’ शब्दावली प्रयोग गरें हुँला र त्योसँगै प्रसव व्यथा किन थपें होला म आज अकस्मात् सोचमग्न भएको छु र त्यो शब्द चयनप्रति झन् विश्वस्त हुँदै गएको छु।
कांग्रेसमा संस्थापक कुलीनताको दबदबा
नेपाली कांग्रेस पार्टीको इतिहासमा चार जना कोइराला सभापति बने। बीपी कोइराला, मातृका कोइराला, गिरिजाप्रसाद कोइराला र सुशील कोइराला। सुवर्णशमशेर डेढ वर्ष (२०१२ माघ – २०१४ जेठ) मात्रै पार्टी सभापति हुनुभयो भने झन्डै १७ वर्ष (२०१७-२०३४) कार्यवाहक सभापति।
कृष्णप्रसाद भट्टराई पनि १३ वर्ष कार्यवाहक (२०३४-२०४८) र चार वर्ष २०४८-२०५३) निर्वाचित सभापतिको रूपमा कार्य गर्नुभयो। त्यसबाहेक शेरबहादुर देउवा सभापतिको रूपमा दुई कार्यकाल (२०७२-२०७८, २०७८-) पूरा गर्दैछन्।
काङ्ग्रेसले प्रतिनिधित्व गरेको विचारको अलावा व्यक्तिको सम्झना गणना गर्ने हो भने बीपी कोइराला सबैभन्दा पहिले हाम्रो दिमागमा आउँछन्। त्यसैले पनि होला कांग्रेसलाई लामो समयसँग कोइराला वंशको पर्यायवाची पार्टीका रूपमा लेखिन्थ्यो, विमर्श गरिन्थ्यो। कोइरालाहरू बाहेकले कांग्रेसलाई नेतृत्व दिन पनि सक्दैनन् र कांग्रेसमा एकता कायम गर्न पनि सक्दैनन् भन्ने धारणा थियो। जसरी संसारको सबैभन्दा विशाल लोकतन्त्र छिमेकी भारतमा भारतीय कंग्रेस नेहरू गान्धी परिवारभन्दा बाहिर एकीकृत रहिरहन सक्दैन भन्ने भ्रान्त धारणा त्यहाँ अझै पनि व्याप्त छ।
२०७२ असोजमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भएको तीन/चार महिनापछिको कुरा थियो। त्यतिबेला म भर्खर–भर्खर टेलिभिजनमा निम्त्याइन थालेको थिएँ। मलाई टेलिभिजनमा ब्रेक दिने पत्रकार भुपाल लुइँटेल थिए। उनी अहिले हिमालय टेलिभिजनमा आइपुगेका छन्। उनले हिमशिखर टेलिभिजनको कार्यक्रम विराटनगरबाट चलाउँथे। उनी विराटनगरबाट प्रश्न सोध्थे। म गौशालाको स्टुडियोमा गएर उत्तर दिन्थें। र त्यो अन्तर्वार्ता जोडेर टेलिभिजनमा प्रसारित हुन्थ्यो।
यो काङ्ग्रेसको १३औं महाधिवेशन आसपासको समय अर्थात् २०७२ माघ–फागुनको बेला थियो। उनको प्रश्न थियो- के कांग्रेस कोइरालाहरू विना चल्न सक्छ ?
मैले उनलाई सपाट उत्तर दिएको थिएँ– “नेपाली कांग्रेस पार्टी राणाशाहीको खिलाफमा बनेको पार्टी हो। परिवारवादको विरुद्धमा खुलेको पार्टी हो। त्यो पार्टीलाई एउटै परिवारभित्र मात्र समेटेर राख्नु, त्यही परिवारले मात्र नेतृत्व दिन सक्छ भन्नु त्यस पार्टीका संस्थापकहरूका प्रति र त्यो पार्टीका प्रति सबभन्दा ठूलो अपमान हुन्छ। संस्थापकहरूको जुन विचार हो त्यो विचारको सम्मान गर्न पनि कांग्रेस पार्टी कोइराला परिवार वा संस्थापकको परिवार बाहेककाले राम्रोसँग चलाउन सक्छन्, सम्हाल्न सक्छन्।”
गणतन्त्र नेपालमा नेपाली काङ्ग्रेसको नेतृत्वको कुरा गर्दा अझै पनि पारिवारिक उत्तराधिकार वरपर रहेर बहस हुन्छ। १३औं महाधिवेशनमा शेरबहादुर देउवा सभापति हुने कुरा त्यसकारण विशेष बन्यो कि अब पन्ध्रौं महाधिवेशनमा कोइरालाहरू फेरि सभापति बन्छन् कि बन्दैनन् यकिनका साथ भन्न सकिंदैन।
कांग्रेस पार्टीको सर्वोच्च नेतृत्व लिने कोइरालाको पुस्ता सकिएको नै हो वा शशांक, शेखर वा सुजाता कोइरालाले अझै त्यो प्रतिमान खडा गर्न सक्लान् त्यसका लागि १५औं अधिवेशन पर्खिनुपर्नेछ। कांग्रेसका सभापतिको सूची यस्तो बन्दो रहेछ- क्रमश: बीपी, मातृका, बीपी, सुवर्ण, बीपी, किसुनजी, गिरिजाप्रसाद, सुशील, शेरबहादुर। जम्माजम्मी ७ जना नेता। अब ८औं नेता चयन गर्ने बेला आएको छ। सुवर्ण, किसुनजी र शेरबहादुर मात्रै कोइराला परिवार बाहिरको सभापति बन्न पुगेका छन्। सुवर्ण र किसुनजी त पार्टीका संस्थापक नेता थिए।
अब भने लागौं मूल विषयतिर।
गणतन्त्र र गणतान्त्रिक कांग्रेस भनेको के हो ?
गणतन्त्र भनेको के हो ? गणतान्त्रिक कांग्रेस भनेको के हो ? कस्तो विशेषताले कांग्रेस पार्टी गणतान्त्रिक कांग्रेस पार्टी हुन्छ त ? के गणतन्त्र नबुझिकन हामी गणतान्त्रिक कांग्रेस बुझ्न सक्छौं ? के शेरबहादुर देउवाले गणतान्त्रिक समयको कांग्रेसको सभापति भएर कांग्रेसलाई न्याय गरे त ?
अति सरल भाषामा भन्नुपर्दा गणतन्त्र भनेको त्यो देशको प्रथम व्यक्ति अर्थात् राष्ट्रपतिमा पदासीन हुनसक्ने सपना त्यो देशको सरहदभित्र जुनसुकै परिवार, भूगोल, वर्ण वा लिङ्ग लिएर जन्मेको भए पनि कुनै पनि नागरिकले राख्न पाउनु हो। दलको हकमा पनि त्यो दलको कुनै पनि सदस्यले आफ्नो योग्यताको आधारमा त्यो दलको सर्वोच्च पदमा आसीन हुन पाउने सपना देख्नु हो। नेपाल गणतन्त्रमा प्रवेश गर्दैमा, र कांग्रेसका संस्थापक नेताहरू बाहिरको परिवारको नेतृत्वले कांग्रेस चलाउँदैमा कांग्रेस गणतान्त्रिक बन्दो रहेनछ भन्ने मेरो जिकिर हो।
नेपाल गणतान्त्रिक देश भएपछि नै सुशील कोइराला एक कार्यकाल मात्रै पार्टी सभापति निर्वाचित भए पनि उनले पूरा समय नेतृत्व गर्न भने पाएनन्। शेरबहादुर देउवा गणतन्त्र स्थापना भएपछि नेपाली कांग्रेसको सभापति त बने, के उनले कांग्रेसलाई साँच्चै गणतान्त्रिक तरिकाले चलाए त ?
शेरबहादुर देउवा कांग्रेसको वंश परम्परामा कोइराला परिवार बाहेकका प्रकाशमान सिंह, विमलेन्द्र निधि, प्रदिप गिरि लगायत पहिलो पुस्ताका कांग्रेसको संस्थापकका उत्तराधिकारी र पारिवारिक उत्तराधिकारीहरूबाट घेरिएका थिए। आज पनि उनको त्यो घेरा यथावत् छ।
गत हप्ता मात्रै नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधर ५५ प्रतिशत हस्ताक्षरकर्ताहरूले बानेश्वरमा एउटा कार्यक्रम गरे। त्यस कार्यक्रममा सुरेन्द्र चौधरीले केही गम्भीर प्रश्न उठाउनुभयो। त्यसो त सुरेन्द्र चौधरी पनि पुस्तौनी कांग्रेस हुनुहुन्छ। उहाँको कथन थियो- “शेरबहादुर देउवाले नेपाली कांग्रेस पार्टीलाई कब्जा गरिसकेका हुन्थे, त्यो पार्टी मात्र हुन्थ्यो भने। तर कांग्रेस भनेको विचार हो। विचारलाई कसैले कब्जा गर्न सक्दैन। कांग्रेसले बोकेको विचारले लोकतन्त्रलाई प्रश्रय दिन्छ, बढावा दिन्छ। त्यो लोकतन्त्र एक्काइसौं शताब्दीको मूल्यमान्यता अनुरूपको हुन्छ। कुनै कुलीनतन्त्रको अवशेष होइन।”
नेतृत्वको पदावधिबारे विधानमा रहेको व्यवस्था
पार्टी सञ्चालनको र पार्टीमा नेतृत्व परिवर्तनको आफ्नै व्याकरण हुन्छ। नेपाली कांग्रेसको विधानमा उल्लेख भएको नेतृत्व परिवर्तनको व्याकरण लोकतान्त्रिक त देखिन्छ तर त्यो एक्काइसौं शताब्दी अनुरूपको छैन। यसले पार्टी नेतृत्वलाई खाली कतिपटक वा कति समयावधि नेतृत्व गर्ने भन्ने कुरा मात्रै उल्लेख गरेको छ।
एउटा नेताले पार्टी विधानमा मेरो कार्यकाल चार वर्षको छ भने त्यसले नपुगेर ४ वर्षे अवधिलाई पार्टी विधानको आपत्कालीन धारा र संविधानले दिएको थप छुटलाई प्रयोग गरेर साढे पाँच वर्ष आयु लम्ब्याउने र फेरि अर्को कार्यकाल कुनै पनि हालतबाट पार्टी कब्जा गरेर जित्ने जुन मनोवृत्ति छ त्यसले आठ वर्षे कार्यकाललाई ११ वर्ष पुर्याउँदो रहेछ। अनि त्यो ११ वर्षपछि सत्ता हस्तान्तरण गर्दाखेरि आफ्नै समूहको आफ्नै गुटको नेतालाई सजिलो हुनेगरी कार्य गर्न लिप्त हुँदोरहेछ।
तर पार्टी नेताले राष्ट्रिय राजनीतिमा वा आम निर्वाचनमा पार्टीलाई ठिक नेतृत्व प्रदान गर्न नसक्दा कसरी ऊ बाहिरिने भन्ने कुरा उल्लेख गरेको छैन। पार्टी नेतृत्वले कुन उमेर पुगेपछि अवकाशमा जाने भन्ने तर्क त झन् हास्यास्पद नै हुन्छ। नैतिकता, अन्तरमनको आवाज र इतिहासको पदचाप सुन्ने चेतना लगायत कुराहरू विधानमा लेखिने कुरा पनि होइन।
लोकसम्मति के छ भने पार्टीभित्रको आन्तरिक लोकतन्त्र कमजोर भएकाले पार्टीभित्र एउटै नेताले दशकौंसम्म कब्जा जमाउने गरेकाले पार्टीहरू लोकतान्त्रिक नभएका हुन्। २०६२/६३ को जनआन्दोलन र २०७२ मा गणतान्त्रिक संविधान जारी भएपछि राजनीतिक रूपमा भएको ठूलो उथलपुथल २०८२ भदौ २३ र २४ मा भयो। त्यसपछि राजनीतिक दलहरूले ती दलको लोकतन्त्रीकरणका लागि विधानमा कसरी संशोधन गर्ने र संविधानमा के व्यवस्था गर्ने भनेर छलफल गरेको देखिंदैन।
पार्टी विधानमा बदल्नुपर्ने प्रावधान
पार्टीलाई नयाँ जीवन दिनको लागि, पार्टीलाई हमेशा पूर्ण जागृत गराइराख्नको लागि, पार्टी नेतृत्वलाई उसका कामका प्रति जिम्मेवार र उत्तरदायी बनाइराख्नका लागि उन्नत लोकतन्त्रमा राजनीतिक दलहरूको विधानमा विशेष प्रावधान राखिएको पाइन्छ।
सजिलोका लागि म बेलायतको लेबर पार्टीको विधानको उल्लेख गर्न चाहन्छु- यदि संसदीय निर्वाचनमा दलले बहुमत प्राप्त गरेन वा पहिलो दल बनेन भने दलको नेताको पद निर्वाचन परिणाम आएको ६ महिनाभित्र समाप्त हुनेछ। त्यसको सोझो अर्थ हुन्छ जनताको चुनावमा अनुमोदित नभएको नेतृत्वले पार्टी नेतृत्व गरिराख्न चाहने हो भने तत्काल कार्यकर्ताबाट अनुमोदित हुनुपर्छ।
जापानको लिबरल डेमोक्रेटिक पार्टीको सभापति कार्यकाल जम्मा तीन वर्षको हुन्छ। र एउटा व्यक्ति बढीमा तीनपटक सभापति बन्न पाउँछ। पार्टी सभापति नै प्रधानमन्त्री हुने विधानमा व्यवस्था छ। यो सबै नियम त्यहाँको संसद्ले निर्दिष्ट गरेको संसद् अर्थात् डायटको आयु चार वर्षको समयलाई मानक मानेर कायम गरेको देखिन्छ। नेपालमा संसद्को आयु संवैधानिक रूपमा पाँच वर्ष कायम गरिएको छ।
लोकतन्त्रमा राजनीतिक दलहरू अस्वीकृत हुँदैनन् तर निर्वाचनका क्रममा नेतृत्व विशेष भने अस्वीकृत हुन्छन् त्यो मान्यताले विकसित लोकतन्त्रहरू चलेको देखिन्छ। नेपालमा पार्टी सभापतिले आफ्नो लोकप्रियतालाई नै पार्टीको लोकप्रियता हो भने दम्भ गर्छन्। उनको वरिपरिको घेराले पार्टी सभापति भनेको संस्था हो, पद्धति हो भनेर सभापतिको कमजोर नेतृत्वको, असफलताको समेत निर्लज्ज शैलीमा बचाउ गर्छन्। नेतृत्वलाई आलोचनाभन्दा माथि राख्ने कुत्सित कोशिश गर्छन्। त्यस्तो प्रवृत्तिले पार्टीको आन्तरिक लोकतन्त्रलाई झन् कमजोर बनाउँछ।
पार्टी नेतृत्वलाई कार्यकर्ताभन्दा जनताप्रति ज्यादा उत्तरदायी र जवाफदेही बनाउन पनि पार्टीको तल्लो तहको लोकतन्त्र अझ मजबुत बनाउनुपर्छ। पार्टीको तल्लो तहको लोकतन्त्रलाई मजबुत नबनाउँदा अमेरिका जस्तो लोकतान्त्रिक व्यवस्थाले समेत तानाशाही प्रवृत्ति भएका डोनाल्ड ट्रम्पको उदयलाई छेक्न सकेन, रोक्न सकेन।
यदि त्यहाँ डेमोक्रेटिक पार्टीले निर्वाधपूर्वक नेतृत्व चयनको आन्तरिक प्रतिस्पर्धालाई पार्टीका ठालुहरूले अनेक बहानामा अवरोध गरे। बर्नी स्यान्डर्सलाई रोक्ने बहानामा सुपर डेलिगेट्सको सहारा लिएर हिलारी क्लिन्टन, जो बाइडेनले प्रतिस्पर्धा गर्ने माहोल खडा गरियो। त्यसले डेमोक्रेटिक पार्टीभित्रको लोकतन्त्रको स्वच्छ धमनीलाई अवरुद्ध गर्यो।
पार्टीभित्र आन्तरिक लोकतन्त्रको धमनी सफा राख्दा नेतृत्वलाई कुनै पनि समय तानाशाही चिन्तन राखेर आफ्नो निर्णय गर्ने छुट दिंदैन। उनीहरूको तानाशाही वृत्तिलाई निषेध नै गरिदिन्छ। उसले हमेशा नागरिकहरूको फेरिइरहेको मनोदशा र राष्ट्रले सामना गरिरहेको सङ्कटहरूतर्फ व्यक्तिगत आकांक्षा भन्दा राष्ट्रिय मनोभावना बुझेर कार्य गर्न प्रेरित गर्छ।
पार्टी कब्जाको मनोविज्ञानले गरेको अवरोध
पार्टी कब्जाको मनोविज्ञानबाट माथि उठेर उसले पदीय दायित्व अनुरूप कामकारबाही अगाडि बढाउँछ। उसले गुटको बारेमा त चिन्तन गर्ने समय नै पाउँदैन। उसको ध्यान योग्य, सक्षम र काविलहरूलाई अवसर प्रदान गरेर परिणाम निकाल्नेतर्फ उन्मुख हुन्छ। लोकप्रिय राजनीतिको कसीमा खरो उत्रनका लागि उसले लोकतान्त्रिक शैलीबाट बृहत्तर समुदायहरूसँग छलफल गरेर उनीहरूसँग सहकार्य गर्दै कार्यसम्पादन गर्नुपर्छ।
राजनीतिलाई आजीवन अध्यावसाय बनाउने वृत्तिबाट मुक्त राख्नका लागि पश्चिमा लोकतन्त्रहरूले शीर्ष नेतृत्वको बहिर्गमनको जुन पद्धति अपनाएका छन् त्यो पद्धति अपनाउने हो भने सहजै एकपटक सत्ताको रसास्वादन गरेपछि आर्यघाट नपुग्दासम्म सत्ता नछाड्ने प्रवृत्तिले छुट्टी पाउँछ।
बेलायतमा प्रधानमन्त्री पदबाट राजीनामा गर्दा त्यहाँका प्रधानमन्त्रीले संसद् सदस्यबाट समेत राजीनामा गर्दछन्। हाम्रोमा भने भूतपूर्व प्रधानमन्त्रीहरू नै सांसद बन्न मरिहत्ते गर्छन्। प्याट्रोन क्लाइन्ट (Patron-client) को गठजोडलाई तोड्न सक्दा मात्र पार्टी कब्जाको मनोविज्ञानबाट नेताहरू मुक्त हुन्छन्। जनताबाट निर्वाचित हुने पदका लागि पार्टी प्राइमरीको नीति अवलम्बन हुन्छ। पार्टी सदस्यता वितरण पारदर्शी र डिजिटल हुन्छ। नेतृत्वको उमेर हद लगाउने कुराले पनि सोचे अनुरूप पार्टीको आन्तरिक लोकतन्त्रका लागि प्रभावकारी हुँदो रहेनछ।
नेतृत्व पुस्तान्तरण हस्तान्तरण भन्दा पनि ज्यादा रूपान्तरणको जरूरी छ। त्यो रूपान्तरण पनि सारान्तरण सहितको रूपान्तरण हुनुपर्छ। अनि मात्र त्यसको अर्थ हुन्छ। पुरानै मानसिकताको नेतृत्वबाट पुरानै मान्यता भएको युवालाई जतिसुकै पुस्तान्तरण र हस्तान्तरण गरे पनि त्यसले आजको नागरिकको चेतनालाई सम्बोधन गर्दैन। दलहरूको नागरिकसँग र समाजमा चलिरहेका सामाजिक आन्दोलनहरूसँग सम्बन्ध टुट्नुको आधार त्यही नै हो।
पार्टी विधानमा विना शर्तको फगत कार्यकाल उल्लेख गरेर मात्र पार्टी नेतृत्वले राष्ट्रिय राजनीतिमा ठिक अडान लिनु पनि नपर्ने, पार्टीलाई चुनावमा बहुमत दिलाउन या पहिलो दल पनि बनाउन नपर्ने, बहुमत या पहिलो दल भएर उसले सरकारमा आफ्नो नेतृत्व गर्नु पनि नपर्ने यस्ता विकृतिको बारेमा सम्बोधन हुँदोरहेनछ। त्यही भएर पार्टी विधानमा पार्टी कार्यकर्ता वा सदस्यहरू प्रति भन्दा जनता वा मूल निर्वाचकहरूका प्रति र आम निर्वाचनप्रति जवाफदेही बनाउने प्रावधान स्पष्ट लेखिनुपर्दछ। पार्टीको अधिवेशन वा महाधिवेशन भन्दा जनताको अधिवेशन/आम निर्वाचन ठूलो कुरा हुन्छ भन्ने कुरा बाध्यकारी बनाएर विधानमै त्यो भावनालाई प्रतिबिम्बित गर्नुपर्छ।
पार्टी नेतृत्वमा हुनुपर्ने विशिष्ट गुणहरू
अब भने लागौं, एक्काइसौं शताब्दी त्यसमाथि जेनजी आन्दोलनपछि नेपाललाई नेतृत्व दिने मूलधारको पार्टी सभापतिको विश्व दृष्टि कस्तो हुनुपर्छ भन्ने बारेमा।
नेपालमा जेनजी उथलपुथल विश्व इतिहासको यस्तो समयमा भएको छ जतिबेला सूचना प्रविधिको पाँचौं क्रान्ति भर्खर शुरु भएको छ। एक्काइसौं शताब्दीको लोकतान्त्रिक पार्टीको नेतृत्व गर्ने व्यक्तिले सामना गर्ने प्रश्न २०औं शताब्दीको मध्यमा पार्टी स्थापना गर्दा बीपी कोइरालाले सामना गरिरहेको प्रश्नसँग तादात्म्यता राख्दैन, मेल खाँदैन। प्रत्येक युगको एउटा आवाज हुन्छ, एउटा आह्वान हुन्छ, एउटा खोज हुन्छ। त्यो सबै बुझ्नलाई युग बोध आवश्यक हुन्छ।
बीपी कोइरालाको समयको समाज कस्तो थियो, उत्पादन प्रविधि कस्तो थियो, अर्थतन्त्र कस्तो थियो, भूराजनीति कस्तो थियो र सञ्चारको प्रविधि के थियो ? मूलभूत रूपमा यी पाँच वटा विषयमा चिन्तन गर्ने हो भने हामी आज नेपाली कांग्रेसको नेतृत्व गर्ने व्यक्तिले सामना गर्ने प्रश्नहरूलाई ठिक ठाउँमा उभ्याउन सक्छौं।
समाज भनेको त्यहाँका नागरिकहरूको चेतना र उनीहरूको साक्षरता। प्रविधि भनेको त्यो समाजले अङ्गीकार गरेको वैज्ञानिक आविष्कार र त्यसलाई उत्पादनसँग कसरी जोडिएको छ। अर्थतन्त्र भनेको त्यो समाजको अर्थव्यवस्था कसरी चलायमान भएको छ, घरेलु पूँजी कति छ, विदेशी पूँजी कति छ, मानिसहरू कुन क्षेत्रमा रोजगारी पाइरहेका छन्, देशभित्र वा बाहिर यस्ता अनेक कुरा। भूराजनीति भनेको अन्तर्राष्ट्रिय राजनीति, संसार माथि वर्चस्वको लडाईं, त्यो लडाईंमा क्षेत्रीय शक्तिहरू, छिमेकीहरू र वैश्विक शक्तिहरू कताकता ध्रुवीकृत भइरहेछन् र उनीहरूले कस्तो शासकीय विचारलाई, कस्तो प्रविधिलाई प्रवर्धन गरिरहेछन् भन्ने कुरा।
सञ्चारको प्रविधि भनेको कुन माध्यमबाट नेताले जनतासँग सञ्चार गरिरहेछ भन्ने कुरा – रेडियोबाट कि पत्रपत्रिकाबाट कि टेलिभिजनबाट कि सामाजिक सञ्जालबाट। माथिका पाँच प्रश्नमा एउटा थप प्रश्न जोड्नुपर्छ। पर्यावरणका बारेमा समेत आजको युग अनुकूल नेताले धारणा बनाएकै हुनुपर्छ। नेपाल हिमालय शृङ्खलाको सबैभन्दा ठूलो हिस्सा ओगटेको मुलुक भएकाले जलवायु संकटले निम्त्याएको वैश्विक समस्याका बारेमा कांग्रेस नेतृत्व बेखबर रहनुहुँदैन।
माथि भनिएको बाहेक आज सन् २०२५ र संवत् २०८२ मा कांग्रेसलाई नेतृत्व गर्ने नेताले अहिले उदारवादी विश्व व्यवस्था लडखडाएको बेला छ। अर्थात् प्रजातान्त्रिक देश र प्रजातान्त्रिक व्यवस्थाहरू संकटबाट गुज्रिरहेका छन्। संकटका सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक, धार्मिक/आध्यात्मिक, भूराजनीतिक र सञ्चारप्रविधिले निम्त्याएका अनेक समस्या छन्। राजनीतिमा हावी भएको पैसाले सिर्जना गरेको राजनीतिक असमानता राजनीतिक अस्थिरताको मूल कारक भएको छ।
समाजमा विद्यमान द्वन्द्वहरूलाई कसरी प्रशोधन गर्ने, न्यायिक र सामूहिक वितरणको पद्धति कसरी विकास गर्ने ? आजको नागरिकलाई असल नेतृत्वले आक्रोश या प्रखर आलोचना मात्र सिकाएर हुँदैन, सकारात्मक भविष्यमुखी कार्यक्रम दिन सक्नुपर्छ। अनि मात्र राजनीतिक दलप्रति वा कुनै नेतृत्वप्रति जनता आशावादी हुन सक्छन्। केही व्यक्ति वा पद्धति विरुद्ध खडा हुँदा जुन एकता हुन्छ तर त्यसको समाधानका लागि उपाय लिएर उभिंदा फेरि विग्रह र मनोमालिन्य हुन्छ वा समाधानको उपायमा एकमत हुन मुस्किल हुन्छ। दल निर्माण गर्दा दलहरूभित्र नयाँ–नयाँ ध्रुवीकरण हुँदा यस्ता समस्या स्वाभाविक हुन्छन्।
समाजलाई दिगो आशा र भरोसा दिन सक्ने नेतृत्व
मानिसको प्रगतिको वा राजनीतिक दलको प्रगतिको सबैभन्दा ठूलो बाधक निराशा हो। हाम्रो आजको सबैभन्दा ठूलो आवश्यकता नै आशा हो। कांग्रेसले यो देशलाई दिनसक्ने अझै धेरै कुरा छ त्यसका लागि कांग्रेसका कार्यकर्ता र नेताहरूले थप काम र संघर्ष गर्नुपर्छ। ठिक नेताले दिगो समाधानमुखी निकास सहित समाजलाई आशाको दियो देखाउन सक्नुपर्छ।
कुनै राजनीतिक जादुगरले जादुमय समाधान दिन्छु भनेर झुक्याएर एक्काइसौं शताब्दीको लोकतन्त्रले नेपाली नागरिकहरूले सामना गरिरहेको प्रश्नको हल निकाल्न सक्दैन। त्यस्ता प्रवृत्ति र पात्रले एउटा चुनाव त जित्छन् तर देशलाई दशकौं वा सदियौं पछि धकेल्छन्। इरानमा १९७८ मा त्यहाँको लोकतन्त्र धरासायी भएर त्यहाँ इस्लामिक गणतन्त्र स्थापना हुन पुगेको थियो, जेनजी आन्दोलनको परिणति त्यस्तो नहोस् भन्ने बारेमा युवा, आम मानिसहरूमा सचेतना फैलाउनु आजको मुख्य कार्यभार छ।
देउवाको असफलता
कांग्रेस पार्टीभित्र शेरबहादुर देउवाले नेतृत्व छाड्न ढिला गर्नु, उनका समूहका नेताहरूले सिङ्गापुरबाट यस्तो तार आएको छ भनेर उनको नाममा राज गर्न खोज्नु भदौ २३ अगाडिकै चिन्तनबाट चल्ने कुरा गणतान्त्रिक चेतना अनुकूल छैन। विगतमा सत्ता सञ्चालन गर्दाको असफलताले जमेको फोहोरमैलाबाट माथि उठेको स्वच्छ र सुसंस्कारित लोकतान्त्रिक चरित्र भएको नेता र नेतृत्व मात्रै गणतान्त्रिक कांग्रेसको नेता भन्न र बन्न सुहाउँछ।
नेपाल गणतन्त्रमा प्रवेश गरेपछि गणतान्त्रिक कांग्रेसको सभापति भएँ भनेर कसैले दावा गर्छ भने त्यो सरासर मूर्खता हुनेछ। त्यस मानेमा माथि व्याख्या गरिएको प्रतिमानमा शेरबहादुर देउवा गणतान्त्रिक कांग्रेसलाई सुहाउने सभापति थिएनन्। किनभने उनले समयको पदचापलाई बुझेर आफूले विरासतमा प्राप्त गरेको पार्टीको विधानलाई सुधारको दिशामा हेराफेरी गर्ने कुनै कोशिश गरेनन्।
आज अत्यन्त कम लाभको अवसर, लाभको पद लिएका र नैतिक राजनीतिको लागि लडिरहेका, सङ्घर्ष गरिरहेका युवाहरूको पंक्ति कांग्रेसमा ठूलै छ। त्यो पंक्तिप्रति विना कारण अविश्वास प्रकट गर्नु, विषवमन गर्नु, कांग्रेसको लोकतान्त्रिक पाठशालाको विद्यार्थी हुँ भन्नेहरूलाई सुहाउने कुरा पक्कै पनि होइन।
जनमतसंग्रहदेखि निधन नहुँदासम्मका बीपी कोइरालाका वक्तव्य र २०५७ मा किसुनजीले प्रधानमन्त्रीको रूपमा संसद्बाट राजीनामा गर्दाको वक्तव्यहरूमा एउटा प्रौढ नेता कसरी आफू र आफूले दीक्षित गरेका युवा पुस्ताप्रति आशावादी हुन्छ भन्ने कुरा स्पष्ट अभिव्यक्त गर्दछन्।
एउटा लोकतान्त्रिक चरित्र भएको नेताले आफ्ना पार्टीका नवयुवकहरूका प्रति सम्मान गर्छ, भरोसा प्रकट गर्छ र विश्वस्त हुन्छ। त्यसको ठिक विपरीत आज कांग्रेसका प्रौढ नेताहरू (जो सजिलोका लागि सात भाइका नामले चिनिन्छन्, उपप्रधानमन्त्री सहित आधा दर्जनभन्दा धेरैपटक मन्त्री बने) अझै पनि ‘मैखाउँ मैलाउँ, सुखसयल वा मोज म गरूँ’ भनेर आफ्नो उमेरसँगै पार्टीलाई आर्यघाटमा पुर्याउन उद्यत छन्। यो पुस्ताबाट पार्टीलाई मुक्त गर्ने काम कुनै प्रसव व्यथा भन्दा कम छैन।
सभापतिले नयाँ नीति दिने हो, न कि टिकट मात्र बाँड्ने
पार्टीभित्र चिन्तनको दायरा यति साँघुरो बनाइएको छ कि आज कांग्रेसको नयाँ नेतृत्व चयन गर्ने कुरालाई टिकट बाँड्ने विषयमा मात्र सीमित गर्न खोजिएको छ। पार्टीको नयाँ नेतृत्व नयाँ विचार लिएर आउँछ, देशलाई नयाँ दिशानिर्देश गर्ने हिम्मत र दृष्टिकोण बोकेर आउँछ भन्ने कुरा ओझेलमा पारिएको छ।
संसदीय निर्वाचनमा सांसद पदको लागि टिकट वितरण गर्नका लागि पार्टीले संसदीय समिति गठन गरेको हुन्छ र त्यही समितिले टिकट वितरण कसलाई गर्ने कसलाई नगर्ने भन्ने आधार तय गरेर निर्णय गर्छ। त्यहाँ सभापतिको मात्र एकाधिकार भन्ने हुँदैन।
कांग्रेस सभापतिको दायित्वलाई टिकट वितरणको प्रक्रियासँग मात्रै जोडेर हेर्नेहरूलाई प्रश्न छ- कांग्रेसको कुन सभापतिले एउटा महाधिवेशनबाट निर्वाचित भएपछि दुइटा आम निर्वाचनको लागि टिकट बाँडेको छ ? २०६७ मा बाह्रौं महाधिवेशनबाट पार्टी सभापति भएका सुशील कोइरालाले २०७० मा सम्पन्न भएको दोस्रो संविधानसभामा टिकट वितरण गरेका थिए। २०७२ फागुनमा सम्पन्न भएको १३औं महाधिवेशनको म्यान्डेटबाट आएका शेरबहादुर देउवाले २०७४ मा भएको प्रथम गणतान्त्रिक संसद्का लागि टिकट वितरण गरेका थिए। तिनै देउवाले २०७८ मङ्सिरमा दोस्रो पटक सभापति भएपछि २०७९ को दोस्रो गणतान्त्रिक संसद्को निर्वाचनका लागि टिकट वितरण गरेका थिए। यो पछिल्लो तीन वटा आम निर्वाचन र पार्टी अधिवेशनको वासलात हो। त्योभन्दा पहिलेको वासलात पल्टाउने हो भने पनि त्यही देखिन्छ।
वैचारिक दासताले घेरिएको युवा पुस्ता
नेपाली कांग्रेसको १४औं महाधिवेशनले निर्वाचित गरेको वर्तमान कार्यसमितिमा युवा नेताहरूको कमी छैन। तर त्यहाँ प्रतिनिधित्व गर्ने बहुसंख्यक युवाहरू पार्टी सभापतिको दास बन्नमा गौरव गर्छन्। उनीहरूको कुनै स्वतन्त्र चिन्तन छैन पार्टीले पार्टी अगाडि आसन्न संकटलाई समेत उनीहरू समय गुज्रेको नेताको आँखाबाट हेर्छन्। पार्टी सभापतिले खाएपछि उनीहरू अघाउँछन्। यदि त्यस्तो हुन्थेन भने पार्टीको बहुमत केन्द्रीय कार्यसमितिले शेरबहादुर देउवाको निर्वाचन अगाडिको गठबन्धनको निर्णयलाई परास्त गर्थ्यो।
बहुसंख्यक नेताहरूले निर्वाचनमा उम्मेदवार नहुने उम्मेदवार बन्न नपाइने निर्णयमा दस्तखत गरेका थिए, त्यसको साक्षी भएका थिए यहाँ व्यक्तिको उम्मेदवारीको सवाल थिएन। कांग्रेसको कार्यकर्ताले त्यस पार्टीको चिह्नमा मतदान गर्न पाउने कि नपाउने भन्ने सवाल थियो। त्यसमा पनि उनीहरूले सभापतिको चस्मा भित्रबाट आँखा कता सन्किन्छ भनेर निर्णय गरे।
आज पार्टी सभापति शेरबहादुर देउवाको सम्पूर्ण नीतिगत असफलतापछि पनि उनीहरूको घैंटोमा घाम लागेको छैन। उनीहरू हरहालतमा पार्टी कब्जा गर्न चाहन्छन्। त्यो पार्टी ठूलो होस् या सानो त्यो कुरासँग उनीहरूलाई सरोकार नै छैन।
गणतान्त्रिक कांग्रेसको ‘स्वच्छ स्पष्ट गर्भाधान’
२१औं शताब्दीको गणतान्त्रिक नेपाल अनुकूलको गणतान्त्रिक कांग्रेस पार्टी बनाउने हो भने पार्टीको विधानमा नेतृत्व चयनका बारेमा पार्टी सभापति वा नेता पार्टी कार्यकर्ताभन्दा जनताका प्रति जवाफदेही हुने, पार्टीको अधिवेशन भन्दा जनताको आम निर्वाचनबाट अनुमोदित हुने कुरा ठूलो मान्ने र पार्टी कब्जाको मनोविज्ञानबाट सदा मुक्त रहनु नै गणतान्त्रिक कांग्रेस पार्टीको विशेषता हुनुपर्दछ।
पार्टी विधानमा लेखिएको सभापतिको कार्यकालभन्दा जनमतमा खरो उत्रने योग्यता निर्णायक हुनुपर्छ। जनमतको कसीमा असफल नेतृत्व एक कार्यकाल पनि पूरा गर्न पाउँदैन। कांग्रेस पार्टी विधानमा माथि उल्लिखित परिवर्तन नगर्ने हो भने त्यो कांग्रेस पार्टी गणतान्त्रिक चेतना सहितको पार्टी बन्ने सामर्थ्य राख्दैन।
इतिहासको निर्णायक मोडमा गणतान्त्रिक चेतनाले दीक्षित र ओतप्रोत भएको पार्टीले मात्र देश र जनतालाई बाटो देखाउँछ, नेतृत्व प्रदान गर्दछ। गणतान्त्रिक कांग्रेस बन्ने कांग्रेसको प्रसव व्यथा छिटै टुंगियोस्। कवि गोपालप्रसाद रिमालको शब्दमा भन्नु पर्दा नयाँ अधिवेशनले ‘स्वच्छ स्पष्ट गर्भाधान’ गरोस्।
प्रतिक्रिया 4