News Summary
Generated by OK AI. Editorially reviewed.- धनुषाको मिथिला बिहारी नगरपालिका–९ का वडाअध्यक्ष विन्देश्वर यादवमाथि प्रहरीले गोली प्रहार गरी हत्या गरेको खुलेको छ।
- शम्भु यादव नामका प्रहरी जवानले विवादका क्रममा वडाअध्यक्ष यादवमाथि गोली प्रहार गरेका थिए।
- घटनामा अन्य सात जना घाइते भएका छन् र प्रहरीले एकजनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।
२८ कात्तिक, जनकपुरधाम । धनुषाको मिथिला बिहारी नगरपालिका–९ का वडाअध्यक्षमाथि प्रहरीले नै गोली प्रहार गरी हत्या गरेको खुलेको छ ।
मिथिला बिहारी नगरपालिका–९ स्थित अन्दुपट्टीमा स्थानीय प्रकाश यादवको पिताको ९औं दिनको मृत्यु संस्कारमा सहभागी हुन गएका वडाअध्यक्षमाथि शुक्रबार साँझ गोली प्रहार भएको थियो । दुईपक्षबीच विवाद हुँदा वडाध्यक्ष विन्देश्वर यादवमाथि प्रहरीले नै गोली चलाएको खुलेको हो ।
गोली प्रहारबाट गम्भीर घाइते भएका यादवलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पुर्याएलगत्तै मृत्यु भएको थियो ।
९औं दिनको तिथिमा सहभागी हुन गएका वडाअध्यक्ष यादवमाथि स्थानीय धर्मराज यादवले गालीगलौज गरेपछि विवाद सिर्जना भएको थियो ।
विवाद उग्र हुँदै जाँदा धर्मराज यादवका आफन्त पर्ने शम्भु यादवले वडाअध्यक्ष विन्देश्वर यादवमाथि गोली प्रहार गरेका थिए ।
गोली प्रहार गर्ने शम्भु यादव प्रहरीमै कार्यरत जवान रहेको खुलेको छ । उनी गोली प्रहार गरेर घटनास्थलबाट फरार भएका छन् ।
सप्तरीको एक प्रहरी चौकीमा दरबन्दी रहेका उनी बिदामा घर आएका थिए । बिदामा घर आउँदा उनले प्रहरीकै हतियार बोकेर आएको हुनसक्ने आशंका गरिएको छ ।
धनुषाका प्रहरी प्रवक्ता डिएसपी गणेश बमका अनुसार घटनामा संलग्न रहेको प्रत्यक्षदर्शीको भनाइ अनुसार प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ ।
‘घटनामा ३/४ जनाको संलग्नता भएको स्थानीयले बताएका छन्, त्यसै आधारमा हामीले एकजनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएका छौं,’ उनले भने ।
घटनामा अन्य सात जना घाइते भएका छन् । घाइते मध्ये एकजनाको अवस्था गम्भीर छ ।
प्रतिक्रिया 4