२९ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको आन्तरिक कमजोरी हटाउने र पार्टीको मूल सिद्धान्तलाई जीवन्त बनाउने उद्देश्यले स्व. प्रदीप गिरीको ‘द आइडिया अफ कांग्रेस’ संस्थाले अन्तरक्रिया कार्यक्रमको शुरुवात गरेको छ ।
शनिबार राजधानीमा ‘आइडिया अफ कांग्रेस’ले अन्तरक्रिया कार्यक्रमको शुरुवात गरिएको हो । पार्टीको राजनीतिक दिशा, संरचनागत समस्या, निर्णय प्रक्रिया र संगठन सुदृढीकरणका उपायहरूमा केन्द्रित यो छलफलले कांग्रेसलाई नयाँ ऊर्जा दिने अपेक्षा गरिएको छ ।
कार्यक्रममा बोल्दै युवा नेता सचिन तिमल्सिनाले पार्टीले पाएको २८ लाख मतमध्ये औपचारिक सदस्य मात्र ९ लाख रहेको तथ्यांक उजागर गर्दै बाँकी मतदाताहरू शुभेच्छुक भएको बताए । उनीहरूको धारणा सुन्नु आजको मुख्य आवश्यकता भएको उनको भनाइ छ ।
पार्टीभित्रको संरचनागत समस्या, टिकट वितरणको अस्पष्टता र नेतृत्वको एमालेसँग मिलेर सामाजिक सञ्जाल प्रतिबन्धतर्फको प्रस्तावलाई कांग्रेसको आधारभूत सिद्धान्त विपरीत भएको भन्दै आलोचना गरे ।
अर्का युवा नेता कञ्चन झाले मुलुकभरबाट एक सय भन्दा बढी युवा डेमोक्रेटहरूको सहभागितामा कार्यक्रम सञ्चालन भएको जानकारी दिए ।
डाक्टर, इन्जिनियर, वकिल, सामाजिक अभियन्ता र फिल्मकर्मीहरू जस्ता विभिन्न पेशाका विज्ञहरूले कांग्रेसको मूल विचार, पहिचान र वर्तमान राजनीतिक भूमिकामा खुला बहस गरेको उनको भनाइ छ ।
अन्तरक्रियाबाट प्राप्त विचार, सुझाव र विश्लेषणलाई संस्थानले संकलन गरी विस्तृत प्रतिवेदन तयार पार्ने र नेपाली कांग्रेसको केन्द्रीय नेतृत्वसमक्ष बुझाउने भएको छ ।
यो प्रतिवेदनले पार्टीको आगामी दिशा–निर्देशन, नीतिगत अवलम्बन र संगठन सुधारमा संस्थागत टेवा पुर्याउने विश्वास लिइएको छ ।
प्रतिक्रिया 4