News Summary
Generated by OK AI. Editorially reviewed.- गायक रामकृष्ण ढकालले स्वरसम्राट नारायणगोपाललाई सम्झिँदै फेसबुकमा मर्मस्पर्शी पोस्ट लेखेका छन्।
- ढकालले १९ मंसिरमा पर्ने नारायणगोपाल स्मृति दिवसको स्मरण गरेका छन्।
- ढकालले सपनामा नारायणगोपालसँग भेट भएको र मोबाइलमा तस्वीर लिन खोज्दा आँखा अन भएको अनुभव सुनाएका छन्।
काठमाडौं । गायक रामकृष्ण ढकाल नेपाली सुगम संगीतका एक हस्ती हुन् । पछिल्लो समय संगीतसँगै उनको ब्यस्तता निर्माताको रुपमा चलचित्रतर्फ पनि छ ।
ढकालले विहिबार स्वरसम्राट नारायणगोपाललाई सम्झिँदै फेसबुकमा एक मर्मस्पर्शी पोस्ट गरेका छन् । ‘सपनामा पनि पुरा हुन सकेन मेरो सपना’ शीर्षकमा उनले दिवंगत गायक तथा संगीतकारप्रति आफ्नो धारणा राखेका छन् ।
आफू नारायणगोपालजस्तै राम्रो र सर्वप्रिय गायक हुन चाहेको बताउँदै उनले आफू उनको अनुयायी हुँदा आफूमा त्यो झल्को देखिनुमा आफूले भाग्यमानी महसुस गरेको बताएका छन् ।
११ वर्षको उमेरमा आफूले गीत गाउँदा सबैले आफूलाई जुनियर नारायणगोपाल भनेर प्रशंसा गर्ने गरेको स्मरण उनले गरे ।
पहिलो भेटको स्मरण गर्दै ढकाल लेख्छन्, ‘ त्यो बेला मेरो गीत गाउने त्यही फुच्चे होइन भनेर कसैलाई सोध्नुभयो उहाँले । हो भने पछि, मेरो काँधमा हात राखेर उहाँको मुखारबिन्दुबाट निस्केको त्यो प्रिय वाक्य अझै पनि मेरो मन मस्तिष्कमा ताजै छ ।’
उनले सम्झिए, ‘तिमी तम्मल (तबला ) त निकै राम्रो बजाउँदो रैछौ नि ! तर बिडम्बना ! त्यो आजको समय थिएन न त हातमा मोबाइल, न म आफूसँग क्यामरा नै होस । त्यो अमूल्य क्षणलाई मैले कहीँ कतै कैद गर्न पाईँन, मेरो मन मस्तिष्कमा बाहेक ।’
ढकालले सपनाको किस्सा पनि सुनाए । ‘ अचम्म चाहिँ के भयो भने सधैँ झैँ हिजो पनि उहाँसँग मेरो सपनीमा भेट भयो । मीठो भलाकुसारी भयो । म सँग हाँस्दै, खुसी हुँदै हार्दिकतापूर्ण तरिकाले बोल्नुभएको थियो । पहिलाको भेटमा तस्वीर खिच्न नपाएको बिस्मात् यसपटक पुनः नदोहोरियोस् भनेर हतार-हतार नारायणगोपालसँग तस्वीर लिइहाल्छु भनेर मेरो सपना पूरा गर्न मोबाइल झिकेर तस्वीर लिन लागे हातमा मोबाइल लिएर क्यामेरा के अन गरेको थिएँ, मेरो आँखा पनि अन भयो ।’
१९ मंसिरमा पर्ने नारायणगोपाल स्मृति दिवसको स्मरण पनि उनले गरेका छन् । उनी लेख्छन्, ‘ यो महिनाको १९ गते अर्थात मंसिर १९ गते स्वरसम्राट नारायण गोपालज्यूको स्मृति दिवस हो । आज मेरो सपनामा आउनुभयो । सायद उहाँले नेपाली धर्तीका आफ्ना प्रतिनिधि गायकहरूलाई सम्झनुभयो होला । मैले अनुभूत गरें, उहाँको प्रेम र स्नेह म यस धर्तीमा रहुन्जेलसम्म नै रहिरहने छ ।’
प्रतिक्रिया 4