News Summary
Generated by OK AI. Editorially reviewed.- युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकाले अघि सारेको युद्ध अन्त्य प्रस्तावमा छलफल गर्न तयार रहेको बताएका छन्।
- अमेरिकी प्रस्तावमा युक्रेनले पूर्वी भू–भाग त्याग्ने, सेनाको संख्या कटौती गर्ने र नाटोमा नजाने प्रतिबद्धता समावेश छ, जुन किभले अस्वीकार गरेको छ।
- अमेरिकाले रुसमाथि नयाँ प्रतिबन्ध लगाउँदै युद्ध अन्त्यका लागि दुवै पक्षसँग परामर्श गरी शान्ति योजना तयार पारेको दाबी गरेको छ।
५ मंसिर, काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँगको युद्ध अन्त्यका लागि अमेरिकाले अघि सारेको प्रस्तावमा छलफल गर्न तयार रहेको बताएका छन् ।
तर अमेरिकी पक्षबाट चुहिएको प्रारम्भिक योजनाका धेरै प्रावधान किभले यसअघि नै अस्वीकार गरिसकेको विषय समेत अमेरिकाले नयाँ प्रस्तावमा समेटेको पाइएको छ ।
चुहावट भएको प्रारम्भिक खाकाअनुसार किभले पूर्वी युक्रेनको डोनेस्क क्षेत्रका आफ्नो केही भू–भाग त्याग्ने, सेनाको संख्या कटौती गर्ने र नाटोमा सामेल नहुने प्रतिबद्धता जनाउने प्रस्ताव छ । डोनेस्कका केही क्षेत्र रूसी सेनाको कब्जामा छ ।
भू–भाग त्याग्ने प्रस्तावलाई युक्रेनले अस्वीकार गर्दै आएको छ । रूसले मच्याएको नरसंहारको बदलामा आफ्नो भू–भाग लिएर पुरस्कृत गर्न नसकिने राष्ट्रपति जेलेन्स्कीले बताउँदै आएका छन् ।
रूस–युक्रेन युद्ध अन्य गर्ने योजना अमेरिकी विशेष दूत स्टिभ विट्कोफ र उनका रुसी समकक्षी किरील दिमित्रिएभबीचको छलफलपछि बाहिर आएको हो ।
शान्ति वार्ताको खाकाको प्रारूप नै रुसी पक्षतिर झुकेको जस्तो देखिए पनि किभले सचेततापूर्वक कूटनीतिक प्रतिक्रिया दिएको बीबीसीले जनाएको छ ।
रुसले युक्रेनको पूर्वी क्षेत्रमा नियन्त्रणमा लिएको दाबी गरिरहँदा र जलेन्स्कीको प्रशासन १० करोड डलर बराबरको ठूलो भ्रष्टाचार काण्डमा मुछिएका बेला अमेरिकाले शान्ति वार्ताको खाका अघि सारेको छ ।
जेलेन्स्कीले नियमित सम्बोधनमा अमेरिकी सैन्य अधिकारीहरूले युद्ध अन्त्य गर्ने प्रस्तावका बुँदाहरू अघि सारेका बताएका छन्, । उनले भने, ‘हामी सुरुका दिनदेखि शान्तिको पक्षमा थियौँ, तर त्यो दीर्घकालीन र वास्तविक शान्ति हुनुपर्छ ।’
युरोपेली देशहरूले भने रूस–युक्रेन युद्ध अन्त्य गर्ने प्रक्रियाबाट आफूहरुलाई अलग गरिएको भन्दै असन्तुष्टि जनाइरहेका छन् ।
जर्मनीका विदेश मन्त्री जोहान वेडफुलले अमेरिकाले अघि सारेको शान्ति प्रस्तावको खाका दिर्घकालीन योजना नभएको र यो एउटा विकल्प जस्तो देखिएको भन्दै आलोचना गरेका छन् ।
अमेरिकी योजना अनुसार युक्रेनको आफ्नो सेनाको संख्या ६ लाखमा सीमित गर्नुपर्ने उल्लेख छ । यस्तै युरोपेली फाइटर–जेटहरू पोल्यान्डमा तैनाथ गरिने प्रावधानमा पनि शान्ति प्रस्तावको खाकामा छ । सुरक्षा सुनिश्चितताको विश्वसनीय भनिएपनि शान्ति प्रस्तावको खाका प्रष्ट छैन ।
रुसले आफ्ना छिमेकी मुलुकमा फेरि आक्रमण नगर्ने र नाटो गठबन्धनलाई थप विस्तार नगर्ने शर्त प्रस्ताव गरिएको छ ।
साथै रुसी अर्थतन्त्रलाई पुन: वैश्विक प्रणालीमा फर्काउने, प्रतिबन्ध हटाउने र जी७ मा पुन: सामेल गराई जी८ बनाउने प्रस्ताव छ ।
जेलेन्स्कीले छिटै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग विस्तृत कुराकानी गर्ने बताएका छन् । ट्रम्प प्रशासनले रूस–युक्रेन युद्ध अन्त्य गर्न प्राथमिकता दिएको जस्तो देखिएपनि युक्रेनलाई सैन्य सहायता भने युरोपेली देशको दायित्वमा पार्न खोजिरहेका छन् ।
ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले युक्रेन शान्ति योजना निर्माणमा सहभागी नभएको भन्ने दाबीको खण्डन गरेकी छन् । अमेरिकाले दुवै पक्षसँग समान तहको परामर्श गरेको उनको दाबी छ ।
उनका अनुसार योजना दुवै देशका प्रतिबद्धताहरू बुझेर अमेरिकाले करिब एक महिनामा शान्ति योजनाको खाका तयार पारेको हो ।
युक्रेनका उच्च अधिकारी रुस्टेम उमेरोभले योजनाका धेरै प्रावधानहरू संशोधनसहित स्वीकार गरेका अमेरिकी अधिकारीहरूको दाबी छ ।
तर केही युक्रेनी सांसदहरूले भने प्रारम्भिक छलफलमा किभ सामेल नभएको र पछि मात्रै समावेश गरिएको बताएका बीबीसीले उल्लेख गरेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच अमेरिकाको अलास्कामा भएको शिखर वार्ता असफल भएपछि दुई देशबीच पुन: तनाव बढेको छ ।
अमेरिकाले शुक्रबारदेखि लागू हुने गरी रुसका सबैभन्दा ठूला दुई तेल कम्पनीमाथि नयाँ प्रतिबन्ध लगाउँदैछ ।
पछिल्लो चार वर्षदेखि जारी युद्धबीच रुस–यूक्रेनबीच मतभेद गहिरिँदै गएको छ । दुवै पक्षले एकअर्काविरुद्ध ड्रोन र क्षेप्यास्त्र आक्रमण जारी राखेका छन् ।
प्रतिक्रिया 4