+
+
Shares

जैविक तटबन्धले रोकियो कटान, बर्दियाका किसानको फेरियो जीवन

जैविक तटबन्धले कटान तथा बाढी रोकेपछि बाँके, बर्दिया, कञ्चनपुरका नदी तटीय क्षेत्रमा बसोवास गर्ने किसान लाभान्वित भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ५ गते १५:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बर्दियाको मधुवन नगरपालिका–२ बंगालीपुरमा २०७२ सालमा जैविक तटबन्ध निर्माणपछि औराही नदीको बाढीले घर र जमिन कटान गर्न छाडेको छ।
  • कञ्चनपुरको दोदा नदीमा चार सय मिटर लामो जैविक तटबन्धले ८५ घर परिवारलाई बाढीबाट जोगाएको छ र बाँझो जमिन हराभरा बनाएको छ।
  • स्थानीय सरकारहरूले जैविक तटबन्ध निर्माणमा बजेट छुट्याउन थालेका छन् र जोखिमपूर्ण क्षेत्रमा यस प्रविधि विस्तार गर्ने तयारी गरेका छन्।

५ मंसिर, बर्दिया । कालो बादलले आकाश ढाकेपछि बर्दियाको मधुवन नगरपालिका–२ बंगालीपुरकी गीता थारुको मन बेचैन हुन्थ्यो । उनले कयौं रात अनिँदो बिताइन् ।

बर्खा यामभर बंगालीपुरकै लक्ष्मीराम थारूका दिन पनि गीता थारुभन्दा भिन्न थिएनन् । किनकी कारण एउटै थियो, औराही नदीको बाढी गाउँ पस्थ्यो, घर डुबाउँथ्यो, जमिन कटान गर्थ्यो अनि बाली ढलाउँथ्यो–बगाउँथ्यो।

तर, यो विगतको कथा हो । वर्तमान भिन्न छ । औराही नदी किनारमा जैविक तटबन्धपछि उनीहरू आरामले निदाउन पाएका छन् । जीवन केही सही सहज भएको छ । नदी छेउमा बनाइएका जैविक तटबन्धले कटान तथा बाढी रोकेपछि बाँके, बर्दिया, कञ्चनपुरका नदी तटीय क्षेत्रमा बसोवास गर्ने किसान लाभान्वित भएका छन् ।

पानी पर्ने बित्तिकै कर्णाली र शाखा नदीहरूका तटीय क्षेत्रमा रहेका समुदाय बाढीबाट प्रभावित हुने गर्थे । बर्दियाको मधुवन नगरपालिका–२ को बंगालीपुर गाउँ बाढीको अत्याधिक जोखिममा पर्दै आएको एक स्थान हो । अहिले, बंगालीपुरस्थित समुदायस्तरिय विपद् व्यवस्थापन समितिको सक्रियतामा औराही नदीको तटीय क्षेत्रमा २ सय २० मिटर लामो जैविक तटबन्ध निर्माण गरिएको छ ।

तटबन्ध निर्माणपछि स्थानीयवासीले सुरक्षित महसुस गरेका छन् । तिनैमध्येकी एक गीता थारु खोज तथा उद्धार समिति बंगालीपुरका संयोजक पनि हुन् । उनी भन्छिन्, ‘तटबन्धले कटान केही स्थानमा बाढी मात्र रोकेको छैन, धेरै कृषि उत्पादनहरू सुरक्षित पनि बनाएको छ ।’

पुराना भोगाइ सम्झँदै उनले भनिन्, ‘पहिले हाम्रो  गाउँसम्म बाढी पस्थ्यो, धान पनि डुबाउँथ्यो, बगाउँथ्यो । धेरै खेतीयोग्य जमिनहरू नदीले काटेर लग्यो । अहिले तटबन्ध बनाएपछि भने बाढी आउन रोकिएको छ, गाउँ पनि सुरक्षित भएको  छ ।’

बंगालीपुर हुँदै बग्ने औराही खोलामा आउने बाढीले गाउँ नै  डुबानमा पर्थ्यो । खेतको अन्न तथा तरकारीबालीको साथै सञ्चित खाद्यान्नमा पनि नोक्शान गर्थ्यो । बस्तीमा पानी पसेपछि स्थानीयहरू घर छोड्न बाध्य हुन्थे । पशु चौपाया र बालबच्चा लिएर सुरक्षित स्थानमा जानुपर्ने बाध्यता अहिले छैन ।

स्थानीय भन्छन्– पहिले गाउँसम्म बाढी पस्थ्यो । धान डुबाउँथ्यो । जमिन कटान हुन्थ्यो । अहिले गाउँ सुरक्षित भएको  छ ।

बंगालीपुरका चौकीदार लक्ष्मीराम थारु जैविक तटबन्ध बनेपछि बाढीको त्रास हटेकोमा खुसी छन् । उनी भन्छन्, ‘तटबन्धन बन्नुअघि हाम्रो धेरै समस्या थियो । धेरैपटक गाउँ नै डुब्थ्यो । धान खेत सबै डुब्थ्यो, बाढीले घर बगाइदिँदा कहाँ खाने कहाँ सुत्ने ठेगान हुँदैन थियो । अहिले तटबन्ध बनेपछि पानी परेको समयमा पनि घरमा नै बस्न पाएका छौं, ढुक्क भएको छ ।’

२०७२ सालमा बाढी उत्थानशील कार्यक्रममार्फत प्राक्टिकल एक्शनको आर्थिक तथा प्राविधिक सहयोग र स्थानीयको श्रमदानबाट जैविक तटबन्ध निर्माण भएको हो । यसपछि २ सय १५ घरधुरी डुवानबाट जोगिएका छन् । स्थानीय तहमा उपलब्ध साधन स्रोत बाँस, बालुवा भरिएको बोरा, डोरी, तार जस्ता सामग्रीबाट २ सय २० मिटर जैबिक तटबन्ध निर्माण गरिएको लक्ष्मीरामले जानकारी दिए ।

तटबन्धपछि अहिले खोलाको बाढी गाउँ पस्न रोकिएको छ । ‘जैविक तटबन्धन बन्नु अघि घर खेत सबै नाश गर्थ्यो, बच्चाहरू पनि डराउँथे । तटबन्ध बनेपछि सुरक्षित भएका छौं । पहिला भोग्नुपर्ने समस्या समाधान भएको छ,’ स्थानीय सम्झना थारु भन्छिन्, ‘अब बाढी आयो भनेर बालबच्चा च्यापेर भाग्नुपर्ने अवस्था छैन ।’

बाँस र रुख रोपिएकाले रुखका जराले तटबन्ध बलियो बनाएको छ । तटबन्ध निर्माण भएको १० वर्ष बितिसक्दा तटबन्धले प्राकृतिक स्वरुप लिएकाले बलियो र मजबुत छ । खोलाले कटान गर्न पाएको छैन ।

मधुवन नगरपालिका वडा नं. २ का अध्यक्ष आशाराम थारुले अन्य जोखिम पूर्ण स्थानमा पनि जैविक तटबन्ध बनाउन पहल गर्नुपर्ने बताए । ‘वडा नम्बर २ मा २०७२ सालमा तटबन्ध बनेपछि समुदायमा क्षति भएको छैन । बालीनालीको नोक्सान भएको सुन्नमा आएको छैन । जैविक रूपमा नै तटबन्ध बनेको कारण यसको परिणाम पनि राम्रो देखिएको छ, तटबन्ध बनेपछि बाढी र कटानको घटना भएको छैन,’ उनी थप्छन्, ‘बाढीले नोक्सान गरेको खबर सुन्न नपरेपछि व्यवस्थापनमा पनि सजिलो भएको छ । स्थानीय सरकारको विपद् व्यवस्थापनमा खर्चहुने रकम पनि जोखिएको छ ।’

बाँस र रुखका जराले तटबन्ध बलियो बनाएको छ । तटबन्ध निर्माण भएको १० वर्ष बितिसक्दा तटबन्धले प्राकृतिक स्वरुप लिएको छ ।

राजापुर नगरपालिका वडा नं. ३ रजपुरवा र वडा नं. ४ मुक्तकमैया टोलको बुढी खोलामा पनि जैविक तटबन्ध निर्माण गरिएको छ । कञ्चनपुरको शुल्काफाँटा नगरपालिका तिल्कीको दोदा नदीमा पनि जैविक तटबन्ध बनाइएको छ । तटबन्धले बाढी र कटान रोकेपछि वर्षौंदेखि बाँझो खेतमा किसानले तरकारी र अन्नखेती गर्न थालेका छन् ।

२०६५ सालमा दोदा नदीमा आएको बाढीबाट शुक्लाफाँटा नगरपालिका १२ तिल्कीका १२ परिवार र लालझाडीको सिंगो गाउँ नै विस्थापित भएको थियो । दोदा नदीमा हरेक वर्ष आउने बाढीले कृष्णपुर, शुक्लाफाँटा, लालझाडी र पुनर्वासमा ठूलो क्षति पुर्‍याउँथ्यो । नदीले खेत कटान गर्दै गाउँसम्म पुगिसकेको थियो भने वरपरका जमिन पनि बाँझो थिए । प्राक्टिकल एक्सन र पेसवानको सहकार्यमा संचालित समुदायका लागि जलवायु उत्थानशील कार्यक्रम अन्तर्गत तिल्की आसपास दोदा नदीमा चार सय मिटर जैविक तटबन्ध निर्माणपछि बाढी मात्रै रोकिएको छैन, वर्षौंदेखि बाँझो जमिन हराभरा देखिन थालेका छन् । यसले स्थानीय ८५ घर परिवारमा खुसी ल्याएको छ ।

शुक्लाफाँटा नगरपालिका १२, तिल्की कञ्चनपुरकी कलावतीदेवि डगौरा तटबन्ध बनेपछि निकै खुसी छन् । ‘खेती गर्न सहज भएको र बाढीले बगाइदिने डर पनि हराएको छ,’ उनी भन्छिन्, ‘पहिला भन्दा सजिलो भएको छ । खोलाबाट पानी माथि फर्किन्थ्यो । बाढीले सबै बगाउँथ्यो । तटबन्ध पछि घाँस रोप्यौं, बाँस रोप्यौं, चरिचरन पनि बन्द गर्‍यौं । अहिले सरखण्ड, उखु, मास रोपेका छौं ।’

नदीकटान रोकी क्षति न्युनीकरण गर्न बाँस, बोरा, स्याउला, बालुवाको प्रयोग गरी जैविक तटबन्धन निर्माण गरिन्छ । समुदायका लागि जलवायु उत्थानशील कार्यक्रमका प्राविधिक सुपरीवेक्षक जनक लेखक वातावरणमैत्री र स्थानीय स्रोतसाधन प्रयोगबाट निर्माण गरिने जैविक तटबन्ध कम खर्चिलो र धेरै प्रभावकारी रहेको बताउँछन् । ‘यो वातावरणमैत्री पनि छ । स्थानीय स्तरमा प्राप्त स्रोतसाधन नै प्रयोग हुन्छ । यसमा बढी बाँस प्रयोग हुन्छ । यो कम खर्चिलो पनि छ,’ उनी भन्छन् ।

३० हेक्टर जमिन जोगियो

पहिलो चरणमा परियोजनाबाट १० लाख ६८ हजार ४ सय र दोश्रो चरणमा १० लाख ५० हजार ३ सय गरी लगभग २१ लाख रुपैयाँ रकम खर्च गरिएको छ । ४ सय मिटर लामो जैविक तटबन्ध  निर्माणमा स्थानीयवासीले १ लाख १० हजार बराबरको जनश्रमदान गरेका छन् । जैविक तटबन्धले ३० हेक्टर क्षेत्रफल जमिन कटान हुनबाट जोगिएको छ ।

तटबन्धपछि तटीय क्षेत्रका स्थानीयले बगर छेउमा उखु, सखरखण्ड, बदाम लगायत कृषि तथा तरकारी लगाएर आयआर्जन गर्न थालेका छन् । जोखिमपूर्ण स्थानमा जैविक तटबन्ध नै निर्माण गर्नुपर्ने तिल्कीको इटाहा सामुदायिक विपद् व्यवस्थापन समितिका सचिव मंगलप्रसाद चौधरीको सुझाव छ ।

‘यो वातावरणमैत्री प्रविधि हो । यसबाट कटानी पनि रोकिन्छ र केही हदसम्म बाढी पनि । स्थानीय सीपले पुग्ने, यो प्रविधि सजिलो र सस्तो भएकाले कम पैसामा धेरै ठाउँमा तटबन्ध बनाउन सकिन्छ । २४ लाखमा हामीले चार सय मिटर तटबन्ध निर्माण गर्‍यौं । यसको दक्षिणतर्फ पनि यस्तै तटबन्ध गरेर घाँस, खर उत्पादनगरी ढकिया लगाएत बनाउन काम लाग्छ । त्यसैले यो प्रविधि अन्यत्र पनि प्रयोग गर्न सुझाव दिन्छु,’ उनी भन्छन् ।

पालिकाले बजेट छुट्याउन थाले

सानो लगानीमा प्रभावकारी नतिजा प्राप्त भएपछि स्थानीय सरकारले जैविक तटबन्ध निर्माणमा बजेट छुट्याउन थालेका छन् । आफू मातहतका प्राविधिकको सुझावमा शुक्लाफाँटा नगरपालिका वडा नम्बर १० ले पनि जोखिमपूर्ण स्थानमा जैविक तटबन्ध निर्माणको काम अघि बढाउने तयारी गरेको छ ।

शुक्लाफाँटा नगरपालिका वडा नम्बर १० का अध्यक्ष नवलसिंह राना भन्छन्, ‘नगरपालिकाका प्राविधिकहरूले पनि यो प्रविधिलाई राम्रो भन्नुभएको छ । हामीले आवश्यकताअनुसार शुक्लाफाँटा नगरपालिका भित्रका अन्य वडामा पनि जैविक तटबन्ध बनाउने तयारी गरेका छौं ।’

बर्दियाको गुलरिया नगरपालिकास्थित बालापुरमा सबैभन्दा पहिले जैविक तटबन्ध निर्माण गरिएको थियो । यो तटबन्ध सफल अनि प्रभावकारी देखिएपछि जलवायु उत्थानशिलमा काम गर्दै आएका संघ संस्था र स्थानीय सरकारले चासो देखाइ बजेट छुट्याउन थालेका छन् ।

अहिले राजापुर नगरपालिकाको राजापुरुवा मुक्तकमैया टोल, जानकी गाउँपालिकाको सातबिघा, बक्लहवा, फरेला, गेरुवा गाउँपालिकाको दक्षिणपुरमा पनि जैविक तटबन्ध बनाइएको छ ।

तटबन्धले बाढी र कटान रोकेपछि वर्षौंदेखि बाँझो खेतमा किसानले तरकारी र अन्नखेती गर्न थालेका छन् ।

अहिले यी स्थानमा मनसुन तथा अन्य समयमा पानी पर्ने बित्तिकै नदी तटीय गाउँबस्ती डुबानमा पर्ने तथा स्थानीयको घर, कृषिबाली तथा भण्डारण गरिएको खाद्यान्नमा हुने क्षति रोकिएको छ ।

तटीय क्षेत्रका बासिन्दाले नदी किनार तथा बगरमा तरकारी तथा अन्नबाली लगाएर आयआर्जन पनि गर्न थालेका छन् । अहिले यस्ता जैविक तटबन्ध कञ्चनपुरको दोदा, राजापुर नगरपालिकाको बुढीखोाला, बालापुर गुलरियााको बबइ लगायत १२ भन्दा बढी समुदायमाा निर्माण भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?