News Summary
Generated by OK AI. Editorially reviewed.- बलिउडका हिमान भनिने धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन भएको छ ।
- उनले ६ दशकमा ३०० भन्दा बढी फिल्ममा काम गरेका छन्।
जीवनका उत्तरार्द्धतिर धर्मेन्द्र आफ्ना फार्म हाउसतिर बढी देखिन्थे । कहिले लटरम्म फलेका फलहरू देखाउँदै, कहिले लहलह झुलिरहेका धानका बाला समाउँदै उनी जीवन र जगतका कुरा गर्थे । खुसी र आनन्दको कुरा गर्थे । माटो र मिहेनतको कुरा गर्थे ।
धमेन्द्र, आफैंमा बलिउडको अग्लो नाम । यस्तो नाम, जसलाई प्रतिस्थापन गर्ने कोही थिएनन् । कोही हुने छैनन् । उनी एउटा सिंगो युग हुन् । इतिहास हुन् । जसलाई बलिउडले सधैं सधैं श्रद्धाले पुकारिरहन्छ ।
अभिनय क्षमताले होस् वा सुन्दरताले, उनी दर्शकको हृदयमा धड्किएका थिए । एउटा यस्तो बेला थियो, जहाँ युवतीहरू धर्मेन्द्र जस्तो जीवनसाथीको कल्पनामा डुब्थे र युवाहरू धर्मेन्द्र जस्तै बन्ने अभ्यास गर्थे । धर्मेन्द्र त्यसै धर्मेन्द्र बनेका थिएनन् ।
माटोले लिपिएका स्कुलको मैदानबाट सुरु भएको उनको यात्रा फिल्मी दुनियाँको ठूलो पर्दासम्म पुग्यो । स्कुलपछि उनले पञ्जाबको रामगढिया कलेज, फगवाडाबाट इन्टरमिडिएट गरे । पढाइमा सामान्य भए पनि बचपनदेखि नै अभिनयप्रति उनको रुचि थियो । कलेजको पहिलो दिनमै उनले फिल्ममा नाम कमाउने निर्णय गरेका थिए ।
फिल्म फेयर पत्रिकाले राष्ट्रिय स्तरमा आयोजना गरेको नवप्रतिभा पुरस्कारको विजेता थिए, उनी । त्यही नाताले उनलाई पञ्जाबबाट मुम्बई डोहोर्याएको थियो फिल्ममा काम गर्न।
सन् १९६० मा फिल्म ‘दिल भी तेरा हम भी तेरे’ बाट धर्मेन्द्रले बलिउडमा पाइला राखे र यहींबाट उनको फिल्मी करियरको सुरुवात भयो । आफ्नो सादगी र प्राकृतिक अभिनय शैलीबाट उनले चाँडै नै दर्शकको मन जिते । शोले, सीता और गीता, चुपके चुपके, धर्मवीर र बेताब जस्ता फिल्मले उनलाई बलिउडको गौरवशाली नाम बनाइदियो।
७० को दशकमा आफ्नो बलियो शरीर, एक्सन र सादगीपनको मद्दतमा उनले उद्योगमा नयाँ ट्रेन्ड नै स्थापित गरे । फ्यानहरूले माया गरेर उनलाई ‘हिम्यान अफ बलिउड’ को उपनाम दिए । उनले प्रमाणित गरे कि, गाउँको पृष्ठभूमिबाट आएको कुनै पनि व्यक्तिले आफ्नो सपना पूरा गर्न सक्छ ।
धर्मेन्द्रको जीवनकथा भनेको संघर्ष, प्रेम, विवाह र बलिउडको चमकधमकले भरिएको छ । उनको पहिलो विवाह प्रकाश कौरसँग सन् १९५४ मा भएको थियो । उनीबाट दुई सन्तान सनी देओल र बबी देओल जन्मिए । तर, उनको जीवनमा मीना कुमारी र हेमा मालिनी आइपुगे, जोसँगको प्रेमकथाले उनको जीवनलाई पूरै बदलिदियो।
ट्यालेन्ट हन्टबाट बलिउड प्रवेश
धर्मेन्द्र लुधियानाबाट दिल्ली आएका थिए । त्यहाँ उनले ‘फिल्मफेअर’ नामक ट्यालेन्ट हन्ट प्रतियोगितामा भाग लिए र पहिलो स्थान हालिस गरे । यो प्रतियोगिता आर.के. नयरले आयोजना गरेका थिए । यसले उनलाई बलिउडको ढोका खोलिदियो । उनको पहिलो फिल्म ‘दिल भी तेरा हम भी तेरे’ थियो, जसमा मीना कुमारी मुख्य भूमिकामा थिइन्।
डाइरेक्टरको ग्यारेजमा बसाइ
फिल्मी करियर सुरु गर्दा धर्मेन्द्रसँग पैसा थिएन । उनी बलिउडका डाइरेक्टर अर्जुन हिंगोरानीको ग्यारेजमा बस्थे । उनीहरूले सँगै खाना खान्थे र संघर्ष साझेदार गर्दथे । यो समयमा उनले धेरै कठिनाइ भोगे ।
मीना कुमारीसँग प्रेम र शर्त
धर्मेन्द्र र मीना कुमारीबीचको प्रेम कथा बलिउडको चर्चित कथा हो । ‘फिल्मफेअर’ प्रतियोगितापछि मीना कुमारीले उनलाई परीक्षण शुट दिइन् । तर, उनले शर्त राखिन्– यदि उनी स्टार बन्न चाहन्छन् भने राम्रो अभिनय सिक्नुपर्छ । मीना कुमारीले नै उनलाई अभिनय सिकाइन् र उनलाई स्टार बनाउन मद्दत गरिन् । फिल्म ‘पहली नजर’ मा उनीहरूको केमिस्ट्री देखियो । तर, मीना कुमारीको विवाह भइसकेको थियो, त्यसैले यो सम्बन्ध गुप्त रह्यो ।
हेमा मालिनीसँग प्रेम र विवाह
धर्मेन्द्र र हेमा मालिनीको प्रेमकथा बलिउडको सबैभन्दा चर्चित र विवादास्पद कथा हो । सन् १९७० मा फिल्म ‘तुम हसीन मैं जवां’ को छायांकनका क्रममा यी दुई नजिकिएका थिए । त्यसपछि शोले, सीता और गीता, ड्रीम गर्ल जस्ता फिल्ममा उनीहरूको जोडी सुपरहिट भयो । दुवै एक-अर्कासँग गहिरो प्रेममा परे। तर धर्मेन्द्र पहिल्यै प्रकाश कौरसँग विवाहित थिए र उनका चार सन्तान (सनी, बॉबी, विजेता, अजेता) थिए।
हेमाले धर्मेन्द्रलाई विवाहको प्रस्ताव राखिन्, तर हिन्दू विवाह ऐनअनुसार दोस्रो विवाह सम्भव थिएन । त्यसैले सन् १९८० मा धर्मेन्द्रले इस्लाम धर्म अपनाएर नाम दिलावर खान केवट राखे र हेमा मालिनीसँग इस्लामी रीतिरिवाजअनुसार विवाह गरे । यो विवाह पूरै गोप्य राखियो । पछि दुई छोरी ईशा देओल र अहाना देओल जन्मिए ।
प्रकाश कौरले कहिल्यै सम्बन्धविच्छेद गरिनन्, त्यसैले धर्मेन्द्रका दुवै परिवार आजसम्म अलग–अलग बसेका छन् । धर्मेन्द्रले एक अन्तर्वार्तामा भनेका थिए, ‘मीना कुमारी मेरी गुरु थिइन्, जसले मलाई अभिनय सिकाइन् । हेमा मेरी जीवनसाथी हुन्, जससँग मैले नयाँ सुरुवात गरें ।’
शोलेको किस्सा
धर्मेन्द्रको फिल्म ‘शोले’सँग जोडिएको निकै रोचक किस्सा छ । जय–वीरूको मित्रताको गहिराइ देखाउने फिल्ममा वीरू बनेका धर्मेन्द्रले वसन्तीका लागि डायलग बोल्ने प्रसिद्ध ‘सुसाइड टावर’ दृश्यमा एक विशेष कारणले धेरै टेक दिनुपर्ने भयो । उनी वास्तवमै हेमा मालिनीलाई प्रभावित गर्न चाहन्थे, किनकि सो समय उनी हेमाप्रति मोहित थिए ।
धर्मेन्द्रले थप टेक दिनुपरेपछि शूटिङ लम्बिँदै गयो, जसले उनलाई हेमासँग अझ बढी समय बिताउने मौका दियो ।
पहिलो फिल्मको पारिश्रमिक
धर्मेन्द्रले आफ्नो पहिलो फिल्म ‘दिल भी तेरा हम भी तेरे’ (१९६०) का लागि जम्मा ५१ रुपैयाँ पारिश्रमिक पाएका थिए । यो कुरा उनी आफैंले एक अन्तर्वार्तामा खोलेका थिए । त्यो बेला उनी ‘फिल्मफेयर’को ट्यालेन्ट हन्ट जितेर मुम्बई आएका थिए ।
फिल्ममा उनको भूमिका सानो थियो, तर उनको सुन्दर अनुहार र सादगीले सबैको ध्यान खिच्यो । निर्माता बलबिन्दर सैनीले उनलाई ५१ रुपैयाँ मात्र दिए । धर्मेन्द्रले हाँस्दै भनेका थिए, ‘त्यो ५१ रुपैयाँले मलाई धेरै खुसी दियो । मलाई लाग्यो– अब म बलिउडमा छु ।’
राजनीतिमा पाइला
सन् २००४ मा उनी भारतीय जनता पार्टी (बीजेपी) को प्रतिनिधित्व गर्दै राजस्थानको बीकानेरबाट सांसद बने । तर राजनीतिमा उनी खासै सक्रिय रहेनन् र एक कार्यकालपछि टाढा भए।
धर्मेन्द्रको जीवन एउटा खुला किताब जस्तै छ– सफलता, प्रेम, विवाद, परिवार र फर्केर नआउने सुपरस्टारडमको कथा । बलिउडले कहिल्यै नबिर्सने ‘गबर’ र ‘वीरू’ आज पनि सबैको मनमा जीवित छन्।
प्रतिक्रिया 4