News Summary
Generated by OK AI. Editorially reviewed.- बलिउड अभिनेत्री सेलिना जेट्लीले पति पिटर हागविरुद्ध मुम्बई अदालतमा घरेलु हिंसाको उजुरी दर्ता गरी सम्बन्धविच्छेदको माग गरेकी छिन्।
- जेट्लीले ५० करोड भारु एलिमनी र प्रति महिना १० रुपैयाँ भरणपोषणको माग गरेकी छिन् र आफ्नो जीवन खोसिएको बताएकी छिन्।
- उनले पिटरले आफूलाई भावनात्मक र शारीरिक रूपमा दुव्र्यवहार गरेको आरोप लगाउँदै छोराछोरीहरूको हिरासत खोजेकी छिन्।
मुम्बई । बलिउड अभिनेत्री तथा पूर्वमिस इन्डिया सेलिना जेट्लीले पति पिटर हागविरुद्ध मुम्बई अदालतमा घरेलु हिंसाको उजुरी दर्ता गराएकी छिन्, जसमा उनले सम्बन्धविच्छेदको माग गरेकी छिन् ।
उजुरीमा उनले आफूमाथि हागले कुटपिट र दुव्र्यवहार गरेको बताएकी छिन् ।
साथै, ५० करोड भारु एलिमनी (भत्ता) र प्रति महिना १० रुपैयाँ भरणपोषणको माग पनि गरेकी छिन् । सम्बन्धविच्छेदको प्रक्रिया चलिरहेको बेला सेलिनाले एक भावुक पोस्ट सेयर गर्दै आफ्नो जीवन खोसिएको बताएकी छिन् ।
जेट्लीले आफ्नो सम्बन्धविच्छेदको बारेमा खुल्दै लेखिन्, ‘हौसला । सम्बन्धविच्छेद । मेरो जीवनको सबैभन्दा कठिन, सबैभन्दा अशान्त आँधीबेहरीको बीचमा, मैले कहिल्यै कल्पना गरेकी थिइनँ कि म यो लडाई एक्लै लड्नु पर्नेछ ।’
उनले अघि लेखेकी छिन्, ‘आमाबाबु बिना, सहयोग बिना । मैले कहिल्यै कल्पना गरेको थिइनँ कि त्यस्तो दिन आउनेछ जब मेरो संसारको छानालाई थाम्ने सबै खम्बाहरू- मेरा आमाबाबु, मेरो भाइ, मेरा छोराछोरीहरू, र त्यो मान्छे जसले मलाई मेरो साथमा उभिने, मलाई माया गर्ने, मेरो हेरचाह गर्ने र दुःख-कष्टमा मेरो साथ दिने वाचा गरेको थियो, सबै गायब हुनेछन् ।’
अभिनेत्रीले अगाडि लेखेकी छिन्, “जीवनले मबाट सबैथोक खोस्यो । मैले विश्वास गरेका मानिसहरू टाढा गए । मैले विश्वास गरेका वाचाहरू चुपचाप तोडिए । तर यो आँधीले मलाई डुबाएन, यसले मलाई जन्म दियो ।’
‘यसले मलाई तीब्र छालहरूबाट तातो बालुवामा फ्याँक्यो । यसले मलाई त्यो महिलासँग परिचय गरायो जो म भित्र बस्छिन् र कहिल्यै हार मान्दिनन् । किनकि म एक सिपाहीकी छोरी हुँ, साहस, अनुशासन, दृढता, सहनशीलता, आगो र विश्वासमा हुर्किएकी ।’
अभिनेत्रीले अन्त्यमा लेखिन्, ‘संसारले मलाई ढाल्न खोज्दा पनि मलाई खडा हुन सिकाइएको थियो । मेरो मुटु टुट्दा पनि लड्न । ममाथि अन्याय हुँदा कुनै दया नदेखाउन । अनि जीवन असम्भव लागे पनि बाँचिरहे । मेरो प्राथमिकता मेरो सिपाही भाइको लागि लड्नु, मेरा बच्चाहरूको मायाको लागि लड्नु, मेरो मर्यादाको लागि लड्नु हो । मैले सामना गरेको हरेक क्रूरता र त्यागको वरुद्ध घरेलु हिंसाको उजुरी दर्ता गरिएको छ ।’
अभिनेत्रीले पोस्टमा आफ्नो मुद्दा अदालतमा रहेकोले यसमा कुनै टिप्पणी नगर्ने पनि बताएकी छिन् । उनले थपिन्, ‘यस वर्षले मलाई तोड्ने छैन । यो वर्ष म आँधीबेहरीबाट माथि उठ्नेछु । यो वर्ष मबाट खोसिएको सबै कुरा फिर्ता लिनेछु ।’
जेटलीले नोभेम्बर २१ मा मुम्बईको एक अदालतमा सम्बन्धविच्छेदको निवेदन दायर गरेकी थिइन् । उक्त निवेदनको सुनुवाइ नोभेम्बर २४ मा भएको थियो, त्यसपछि उनका पति अस्ट्रियाली व्यापारी पिटर हागलाई कानुनी सूचना जारी गरिएको थियो ।
अभिनेत्रीले आफ्ना पति पिटरले आफूलाई भावनात्मक र शारीरिक रूपमा दुव्र्यवहार गरेको आरोप लगाएकी छिन्, जसले गर्दा उनलाई अष्ट्रेलिया छोडेर भारत फर्कन बाध्य पारिएको छ । हाल, सेलेनाका छोराछोरी आफ्ना बुबासँग बसिरहेका छन्, र उनले उनीहरूको हिरासत पनि खोजेकी छिन् ।
सेलिनाले सन् २०१० मा अस्ट्रियामा हागसँग विवाह गरिन् । उनीहरूका तीन छोराछोरी छन्- विन्स्टन, विराज र आर्थर । त्यसपछि सन् २०१७ मा, अभिनेत्रीले जुम्ल्याहा छोराहरूलाई जन्म दिइन्, जसमध्ये एकको मुटुमा समस्या आएपछि मृत्यु भयो ।
प्रतिक्रिया 4