११ मंसिर, काठमाडौं । अपहरणमा १२ वर्ष कैद बसेर छुटेलगत्तै नेकपा एमालेको भ्रातृ संगठन युवा संघको केन्द्रीय सदस्य बनेका व्यक्ति अहिले चोरी तथा लुटपाटको कसुरमा पक्राउ परेका छन् ।
चोरी तथा लुटपाटमा संलग्न रहेको देखिएपछि पक्राउ गरेर अनुसन्धान गर्दा ती व्यक्ति एमालेमा आबद्ध रहेको भेटिएको हो । त्यतिमात्रै होइन उनी यसअघि राजधानी काठमाडौंमै भएको एक चर्चित अपहरणमा दोषी ठहर भएर जेल सजाय भोगेको व्यक्ति समेत रहेको अनुसन्धानबाट खुलेको छ ।
ती व्यक्ति हुन्, लमजुङ दोर्दी गाउँपालिका–७ घर भएका ३९ वर्षीय टासी गुरुङ । उनको आपराधिक पृष्ठभूमि र राजनीतिक कनेक्शन देखेपछि अहिले अनुसन्धान अधिकारीहरू नै दंग परेका छन् ।
महिलाको गलाको सिक्री लुटपाट
टासी अहिले एक महिलाको गलाको सिक्री लुटपाट आरोपमा प्रहरी वृत्त स्वयम्भूको हिरासतमा छन् । १ मंसिर दिउँसो ५ बजेर २८ मिनेट जाँदा नागार्जुन नगरपालिका–३ ठूलो भर्याङस्थित सडकमा एक महिलाको गलाको सिक्री लुटपाट भएको थियो ।
बाराको निजगढ घर भएकी ४२ वर्षीय सरस्वती तामाङले गलामा लगाएको डेढ तोलाको सुनको सिक्री स्कुटरमा आएको दुई जनाको समूहले थुतेर लग्यो । अहिले यही कसुरमा टासीलाई पक्राउ गरेर अनुसन्धान गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए ।
प्रहरी वृत्त स्वम्भूको टोलीले टासीलाई ९ मंसिर राति ८ बजेतिर तारकेश्वर नगरपालिका–८ जरङ्खुबाट पक्राउ गरेको हो । अहिले उनीमाथि हातहतियार खरखजना तथा चोरी, लुटपाटको कसुरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

सिक्री थुत्ने दिन टासी क्रिकेट हेर्न भनेर कीर्तिपुरस्थित त्रिवि रंगशाला पुगेको र टिकट नपाएपछि फर्केको अनुसन्धानमा खुलेको छ । फर्कने क्रममा हल्चोकस्थित शिवम् होटल नजिकको गल्लीमा आएपछि उनले ती महिलाको गलाको सिक्री लुटेको खुलेको हो ।
पीडित महिलाले प्रहरीमा जाहेरी लिदएपछि अनुसन्धानमा खटिएको प्रहरी वृत्त स्वयम्भूको टोलीले सीसीक्यामेराको फुटेज हेर्दै व्यक्ति पहिचान भएको थियो । त्यसपछि विभिन्न प्राविधिक अनुसन्धानपछि प्रहरीले टासीलाई पक्राउ गर्यो ।
अहिले टासीसँगै सिक्री लुटपाटमा संलग्न अर्का व्यक्ति नुवाकोट घर बताउने मान्देव भनिने अनिल गुरुङ पनि पक्राउ परेका छन् । लुटेको सिक्री खरिद गर्ने अर्का व्यक्ति सुशील लामालाई पनि पक्राउ गरेर प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
टासीले आफन्त राजु गुरुङ नाम गरेका व्यक्तिमार्फत अनिलसँग सम्बन्ध बनाएको बताएका छन् ।
लुटपाट गर्दा प्रयोग भएको स्कुटरदेखि कपडासम्म बरामद
प्रहरीले टासीबाट लुटपाट गर्दा प्रयोग भएको स्कुटरदेखि लगाएको कपडा समेत बरामद गरेको छ । लुटपाट गर्दा प्रयोग भएकोख प्रदेश–३–०२–००४ प २७३५ नम्बरको रहेको नम्बर प्लेट, प्रदेश–३–०२–००५ प ४०७१ नम्बरको स्कुटर बरामद भएको छ ।
लुटपाट गर्ने बेला टासीले लगाएका सबै कपडा तथा जुत्ता, हेल्मेट पनि बरामद गरिएको परिसरका एसपी भट्टराईले बताए ।
स्क्रुडाइबर, टी रेन्ज १/१ थान, चस्मा १ थान, औंठी १ थान, खुकुरी १ थान, ७७११० लेखिएको ७.६५ को अटो पेस्तोल, त्यसमा लाग्ने म्याग्जिन १ थान, ६ राउण्ड गोली, पेस्तोल पोज १ थान पनि बरामद भएको छ ।
बाबुराजा रावलका अपहरणकारी
टासीमाथि अनुसन्धान गर्दा उनी भ्याली कोल्ड स्टोरका सञ्चालक बाबुराज रावल अपहरणका दोषी रहेको खुलेको छ । यो अपहरण प्रकरण अहिले पनि उत्तिकै चर्चित छ ।
बाबुराजा रावलको अपहणका मुख्य योजनाकार उदय सेट्टी हुन् । अमर टण्डन अपहरणमा पक्राउ परेर जेल परेपछि सेट्टीले नेपालमा अपहरणको भन्दा चलाएका थिए । १ पुस २०६५ मा रावलको अपहरण भएको थियो ।
मारुती गाडीमा हालेर ४/५ जनाको समूहले मुखमा पट्टी बाँधेर रावलको अपहरण गरेको थियो । अपहरणमा प्रयोग भएको उक्त भ्यान कान्ति बाल अस्पतालको पार्किङमा प्रहरीले फेला पारेको थियो ।
यो अपहरणबारे प्रहरीले त्यसबेला मात्रै थाहा पायो, जति बेला बाबुराजा अपहरणमुक्त भइसकेका थिए ।
यही अपहरण घटनाको अनुसन्धानका सिलसिलामा अपहरणकारीका नाइके भारतीय नागरिक उदय सेट्टी पक्राउ परे । तर सेट्टीले भने बाबुराजाको अपहरण अस्वीकार गरे ।

प्रहरीको अनुसन्धानका क्रममा सेट्टीले नै बाबुराजाको अपहरणमा प्रल्हादको संलग्नता हुनसक्ने बताएका थिए । त्यसअघिसम्म प्रल्हाद महतबारे प्रहरी अनविज्ञ थियो । प्रल्हादमाथि अनुसन्धान गर्ने क्रममा नै बाबुराजा रावलको अपहरण प्रकरण सुल्झिएको थियो ।
प्रल्हाद सुरुमा सेट्टी समूहमै रहेर अपहरणको धन्दा चलाउने व्यक्ति रहेको खुलेको थियो । अपहरणमा प्रयोग हुने चोरीका गाडी, मोटरसाइकल प्रल्हादले नै अहिले दोषी ठहर भएका बन्दोबस्त गरेका थिए ।
थप अनुसन्धानका क्रममा प्रल्हादसँगै बाबुराजाको अपहरणमा विष्णु जिसी, सोले कुमार भनिने दुर्गाबहादुर बुढाथोकी, बंगुरे भनिने विकास कार्की, विनोद कार्की, अनिल गुरुङ र अहिले पक्राउ परेका टासी गुरुङको संलग्नता खुलेको छ । टासी त्यतिबेला सोल्टी नामले परिचित थिए ।
बाबुराजालाई अपहरण गरेर महाराजगञ्जकै एक घरमा राखिएको थियो । यो अपहरणका नाइके भारतीय नागरिक सेट्टी अहिले पनि रसुवा कारागारमा छन् ।
अपहरणका अर्का दोषी जो अहिले पक्राउ परेका टासी १२ वर्ष जेल र १ लाख ५० हवार जरिवाना तिरेर २०७७ सालमा कैदी मुक्त भएका थिए ।
यो अपहरणमा एक करोड पचास लाख फिरौती असुलिएको थियो ।
अपहरणबाट छुटेलगत्तै युवा संघको केन्द्रीय सदस्य
अपहरणको कसुरमा १२ वर्ष जेल बसेर छुटेका टासी त्यसपछि भने राजनीतिक संरक्षणमा गुण्डागर्दीदेखि लुटपाटको धन्दा चलाएको भेटिएको अनुसन्धानमा खटिएका एक अधिकृतले बताए ।
जेलबाट छुटेपछि उनी नेकपा एमालेको युवा संघमा आबद्ध भए । किरण पौडेल अध्यक्ष रहेका बेलामा र अर्को एक पालामा गरी लगातार उनी दुईपटक युवा संघको केन्द्रीय सदस्य बनेका थिए ।
यसैको आडमा उनले लमजुङमै ठेक्कापट्टाको कमिशनदेखि मर्स्याङ्दी खोलाबाट बालुवा तथा ढुंगा, गिट्टी उत्खनन् गरेर बेचेको एक अनुसन्धान अधिकृत बताउँछन् । ‘जेलबाट छुटेलगत्तै उनी युवाको केन्द्रीय समस्य बने । त्यसैको आडमा ढुंगा, गिट्टी उत्खनन्देखि, ठेकेदारबाट कमिशन पनि उठाउन थालेको देखिन्छ,’ ती अधिकृतले अनलाइनखबरसँग भने ।
दुई कार्यकालय युवा संघको केन्द्रीय सदस्य बनेर काम गरेका टासी अहिले भने एमालेकै खेलकुद विभागमा आबद्ध हुन लागेका थिए । त्यसका लागि सिफारिसको समेत तयारी भइरहेको थियो । यही बेला उनी चोरी तथा लुटपाटमा समातिए ।

पेस्तोल बोकेरै चुनावमा खटिएका थिए टासी
सिक्री चोरी तथा लुटपाटमा समातिएका टासीको कोठा खानतलासी गर्दा पेस्तोल र ६ राउण्ड गोली फेला परेको थियो । सुरुमा प्रहरीले जेनजी आन्दोलनमा प्रहरीबाट लुटिएको पेस्तोल हुनसक्ने आशंका गरेको थियो ।
तर, यसको विस्तृत अनुसन्धान गर्दा २०७९ को चुनाव कनेक्शन देखिएको एक अनुसन्धान अधिकृत बताउँछन् । उक्त कुरा पक्राउ परेका टासीले प्रहरीसमक्ष बयानमा समेत खुलाएका छन् ।
२०७९ को निर्वाचनमा सुरक्षाका लागि भन्दै उनले वीरगञ्ज बस्ने ठाकुर नाम गरेका व्यक्तिमार्फत भारतीय नागरिकसँग खरिद गरेको दाबी गरेका छन् ।
ठाकुरले नै हतियार मिलाइदिन्छु भन्दै भारतीय मुन्ना नाम गरेका व्यक्तिसँग २०७९ को प्रतिनिधिसभा निर्वाचन हुनुभन्दा एक महिनाअघि नै खरिद गरेको खुलेको प्रहरीको भनाइ छ ।
‘भारतीय नागरिकले नै पोखराको डुम्रे भन्सारसम्म पेस्तोल ल्याइदिएपछि टासीले ४५ हजारमा खरिद गरेको देखिन्छ,’ एक अनुसन्धान अधिकृतले भने, ‘यो हतियार चुनावभर बोकेर हिंडेको स्वीकार समेत टासीले गरेका छन् ।’
पेस्तोल किनेपछि ती व्यक्तिहरूसँग अहिलेसम्म सम्पर्क नभएको दाबी टासीको छ । चुनावमा हतियार बोकेर एमालेको सुरक्षामा हिँडेका टासीले त्यही पेस्तोल काठमाडौं आउँदा पनि ल्याउने गरेको र अहिले कोठामा राखेको अवस्थामा बरामद भएको हो । अहिले भने कतै प्रयोग नगरी झोलामा लुकाएर राखेको दाबी टासीको छ ।
प्रतिक्रिया 4