११ मंसिर, काठमाडौं । सांसदहरूले निर्वाचनमा जान राजनीतिक दलहरूको विश्वास सरकारले आर्जन गर्नुपर्नेमा जोड दिएका छन । यसका लागि सरकारले अहिलेसम्म जति गरेको छ त्यतिले मात्रै पुग्छ भनेर उनीहरूले गृहमन्त्री ओमप्रकाश अर्याल समक्ष प्रश्न गरेका छन् ।
बिहीबार राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित समितिको बैठकमा बोल्दै सांसदहरूले तोकिएको समयमा निर्वाचन गर्न सरकारले राजनीतिक दलहरूसहित सबैको विश्वास जित्न सक्नुपर्ने बताएका हुन् ।
समिति बैठकमा सांसद पदम परियारले पछिल्लो समयमा एकले अर्कोलाई निषेध गर्ने घटना समेत देखिएको बताए ।
‘बाराको घटना, कैलालीको घटना देख्यौं,’ उनले प्रश्न गरे, ‘जेनजी भर्सेस पार्टी, पार्टी भर्सेस जेनजी र पार्टी भर्सेस पार्टी हुने अवस्थालाई सरकारले कसरी काबुमा राख्दैछ ?’
अर्का सांसद श्रीकृष्णप्रसाद अधिकारीले निर्वाचनमा जानुपर्छ भन्नेमा सबै सहमत रहेको बताए ।
‘निर्वाचनमा जानका लागि राजनीतिक दलहरूको विश्वास आर्जन गर्नुपर्छ,’ उनले भने, ‘सरकारले विश्वासको वातावरण बनाउन काम गरिरहेको होला । तर, जनतामा अझै शंका छ । यसमा सरकारको ध्यान जाओस् ।’
सांसदहरू नरबहादुर विष्ट, गरिमा शाह, रुक्मिणि कोइराला लगायतले पनि राजनीतिक दलहरूको विश्वास आर्जन गर्नेतर्फ ध्यान दिन गृहमन्त्री अर्याललाई सुझाएका छन् ।
प्रतिक्रिया 4