+
एनपीएल २०२५ :

अपराजित सुदूरपश्चिम प्लेअफको नजिक, जित्‍न बिर्सँदै जनकपुर

२०८२ मंसिर  ११ गते २२:३६ २०८२ मंसिर ११ गते २२:३६

सुदूरपश्चिमले लगातार चार खेल जितेर प्लेअफको नजिकै पुगिसकेको छ भने ठीक विपरित जनकपुर बोल्ट्सको भने लगातार तेस्रो हार बेहोरेसँगै प्लेअफ यात्रा कठिन देखिन थालेको छ ।

अपराजित सुदूरपश्चिम प्लेअफको नजिक, जित्‍न बिर्सँदै जनकपुर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुदूरपश्चिम रोएल्सले लगातार चार खेल जितेर नेपाल प्रिमियर लिगमा शीर्ष स्थानमा रहँदै प्लेअफको लागि नजिक पुगेको छ।
  • जनकपुर बोल्ट्सले लगातार तीन हार बेहोरेपछि उपाधि रक्षा गर्न कठिनाइ भोग्दै प्लेअफमा पुग्न बाँकी चार खेल जित्नुपर्ने बाध्यता छ।
  • पोखरा एभेन्जर्सले जनकपुर बोल्ट्सलाई पराजित गर्दै पहिलो जित हात पार्दा बिपिन खत्री र सुमित वर्माले महत्वपूर्ण योगदान दिएका छन्।

११ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणमा सुदूरपश्चिम रोएल्सलाई पराजित गर्दै जनकपुर बोल्ट्स च्याम्पियन बनेको थियो । फाइनलअघि सुदूरपश्चिमले जनकपुरलाई दुई पटक पराजित गरेपनि निर्णायक खेलमा जनकपुरले बाजी मार्दै ट्रफी उचालेको थियो ।

पहिलो संस्करणमा निर्णायक खेलमा मात्र चुकेको सुदूरपश्चिमले दोस्रो संस्करणमा जसरी पनि च्याम्पियन बन्ने लक्ष्य बनाएको थियो । त्यही अनुसार सुदूरपश्चिमले लगातार चार खेल जितेर अपराजित यात्रा कायमै मात्र राखेको छैन, प्लेअफको लागि निकै नजिक समेत पुगिसकेको छ ।

सुदूरपश्चिम ४ खेलबाट ८ अंक जोडेर हाल शीर्ष स्थानमा आसिन छ । लिग चरणमा बाँकी तीनमध्ये एक खेल मात्र जित्दा पनि सुदूरपश्चिम प्लेअफ पुग्नेछ । यदि अन्य टिमहरुको नतिजा आफू अनुकल आउने हो भने सुदूरपश्चिम अहिलेकै स्थितिमा पनि प्लेअफ पुग्न सक्छ ।

बिहीबार लुम्बिनी लायन्सलाई पराजित गर्दै सुदूरपश्चिमले प्लेअफमा एक खुड्किलो राखिसकेको छ । यस सिजन सुदूरपश्चिमले पहिलो खेलमा पोखरा एभेन्जर्सलाई पराजित गर्दै यात्रा सुरु गरेको थियो । त्यसपछि काठमान्डु गोर्खाज र कर्णाली याक्सलाई पराजित गरेको थियो । अब सुदूरपश्चिमले जनकपुर बोल्ट्स, चितवन राइनोज र विराटनगर किंग्ससँग खेल्न बाँकी छ ।

सुदूरपश्चिमको भन्दा बिल्कुल फरक छ साविक विजेता जनकपुरको दोस्रो संस्करणको यात्रा । पहिलो संस्करणको च्याम्पियन जनकपुरले दोस्रो संस्करणमा एउटै लक्ष्य राखेको थियो उपाधि जोगाउने । च्याम्पियन भएकोले जनकपुरलाई उपाधि रक्षा गर्ने चुनौती पनि थियो । तर दोस्रो संस्कणरमा जनकपुरले लगातार तीन हार बेहोरिसकेको छ ।

पहिलो खेलमै काठमान्डु गोर्खाजसँग पराजित हुँदै उपाधि रक्षा अभियान थालेको जनकपुरले लगातार तेस्रो खेलमा हार बेहोरेपछि प्लेअफको सम्भावना समेत कमजोर बनिसकेको छ । प्रदर्शन हेर्दा जनकपुरले जित्‍न बिर्सँदै गएको होकि भनेर देख्न सकिन्छ ।

दोस्रो खेलमा इस्टर्न डर्बीमा विराटनगर किङ्ससँग पराजित भएको जनकपुर बिहीबार पोखरा एभेन्जर्ससँग पराजित भयो । प्लेअफमा पुग्ने सम्भावना कायम राख्न जनकपुरले अब बाँकी रहेको चारवटै खेल जित्नुपर्ने बाध्यता छ । अब एक हारले पनि जनकपुर लिग चरणबाटै बाहिरिन सक्छ ।

सुदूरपश्चिमको रवाफ, लुम्बिनी अलमलमै

बिहीबारको पहिलो खेलमा सुदूरपश्चिमले लगातार चौथो जित निकाल्दा लुम्बिनी लायन्सले भने लगातार तेस्रो हार बेहोर्‍यो । पहिलो खेलमा चितवन राइनोजलाई हराएको लुम्बिनी कर्णाली याक्स, काठमान्डु गोर्खाज र आज सुदूरपश्चिमसँग पराजित भएको हो ।

सुदूरपश्चिमले रवाफ कायमै राख्दा लुम्बिनी अझै अलमलमै देखिएको छ । आजको खेलमा लुम्बिनी लायन्सले ब्याटिङ अर्डरमा पनि फेरबदल गरेको थियो तर फलदायी हुन सकेन । यसअघि ओपनिङमा ल्याइएका सन्दीप जोरा आज मिडल अर्डरभन्दा पनि तल पठाइए । उनको ब्याटबाट रन बन्न सकेन ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले १० ओभरसम्म ७०-२ अनि १४ ओभरमा ११४-२ मा भएको अवस्थाबाट १४३ रनमा अलआउट हुने गरी खेल पल्टियो ।

सुदूरका लागि हर्मीत सिंह र अविनाश बोहराल ३-३ विकेट लिए भने हेमन्त धामीले २ तथा स्कट कुग्लेइनले १ विकेट लिए । मध्यम योगफल खडा गरेको लुम्बिनीले जोगाउन सकेन ।

सुदूरपश्चिमले पावरप्लेभित्रै दुई अस्ट्रेलियन ब्याटर- जोश ब्राउन र क्रिस लिनलाई गुमाएको भएपनि त्यसपछि तेस्रो विकेटका लागि विनोद भण्डारी र आरिफ शेख मिलेर ९९ रनको साझेदारी गरे ।

आरिफ ३९ रनमा आउट हुँदा विनोदले अर्धशतक पूरा गरिसकेका थिए भने अन्त्यसम्मै नटआउट रहेर ६९ रन बनाए । सुदूरले आरामले खेल आफ्नो पक्षमा पार्‍यो । विनोद ‘प्लेयर अफ द म्याच’ घोषित भए ।

खेलपछि कुरा गर्दै विनोदले विदेशी खेलाडी टप अर्डरमा हुँदा मनोबल उच्च भएको र त्यसैअनुसार राम्रो हुँदै गएको बताए । ‘टिममा सबैले कुनै दबाब नलिइकिन खेल्नुभएको छ, त्यही भएर जितिरहेका पनि छौं’

यस हारपछि लुम्बिनीलाई पनि अब बाँकी ३ खेलमा शतप्रतिशत जित आवश्यक हुनेछ । खेलपछि कुरा गर्दै कप्तान रोहित पौडेलले सुरुवात राम्रो भएपनि फिनिसिङ गर्न नसकेको स्वीकार गरे ।

‘हाम्रोमा विदेशी र नेपाली दुवै खेलाडीहरू स्टेप अप गर्न सक्नुभएको छैन, त्यही कुरामा हामी मिसआउट गरिरहेका छौं। विदेशी खेलाडी पनि चल्नु महत्वपूर्ण हुन्छ जुनसुकै टिमको लागि’ उनले भने ।

रोहितले धेरै कुराहरूमा सुधार आवश्यक रहेको बताउँदै अझै पनि ३ खेल बाँकी रहेको र कमब्याक गर्न सक्ने विश्वास राखेको उल्लेख गरे ।

पोखराको पहिलो जितमा सुमित र बिपिन नायक

पोखरा एभेन्जर्स र जनकपुर बोल्ट्स दुवै यस खेल खेल्नुअघिसम्म जितविहीन थिए । आजको खेल ‘ब्याटल अफ द बटम’का रूपमा समेत थियो । यस खेलमा जित हात पार्दै पोखराले हारको शृंखला तोड्यो भने जनकपुर अझै जितविहीन नै रह्‍यो ।

पोखराको जितमा आज नायक बने युगाण्डाका अलराउण्डर सुमित वर्मा र पोखराकै रैथाने खेलाडी बिपिन खत्री । बिपिनले ब्याट र बल दुवैमार्फत योगदान दिए । बिपिनले पनि बलिङमार्फत पोखरातर्फ खेल ढल्काएका थिए ।

टस जितेर पहिले ब्याटिङ रोजेको पोखराका ओपनर दिनेश खरेल र एडम रोसिङटनले राम्रो सुरुवात दिलाउँदा पावरप्लेमा बिना कुनै विकेटको क्षतिमा ४५ रन बनाएको थियो ।

त्यसपछि पोखराले नवौं ओभरदेखि ११औं ओभरको बीचमा ४ विकेट गुमाएपछि दबाबमा आएको थियो । अनि क्रिजमा थिए सुमित वर्मा र तृतराज दास ।

यी दुईले पाँचौं विकेटका लागि अर्धशतकीय साझेदारी गरे । सुमित अन्त्यसम्मै नटआउट रहेर खेल्दै २९ बलमा २ चौका र ४ छक्कासहित ५० रन बनाए ।

अर्धशतक प्रहार गरेका सुमित

उनको अर्धशतकमा पोखराले २० ओभरमा १५५ रन बनायो । पछिल्लो समय डिफेन्ड हुने गरेको योगफल बनाएपछि पोखराको मनोबल पनि उच्च रह्यो ।

त्यसपछि १५५ रन डिफेन्ड गर्न मैदानमा उत्रिएको पोखराका लागि सुरुवाती ओभरमै बिपिन खत्री आए । उनलाई पहिलो बलमै जनकपुरका ओपनर माज सदाकतले छक्का हिर्काए ।

तर बिपिन दबाबमा आएनन् । त्यही ओभरको चौथो बलमा उनले आसिफ शेखलाई आउट गरे भने त्यसपछि ब्याटिङमा आएका शुभ कंसाकारले पहिलो बलमै चौका प्रहार गरेपनि त्यस लगत्तैको बलमा उनलाई पनि बोल्ड गरिदिए ।

यसरी पहिलो ओभरमै बिपिनले २ विकेट लिएपछि जनकपुर दबाबमा आइसकेको थियो । त्यसपछि बलिङमा आएका सुमित वर्माले २ रन मात्र दिए ।

इनिङको चौथो ओभर लिएर फेरि सुमित आए जसले निकोल लफ्टी इटनलाई आउट गरे । त्यही ओभरको अन्तिम बलमा माज सदाकतलाई पनि आउट गरेपछि जनकपुरले ५ ओभरभित्र ४ विकेट गुमायो ।

पावरप्ले लगत्तैको ओभर बलिङ गर्न आएका बिपिनले विपक्षी कप्तान अनिल साहलाई पनि आउट गरे । नवौं ओभरको पहिलो बलमा मयन यादवलाई पनि बिपिनले आउट गरे । यसरी बिपिनले आफ्नो स्पेलमा ४ विकेट अनि सुमित वर्माले २ विकेट लिएपछि जनकपुरले १० ओभरभित्रै ६ विकेट गुमायो ।

त्यहाँबाट जनकपुर खेलमा फर्कन सकेन । आजै पहिलो खेल खेलेका दक्षिण अफ्रिकी बलर वायन पार्नेलले ३८ बलमा अर्धशतक बनाएर जनकपुरको लाज भने बचाए । यद्यपी जितका लागि भने उनको यो एकल प्रयास पर्याप्त हुन सकेन ।

बिपिनले खेलपछि कुरा गर्दै पावरप्लेमा विकेट निकाले विपक्षी प्रेसरमा आउने सोचेर बलिङ गरेको र त्यो योजनाले काम गरेको बताए । ‘हामीलाई थाहा थियो विकेटले बलरलाई सहयोग गरेको छ भनेर, त्यही अनुसार योजना बनाउँदा सफल पनि भयौं’ उनले भने, ‘सबै विकेट क्रुसियल नै हुन् भन्ने हिसाबले सोचेका थियौं।’

पोखराले अन्तत: जित निकाल्दै अंकको पनि खाता खोल्यो । बिपिनले यो जितको खोजीमा रहेको र जित निकाल्दा खुसी लागेको बताए । ‘सुरुको २ हारले नराम्रो लागेको थियो, आज केही दिनको ग्यापपछि खेलेर जितेका छौं, यसरी नै आगामी दिनमा पनि जित निकाल्छौं’ बिपिनले थपे ।

खेलपछि कुरा गर्दै जनकपुरका कप्तान अनिल साहले सोचेजस्तो ब्याटिङ प्रदर्शन हुन नसक्दा लगातार हार बेहोरिरहेको बताए । ‘सुरुवातदेखि नै ब्याटिङ राम्रो भइरहेको छैन, धेरै परिवर्तनहरू पनि गरेका छौं, सफल भइरहेको छैन’ अनिलले भने, ‘आगामी खेलहरूमा कमजोर पक्षहरू सुधार गर्नेछौं।’

अंकतालिकामा हाल सुदूरपश्चिम ४ खेलमा ४ जितसहित ८ अंक जोडेर शीर्षस्थानमा छ भने विराटनगर किङ्स ४ खेलमा ६ अंकसहित दोस्रो र चितवन राइनोज ३ खेलमा ४ अंकसहित तेस्रो स्थानमा छ ।

समान २ अंक भएका काठमान्डु गोर्खाज, कर्णाली याक्स, पोखरा एभेन्जर्स र लुम्बिनी लायन्स चौथो, पाँचौं, छैटौं र सातौं स्थानमा छन् । ३ खेलमा अंकविहीन जनकपुर पुछारमा छ ।

एनपीएल एनपीएल क्रिकेट एनपीएल २०२५

धेरै कमेन्ट गरिएका

लेखक
प्रतिक भट्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय