+
+
WC Series
कर्णाली याक्स 2025
119/1 (16.2)
VS
विराटनगर किंग्स 2025
0/0
Shares
वार्ता :

‘मदन भण्डारी नहुँदा त चलेको एमाले केपी ओलीबिना चल्दैन ? चल्छ’

कसैलाई देवता मानेर हुँदैन । अब त्यसरी चल्दैन । ओलीले म नै हो भन्ने कुरा महाधिवेशनसम्म पुग्दा परिवर्तन होला भन्ने आशा लाग्छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १२ गते १६:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गणेशमान गुरुङले मंसिर ७ गते पोखरामा नेकपा एमालेको प्रदेश कमिटी बैठकमा पार्टी अध्यक्ष केपी ओलीको विकल्प नभएको पृथ्वीसुब्बाको भनाइप्रति असन्तुष्टि जनाउँदै बैठक छोडेका थिए।
  • गणेशमानले जेनजी आन्दोलनलाई सुशासन र भ्रष्टाचारविरुद्धको वास्तविक आन्दोलन भन्दै त्यसमा घुसपैठ भएको र उनको होटल जलेको घटनामा एमालेसँग सम्बन्धित व्यक्तिहरू संलग्न रहेको बताए।
  • गणेशमानले एमालेभित्र विकल्पको अभाव नहुने र पार्टीले सुधार र नेतृत्व हस्तान्तरण गर्नुपर्ने बताउँदै आगामी महाधिवेशनमा परिवर्तन आवश्यक रहेको स्पष्ट पारेका छन्।

मंसिर ७ गते पोखरामा नेकपा एमालेको प्रदेश कमिटी बैठकमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ बोल्दै गर्दा गण्डकी प्रदेश सांसद तथा केन्द्रीय सल्लाहकार परिषद सदस्य गणेशमान गुरुङ भुनभुनाउँदै बाहिर निस्किए ।

गण्डकी प्रदेश कमिटी बैठकमा महासचिव शंकर पोखरेललाई आडमै राखेर पृथ्वीसुब्बाले भनेका थिए, ‘म यत्ति भन्न पोखरा आएको हुँ, अहिलेको अवस्थामा पार्टी अध्यक्षमा ओलीको विकल्प छैन।’

देशमा यत्रो जेनजी आन्दोलन भएर सत्ताच्यूत भएको दल एमालेभित्र ओलीको विकल्प नदेख्नु समयको माग र परिवर्तन नबुझ्नु हो, पार्टी रुपान्तरणलाई अवरोध गर्नु हो भन्ने निश्कर्ष गणेशमानको थियो । गणेशमान ती नेता हुन्, जो गण्डकीमा खुलेर पृथ्वीसुब्बा गुटमा लागेका थिए र पृथ्वीसुब्बाको विद्रोही चेतको प्रशंसा गर्थे।

गण्डकीमा प्रस्ट बोल्ने, निडर र हक्की नेताको परिचय बनाएका गणेशमानको होटल समेत जेनजी आन्दोलनमा जल्यो । तर उनी जेनजी आन्दोलनको मुद्दा र परिवर्तनको मागलाई आत्मसात गर्दै नेतृत्व हस्तान्तरण र रुपान्तरणको पक्षमा छन् ।

जेनजी आन्दोलन र त्यसपछि उत्पन्न परिस्थिति, एमालेको भावी महाधिवेशन र नेतृत्वबारे गणेशमानले अनलाइनखबरकर्मी अमृत सुवेदीसँग खुलेर कुरा गरेका छन् । प्रस्तुत छ, एमाले नेता गणेशमानसँग गरिएको कुराकानीः

जेनजी आन्दोलनको क्रममा भदौ २४ गते यहाँको होटल गुडविल पनि जल्यो । कसले जलायो, तपाईंकै होटल किन जल्यो होला ?

भदौ २४ गतेको जेनजी आन्दोलनमा जेनजीहरुले टार्गेट गरेका थिएनन् । आन्दोलनमा प्रि–प्लानकै साथ घुसपैठ भएको देखिन्छ । त्यो कुनै अवेगमा आएर बनेको योजना होइन जस्तो लाग्छ । सिसी क्यामरा बन्द गरेर एकदम योजनाका साथ जलाइएको छ । यो होटल पोखरा गुडविल र माथिपट्टी अन्नपूर्ण रिसोर्ट भन्ने छ ।

मेरो होटल भन्दा थोरै माथि पहिला त्यहाँ पुगेका रहेछन् । कलर उस्तै थियो । होइन भनेपछि फेरि होटल पोखरा गुडविलमा आएका थिए । यो संगठित रुपमा नै भएको छ । ती जेनजी होइनन् । त्यो छुट्याउनु पर्छ । एमाले भएकै कारणले बहाना बनाएर जलाइयो । लुटपाटमा रुचाउनेले गरेका हुन् ।

जेनजी आन्दोलनले सुशासनको मुद्दा उठाएको थियो । नेताहरुको आम्दानीको स्रोत खोजेको थियो । तपाईंको होटल कसरी बनाउनु भएको थियो ?

बीमा कम्पनीको रिपोर्ट अनुसार १२ करोड ४१ लाख २५ हजार क्षति देखाएको छ । हामीले यो पाँच वर्ष अगाडि किनेका थियौं । यो मैले भन्दा मेडम (श्रीमती)ले हेर्नुहुन्छ । होटल भएको त्यो जग्गा मैले ३० वर्ष अगाडि बेचेको हो । तलको अर्को होटलका निम्ति पनि जग्गा मैले नै बचेको हुँ ।

३० वर्षपछि फेरि मैले होटेल गुडविल बनिबनाउ रुपमा किनेको हो । २५ करोडभन्दा ऋण तल छैन हैन । त्यो बेलामा ३१ करोड चानचुन हाल्या हो । त्यो बेलामा लोन चाहिँ २२ करोड जस्तो थियो । हामीले आठ दस करोड चाहिँ काठमाडौँबाट जग्गा बेचेर ल्याएर किन्या हो । अहिले एमालेको सांसद भएकै कारण जल्यो ।

जेनजी आन्दोलनप्रति तपाईंको दृष्टिकोण के हो ?

जेनजीको मुभमेन्टको मकसद भ्रष्टाचार हुनु भएन भन्ने हो । सुशासन हुनुपर्यो, दिगो शासन हुनुपर्यो । यसको लागि के गर्ने त भन्दाखेरि रिफर्म र चेन्ज हुन जरुरी छ । होइन ? सुधार र परिवर्तन हुन जरुरी छ । नेताहरुले पनि गर्नु पर्यो, म आफुले नै गर्नु पर्यो । मेरो एक्टिभिटिजहरुमा गर्नु पर्‍यो। अहिलेको आइटीको जमानामा के भन्न चाहन्छु भने पोलिटिकली होस् अथवा कुनै सामाजिक मान्छे, कुनै यो समाजमा केही गर्छु भन्ने मान्छे पारदर्शी हुनुपर्छ, ट्रान्सपेरेन्सी हुनुपर्छ ।

त्यो ट्रान्सपेरेन्सी कस्तो भने मैले होटल किनेको हुँ भने स्रोत खुल्नु पर्यो । मैले कुनै कामहरु गरेको छैन भने कताबाट आयो ? जवाफ दिनुपर्छ । त्यो स्रोत चाहिँ एकदम सही किसिमको हुनुपर्यो । त्यो साइन्टिफिक हुनुपर्यो, प्रमाणित हुन सक्नु पर्यो र तब न तपाईले भन्न सक्नुहुन्छ कि मेरो स्रोत यो हो, हैन भनेर ।

मैले यो किसिमले गरे भनेर भन्न सक्नु पर्यो । पोलिटिसियन भइयो, तर कुनै स्रोत छैन भने त भ्रष्टाचारै गर्यो भनेर आमजनतामा विश्वास हुन्छ । त्यसकारण हामी राजनीतिक मान्छेहरुले धेरै नै अडिट हुन जरुरी छ । धेरै नै ट्रान्सपरेन्सी हुन जरुरी छ । जे काम गरिन्छ स्रोत खोल्न जरुरी छ । त्यही खोज्या हो जेनजी पुस्ताले । जेनजी आन्दोलन जायज थियो ।

सत्ताको नेतृत्व त तपाईंकै पार्टीले गरेको थियो, जेनजीका नाममा यत्रो बिस्फोट कसरी भयो होला ?

४६–४७ सालको मुभमेन्टपछि पञ्चायत गयो नि, हैन ? त्यो पञ्चायत किल भइसकेपछि जनताले लोकतन्त्र चाहेका थिए । हामी ४६–४७ सालमा आन्दोलनमै भिड्यौं अनि एउटा व्यवस्था परिवर्तन भयो । व्यवस्था चेन्ज भए पनि सबै कुरा परिवर्तन होला भन्ने सोचेका थिए ।

विकास र पूर्वाधार निर्माण होला, सुशासन होला, भ्रष्टाचार नहोला भन्ने थियो । नातावाद कृपावाद नहोला भन्ने सोच थियो, जुन हिजोको मोनार्कीले चलाएको थियो । अब त्यस्तो मोनार्की हुँदैन भन्यौं । त्यस्तो किसिमको मोनार्कीजम हुँदैन । अब त्यो फ्रि हुन्छ, सहायता हुन्छ भन्ने जुन सोचेका थियौ । त्यो भएन ।

यो बीचमा भ्रष्टाचार जे जति भयो तुलनात्मक रुपमा जनता असन्तुष्ट थिए । हिजोकै पञ्चायत बेहोर्नेहरु अहिले पनि हुनुहुन्छ । हामीले चाहिँ दुई तिहाईको सरकार चलाइराखे पनि जनता भ्रस्टाचारबाट आजित थिए । अनियमितता छ, सुशासन दिन सकेनौं ।

गर्छौं एक थोक, भन्छौं एक थोक अनि व्यवहारमा एक थोक भयो । यो कुरा एकदम गुम्सी राखेको थियो, कतै निकास पाएको थिएन । म एउटा प्रदेश सभाको सांसद हो । कुनै अदालतमा कुनै विशेष कामले गयो भने देखि कुनै टेर्नेवाला थिएन, किन ? यो अवस्थाको अन्त्य होस् भनेर चाहेको थियो जेनजीले ।

ओलीको पालामा यत्रो आन्दोलन भएपछि उहाँले जिम्मेवारी लिनैपर्छ।

ए राजनीतिज्ञहरु, अभिभावकहरु सुध्रिन पर्यो, चेन्ज हुन पर्यो, यथास्थितिले चल्दैन भनिरहेका थिए । अब यो जेनजीहरुको मुभमेन्टको जुन उद्देश्य छ नि ‘मर्निंग सो इज द डे’ भन्छ नि त्यो देखाएको छ ।

अब एकदम राम्रो हुने, इन्क्लुसिभ हुने, सुशासन गर्ने, भ्रष्टाचारको अन्त्य हुने, भाइबन्दीको चाहिँ अन्त्य गर्नेतिर लाग्न पर्यो नि । नयाँ विचारका साथ नयाँ सोचका साथ जानु पर्यो भन्या हो । जस्तो जेनजी आन्दोलनकै क्रममा सत्ता छोडेर हिड्न पर्यो मन्त्रीहरुले पनि प्रधानमन्त्रीहरुले पनि सेनाको सुरक्षा घेरामा पुग्न पर्‍यो।

तपाईंले जेनजी आन्दोलन आवश्यक थियो भन्नुहुन्छ । तपाईंको अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सेनाको सुरक्षा घेराबाट निस्किएर क्षमा माग्नुहोला, अब हामी सच्चिन्छौं भन्नुहोला भन्ने थियो । तर उहाँले त स्वीकार नै गर्नुभएन किन होला ?

हाम्रो पार्टीको केन्द्रीय कमिटीले नै अन्तरपार्टी निर्देशनमा जेनजीको प्रदर्शन भन्या छ । मेरो व्यक्तिगत कुरा सोध्ने हो भने त्यो प्रदर्शन मात्र थिएन, त्यसको रुप आन्दोलन थियो । प्रदर्शन डेमोस्ट्रेसन हो केही क्षणिक समयको लागि देखाउने हो ।

तर सुशासनको कुरा, दिगो विकासको कुरा, भ्रष्टाचारको कुरा लिएर एक दिनको प्रदर्शन हैन नि त जेनजीहरुको यो साच्चै नै आन्दोलन थियो । प्रदर्शनले सत्ताच्युत गर्दैन, हिजो को कहाँ हुनुहुन्थ्यो आज कहाँ हुनुहुन्छ ? हेरे भइहाल्यो नि ।

एमाले, कांग्रेसको अहिले पनि सत्ता छ ? संघमा छ ? छैनन नि । त्यो बेलाको प्रधानमन्त्री हुनुहुन्थ्यो, उहाँ देशको धनजनको सुरक्षा गर्न भनेर बस्या हैन ? राष्ट्र हितको लागि बस्या हैन ? उहाँको पालामा यत्रो आन्दोलन भएपछि उहाँले पनि जिम्मेवारी लिनैपर्छ । जिम्मेवारी उहाँले मात्र होइन, हामीले पनि लिनु पर्ने हुन्छ, आ–आफ्नो ठाउँबाट । क्षमा उहाँले मात्र होइन, हामीले पनि माग्नुपर्ने हुन्छ ।

माइतीघर मण्डलामा आन्दोलन गर्ने भनिएको थियो । आन्दोलन सुरु भएपछि उहाँहरुले पनि प्रष्ट भन्न पर्यो– हाम्रो मकसद सिंहदरबार जलाउने थिएन । हाम्रो मकसद व्यक्तिको सम्पत्ति जलाउने थिएन । यसमा घुसपैठ भयो ।

यसमा क्षमा चाहन्छौं र यो आन्दोलनकारीहरुबाट गल्ती भएको छ भने हामी तयार छौं सजाय भोग्न । त्यो कुरा आन्दोलनकारीले नि भन्नु पर्यो । केपी ओली कमरेडले नि भन्न सक्नु पर्छ । म क्षमा माग्छु आफ्नो तहबाट ।

आन्दोलनको रापतापमा अब एमाले लगायत दलहरु कुन बाटो हिँड्लान्, कसरी अगाडि बढ्ला भन्ने लागेको थियो र अहिले एमाले कुन बाटो हिँडिरहेको छ ?

एमाले, कांग्रेस, प्रतिपक्षी सबै दलका नेताले भनौं, भदौ २२ को स्थितिमा आज हामी छैनौ । तपाईंहरुको हिजोको स्थिति र आज २३–२४ को मुभमेन्टपछि हामी कहाँ छौ ? हाम्रो घर भित्रकाले सही राजनीति गर्यो, तपाईको पोलिटिक्स सही छ, तपाईको विचार सही छ, तपाईको पार्टीले राम्रो गरेको छ भनेर भनेका छन् ?

घरमा पनि जेनजी होलान्, घरमा पनि अभिभावक छन्, सल्लाह गरौं त । त्यसकारण आज राजनीतिक कोर्स बदलिएको छ । यो राजनीतिक कोर्सअनुसार तपाईंहरू पनि बदलिन सक्नुपर्यो । समयको माग हो, रिफर्म हुनैपर्छ ।

देशको भविष्य भनेको आउने पुस्ताको लागि हो । यो मुलुकको भविष्य नै आउने पुस्ता हुन् । तिनको लागि के छ ? अहिलेको यथास्थितिमा ५०औं लाख मान्छे देश बाहिर छन् । यहाँ उद्योगधन्दा केही छैन् । कलकारखाना केही छैनन् । आजको दिनमा १२ खर्ब रुपैयाँभन्दा बढी पैसा राष्ट्रिय बैंकमा जम्मा भएर बसेको छ ।

बैंकमा पैसा छ, पब्लिकसँग छैन । पैसा लिनलाई व्यवसायीहरु जान सकेका छैनन् । व्यवसायीलाई आऊ भनेर राज्यले भन्न सकेको छैन । यहीँ पोखराको अन्तर्राष्ट्रिय विमानस्थल चल्न सकेको छैन । यसरी चल्छ ? ऋण बढेको बढ्यै छ, कसरी तिर्ने हो ? कुनै तयारी छैन ।

अबको युवाहरुलाई मुलुकमै कसरी टिकाउने हो ? व्यवसायसँग कसरी जोड्ने हो, शिक्षाको गुणस्तर कसरी बढाउने हो ? आज प्लस टु पास गर्नेबित्तिकै युवाहरु विदेश गइसकेका हुन्छन् ? अनि हिजोकै जस्तो जे भइराखेको छ त्यही गरेर सरकार र पार्टी त्यसरी चल्छ त ? चल्दैन नि ।

सुखी नेपाली समृद्ध नेपाल कहिले हुन्छ ? युवाहरुले विश्वास गर्ने बातावरण बन्न सकेन । आइटीको जमाना छ, विज्ञानको जमाना छ, स्पेसको कुरा आइसक्यो हैन र ? यी कुराहरु त बुझ्नुपर्‍यो । जेनजी पुस्ता धेरै विज्ञ भइसके, मोबाइलबाटै संसार देखिने भइसक्यो, संसारभरिको ज्ञान एउटा मोबाइलमा आइसक्यो । हिजो डाइनोसर लोप भयो, सर्भाइभ गर्न नसकेर । यी पुराना पार्टीहरु डाइनोसरजस्तै हुन्छन्, यदी युवा विचार र समयको मागलाई बेलैमा बुझेनन् भने ।

ओली नेतृत्वको सरकारले फेसबुक लगायत सामाजिक सञ्जाल बन्द गरेपछि जेनजी पुस्ता सुशासनको नारा लिएर परिवारवाद, भ्रस्टाचारविरुद्ध सडकमा उत्रिए । जनताहरु उकुसमुकुस् थिए । ढिलोचाँडो आन्दोलन हुने नै थियो भन्ने लाग्छ तपाईंलाई ?

सामाजिक सञ्जाल बन्द गरेर सरकारले युवाहरुलाई तताइदियो र छिटो सडकमा आउने वातावरण बनाइदियो । कुनै घरल भत्काउन पर्‍यो भने विदेशतिर त्यहाँ सबै फ्युजहरु जडान गरेर थ्रि, टू, वान भनेर बुम गरेर पड्काइन्छ । सरकारले त्यसरी नै पड्काउने काम सामाजिक सञ्जाल बन्द गरेर गर्‍यो । सामाजिक सञ्जाल आफ्नो विषय राख्ने थलोमात्रै थिएन, धेरैले व्यवसाय चलाएका थिए । धेरैको रोजीरोटी गयो । यो कुरा ख्याल गर्नुपर्थ्यो।

सरकारले फेसबुक लगायत सञ्जाल बन्द गरे पनि टिकटक त खुला थियो, त्यो बेला कसरी प्रयोग गरियो हेर्नुपर्‍यो । सरकारले, पार्टीहरुले बुझाउन सकेनन्,सामाजिक सञ्जाल किन बन्द गर्दैछौं । सामाजिक सञ्जाल सरकारले बन्द गरे पनि त्यसको विकल्प दिनुपर्थ‍यो ।

युवाहरु आफैंले विकल्प खोजे, आन्दोलनको तयारी गरे । बन्द गरिएको फेसबुक सरकारकै मान्छेहरुले चलाइराखेका थिए भने अर्को माध्यम प्रयोग गरेर युवाले नचलाउने कुरै भएन । सामाजिक सञ्जाल बन्द गरेर बलिराखेको आगोमा घिऊ थपेको जस्तो भयो।

जेनजी आन्दोलनमा हिँडेका सबै सिंहदरबार जलाउन हिँडेको हैनन्, ती आतंककारी होइनन्।

त्यसैले २४ गतेपछिको परिस्थिति भिन्दै हो, यो बुझ्नुपर्‍यो । २४ गते धेरै मान्छेहरु सडकमा रमिता हेर्न आए । २३ गते जसरी बालबालिकाको ज्यान गयो, त्यो कसैलाई चित्त बुझ्ने कुरा थिएन । सडकमा नआउने मानिसहरु पनि आक्रोस लिएर सडकमा आए । ती सडकमा आउने पनि एमाले, कांग्रेसकै मानिसहरु हुन् ।

हामीजस्ता नेता तिमीहरुलाई ज्यानको खतरा छ भनेर गएनन् होला, नत्र सबै मानिस गएका छन् । त्यही मौका छोपेर आतंक मच्चाउनेहरुको घुसपैठ भएको छ । व्यवसाय फोर्न आए । घुसपैठ गर्नेहरु चाहिँ प्रिप्लानका साथ आएको छ ।

भिडियोहरुसहित हामीले किटानी जाहेरी दिएका छौं । ती मान्छेहरु हामीले चिनेकै पार्टीका मानिसहरु थिए । हाम्रै वरिपरीका मानिसहरु जलाउन पुगेका थिए । २३ गते दुखद घटना घट्यो, त्यसले २४ गतेको घटना निम्त्यायो ।

भदौ २३ मा जुन दुखद् घटना घट्यो, सत्ता सञ्चालन गरिरहेको दल एमालेको एउटा नेता मात्रै नभएर नागरिक भएर सोच्दा मनमा के गुज्रिएको थियो, के कुरा खेलिरहेको थियो ?

त्योबेला म काठमाडौं थिएँ । जेनजी आन्दोलन, २३ गतेको घटना सुनिराखेकै, हेरिराखेकै थिएँ । राज्यले सुरक्षाको प्रश्न उठ्ला, देशमा यो अवस्था आउला भनेर सोचेकै थिएन ।

प्रधानमन्त्री, गृहमन्त्री, सुरक्षा निकायका प्रमुखहरुले आँकलन नै गरेका रहेनछन् । सामाजिक सञ्जालमा आन्दोलनको त्यत्रो तयारी र प्रचारप्रसार हुँदा सरकार अनविज्ञजस्तै रहेछ । देशमा भयावह अवस्था सिर्जना भइरहँदा सरकार हामी दुई तिहाईको दम्भमै रहेछौं ।

सुरक्षाको व्यवस्थापन, सरकारी संयन्त्रको नियमन, आन्दोलनलाई कसरी गर्ने भनेर सरकारको तयारी नै थिएन । आन्दोलनले यति गम्भीर रुप लेला भनेर सोचेकै थिएन । देशमा के भइराखेको थियो भने सरकारका मान्छेहरु नै अनविज्ञ थिए । एकदमै विचारहीन भएर सत्तामा बसिराखेको रहेछ । सुरक्षा निकाय कहाँ रहेछ ? सेना कहाँ ? अरु कता के के छ भन्ने कुरा पनि ज्ञान नै थिएन । कि ज्ञान हुँदा पनि घमण्डी भएर केही हुँदैन भन्ने अहंताले बिग्रेको हो ।

तत्कालीन सरकारले चाहेको भए आन्दोलनकर्मीलाई बेलैमा सम्बोधन गरेको भए, यत्रो क्षति नहुन पनि सक्यो, ओली नेतृत्व सरकारले उल्टो उत्तेजित पार्ने काम गर्‍यो, सरकार चुकेकै हो भन्ने लाग्छ हो ?

२३ गते गृहमन्त्रीको राजीनामा आयो । सरकारका तत्कालीन प्रवक्ता (पृथ्वीसुब्बा गुरुङ)को प्रस्तुतिले पनि धेरैलाई आक्रोसित बनायो । सामाजिक सञ्जाल आजदेखि नै खुल्यो, राज्य पक्ष जेनजीका माग पूरा गर्न तयार छ, कहाँ आएर वार्ता गर्ने हो भन्नुपर्ने हो । २३ गते घटना घट्यो त्यसको लागि माफी माग्दै कमी कमजोरीहरु भएछ भने सच्याउन हामी तयार छौ ।

हामीबाट पनि कमजोरी भएका छन्, घटनाको जिम्मेववारी राज्यले लिन्छ भन्नुपर्ने हो । कमीकमजोरी आन्दोलन गर्नेहरुको पनि छ होला, तपाईहरुले पनि जिम्मेवारी लिनु पर्छ अब यो मुलुकलाई जोगाउने हो, मुलुकलाई शान्ति बनाउने हो, व्यवस्थालाई दिगो बनाउने हो आउ बसांै भनेर वातावरण बनाएको भए २४ गतेको घटना घट्ने थिएन । यसमा चुकेकै हो । अहम देखायो सरकारले त्यो दिन पनि ।

तर तपाईंको पार्टी अध्यक्ष ओलीलाई सेनाको सुरक्षाबाट महेश बस्नेतले गुन्डु ल्याउने प्रबन्ध मिलाए । त्यसपछि ओली यसरी सार्वजनिक हुनुभयो, मानौं देशमा केही भएकै छैन, यसप्रति तपाईंको धारणा के छ ?

त्यो त उहाँले सोच्ने कुरा हो । के भएको थियो भने त सारा संसारले देखि राखेको छ । हिजो उहाँ २२, २३ गतेसम्म बालुवाटारमै हुनुहुन्थ्यो । २४ गतेसम्म निवासमा पनि नगइकन हिँड्नुपर्‍यो । निवासमै बस्ने अवस्था थिएन । अहिले गुन्डु हुनुहुन्छ । म किन गुन्डु आइपुगें भन्ने कुरा त उहाँलाई महसुस भएकै हुनुपर्छ । तर त्यो कुरा राख्न सक्नुभएको छैन ।

मैले आन्दोलन स्वीकारे भने भोलि मलाई कलंकको टीका लाग्छ भन्ने डर पो हो कि !

त्यो उहाँले सत्यतथ्य कुराहरु राख्नुपर्छ । त्यो जिम्मेवारीको हिसाब किताबले, प्रधानमन्त्री भएको हुनाले सहयोग गर्नुपर्छ, आयोग बनेको छ । आयोगले निश्पक्ष छानबिन गरोस् । छानबिनको लागि म तयार छु भन्दाखेरि सबैलाई राम्रो हुने थियो ।

एमाले अध्यक्ष ओलीले नै फेरि पनि मै हुँ, मेरो बाहेक विकल्प छैन भनिरहनुभएको छ, यसले एमालेभित्रको मनस्थिति कस्तो बनाएको छ ?

हामीले जेनजी आन्दोलनबाट सिक्नैपर्छ, सच्चिनैपर्छ । जस्तै ७ सालको क्रान्ति सफल हुँदा, प्रजातन्त्र ल्याउँदाखेरि मनमोहनजी, पुष्पलालजी, गणेशमानजी, विश्वेश्वर कोइराला कुन उमेरको हुनुहुन्थ्यो ? उहाँहरु जेनजीकै उमेर समूहभित्रकै हुनुहुन्थ्यो ।

झापा आन्दोलनका बेला हाम्रो श्रद्धेय अध्यक्ष केपी कमरेड १७ वर्षको हुनुहुन्थ्यो । ३६/३७ सालको मुभमेन्टमा विद्यार्थी आन्दोलन तिनै जेन्जी उमेर समूहकाले गरेको होइन र ? ०६२–६३ को जनआन्दोलनपछि युवाहरुले नै गरेको हो ।

यो पार्टीलाई अभिभावक मान्ने हो । तर बृद्धहरुको आश्रमजस्तो, वृद्धहरुको संगठन जस्तो नबनाउनुस् । तपाईहरु हिजो जेनजी हुनुहुन्थ्यो, परिवर्तन दिनुभयो । हामी जेनजी छौं, हामीले पनि परिवर्तन अवश्य दिन सक्छौ, यो विज्ञानको युगमा । यो प्राविधिक युग हो। यसमा हामी च्यालेन्ज गर्न सक्छौ । अब चाहिँ इन्क्लुसिभ हुन पर्यो ना कि एउटा वृद्धहरुको पार्टी जस्तो नबनाइयोस् भन्या हो । हाम्रो गाउँघरमा भन्छन् नि, पाडापाडी भयो भने गोठ सप्रन्छ, पाडापाडी नै भएन भने के हो गोठ ?

युवाहरु भए भने समाज विकास हुन्छ, पार्टी विकास हुन्छ, देश विकास विकास हुन्छ । भएका युवालाई बाहिर पठाएर अनि समृद्ध हुन्छ ? जेनजी आन्दोलनले त्यही परिवर्तन खोजेको हो ।

जेनजी आन्दोलन एकदम सन्देशमुलक हो । मैले अघि नै भने नि, यो मर्निङ सोज द डेज भन्या जस्तो हो । तर केपी ओली एउटा त वेट अप कल न हो । ओलीले चाहिँ मेरो विकल्प छैन भनिरहनु भाछ ।

तपाईंलाई पृथ्वीसुब्बा गुरुङनिकट नेताका रुपमा चिनिन्छ । तर प्रदेश बैठकमा ‘यो देशमा केपी ओलीको विकल्प छैन, म त्यत्ति भन्न पोखरा आएको हुँ’ भन्नुभयो नि !

केपी ओलीको विकल्प छैन भनेर उहाँले भन्नुभो भने यो अवस्था चाहिँ किन आयो त ? मेरो प्रश्न नै त्यही हो । निर्विकल्प केही हुँदैन के । विकल्पै छैन भनेर साइन्सले मान्दैन । नेकपा एमाले त यस्तो पार्टी हो, ०४६ सालमा चौथो महाधिवेशन हुँदा त्यो बेलामा तत्कालीन महासचिव झलनाथजी हुनुहुन्थ्यो ।

झलनाथजीले नै प्रस्ताव राखेर चौथो महाधिवेशनमा मदन भण्डारी हुनुभएको हो । हो, उहाँको कति कुरामा मदन भण्डारीसँग बिमति पनि थियो, जबजको विषयमा । मदन भण्डारी आइसकेपछि मदन भण्डारी बिना अब यो पार्टी चल्दैन भन्ने थियो । मदन भण्डारी नहुँदा चलेको एमाले केपी ओलीबिना चल्दैन ? चल्छ ।

रुसमा ७० वर्षको कम्युनिस्ट आन्दोलन ढलेको अवस्था थियो । पूर्वी यूरोप बुल्गारिया हंगेरी रुमेनिया सब गएको हैन ? यही मुभमेन्ट आउने हो कि भन्ने त्रास थियो, यो संसारमा ग्लोबली नै त्यस्तो अवस्थामा फेरि जुन जबज ल्याएर उहाँले जिवन्त बनाए । ०४८ सालमा उहाँले चुनाव जितेपछि ‘माक्र्स लिभ इन नेपाल’ भनेर आएको होइन ।

आज उहाँ नहुँदा पनि र ५० को दशकमा उहाँको दुर्घटनापछि एमाले त सत्तामै गयो, धेरै पटक । निर्विकल्प भन्ने हुन्छ ? माक्र्सवाद–लेलिनवाद र द्वन्दात्मक भौतिकवादमा विश्वास गर्नेहरु यस्तो देवत्वकरण गरेर कसैलाई देवता मानेर हुँदैन । अब त्यसरी चल्दैन । ओलीले म नै हो भन्ने कुरा अब यो महाधिवेशनसम्म आइपुग्दा परिवर्तन होला भन्ने आशा लाग्छ । यहाँ विकल्प छ भन्ने कुरालाई उहाँले एक्सेप्ट गर्नुपर्छ ।

एमालेभित्र गण्डकीमा एमाले उपमहासचिव पृथ्वीसुब्बा र स्थायी कमिटी सदस्य खगराज अधिकारी गुट तल्लो तहसम्मै विभाजित थियो, गुट निषेधकै तहमा थियो । अहिले उहाँहरुले एक भयौं भन्न थाल्नुभएजस्तै नेता कार्यकर्ताबीच पनि मिलेको हो कि अर्को धार पनि निर्माण हुन्छ ?

म पृथ्वीसुब्बा र खगराजले भनिरहेको पक्षमा छैन । निर्विकल्प भन्ने हुँदै हुदैन भनेर मैले भनिरहेको छु । पार्टीभित्र मतभेद एकदमै तल्लो तहसम्मै पर्‍या छ । सबै आक्रोशमा छन्, सबै निराशामा छन्, के हुने कोसो भन्ने छ ।

आक्रोश पनि किन यस्तो गरियो ? किन हामीले विवेक पुर्‍याउनन सकेनौ ? किन हामीले म्यानेज गर्न सकेनौ ? हामीमा कमजोरी हुँदाहुँदै पनि किन सुध्रिएनौ ? भ्रष्टाचारको कुरा मात्रै गर्‍यौं ।

हामीले भ्रष्टाचार नियन्त्रण गर्नपट्टि लागेनौ । हैन ? सुशासनको कुरा गर्यौ । जताततै चाहिँ भ्रष्टाचार नै छ । यो त एकदम अक्रान्त छन् । सबैले निकास खोजिराख्या छन् । त्यो निकास हामीले नै दिने हो । हामीले आस्था राखेको पार्टीबाट नै होस् र त्यो पार्टीमा पनि त्यस्तो किसिमको चाहिँ रिफर्म होस् ।

युवाहरु भए भने समाज विकास हुन्छ, पार्टी विकास हुन्छ, देश विकास विकास हुन्छ । भएका युवालाई बाहिर पठाएर अनि समृद्ध हुन्छ ? जेनजी आन्दोलनले त्यही परिवर्तन खोजेको हो ।

त्यस्तो किसिमको व्यक्तित्व छन् । तिनले मौका पाउनुपर्छ भन्नेमै छ । यहाँ कास्कीमा पनि दुई चार वटा कार्यक्रमहरु भयो नि । मोटरसाइकल साइकल र्‍यालीदेखि लिएर सभा गर्नेसम्म । ती कार्यक्रममै सुन्नुभएको होला नि, जेन्जीहरुको जायज माग पूरा गर भनेर भनिराखेका छन् ।

जेन्जीहरुको माग जायज छ भने त्यो जेनजीले उठाएको कुराहरु ठिक छन्, त्यो माग पूरा गर्नुृपर्छ । त्यो पुरा गर्नलाई सुधार हुने हो । विधिविधानमा चेन्ज गर्नुपर्ने हुन्छ ।

एमालेले महाधिवेशनको मिति तोकेर नेतृत्वमै पनि प्रतिस्पर्धा हुने पक्काजस्तो भइसकेको छ, तपाईं एमाले नेता–कार्यकर्तालाई के भन्नु हुन्छ ?

जेनजीको चित्त बुझाउनै सक्दैन यो सुशीला कार्की प्रधानमन्त्री नेतृत्वले । त्यसकारण हामी बुझाउँछौं । हामीसँग यो भिजन छ, यो प्लानिङ छ भनेर पार्टी गयो भने पार्टी पनि राम्रो हुन्छ देश पनि राम्रो हुन्छ । यसको विरुद्धमा गएर पार्टी पनि राम्रो हुँदैन देशमा पनि द्वन्द बढ्छ ।

२३ गतेको घटनालाई सर्लक्कै छोडेर २४ को विध्वंसलाई मात्रै हेरेर एमालेले व्याख्या गरिरहेको छ, तपाईं के भन्नुहुन्छ ?

यसरी हुँदैन, निकाश निस्किँदैन । २४ गते आन्दोलनमा हिँडेको मान्छेहरु कारबाही गरेर सक्नुहुन्छ ? लाखौंलाख मान्छे प्रदर्शनीमा हिँडेको छ । आन्दोलनमा हिँडेको छन् । ति सबै सिंहदरबार जलाउन हिँडेको हैनन् । ती सबै हाम्रो गुडविल होटेल जलाउन हिँडेका होइनन् । व्यक्तिगत घर जलाउन हिँडेको हैनन् ।

तिनलाई त सम्मान नै गर्न पर्यो, सल्युट नै गर्न पर्यो नि । परिवर्तन चाहेको छ, हामीले परिवर्तन हुन्छ भन्न पर्यो । जो घुसपैठेहरु छन् नि, जसले सिंहदरबार जलायो, सर्वोच्च अदालत जलायो, यहाँको सरकारी कार्यालयहरु जलाए, स्पेसल्ली एमालेकाहरुका काठमाडौँ र पोखरामा ठूलो क्षति भएको छ ।

९९% एमालेका नेताहरुको, व्यवसायीहरुका घरमा एट्याक गरेको छ । ती आतंककारी गतिविधि गर्नेहरुलाई कारबाही हुनुपर्छ भनेको हो । आन्दोलनकारीहरुले त परिवर्तनको माग गरे, सुशासनको कुरा गरे, भ्रष्टाचार हुन हुँदैन भने । तीबाहेक आतंककारी गतिविधिमा हिँड्या होलान् । सिंहदरबार जलाउनेदेखि लिएर व्यक्तिगत सम्पत्ति जलाउने क्रममा तिनीहरुलाई चाहिँ कारबाही हुनुपर्छ भन्या हो ।

एमाले अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री, गृहमन्त्री लगायतलाई पनि अनुसन्धान हुनुपर्छ भन्ने पक्षमा हुनुहुन्छ तपाईं ? कतिपय ठाउँमा फेरि मुठभेडको अवस्था पनि देखिएको छ, तपाईंको धारणा के छ ?

नेपाल सरकारले नै आयोग बनाएर छानबिन गर्ने भनेको छ । त्यसमा चाहिँ निष्पक्षता हुनुपर्यो छानबिन र त्यसमा हामीले मान्नै पर्छ । अनुसन्धान हुनैपर्छ, त्यसमा सहयोग गर्नै पर्छ । नेताहरुलाई हिँड्नै नदिने, नेताहरुलाई आक्रमण गर्ने गर्यो भने फागुन २१ गते चुनाव सम्भव छैन । त्योप्रति एकदमै सचेत हुनुपर्छ । राज्य पनि सचेत हुनुपर्छ ।

राज्यले पनि नियमन गर्नुपर्यो, व्यवस्थापन गर्नुपर्यो, सुरक्षाको कुरा गर्नु पर्यो । हुलुहुज्जत गर्नेलाई रोक्न सक्नु पर्यो । हामीले पनि अब मुलुकलाई कन्फ्लिक्ट गरेर लाने होइन । अब शान्ति शान्ति शान्ति हो ।

अबको नयाँ योजनाहरु, नयाँ कार्यक्रमहरु र सबैलाई समेटेर लाने हो एमालेले । निकास भनेको चुनाव नै हो । चुनाव हुन सकेन भने हामीले संसद पुनस्र्थापना भन्या छौं र त्यो पुनस्र्थापनाको लागि यदि चुनावै भएन भने मान्छेलाई यो सरकारलाई त्यत्तिकै राख्न त भएन ।

अडनिर्णयको बन्दी गरेर सरकार बस्ने अनि चुनावै हुनै नसक्ने स्थितिमा एउटा विकल्प संसद पुनस्र्थापना हो । पुनर्स्थापना भन्ने अरु दलहरु त सबै गइसक्यो चुनावमा होइन र ? अब एमाले पनि जाने भइसक्यो, जानैपर्छ । अबको मिसन चुनावमै जान राम्रो हुन्छ ।

एकदम संयम भएर शान्तिपूर्ण वातावरणमा कन्फ्लिक्ट नहुने गरेर द्वन्द्व नमच्चिने गरेर र जेनजीले उठाएको सहि माग मुद्दाहरुलाई पनि हामीले भविष्य खोज्नुपर्छ । अबको भविष्य जेनजी नै हो । उहाँहरुलाई पनि ठाउँ दिँदै, समेट्दै लान सकियो भने साच्चै नै रमाइलो हुन्छ । साच्चै नै देशमा विकास हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?