+
+
WC Series
कर्णाली याक्स 2025
160/3 (20)
VS
Biratnagar won by 3 wickets
Won विराटनगर किंग्स 2025
163/7 (19.5)
Shares

त्रिवेणीका लहरहरू : राजा वीरेन्द्रको हुकुमले छापिएको किताब

हेटौंडा सवारी शिविरमा गएर राजासँग दर्शन भेटका लागि विन्तीपत्र हाले । दर्शन भेट पाउनेहरूको नाम, मिति र समय सूचना पाटीमा टाँसिन्थ्यो ।

गोविन्द गिरी प्रेरणा गोविन्द गिरी प्रेरणा
२०८२ मंसिर १३ गते १०:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वि.सं. २०४४ मा प्रकाशित \'त्रिवेणीका लहरहरू\' पुस्तकका लागि लेखकद्वयले नेपाली गीत, संगीत र गायन क्षेत्रका ५१ प्रतिभासँग अन्तर्वार्ता लिएका थिए।
  • राजा वीरेन्द्रसँग भेटेर पुस्तक प्रकाशनका लागि विन्ती गर्दा उनको आदेश भएपछि मात्रै पुस्तक प्रकाशन हुन सकेको थियो ।

नेपालमा कुनै वेला यस्तो थियो, कुनै पनि नेपालीले जाने अन्तिम ठाउँ, फिराद गर्ने अन्तिम निकाय, अन्तिम व्यक्ति राजा हुन्थे, राजदरबार हुन्थ्यो । नियम, कानुन र संविधान भन्दा माथि थियो त्यो शक्ति । त्यो आजको परिप्रेक्षमा कति सान्दर्भिक होला ? त्यो बेग्लै कुरा हो, तर कुनै समय त्यस्तो कालखण्ड थियो भन्ने ऐतिहासिक यथार्थ हो ।

तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले वि.सं. २०४४ सालमा प्रकाशित गरेको एक पुस्तकका लागि लेखकद्वयले राजालाई नै गुहार्नु पर्ने अवस्था आयो ।

श्रीरामसिंह बस्नेत र सुभाषचन्द्र पौड्यालले नेपाली गीत, संगीत र गायन क्षेत्रका ५१ प्रतिभाहरूसँग प्रत्यक्ष भेटेर अन्तर्वार्ता लिई त्यसको संग्रह तयार गरेका थिए । त्यो प्रकाशन गर्नका लागि गुहार्नुपर्‍यो र त्यो गुहार सफल भयो ।

०००

वि.सं. २०३६ सालको कुरा हो । सुभाषचन्द्र पौडेल बालाजु औद्योगिक क्षेत्रको मूलगेट अगाडि रहेको दाइको डेरामा बस्थे । त्यहाँको चिया पसलमा दिनेश रिमाल, उमेश रिमाल आदि भेला हुन्थे । श्रीरामसिंह बस्नेत सीताराम मावि रामकोटमा पढाउँथे ।

उनले ‘कलिला सपनाहरू’ बाल लघु उपन्यास लेखेका थिए । त्यसमा अशेष मल्लले भूमिका लेखेका थिए । वालमुकुन्ददेव पाण्डे रुपरेखा पत्रिकाबाट अलग भएपछि उनले कमलादी टुकुचाको किनारमा चारू प्रेस चलाएका थिए । चारु प्रेसमा छापिएको पहिलो किताब थियो त्यो ।

सुभाष र श्रीरामको भेट त्यही चिया पसलमा हुन्थ्यो । उनीहरू कुनै साहित्यिक काम गरौं भन्ने हुटहुटीमा थिए । यो जोडीले ‘कुरौटे’ नामको साहित्यिक पत्रिका पनि निकाल्थ्यो। २०३६ सालमा स्थापित डाँफे रेडियो श्रोता संघमा उनीहरू सक्रिय थिए ।

त्यसैबीच बाल दिवसको उपलक्षमा उपत्यकाव्यापी कविता प्रतियोगिता भयो । त्यसको मूल्यांकनकर्ता रेडियो नेपालको साहित्यिक कार्यक्रमका त्यतिबेलाका लोकप्रिय उद्‍घोषक यज्ञनिधि दाहाल थिए । त्यस प्रतियोगितामा दोश्रा भएका थिए प्रेमदास मानन्धर अर्थात् आजका चर्चित प्रतिभा प्रकाश सायमी ।

श्रीरामले एक अन्तर्वार्ताको पुस्तक तयार गर्ने मन बनाइसकेका थए । उनले भैरवबहादुर थापासँग कुरा गरि पनि सकेका थिए । श्रीरामले सुभाषलाई यो काम सँगै गरौं भनेर प्रस्ताव गरे । अनि गायक, गीतकार र सङ्गीतकारको सूची बनाएर अन्तर्वार्ता लिन दौडादौडीमा लागे । सूची बनाउँदा उनीहरूले मापदण्ड बनाए । चर्चित हुनपर्ने, आफ्नो क्षेत्रमा योगदान भएको हुनुपर्ने, उनीहरूको मनले खाएको पनि हुनुपर्ने जस्ता मापदण्ड थिए ।

अन्तर्वार्ता लिन कहिले दुवैजना साथै जान्थे, कहिले एक्लाएक्लै। जस्तो माधवप्रसाद खनाल भावुकको अन्तर्वार्ता सुभाषले गरे भने वीरगञ्ज जेलमा रहेका कलानाथ अधिकारीको अन्तर्वार्ता गर्न श्रीराम गए । राजनीतिका कारण जेलमा रहेका कलानाथ अधिकारीलाई भेट्नका लागि सुभाषले अञ्चलाधीस अफिस धाएर घोर घमासान मेहनत गर्नुपरेको थियो ।

निश्चय नै पञ्चायतको जगजगीका बेला राजनैतिक मुद्दामा जेलमा परेको व्यक्तिको अन्तर्वार्ता लिन अनुमति पाउनु निकै जोखिम र कठिन काम थियो । तर उनले त्यो काम फत्ते गर्न सके ।

यसरी दुवैको जोश, दुवैको लगाव र दुवैको एक मन र मतले काम अघि बढ्दै गयो ।

०००

अन्तर्वार्ताका लागि प्रतिभाहरू भेट्न जाँदाका रोचक अनुभवहरू पनि उनीहरूका लागि उर्जा नै सावित भयो । नारायण गोपाल पत्रकार भन्नेबित्तिकै हच्किने रहेछन् । कतिले अन्तर्वार्ता लिने तर नछाप्ने, कतिले आफूले भनेको कुरा बङ्ग्याएर छापिदिने गरेकाले वाक्क भएका रहेछन् । उनीहरू घरमा जाँदा प्राय नारायण गोपाललाई राग अलापिरहेको भेट्थे । निकै प्रयास गरेर अन्तर्वार्ता पुस्तकमा छापिने मात्र होइन नबङ्ग्याइकनै प्रस्तुत गर्ने प्रत्याभूति दिएपछि एक शनिबार उनले समय दिए ।

दुवैजना तोकिएको समयमै नारायण गोपाल निवास महाराजगञ्ज पुगे । नारायण गोपालकी पत्नी पेमलाले अम्लेट, चिया विस्कुटले आतिथ्यता गरिन् । उनीहरूले अन्तर्वार्ता लिए ।
निकै कठिन प्रयासले लिन सकेको अन्तर्वार्ताको अन्तमा नारायण गोपालले भने- ‘तपाईंहरूको यो प्रयास मलाई सह्रानीय लाग्यो । तपाईंहरूलाई मेरो सुभेच्छा छ ।’
यति सुन्न पाउँदा दुवै मख्ख परे ।

तर छुट्टिने बेलामा बिस्तारै नारायण गोपालले प्रश्न गरे, ‘किताब त निस्कन्छ नि होइन ?” पक्कै निस्कन्छ भनेर उनीहरू छुट्टिए, अनि सडकमा आएपछि धीत मर्ने गरी हाँसे ।

०००

राजा महेन्द्रका भित्रिनीबाट जन्मेका रवीन्द्र शाह चर्चित गीतकार हुन् । उनको अन्तर्वार्ता लिन कसरी सकिएला, भेट दिने हुन् कि होइनन्, यो काम पूरा गर्न सकिएला/नसकिएला दुवैमा घनघोर संसय थियो ।

उनीहरूले एक व्यक्ति भेटे हेमदाइ । उनकै माध्यमले रवीन्द्र शाहको दरबारको ढोकासम्म उनीहरूलाई पुर्‍यायो । उनीहरू निकै उत्साहित थिए । यो प्रयासका लागि एक महिना समय लाग्यो । पहिला नै प्रश्न पठाउनु पर्ने खबर पाएर प्रश्नहरू पठाएका थिए । त्यसको झण्डै एक महिनापछि मात्रे भेटका लागि समय पाएका थिए ।

साँझको समय दिइएको थियो । दिएकै समयमा रवीन्द्र शाह उनीहरू प्रतीक्षारत कोठामा आए । कतिपय उत्तर त उनले लेखिसकेका पनि रहेछन् । बाँकी प्रश्नोत्तर पनि त्यस दिन पूरा भयो । उनीहरूले चिया बिस्कुटको आतिथ्यता पाए । भेटघाट सहज नै लाग्यो । अन्तर्वार्ता पूरा भएपछि फुर्कंदै फर्किए ।

उनीहरूको कानमा रवीन्द्र शाहले भनेका शब्दहरू, ‘राम्रै काम गर्न लाग्नुभएको रहेछ’ गुञ्जिरहेका थिए । रवीन्द्र शाहको अन्तर्वार्ता लिनुभन्दा उनको फोटो पाउन हम्मे-हम्मे परेको थियो ।

०००

अन्तर्वार्ता लिन जाने क्रममा ती व्यक्तिका आनिबानी, व्यवहार पनि निकै चाखलाग्दा र अविष्मरणीय सावित भए । लक्ष्मण लोहनीको अन्तर्वार्ता लिन उनीहरू मंगलबार पुगेका थिए तर उनी म‌‌ंगलबार नबोल्ने रहेछन् । उनीसँग लेखेर कुराकानी भयो । लेखेरै लोहनीले अन्तर्वार्ता लिन अर्को दिन बोलाए अनि अर्कै दिन अन्तर्वार्ता भयो ।

नीरविक्रम प्यासी भेटेपछि छोड्दै नछोड्ने स्वभावका थिए । चिया पिलाउँथे । कविता सुनाउँथे । कुरा सुनाउँथे । विदा हुनै दिँदैनथे । जे होस् दुई उत्साही युवाहरू आफ्नो उद्देश्यमा लागिरहे र ५१ जना प्रतिभाहरूको अन्तर्वार्ताको पाण्डुलिपि तयार भयो ।

ती ५१ जना प्रतिभाहरू थिए-अम्बर गुरूङ्ग, अरूणा लामा, ईश्वरवल्लभ, उही गोविन्दबहादुर, कलानाथ अधिकारी, कालीप्रसाद रिजाल, किरण खरेल, कुमार बस्नेत, कृष्णमान, गणेश रसिक, गोपाल योञ्जन, गोविन्दलाल नेपाली, गौरी नेवा, गङ्गा राणा, चन्द्रराज शर्मा, चेतनाथ, जगत्मर्दन थापा, जनार्दन सम, तारादेवी, धर्मराज थापा, नगेन्द्र थापा, नवीनकिशोर राई, नरराज ढकाल, नारायणगोपाल, नातीकाजी, नीरविक्रम ‘प्यासी’, पुष्प नेपाली, प्रदीप रिमाल, प्रेमध्वज, फत्तेमान, भैरवबहादुर थापा, भैरवनाथ रिमाल ‘कदम’, माधव घिमिरे, माधवप्रसाद खनाल ‘भावुक’, मीरा राणा, यज्ञराज शर्मा, युधिर थापा, योगेश बैद्य, रवीन्द्र शाह, रमोलादेवी शाह ‘छिन्नलता’, रत्नशम्शेर थापा, रत्नदास ‘प्रकाश’, राममान ‘तृषित’, लक्ष्मण लोहनी, शिवशङ्कर, श्यामदास वैष्णव, हरिप्रसाद रिमाल, हिरण्य भोजपुरे, हुतराज, क्षेत्रप्रताप अधिकारी र ज्ञानबहादुर ।

यी सबै प्रतिभा स्वनामधन्य थिए । ‘दरबारदेखि कारागारसम्म’ शीर्षकमा उनीहरूले लेखकीय भूमिका समेत लेखिसकेका थिए । यस प्रकारको पुस्तक यसअघि प्रकाशन भएको थिएन । यो निकै महत्त्वपूर्ण कृति हो भन्नेमा लेखकद्वय ढुक्क थिए । राम्रै प्रकाशनबाट प्रकाशन गर्न सकिनेमा उनीहरू विश्वस्त थिए । तर उनीहरूको यो सोचाइमा ग्रहण लाग्यो। उनीहरूले प्रकाशक पाउन सकेनन् ।

क्षेत्रप्रताप अधिकारीले साझा प्रकाशनबाट प्रकाशनका लागि आश्वासन दिए । उनीहरू साझा प्रकाशनको ढोका ढकढक्याउन पुगे । तर उनीहरूले जवाफ पाए- बजेट छैन । अन्त कतैबाट हुन्छ कि प्रकाशन भनेर खोजखबरी गरे, तर कतैबाट पनि सकारात्मक जवाफ आएन । उनीहरू अलमलमा थिए, अब किताबको प्रकाशन कसरी गर्ने ? बजेट कसरी जुराउने !

०००

यसैबीच राजा वीरेन्द्र मध्यमाञ्चलको भ्रमणका लागि हेटौंडालाई केन्द्र बनाएर  क्षेत्रीय भ्रमण गरिरहेका थिए । यस्तो भ्रमणमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले सवारी शिविरमा कविता गोष्ठीको आयोजना गर्थ्यो ।

स्थानीय संघसंस्थाले नियमित जसो साँस्कृतिक कार्यक्रमको आयोजना गर्थे । दुःख, पीर, मर्कामा परेकाहरूले राजालाई आफ्नो विन्ती बिसाउँथे । त्यस्तो अवसरमा राजालाई विन्तीपत्र चढाउँथे ।

श्रीराम र सुभाष किताब प्रकाशनका लागि राजालाई गुहार्ने निधोमा पुगे । अनि हेटौंडा सवारी शिविरमा गएर दर्शन भेटका लागि विन्तीपत्र हाले । दर्शन भेट पाउनेहरूको नाम र दर्शन भेटको मिति र समय सूचना पाटीमा टाँसिन्थ्यो । उनीहरू कहिले नाम निस्केला भनेर व्यग्र प्रतीक्षामा थिए ।

सवारी शिविरमा राजाले बस्ने दिन छोटिँदे गइरहेको थियो । तर उनीहरूको नाम भने निस्केको थिएन । अन्तिम दिन स्थानीय पत्रकार, साहित्यकार, समाजसेवी र जनतासँग भेट्ने कार्यक्रम थियो । सुभाष यही हूलमा सामेल भए । लाममा लागेर मानिसहरू आफ्नो कुरा राख्दै गइरहेका थिए । राजा मुसुमुसु हाँस्दै कुरा सुन्दै थिए ।

आफ्नो पालोमा सुभाषले ‘त्रिवेणीका लहरहरू’ पुस्तक कसरी तयार भयो, यसमा को-को समावेस छन्, किताब प्रकाशनका लागि आर्थिक अवस्था राम्रो नभएकोले विन्ती बिसाएको जस्ता कुराहरू फरर नरोकिई सुनाएर विन्ती जाहेर गरे ।

यता राजाका सचिव पशुपतिभक्त महर्जन छेउको एक कुर्सीमा बसेर नोट गरिरहेका थिए । त्यत्तिकैमा राजाका अङ्गरक्षक ताराबहादुर थापाले अँगालो हाल्न आए । यसको अर्थ कुरा सकियो, जाऊ भन्ने थियो । एकातिर ताराबहादुरले उनको कानमा खुसखुस भने, ‘भयोभयो’, अर्कोतिर अँगालो हाल्दा ताराबहादुरले कम्मरमा राखेको पेस्तोल बिझाएको प्रष्टै अनुभव सुभाषले गरे ।

यत्तिकैमा राजाले बोलेको सुनियो, ‘बोल्न देउ !’

सुभाषले कुल १२ मिनेट राजासँग आफ्नो कुरा राख्न समय पाए । उनले चाँदनी शाहको पनि अन्तर्वार्ता राख्न चाहेको पनि बताए । यो सुनेपछि राजा रानी दुवै मुस्कुराए । अन्तमा यो पुस्तक छाप्ने चाहना भएको र अरू कुनै चाहना नभएको बताएर उनी त्यहाँबाट बाहिरिए ।

बाहिर श्रीराम उनको प्रतीक्षामा थिए । सुभाषले शिविरभित्र राजासँग भनेका कुरा र त्यसबेलाको सारा अवस्था सुनाए । उनीहरूको काम सकियो । विन्ती बिसाइसकिएको थियो । अनि श्रीराम काठमाडौं फर्किए, सुभाषचाहिँ भीमफेदीतिर लागे ।

०००

भीमफेदी निवासी रासस प्रतिनिधि न्हुछेमान श्रेष्ठबाट भीमफेदीमा सुभाषले थाहा पाए, सवारी शिविरबाट खोजि भएको छ । उनी हेटौंडा पुगे । राजाका स्वकीय सचिव पशुपति भक्त महर्जनले विजय मल्ल र माधव घिमिरेको रोहवरमा भने, ‘सरकारबाट हुकुम भएको छ, यो उहाँहरूको किताब तुरुन्त छापेर जाहेर गर्नुहोला ।’
अनि सुभाषलाई भने, ‘काठमाडौं जानेबित्तिकै पाण्डुलिपि बुझाउनु होला ।’

प्रज्ञा प्रतिष्ठानले राजालाई कविता सुनाउन नारायणी अञ्चलका कविहरूको लिस्टमा सुभाषको पनि नाम थियो । त्यही लिस्टमा सुभाषको नाम देखेपछि पशुपतिभक्तले विजय मल्ललाई उनीसँग भेटाउनु भनेका रहेछन् ।

पशुपतिभक्तले एकेडेमीबाट किताब प्रकाशन हुन्छ भनेर सुभाषलाई बताए । त्यसपछि उनी शिविरबाट फर्केर आए । सीमा लजमा उनको भेट नारायण गोपालसँग भयो । अनि फूर्तिसाथ भने, ‘दाइ किताब छिटै प्रकाशित हुँदैछ ।’

यसो भन्न पाउँदा सुभाषलाई निकै गर्व लागेको थियो । एक त नारायण गोपालले किताब छापिएला भनेर विश्वासै गरेका थिएनन्, उसमाथि प्रकाशक नपाएर उनीहरू दिनरात छटपटिने गरिरहेका थिए । काठमाडौं फर्केपछि श्रीराम र सुभाषलाई एकेडेमीले ताकेता गर्न थाल्यो । विजय मल्लले बोलाउन थाले । पुस्तक प्रकाशनको काममा रामशरण दर्नालले समेत निकै सहयोग गरे ।

०००

पुस्तक अन्ततः नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित भयो । पुस्तक प्रकाशित भएपछि अन्तर्वार्ता लिइएका प्रतिभाहरूको घरघरमा पुस्तक हस्तान्तरण गर्न जाँदा लागेको परिश्रम, दुःख र खर्चभन्दा पुस्तक प्रकाशनले दिएको सन्तष्टि, गौरव र आत्मसुख कता हो कता धेरै थियो ।

नारायण गोपालले किताब हात परेपछि भनेका थिए, ‘मैले यो किताब यसरी निस्केला भनेर पत्याएकै थिइनँ ।’ यसो भन्दै अत्यन्त खुसी भएर बधाई तथा शुभकामना दिएका थिए । गणेश रसिकले ‘यो किताब निकै महत्वपूर्ण छ’ भनेर प्रशंसा गरेका थिए । जगतमर्दन थापाले ‘नेपाली गीत सङ्गीतलाई माया गर्ने भाइहरू हुनुहुँदो रहेछ’ भनेर स्यावासी दिएका थिए ।

०००

पुस्तक प्रकाशित भइसक्दा अन्तर्वार्ता दिने जनार्दन सम, भैरवबहादुर थापा र युधिर थापा दिवंगत भइसकेका थिए । अहिले त त्यतिबेला बाँकी ४८ जनामध्ये थोरै मात्र जीवित छन् ।

यो पुस्तक ऐतिहासिक थियो र छ । वार्ताकारद्वयले आफ्नो भूमिकामा लेखेका थिए, ‘भविष्यमा पनि अरू साधकहरूका यस्तै अन्तर्वार्ताहरू बटुली यो ‘त्रिवेणीका लहरहरू’ भन्दा परिष्कृत र परिमार्जित रूपमा जनसमक्ष ल्याउने यो यात्राको क्रम जारी राख्न कोही न कोही उत्साही ब्यक्तिबाट अवश्य कदम चालिनेछ भन्ने आशा हामीले लिएका छौं ।’

यसरी आशा लिएको ३८ वर्ष भैसक्दा पनि कोही उत्साही व्यक्ति देखिएनन् । अरू नदेखिए पनि के भो त ! श्रीराम र सुभाषको जोडीले नै यो काम फत्ते गरिदिए कसो होला ? इतिहास त काम गर्नेले नै बनाउने हो।

लेखक
गोविन्द गिरी प्रेरणा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?