News Summary
Generated by OK AI. Editorially reviewed.- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले शुक्रबार ३ उद्योग तथा फर्मलाई २ लाख ३० हजार रुपैयाँ जरिबाना तिराएको छ।
- क्रिस्टल स्टोरले चामलको बोरा खोलेर पुनः प्याकिङ गरी गुणस्तरहीन चामल मिसावट गरेको पाइएपछि २ लाख ५ हजार रुपैयाँ जरिबाना तिराइएको छ।
- अनुगमन क्रममा खरिद बिलबिजक नराखेको र रिलेबलिङ गरेको फर्मलाई जरिबाना तिराइएको र क्यान्टिनलाई कागजात लिएर विभागमा उपस्थित हुन निर्देशन दिइएको छ।
१२ मंसिर काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले शुक्रबार ३ उद्योग तथा फर्मलाई २ लाख ३० हजार रुपैयाँ जरिबाना तिराएको छ ।
विभागको अनुगमन टोलीले नियमित अनुगमन अन्तर्गत शुक्रबार ७ उद्योग तथा फर्म अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा तारकेश्वर नगरपालिका–५ गोलढुंगाको क्रिस्टल स्टोरलाई २ लाख ५ हजार रुपैयाँ जरिबाना तिराइएको छ । उक्त मार्टले चामलको बोरा खोलेर पुनः प्याकिङ गरेको र गुणस्तरहीन चामल मिसावट गरेको उपभोक्ताले गुनासो गरेका थिए ।
सोही अनुसार अनुगमन क्रममा इन्डिया गेट बासमती चामलको ओरिजिनल सिल खोलेर कमसल चामल मिसाइ पुनः प्याकिङ गरी बेचेको पाइएपछि जरिबाना तिराइएको विभागले जनाएको छ ।
यस्तै विभागले खरिद बिलबिजक नराखेको भन्दै काठमाडौं महानगरपालिका–३१ नयाँबानेश्वरको घुम्ती किचेनलाई पनि २० हजार रुपैयाँ र काठमाडौं–९ सिनामंगलको ग्रिन बड्स बेकरी क्याफे प्रालिलाई ५ हजार रुपैयाँ जरिबाना तिराएको छ ।
यसैगरी ललितपुर पुल्चोकस्थित सुमेरु अस्पताल परिसरमा रहेको क्यान्टिनलाई ३ दिनभित्र व्यवसायसँग सम्बन्धित कागजात लिएर विभागमा उपस्थित हुन निर्देशन दिइएको छ भने अन्य ३ उद्योग तथा फर्मलाई सामान्य निर्देशन दिइएको छ ।
पछिल्लो समय विभागले उत्पादनमा मूल्यसूची र दर्ता प्रमाणपत्र नराखेको, एमआरपी नराखेको, रिलेबलिङ गरेको, गुणस्तर, परिमाण, मूल्य र नापतौलमा हेरफेर गरेको पाइएपछि जरिबाना तिराउँदै आएको छ ।
प्रतिक्रिया 4