१४ मंसिर, जनकपुरधाम । नेकपा एमालेको महाधिवेशन प्रतिनिधि चयन गर्दा धनुषामा पार्टी सचिव रघुवीर महासेठको वर्चस्व देखिएको छ ।
एमालेको अन्तर–संघर्षमा कतै नखुलेका महासेठको पक्षमा झन्डै दुई तिहाइ प्रतिनिधि आएको दाबी गरिएको छ । महासेठको गृह जिल्ला धनुषाबाट ७५ जना प्रतिनिधि चयन भएका छन् ।
धनुषाबाट चुनिएको प्रतिनिधि संख्या अरू जिल्लाहरूको तुलनामा सबैभन्दा बढी हो । यसमध्ये ४७ जना प्रतिनिधि रघुबीर महासेठको पक्षमा आएको दाबी गरिएको छ ।
धनुषा–१, ३ र ४ बाट महासेठको पक्षमा धेरै प्रतिनिधि आएका छन् । एक नेताका अनुसार, धनुषा–३ र ४ बाट लगभग सबैजसो प्रतिनिधि महासेठ र पत्नी जुली महतोको पक्षका छन् ।
धनुषा–३ जुलीको निर्वाचन क्षेत्र हो भने निर्वाचन क्षेत्र नम्बर ४ बाट महासेठले चुनाव लड्दै आएका छन् । धनुषा–३ बाट १४ जना र ४ बाट २१ जना प्रतिनिधि चयन भएका छन् ।
धनुषा–१, बाट १९ जना प्रतिनिधि चयन भएका छन् । त्यस मध्ये ८ जना महासेठको पक्षमा खुल्ने सम्भावना रहेको बताइन्छ ।
१९ जना प्रतिनिधि चयन भएको धनुषा–२ मा भने मतदान भएको थियो । मतदान हुँदा पनि महासेठको प्रभाव परेको नेताहरू बताउँछन् । जिल्ला अध्यक्ष भोला यादवका अनुसार दलित तर्फ २ जना प्रतिनिधि निर्विरोध चयन भएका छन् ।
प्रतिक्रिया 4