१५ मंसिर, गोरखा । केही वर्षदेखि यहाँका किसानहरू यन्त्रीकरणतर्फ आकर्षित भएका छन् । गाउँ–बस्तीका किसानहरूले खेती गर्न ट्रयाक्टर तथा थ्रेसर प्रयोग गर्न थालेका छन् ।
उत्तरी गोरखाको हिमाली भेगमा पनि गहुँ, जौ, करु, फापर काट्न मेसिनकै प्रयोग गर्ने प्रचलन बढिरहेको किसानहरू बताउँछन् । तल्लो भेगको टार तथा फाँटहरूमा थ्रेसरको प्रयोग बढ्न थालेपछि दयँरे र गोरुको प्रयोग गरेर परम्परागत दाइँ गर्ने चलन प्रायः हटिसकेको स्थानीयवासीको भनाइ छ ।
परम्परागत दाइँ गर्न युवा जनशक्तिको अभाव रहेकाले थ्रेसर लोकप्रियता बढिरहेको पालुङ्टार ९ का महेन्द्र श्रेष्ठ बताउँछन् । उनका अनुसार युवा जनशक्ति विदेशिएपछि मेसिनले गर्ने दाइँमा दयँरे महिला हुने गरेका छन् ।
‘एक महिनायता हाम्रो फाँटमा मात्र सात वटा मेसिनलाई भ्याइ-नभ्याइ छ । एकै दिनमा एउटा मेसिनले चार, पाँच जनाको दाइँ गर्दा अझै माग धान्न गाह्रो छ,’ उनले भने, ‘पुरुषहरु त गाउँमा कमै छन् । त्यसैले घान हाल्ने र खन्याउने ठाउँमाचाहिँ पुरुष हुन्छन् । अरु काममा प्रायः महिलै हुन्छन् ।’
हिमालपारिको चुम उपत्यकामा तिब्बतबाट उपकरण ल्याएर फापर, गहुँ, जौ काट्ने गरेको चुमनुब्री गाउँपालिका–७ छेकम्पारका पूर्ववडाध्यक्ष पासाङ फुञ्जो लामा बताउँछन् । विगत पाँच वर्षदेखि मेसिनको प्रयोग गरेर बारी जोत्ने, बाली काट्ने, कुट्ने गर्न थालेको उनको भनाइ छ ।
कृषि ज्ञान केन्द्रको तथ्यांकले कृषिमा यन्त्रीकरण वृद्धि भइरहेको देखाउँछ । हाल गोरखामा ७० प्रतिशत दाइँ सकिएको छ । जसमध्ये प्रायः तल्लो भेगको समथर फाँटहरुमा थ्रेसरको प्रयोग भएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी सुमन भट्टराई बताउँछन् ।
कृषिमा यन्त्रीकरणबाट करिब १५ प्रतिशत लागत (खर्च) कम हुने सूचना अधिकारी भट्टराईको भनाइ छ । उनका अनुसार कम खर्च र सजिलोका लागि कृषिमा यन्त्रीकरणको परम्परा बढेको हो ।
प्रतिक्रिया 4