News Summary
Generated by OK AI. Editorially reviewed.- गत १५ देखि १७ कात्तिकसम्मको बेमौसमी वर्षाले देशभर ५ सय ८६ हेक्टर तरकारी खेती प्रभावित पारेको छ।
- यस वर्षाले ६ हजार ८ सय ३६ टन तरकारी उत्पादनमा क्षति पुगेको र २२ करोड ३३ लाख ८५ हजार रुपैयाँ बराबरको आर्थिक नोक्सानी भएको छ।
- सुनसरीमा २ सय हेक्टर तरकारी खेती प्रभावित भएर २ हजार मेट्रिक टन उत्पादन घटेको र ४ करोड रुपैयाँ नोक्सानी भएको प्रतिवेदनले देखाएको छ।
१५ मंसिर, काठमाडौं । गत १५ देखि १७ कात्तिकसम्म भएको बेमौसमी वर्षाका कारण देशभरीको तरकारी बालीमा ठूलो क्षति पुगेको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रतिवेदनअनुसार उक्त बेमौसमी वर्षाले कुल ५ सय ८६ हेक्टर क्षेत्रफलमा गरिएको तरकारी खेती प्रभावित पारेको छ ।
देशभरी ६ हजार ८ सय ३६ टन तरकारी तथा उत्पादनमा क्षति भएको छ । यसबाट कुल २२ करोड ३३ लाख ८५ हजार रुपैयाँ बराबरको आर्थिक नोक्सानी भएको आँकलन गरिएको छ ।
प्रतिवेदन अनुसार कोशी प्रदेशको सुनसरीमा तरकारी बालीमा ठूलो क्षति पुगेको छ । सुनसरीमा २ सय हेक्टर तरकारी खेती प्रभावित भएको छ । जसबाट २ हजार मेट्रिक टन तरकारी उत्पादनमा ह्रास आएको छ । यसबाट कोशी प्रदेशले ४ करोड रुपैयाँ बराबरको आर्थिक नोक्सानी बेहोरेको छ ।
यस्तै मधेश प्रदेशका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा गरी ८ जिल्लाहरूमा तरकारी बालीमा क्षति पुगेको छ । यस प्रदेशमा ३ सय ८६ हेक्टर क्षेत्रफलको तरकारी खेती प्रभावित भएको छ, जसबाट ४ हजार ८ सय ३६ टन तरकारी उत्पादन घटेको छ । मधेश प्रदेशमा तरकारी बालीमा १८ करोड २३ लाख ८५ हजार रुपैयाँ बराबरको आर्थिक नोक्सानी भएको छ ।
बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भने यस बेमौसमी वर्षाले तरकारी बालीमा कुनै क्षति नपुर्याएको प्रतिवेदनले देखाएको छ ।
बेमौसमी वर्षाले धानबालीमा जस्तै तरकारी बालीमा पनि ठूलो नोक्सानी पुर्याएको छ, जसले किसानहरूको जीविकोपार्जनमा थप चुनौती थपेको छ । यही कारणले बजारमा तरकारीको मूल्यमा समेत असर परेको छ ।
प्रतिक्रिया 4