News Summary
Generated by OK AI. Editorially reviewed.- अखिल नेपाल फुटबल संघले राष्ट्रिय लिगपछि सहिद स्मारक ए डिभिजन लिग आयोजना गर्ने निर्णय गरेको छ।
- राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु गर्ने र ए डिभिजन लिग राष्ट्रिय लिग सकिएको एक महिनापछि गर्ने एन्फाले जनाएको छ।
- एन्फाले साफ यू-१९ महिला फुटबल पोखरामा आयोजना गर्ने र दशरथ रंगशालमा हाइब्रिड घाँसे मैदान राख्न प्रस्ताव गर्ने निर्णय गरेको छ।
१५ मंसिर, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय लिग सकिएको एक महिनापछि सहिद स्मारक ए डिभिजन लिग पनि आयोजना गर्ने निर्णय गरेको छ ।
सोमबार एन्फा मुख्यालयमा बसेको एन्फा कार्यमसतिको आकस्मिक बैठकले राष्ट्रिय लिग सुरुमा गर्ने र त्यसपछि शहीद स्मारक ए डिभिजन लिग पनि आयोजना गर्ने निर्णय गरेको पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो ।
राष्ट्रिय अर्को महिना पुस २५ गतेदेखि सुरु गर्ने एन्फा महासचिव किरण राईले जानकारी दिए । एन्फाले राष्ट्रिय लिग गरेको एक महिनापछि ए डिभिजन लिग आयोजना गर्ने तयारी गरेको हो ।
‘पुष २५ गतेबाट राष्ट्रिय लिग आयोजना गर्ने र सो प्रतियोगिताको लागि संघको विधान अनुसार क्लबहरूका साथै इच्छुक सबै ए डिभिजन क्लबहरूलाई टिम दर्ता गर्न खुल्ला गर्ने निर्णय गरियो’, एन्फा महासचिव करण राईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘प्रतियोगिता सम्पन्न भएको एक महिना भित्र ए डिभिजन लिग आयोजना गर्ने निर्णय गरियो।’
यसअघि राष्ट्रिय लिगमा पछिल्लो पटक भएको ए डिभिजन लिगका शीर्ष ६ र एन्फा प्रेसिडेन्ट कपको सेमिफाइनल पुगेका चार गरी १० टोलीले प्रतिस्पर्धा गर्ने तय भएपनि एन्फाले राष्ट्रिय लिगका लागि क्लबको संख्या बढाउने जनाएको छ ।
एन्फाले राष्ट्रिय लिगका लागि अन्य ए डिभिजन क्लब इच्छुक देखिएकोले टिम दर्ता गर्न खुल्ला गरेको र त्यसका लागि भोलlसम्मको समय दिइएको जनाएको छ ।
यस्तै राष्ट्रिय लिगको टिम संख्या टुङ्गो लागेपछि खेलतालिका सार्वजनिक गर्ने र त्यही अनुसार ए डिभिजन लिगको मिति पनि कहिले सुरु हुन्छ निर्णय हुने एन्फा महासचिव किरण राईले जानकारी दिए ।
यस्तै राष्ट्रिय लिगको लागि आगामी एक वर्ष र शहीद स्मारक ए डिभिजन लिगको आगामी पाँच वर्षको लागि मार्केटिङ, टिकेटिङ, ब्रोडकास्टिङ, डिजटल अधिकारको बोलपत्र आह्वान गर्ने निर्णय भएको र बोलपत्रको लागि राष्ट्रिय लिगको लागि लागि सातदिने र ए डिभिजन लिगको लागि १५ दिने सूचना जारी गर्ने निर्णय भएको एन्फाले जनाएको छ ।
एन्फा कार्यसमितको आपतकालिन बैठकले फिफाको सिएओ अर्थात ‘कन्ट्रयाक्ट अफ एग्रिड अब्जेक्टिक्भ्स’मा संशोधन गरी शहीद स्मारक ए डिभिजन लिगलाई समावेश गर्ने निर्णय समेत गरेको छ । यस निर्णयपछि फिफाबाट आएको रकम पनि ए डिभिजन लिगमा खर्च गरिने एन्फाले जनाएको छ ।
साफ यू-१९ महिला च्याम्पियनसिप पोखरामा
एन्फा कार्यसमितिको आपतकालीन बैठकले साफ यु-१९ महिला फुटबल प्रतियोगिता पोखरामा आयोजना गर्ने निर्णय गरेको छ । बैठकले साफ यू-१९ महिला फुटबल आउने फागुनमा पोखरामा गर्ने निर्णय गरेको एन्फाले जनाएको छ ।
यस्तै एन्फाले यसअघि भन्दै आएको महिला फुटबलको फ्रेन्चाईज प्रतियोगिता पनि आयोजना गर्ने निर्णय गरेको छ । साथै राष्ट्रिय महिला नकआउट प्रतियोगिता उदयपुर जिल्लामा संचालन गर्ने निर्णय गरेको छ ।
यस्तै शहीद स्मारक राष्ट्रिय महिला लिगका लागि झापा, मोरङ, मकवानपुर र सुनसरी जिल्लासँग समन्वय गरी स्थान तोक्ने निर्णय पनि गरेको एन्फाले जनाएको छ ।
बैठकले थाइल्याण्डमा आगामी जनवरीमा हुने साफ महिला तथा पुरुष फुटसल प्रतियोगिताका लागि अनुमानित बजेट (१ करोड ४५ लाख १२ हजार ६९० रुपैयाँ) अनुमोदन गर्ने निर्णय पनि गरेको छ ।
दशरथ रंगशालमा हाइब्रिड घाँसे मैदान राख्न प्रस्ताव
एन्फाको आपतकालिन बैठकले दशरथ रंगशालमा हाइब्रिड घाँसे मैदान राख्न प्रस्ताव गर्ने भएको छ । एएफसी इक्वेल पिच कार्यक्रम अन्तर्गत दशरथ रंगशालमा हाइब्रिड घाँसे मैदान राख्न प्रस्ताव पेश गर्ने निर्णय भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यसैगरी फिफा फरवार्ड कार्यक्रम अन्तर्गत धुलिखेल, धनगढीमा नयाँ कृत्रिम घाँसे मैदान निर्माण गर्न र एन्फा कम्प्लेक्स सातदोबाटोको कृत्रिम घाँसे मैदान परिवर्तन गर्न फिफाबाट छनोट भएकामध्ये ‘इडेल ग्रास’ लाई छनोट गर्न फिफालाई प्रस्ताव गर्ने निर्णय समेत आपतकालिन बैठकले गरेको छ ।
यसैगरी एएफसीको इन्ह्यान्स कार्यक्रम अन्तर्गत सिन्धुपाल्चोक खेलाडी ड्रेसिङ रुम, ट्वाइलेट, अफिस सहित माथि पारापिट निर्माण गर्न जगदम्बा जेभीलाई १ करोड २६ लाख ४८ हजार ८१५ रुपैयाँमा प्रदान गर्ने निर्णय समेत गरिएको छ ।

प्रतिक्रिया 4