+
+
Shares

कोटेश्वर-जडीबुटी अन्डरपास र फ्लाइओभर बनाउन जापानले साढे ३१ अर्ब ऋण दिने

नेपाल सरकार र जापान सरकारबीच कोटेश्वर चोक सुधार आयोजनाको लागि ऋण सम्झौता भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १७ गते १४:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल सरकार र जापान सरकारबीच कोटेश्वर चोक सुधार आयोजनाका लागि ३४.५९ अर्ब जापानी येन बराबर ऋण सम्झौता भएको छ।
  • जापानले १० वर्षको ग्रेस अवधि र ३० वर्षको भुक्तानी अवधिसहित वार्षिक ०.२ प्रतिशत ब्याजदरमा ऋण सहायता उपलब्ध गराएको छ।
  • कोटेश्वर र जडीबुटी खण्डमा अन्डरपास र फ्लाइओभर निर्माण गरी उपत्यकाको यातायात व्यवस्थामा सुधार गर्ने योजना छ।

१७ मंसिर, काठमाडौं । नेपाल सरकार र जापान सरकारबीच कोटेश्वर चोक सुधार आयोजनाको लागि ऋण सम्झौता भएको छ ।

अर्थमन्त्री रामेश्वर प्रसाद खनालको उपस्थतिमा बुधबार अर्थ मन्त्रालयमा सो सम्झौता भएको हो । जापानले उक्त आयोजनाका लागि ३४.५९ अर्ब जापानी येन (करिब ३१.७६ अर्ब रुपैयाँ) बराबर ऋण सहायता उपलब्ध गराएको छ ।

जाइकामार्फत प्राप्त हुने उक्त ऋणको ग्रेस अवधि १० वर्ष, भुक्तानी अवधि ३० वर्ष र वार्षिक ०.२ प्रतिशत ब्याजदर रहने छ । यस आयोजनाअन्तर्गत कोटेश्वर तथा जडीबुटी खण्डमा अन्डरपास तथा फ्लाइओभर निर्माण गरिनेछ ।

जसले काठमाडौं, ललितपुर, भक्तपुर तथा बीपी राजमार्ग हुँदै चल्ने सवारीसाधनको आवागमन सहज बनाउन तथा ट्राफिक जाम न्यूनीकरण गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ । आयोजना भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभागमार्फत कार्यान्वयन गरिनेछ ।

ऋण सहायतासँग सम्बन्धित एक्स्चेन्ज अफ नोटमा अर्थसचिव डा. घनश्याम उपाध्याय र जापानी राजदूत मायदा तोरुले हस्ताक्षर गरे । ऋण सम्झौतामा अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखाका प्रमुख सहसचिव डा. धनीराम शर्मा र जाइका नेपालका प्रमुख प्रतिनिधि मित्सुजाकी माजुकीले हस्ताक्षर गरे ।

कार्यक्रममा जाइका नेपालका प्रमुख प्रतिनिधि मित्सुजाकी माजुकी, राजदूत मायदा तोरु तथा अर्थमन्त्री रामेश्वर प्रसाद खनालले सम्बोधन गर्दै द्विपक्षीय सहकार्यलाई थप प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

जापानी राजदूतले जापानको सहुलियतपूर्ण ऋण सहयोगमा कार्यान्वयन हुने कोटेश्वर चोक सुधार आयोजना कार्यान्वयनबाट उपत्यकाको यातायात व्यवस्थामा उल्लेख्य सुधार हुने विश्वास व्यक्त गरे । उनले नेपाल र जापानबीचको दशकौं पुरानो मित्रतापूर्ण सम्बन्धको स्मरण गरे ।

अर्थमन्त्री खनालले आफ्नो सम्बोधनमा नेपाल–जापान सहकार्यअन्तर्गत काठमाडौं उपत्यकाको महत्त्वपूर्ण जामयुक्त स्थानको सुधारमा प्रगति ल्याउने उद्देश्यले अघि बढाइएको यो परियोजनाले राजधानीको यातायात व्यवस्थापनमा दीर्घकालीन परिवर्तन ल्याउने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?