News Summary
Generated by OK AI. Editorially reviewed.- सुनकोशी नदीको खैरेनीघाटमा भारतले अनुदानमा उपलब्ध गराएको ७० मिटर लम्बाइको बेलिब्रिज जडान सुरु भएको छ।
- बाढीले क्षति पुर्याएको पक्की पुलको स्थानमा सिंगल लेन, २० टन भार वहन क्षमता भएको बेलिब्रिज जडान गर्न लागिएको हो।
- ऊर्जा मन्त्री कुलमान घिसिङले पुल क्षतिका कारण सडक सम्पर्क टुटेको भन्दै बेलिब्रिज छिटो जडान गर्न निर्देशन दिएका छन्।
१८ मंसिर, काठमाडौं । सिन्धुली र रामेछापको सीमा रहेको सुनकोशी नदीको खैरेनीघाटमा बेलिब्रिज (फलामे पुल) जडान सुरु भएको छ ।
गत वर्ष असोजको भारी वर्षाका कारण रोशीखोला र सुनकोशी नदीमा आएको बाढीले नेपालथोक नजिक खैरेनीघाटको पक्की पुललाई क्षति पुर्याएपछि उक्त स्थानमा बेलिब्रिज जडान गर्न लागिएको हो । उक्त स्थानमा ७० मिटर लम्बाइ भएको बेलिब्रिज जडान हुनेछ । सिंगल लेन पुलको भार वहन क्षमता २० टन रहेको छ ।
विपद्बाट क्षति पुगेका सडक सञ्जाललाई नियमित रुपमा सञ्चालनका लागि नेपाल सरकारको अनुरोधमा भारतले उक्त बेलिब्रिज अनुदानमा उपलब्ध गराएको हो । भारतले अनुदानमा उपलब्ध गराएका १० वटा बेलिब्रिजमध्ये एउटा खैरेनीघाटमा जडान गर्न लागिएको हो ।
बेलिब्रिज खैरेनीघाटसम्म ढुवानी भइसकेको छ । जडानका लागि प्राविधिकहरू भारतबाट निर्माणस्थलमा पुगिसेकका छन् । बाढीले पुलसम्म पुग्ने सडक क्षति पुर्याएको थियो । उक्त स्थलसम्म पुग्ने सडकको ट्रयाक खोलिसकिएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले बिहीबार खैरेनीघाट क्षेत्रको स्थलगत निरीक्षण गरी बेलिब्रिज जडानका बारेमा जानकारी लिएका छन् ।
मन्त्री घिसिङले विपद्का कारण पुलमा क्षति पुग्दा रामेछापका सुनापति, खाँडादेवी, दोरम्बा, काभ्रेपलाञ्चोकको चौंरीदेउराली लगायतका क्षेत्रको तराई र काठमाडौंसँगको सडक सम्पर्क टुटेको बताए । यसले आवातजावतमा कठिनाइ भएकाले बेलिब्रिज जडान जतिसक्दो छिटो सम्पन्न गर्न निर्देशन दिए ।
उनले गत असोजमा त्यस क्षेत्रको भ्रमण गरी उक्त स्थानमा बेलिब्रिज जडानका लागि सडक विभागका अधिकारीहरुलाई निर्देशन दिएका थिए ।
प्रतिक्रिया 4