१९ मंसिर, काठमाडौं । फागुन २१ मा हुने चुनावका लागि आजबाट ठीक अब ९० दिन बाँकी छ । सरकार र निर्वाचन आयोगले चुनावका लागि प्राविधिक तयारी गरिरहेका छन् ।
तर गत प्रतिनिधि सभाका मुख्य दलहरू भने पार्टीका महाधिवेशनदेखि पार्टीका एकता सभाहरूमा केन्द्रित भइरहेका छन् । एमाले मंसिर २७ मा हुने महाधिवेशनको रस्साकस्सीमा केन्द्रित छ ।
कांग्रेस डेढ महिनादेखि चलेको पार्टी भित्रको गलफती टुंग्याउँदै बल्ल पुसमा महाधिवेशन गर्ने निष्कर्षमा पुगेको छ । अबको करिब डेढ महिना यो पार्टी आफ्नै महाधिवेशनको मुद्दामा केन्द्रित हुँदैछ ।
हालै एक दर्जन भन्दा बढी घटक मिलेर बनेर नेपाली कम्युनिस्ट पार्टी देशव्यापी एकताको सन्देश सभा गर्दै हिंडिरहेको छ । नयाँ खुलेका पार्टीहरूले कार्यसमिति नै बनाउन सकेका छैनन् । अर्को दल रास्वपा आगामी सम्भावित चुनावी परिणामलाई ख्याल गर्दै अन्य शक्तिहरूसँग कसरी गडजोड गर्ने भन्नेमा केन्द्रित छ ।
राजनीतिक दलहरूका यस्ता गतिविधि चलिरहेका बेला नेपालको राजनीति वृत्तमा भने के तोकिएको समयमा चुनाव होला ? चुनावका लागि सबै संयन्त्र तयार छन् ? सरकार नै चुनाव चाहन्छ कि चाहन्नँ ? यस्ता अनेक प्रश्नहरू उब्जिइरहेका छन् ।
यी प्रश्नहरूमाथि सबै निकाय र सरोकारवालाले छुट्टाछुट्टै स्थानबाट आफ्ना धारणा अभिव्यक्त गरिरहेकै छन् । तर शुक्रबार भने सबै निकाय एउटै स्थानमा बसेर यी तमाम प्रश्न र चुनावका विषयमा विमर्श गरे ।
प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार साँझ बालुवाटारमा सर्वपक्षीय बैठक गरेकी थिइन् । उक्त बैठकमा सरकार, चारवटै सुरक्षा निकायका प्रमुख, निर्वाचन आयोग र विघटित प्रतिनिधि सभामा राष्ट्रिय मान्यता प्राप्त दलहरूलाई बोलाएकी थिइन् ।

बैठकमा विगतमा जस्तै प्रधानमन्त्रीले चुनाव गराउने आफ्नै प्रतिबद्धता स्पष्टैसँग व्यक्त गरिन् ।
‘चुनाव हुन्छ कि हुँदैन भन्ने अब नसोचौं । कसरी चुनाव सफल पार्ने भनेर सोचौं । सबैले एक चित्तले सोचेमा चुनाव नहुने कुरै छैन,’ उनले भनिन्, ‘१२६ वटै दलले चुनाव हुनुपर्छ भन्ने धारणा राख्नुपर्छ । हामी एकमत भयौं भने निर्वाचनमा कसैले खलल पार्न सक्दैन । खराब तत्वले आक्रमण गर्न सक्दैन ।’
प्रधानमन्त्रीले चुनावप्रतिको प्रतिबद्धता अनुसारै चारवटै सुरक्षा निकायका प्रमुखले पनि कुरा राखेका थिए । नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलले सुरक्षा विभिन्न चुनौतीहरू समाना गर्न समक्ष रहेको भन्दै प्रतिबद्धता जनाएका थिए ।
नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले प्रहरीको भौतिक संरचनाहरू बनेको र अब प्रहरी लयमा फर्केको भन्दै ब्रिफिङ गरेका थिए । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले संयुक्त् रुपमा सुरक्षा प्रदान गर्न मिलेर काम भइरहेको बताएका थिए । राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्कीले निर्वाचनविरोधी र निर्वाचन बहिष्कार गर्नेहरूबाट चाहीँ केही चुनौती रहेको धारणा राखेका थिए ।

यता गृहमन्त्री ओम प्रकाश अर्यालले पनि चुनावी वातावरण बनाउन सरकारल सबै काम गरेको उल्लेख गरेका थिए । उनले विदेशमा रहेका र अन्तरजिल्ला भोटिङको व्यवस्था गर्न सक्ने विषय समेटेर अध्यादेश ल्याउनेबारे पनि छलफल भइरहेको जानकारी दिएका थिए ।
निर्वाचन आयोगका कार्यवहाक प्रमुख आयक्त रामप्रसाद भण्डारीले निर्वाचनको प्राविधिक तयारीको ब्रिफङ गरे । उनले आयोगको कार्यतालिका अनुसार नै काम भइरहेको दल दर्ताको काम सकिएकाले अब अन्य लजिस्टिकहरूको पनि तयारी भएको बताएका थिए । उनले निर्वाचन आयोग चुनाव गराउन सक्ने अवस्थामा रहेको भन्दै आफ्नै धारणा राखेका थिए ।
सरकारले निर्वाचन आयोगले चुनावको वातावरण बनेको भन्दै ब्रिफिङ गरे पनि राजनीतिक दलका प्रतिनिधिहरूले भने पूर्ण विश्वास चाहिँ गरेनन् । उनीहरूले चुनावमा जाने प्रतिबद्धता दोहोर्याए तर चुनावी वातवरण बनिसकेको कुरा चाहिँ भनेनन् ।
चुनाव हुन नसक्ने दाबी गरिरहेको एमालेले बैठकमा त्यही कुरा दोहोर्यायो । एक नेताका अनुसार एमाले महासचिव शंकर पोखरेलले चुनावी वातावरण बनेकोमा आश्वस्त छैनौं, चुनाव हुने कुरामा विश्वस्त छैनौं भन्दै ‘नहुने चुनावको बहस नै किन गर्ने ?’ भनेका थिए । चुनाव भनेको एकप्रकारले राजनीतिक ध्रुवीकरण हुने समय भएकाले यो बेला सुरक्षा संवेदनशीलता ज्यादा हुने उनले बताएका थिए ।

सुरक्षाका लागि राज्यले बल पनि प्रयोग गर्न सक्छ भन्ने कुराले सुरक्षाप्रतिको भरोसा बढ्ने तर राज्यले बल प्रयोग गर्ने कुरालाई अपराध ठान्ने हो भने त्यसले वातावरण नबनाउने उनको धारणा थियो ।
सुरक्षाको चिन्ता जनाउनेका कांग्रेसका प्रतिनिधिहरू पनि थिए । शुक्रबारको बैठकमा गएका कांग्रेसका महामन्त्री गगन थापा र पुष्पा भुसालले पार्टीले चुनावमा जानेबारे गरेको औपचारिक निर्णयको जानकारी गराएका थिए । तर दल र युवाहरू एउटै ठाउँमा आउन नसक्ने एकअर्कासँग तर्सिने अवस्था रहँदासम्म चुनावको विश्वसनीय वातावरण नबन्ने धारणा राखेका थिए ।
नेतृ भुसालका अनुसार प्रतिनिधिसभा निर्वाचनमा हुनसक्ने सुरक्षा थ्रेटको जिम्मेवार सरकारले नै लिनुपर्ने धारणा कांग्रेसले राखेका छ ।
‘कुनै पनि किसिमको थ्रेटलाई स्वीकार गर्दैन भनेर स्पष्ट राख्यौं । यदी त्यस्तो थ्रेट भयो भने त्यसको जिम्मेवार सरकार हुनुपर्छ भनेर राख्यौं,’ उनले भनिन् ।
नेपाली कम्युनिस्ट पार्टीका नेताहरूले चाहिँ सरकारले चुनावभन्दा अन्यत्र ध्यान दिएको भन्दै प्रश्न गरेका थिए । चुनावी सरकार भएकाले अहिले भएकै कानुन र संविधान अनुसार चुनाव गराउनु उसको दायित्व भएको तर त्यो भन्दा अन्यन्त्र लागेको भन्दै उनीहरूले प्रश्न गरेका थिए । नेकपाका नेता प्रकाश ज्वालाले यतिबेला संवैधानिक पदाधिकारी नियुक्तिसम्बन्धी अध्यादेशहरू किन आवश्यक पर्यो भन्दै प्रश्न गरेका थिए ।

‘राजनीतिक दलहरूले सरकारलाई प्रष्ट रुपमा, यो चुनावी सरकार हो । चुनावमै अर्जुनदृष्टि लगाउनुपर्यो, जसरी अर्जुनले आफ्नो वाण सोझ्याएका थिए,’ नेता ज्वालाले भने, ‘यो सरकारले यताउता ध्यान दिने काम गर्न भएन । चुनावमा केन्द्रित होस् । शान्तिसुरक्षाको वातावरण अझै बनाउनेगरी अघि बढोस् भन्ने सुझाव दिएका छौं ।’
बैठकमा विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिने विषयमा रास्वपाका नेताहरूले जोड दिएका थिए । गृहमन्त्री अर्यालले पनि त्यससम्बन्धी कानुनी प्रबन्ध हुन लागेको जानकारी दिएका थिए
दलहरूका कुरा सुनेर जवाफ दिने क्रममा प्रधानमन्त्री कार्कीले भनिन्, ‘समग्रमा निर्वाचन होस् र हुनुपर्छ भन्ने आवाज नै यहाँ सबैको रह्यो। कहीँ कतै आशंकाका कारण छन् भने पनि तिनले हामीलाई सचेत गराउँछन् र अगाडि बढ्न मद्दत गर्छन् ।’
दलहरूले उठाएका कुरालाई अन्यथा नमान्ने उल्लेख गर्दै उनले अपिल गरिन् । ‘अहिलेको परिस्थितिमा हरेकले भनिरहेको एउटै मात्र बाटो निर्वाचन हो। यसबाहेक अर्को विकल्प छैन,’ उनले भनिन्, ‘तपाईँहरू चुनावका लागि एक ठाउँमा उभिदिनुहोस् ।’
उनले जेनजीहरूप्रति दलहरूले शंका गरेकोमा पनि जवाफ दिइन् । ‘अहिले नयाँ आएकाहरूप्रति तपाईँहरूले शंका गर्नुभएको होला । तर जेनजी पनि पहिलाभन्दा धेरै फरक भएका छन् । अझै पनि राजनीतिक व्यवहार र वातावरण दिन, शिक्षा दिन हामी तयार छौं ।’
प्रतिक्रिया 4