News Summary
Generated by OK AI. Editorially reviewed.- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग क्रिकेटमा लगातार तीन हारपछि शानदार पुनरागमन गर्दै प्लेअफमा स्थान बनाउन सफल भएको छ।
- कप्तान रोहित पौडेलले ३४ रन बनाएर र २ विकेट लिएर प्लेयर अफ द म्याच घोषित भए र आफ्नो आमाप्रति अवार्ड समर्पित गरे।
- जनकपुर बोल्ट्सले ६ खेलमा १ जित मात्र हासिल गरी लिग चरणबाटै बाहिरिएको छ र कप्तान जान निकोल लफ्टी इटनले फिल्डिङ र ब्याटिङ सुधार आवश्यक भएको बताए।
१९ मंसिर, काठमाडौं । गत संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा लिग चरण पार गर्न नसकेको लुम्बिनी लायन्सले दोस्रो संस्करणमा लोगोदेखि जर्सी अनि खेलाडीदेखि प्रशिक्षकसम्म परिवर्तन गरेको थियो ।
सुरुवाती खेलमै जित हासिल गरेर परिवर्तनलाई सार्थक बनाउने संकेत दिएको लुम्बिनीले त्यसपछि भने लगातार तीन हार बेहोर्यो, जसले टोलीलाई प्लेअफमा पुग्न चुनौतीपूर्ण अवस्थामा पुर्याएको थियो ।
४ खेलमा २ अंक मात्र जोड्न सकेपछि लुम्बिनीका लागि हरेक खेल ‘गर या मर’जस्तै थिए । चुनौतीका बीच लुम्बिनीले त्यसपछि शानदार पुनरागमन गर्दै बाँकी तीनवटै खेल जितेर प्लेअफमा स्थान बनाउन सफल भएको छ ।
प्रतियोगिताकै बीचमा पनि विदेशी खेलाडीदेखि ब्याटिङ अर्डरमा पनि परिवर्तन गर्दा त्यसले सकारात्मक नतिजा टोलीलाई दिएको छ । शुक्रबार भएको जनकपुर बोल्ट्ससँगको निर्णायक खेल जित्दै लुम्बिनीले अन्य समीकरणलाई पनि ‘डिसमिस’ गरेको छ ।
लुम्बिनीलाई जिताउन ब्याटबाट ३४ रन अनि बलिङमा २ विकेट लिएका कप्तान रोहित पौडेल प्लेयर अफ द म्याच घोषित भए । उक्त अवार्ड उनले आमाप्रति समर्पित पनि गरे ।
अब लुम्बिनीले इलिमिनेटरमा काठमान्डु गोर्खाज वा विराटनगर किङ्समध्ये एकसँग खेल्नेछ । लुम्बिनीका कप्तान रोहित पौडेलले अब बाँकी खेलमा यही मोमेन्टम लिएर जाने बताएका छन् ।

लुम्बिनीको पुनरागमन
यस संस्करण लुम्बिनीले पहिलो खेलमै जित निकालेर राम्रो संकेत दिएको थियो । तर त्यसपछि भने लुम्बिनीले लय गुमाउँदा लगातार तीन हार बेहोरेपछि प्लेअफ सम्भावना कमजोर बनेको थियो ।
पाँचौं खेलअघि लुम्बिनीको टोलीमा केही परिवर्तन भए । अफगान अलराउन्डर गुल्बादिन नाइब आईएल टी-२० खेल्न दुबई फर्किने भएपछि लुम्बिनीले श्रीलंकन विकेटकिपर ब्याटर निरोशन डिक्वेलालाई टोलीमा ल्याएको थियो । त्यहाँबाट सुरु भयो लुम्बिनीको पुनरागमन ।
डिक्वेलाको आगमनले लुम्बिनीको मिडल अर्डर बलियो बनाएको थियो । यसअघि ओपनिङमा पठाइएका सन्दीप जोरा पनि आफ्नै मिडल अर्डर पोजिसनमा फर्किएका थिए । लुम्बिनीले पाँचौं खेलमा पोखरा एभेन्जर्सलाई हरायो भने छैटौं खेलमा विराटनगर किङ्सलाई पराजित गर्यो ।
यसपछि ६ अंक जोडेको लुम्बिनीले शुक्रबार जनकपुर बोल्ट्सलाई हराएमा प्लेअफ पुग्ने समीकरण बनेको थियो । नेट रनरेटको चिन्ता पनि गर्नुपर्ने थिएन । जनकपुरमाथि सहज जित हासिल गर्दै लुम्बिनी प्लेअफमा पुग्यो ।

खेलपछि कुरा गर्दै कप्तान रोहित पौडेलले कुनै प्रेसर नलिइ खेलेको बताए । ‘हामीलाई थाहा थियो रनरेट म्याटर गर्दैन भन्ने, सजिलो जिते पुग्छ भन्नेमा थियौं, अलि चाँडै भ्याइन्थ्यो होला तर बीचमा अलि विकेट गयो’ उनले भने ।
त्यसअघि खेलमा जनकपुरले टस जितेर पहिले ब्याटिङ गरेपनि लुम्बिनीले नै सुरुवातदेखि दबाब बनाउन थालेको थियो । दुई ओपनर माज सदाकत र आसिफ शेख अनि अनिल साहलाई पावरप्लेभित्रै आउट गरेपछि लुम्बिनीले जनकपुरमाथि दबाब बनाएको थियो ।
संगीथ कूरे र मयन यादवले अन्त्यसम्म संयमित साझेदारी बनाएपछि जनकपुरले १३२ रनको योगफल बनाएको थियो । योगफल केही कम देखिएपनि पिच अनुसार चुनौतीपूर्ण हुन सक्थ्यो ।
जवाफी ब्याटिङमा उत्रिएपछि पहिलो बलमै ओपनर सुमित महर्जन आउट भएर लुम्बिनीको सुरुवात राम्रो देखिएन, तर त्यसपछि डार्शी शर्ट र कप्तान रोहित पौडेलले ६१ रनको साझेदारी बनाए । शर्टले ३० रन बनाए । कप्तान रोहित पौडेलले ३४ रन बनाए ।
आठौं ओभरमा शर्ट आउट भएपछि डिक्वेला क्रिजमा आए । डिक्वेलाले टोलीमा आगमनपश्चात् हरेक खेलमा राम्रो प्रभाव पार्दै आएका छन् । आजको खेलमा लक्ष्य पनि धेरै नभएकाले केही समय लिएर संयमित ब्याटिङ गरेका थिए । अर्का विदेशी खेलाडी जेजे स्मिटले पनि २१ रनको योगदान दिए ।
बीचमा जनकपुरले केही क्वीक विकेटहरू लिँदा खेल अन्तिम ओभरसम्म पुगेको थियो । तर लुम्बिनी जितको नजिक पुगिसकेकाले जित्न कठिन भने भएन ।
कप्तान रोहित पौडेलले कमब्याक गरेर प्लेअफमा पुगिने विश्वास टिमभित्र सबैले राखेको बताए । ‘मैले इन्टरभ्यूमा पनि भनेको थिएँ, म्याच बाँकी छ, कमब्याक गर्छौं भनेर’ उनले भने ।
‘एकदम इमोसनल मोमेन्ट पनि थियो, गत सिजन सोचेको जस्तो भएको थिएन, यसपटक केही प्रमाणित पनि गरेर देखाउनु थियो । धेरै अप एन्ड डाउन भयो टिमको तर कमब्याक गर्यौं, टिमले धेरै राम्रो गरिरहेको छ, यही मोमेन्टम लिएर अगाडि जानेछौं’ रोहितले थपे ।
कप्तान रोहित पौडेलले प्लेअफमा पुगेका टिममध्ये सबैभन्दा बलियो लुम्बिनी नै लागेको समेत बताए । ‘लुम्बिनी सबैभन्दा राम्रो शेपमा देखिएको छ, तीनवटै टिम राम्रो छन् । तर लुम्बिनी एकदम बलियो देखिइरहेको छ’ उनले भने, ‘हामीले पछिल्लो ३ खेलमा राम्रो खेलेका छौं । यो कुराले क्यारिड अवे त हुनुहुँदैन तर ३ वटै टिम राम्रो छन् लुम्बिनी अझै बेटर छ।’

जनकपुरको फितलो प्रदर्शन
प्रतियोगितामा खेलाडीदेखि कप्तानसम्मै परिवर्तन गरेको जनकपुर भने ६ खेलमा १ जित मात्र हासिल गरेर लिग चरणबाटै बाहिरिएको छ ।
जनकपुरले विदेशी खेलाडी पनि सबैभन्दा धेरै ८ जना घोषणा गरेर ७ जनालाई मौका दियो । चर्चित खेलाडीमध्येका एक इमरान ताहिर व्यक्तिगत कारणले नआउने भएका थिए । उनीबाहेक अन्य खेलाडीले खेले । प्रतियोगिताकै बीचमा कप्तान पनि २ पटक परिवर्तन गरेको जनकपुरले नतिजा भने बदल्न सकेन, लयमा फर्कनै सकेन ।
साविक विजेता जनकपुर बोल्ट्सले सुरुवाती ४ खेलमा लगातार पराजित भएर बाहिरिने संघारमा पुगेको थियो । पाँचौं खेलमा आएर पहिलो जित निकालेको जनकपुरले प्लेअफ सम्भावना जीवितै राखेपनि त्यही लयलाई शुक्रबारको खेलमा निरन्तरता दिन सकेन, र प्लेअफको यात्रा तय गर्न सकेन ।
शुक्रबारको खेलमा टस जितेर ब्याटिङ रोजेको जनकपुरले ब्याटिङ नै राम्रो गर्न सकेन । १३२ रन मात्र जोडेको जनकपुरले अति नै खराब फिल्डिङ गरेको थियो ।
विकेटकिपरले बल मिस गर्नुका साथै फिल्डरले क्याच छाड्नु जनकपुरको सबैभन्दा खराब पक्ष रह्यो । खेलपछि कुरा गर्दै आज कप्तान तोकिएका जान निकोल लफ्टी इटनले फिल्डिङसँगै ब्याटिङ पनि राम्रो हुन नसकेको बताए ।
‘ब्याटिङमा राम्रो सुरुवात हुन सकेन, संगीथ र मयनले राम्रो योगफलसम्म पुर्याए तर पर्याप्त भएन’ उनले भने, ‘बलिङमा पनि कन्ट्रोल हुन सकेन, फिल्डिङ पनि राम्रो भएन’ उनले भने ।

प्रतिक्रिया 4