News Summary
Generated by OK AI. Editorially reviewed.- विराटनगर किङ्सले सुदूरपश्चिम रोयल्सलाई हराउँदै नेपाल प्रिमियर लिग क्रिकेटमा शीर्ष २ मा पुगेर क्वालिफायर वानमा स्थान सुरक्षित गर्यो।
- कप्तान सन्दीप लामिछानेले ३ विकेट लिएर विराटनगरको जितमा महत्वपूर्ण भूमिका खेलेका थिए भने फाफ डुप्लेसीले १९ बलमै अर्धशतक प्रहार गरे।
- सुदूरपश्चिमले सातौं खेलमा पहिलो हार बेहोरेको छ र अब पहिलो क्वालिफायरमा विराटनगरसँग प्रतिस्पर्धा गर्नेछ।
२० मंसिर, काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणमा शानदार सुरुवात गरेको विराटनगर किङ्सले लगातार तीन खेल जितेपछि धेरैको अनुमान थियो सहजै प्लेअफमा पुग्न सक्छ भनेर ।
अर्कोतर्फ सुदूरपश्चिम रोयल्सले पनि समान किसिमको नतिजा निकाल्दै गइरहँदा धेरैले यही दुई टिमलाई शीर्ष २ अनि उपाधिको दाबेदार मान्न थालेका थिए । तर चौथो खेलमा विराटनगरलाई चितवन राइनोजले झट्का दियो । त्यसपछि पाँचौं खेलमा बसिर अहमद चम्किँदा कर्णाली याक्सलाई हराएको विराटनगर लुम्बिनीसँग पराजित भयो ।
अर्कोतर्फ लगातार ६ वटै खेल जितेर सुदूरपश्चिम भने शीर्षमा रहने पक्का भइसकेको थियो । यता विराटनगर भने प्रतियोगिताको बीचमा केही धर्मराएर शीर्ष २ बाट भने टाढा देखिन थालेको थियो ।
प्लेअफ पुग्ने पक्का भइसकेपनि विराटनगर शीर्ष २ मा पर्नका लागि भने एउटा ठूलो अन्तरको जित आवश्यक थियो, त्यो पनि अपराजित टोली सुदूरपश्चिमविरुद्ध । यो खेल हाइ भोल्टेज खेलका रूपमा समेत हेरिएको थियो ।
‘हाइ भोल्टेज’ खेलमा विराटनगरले त्यही सुदूरपश्चिमको त्यो अपराजित यात्रामा ब्रेक लगाउँदै शानदार जित हासिल गरेर शीर्ष २ मै फिनिस गर्न सफल भयो । यो त्यति सहज कुरा भने थिएन ।
विराटनगरको यो रवाफिलो जितमा कप्तान सन्दीप लामिछानेको बलिङसँगै स्टार विदेशी खेलाडी फाफ डुप्लेसी अनि साम हिजलेटको ब्याटिङ उत्कृष्ट रह्यो ।

अंकतालिकामा काठमान्डुसँगै समान ८ अंक भएर नेटरनरेटमा पछाडि रहेको विराटनगर यस खेलअघि तेस्रो स्थानमा थियो । विराटनगरलाई एउटा फराकिलो जितको आवश्यकता थियो र त्यसअनुसार नै ब्याटिङ गरेर नेट रनरेटमा काठमान्डुलाई उछिनेर दोस्रोमा पुग्यो, क्वालिफायर वानमा स्थान सुरक्षित गर्यो ।
सुदूरपश्चिमले दिएको १४८ रनको लक्ष्य विराटनगरले १३.४ वा सोभन्दा अघि पूरा गरेको अवस्थामा शीर्ष २ मा पुग्ने थियो । त्यसैअनुसार सुरुवातदेखि आक्रामक ब्याटिङ गरेका डुप्लेसी र हिजलेटले अर्धशतक बनाएपछि विराटनगरले १२औं ओभरमै लक्ष्य पूरा गर्यो । त्यसक्रममा पावरप्लेमै ८७ रन बनाएर कीर्तिमान पनि बनायो ।
क्वालिफायर वानमा पनि विराटनगरले फेरि सुदूरपश्चिम रोयल्ससँगै खेल्नेछ । विराटनगरका कप्तान सन्दीप लामिछानेले सुदूरपश्चिमले धेरै राम्रो क्रिकेट खेलिरहेको बताउँदै आजको खेलबाट सकारात्मक पक्षहरू अर्को खेलमा पनि लिएर जाने बताए ।
‘सुदूरपश्चिमले धेरै राम्रो ब्रान्ड अफ क्रिकेट खेलिरहेको छ, त्यसको क्रेडिट दीपेन्द्र (कप्तान)लाई पनि जान्छ’ सन्दीपले भने, ‘आजको दिनमा जसरी खेलेका छौं, सकारात्मक कुराहरूलाई अगाडिको खेलमा पनि लिएर जानेछौं।’
टीयूमा छाएका फाफ डुप्लेसी
दक्षिण अफ्रिकी स्टार ब्याटर फाफ डुप्लेसीलाई हामीले विश्वका विभिन्न फ्रेन्चाइज क्रिकेट लिगहरूमा शानदार प्रदर्शन गरेको देख्दै आएका छौं । ब्याटिङ मात्र नभएर फिल्डिङमा पनि अब्बल रहेका उनले यसअघि लुम्बिनीसँगको खेलमा ब्याटिङमा सफल नभएपनि फिल्डिङमा एक उत्कृष्ट क्याच लिएका थिए ।
आजको खेलमा भने उनको ब्याट पनि चल्यो, त्यो पनि शानसहित । सुरुवातदेखि नै आक्रामक ब्याटिङ गरेका उनले १९ बलमै अर्धशतक पूरा गरेर यो सिजनको जोइन्ट फास्टेस्ट (सबैभन्दा छिटो) अर्धशतक बनाउने खेलाडी बने । उनले ५ चौका र ४ छक्का प्रहार गरेका थिए ।

फाफले आकर्षक शटहरू प्रहार गर्दै शनिबारको ‘फूल प्याक’ टीयू क्रिकेट स्टेडियममा उत्साहको माहोल बनाएका थिए । उनलाई अस्ट्रेलियन ब्याटर साम हिजलेटले पनि साथ दिए, जसले २७ बलमा ३ चौका र ४ छक्कासहित ५१ रन बनाए ।
दुवै खेलाडी अर्धशतक प्रहार गरेपछि आउट भएका थिए, तर टिमका लागि आवश्यक जितनजिक पुर्याएर बेस बनाइदिइसकेका थिए । उनै फाफ डुप्लेसी ‘प्लेयर अफ द म्याच’ पनि घोषित भए ।
खेलपछि कुरा गर्दै डुप्लेसीले योजना अनुसार नै खेलेको र त्यही अनुसार सफल भएको बताए । ‘हामी क्लियर सोचका साथ आएका थियौं, हारेपनि केही बिग्रने थिएन । टस जितेर चेज गर्न नै चाहन्थ्यौं, त्यस्तै भयो’ उनले भने ।
नेपाली दर्शकका सामू खेल्न पाउँदा धेरै खुसी लागेको बताए । यहाँको दर्शकहरू साँच्चिकै गज्जब छन्, प्यासनेट क्राउड छ, मलाई यहाँ बज्ने संगीतहरू पनि मन पर्यो’ डुप्लेसीले भने, ‘आरसिबीका फ्यानहरू पनि हुनुहुँदो रहेछ, यहाँ आएर यो सबै हेर्न पाउँदा खुसी लागेको छ।’
कप्तान सन्दीपले पनि फाफ र हिजलेटबाट शानदार ब्याटिङ भएको उल्लेख गरे । ‘हामी गो फर अ किल तरिकाले सोचेका थियौं, हार्नका लागि पनि केही थिएन प्लेअफमा पुगिसकेका थियौं’ सन्दीपले भने, ‘फाफ र सामबाट धेरै राम्रो ब्याटिङ भयो, फ्यान मोमेन्ट पनि भयो हामी बाहिर बसेर हेर्दा।’
सन्दीपको कप्तानी लय
विराटनगर किङ्सका कप्तान सन्दीप लामिछानेले आजको खेलमा ३ महत्वपूर्ण विकेटहरू लिए । उनले सुदूरपश्चिमको टप अर्डरका जोश ब्राउन अनि इशान पाण्डे तथा तल्लोक्रममा घातक साबित हुनसक्ने हर्मीत सिंहको विकेट लिएका थिए ।
उनकै बलिङ मद्दतमा सुदूरपश्चिमलाई निरन्तर दबाबमा राखेको विराटनगरले मध्यम योगफलमा रोक्न सफल भयो जसले गर्दा ब्याटरलाई रन चेज गर्न पनि धेरै दबाब भएन ।
सन्दीप सर्वाधिक विकेट लिने बलरको सूचीमा शीर्षस्थानमा छन् । उनले ७ खेलमा १५ विकेट लिएका छन् । विराटनगरको हरेक जितमा कहीँ न कहीँ सन्दीपको प्रभाव पनि परेको हुन्थ्यो । ब्याटिङमा पनि उनले एक-दुई ठूला शट प्रहार गरेर टिमका लागि रन पनि बनाए ।

डुप्लेसीले पनि सन्दीपको प्रशंसा गर्दै उनी विशेष खेलाडी भएको बताए । ‘सन्दीप स्पेशल खेलाडी हुन् । ठूला लिगहरू पनि खेलेका छन् । बलिङमा पनि महत्वपूर्ण सफलताहरू दिलाएका छन् । कप्तानका रूपमा पनि राम्रो गरेका छन् । मेरो अनुभव साट्न पाउँदा मलाई पनि राम्रो लागेको छ’ डुप्लेसीले भने ।
सन्दीपले आफ्नो व्यक्तिगत सफलताभन्दा पनि टिमको जितका लागि के राम्रो हुन्छ त्यो सोच्ने बताए । ‘मेरो टिम जितिरहेको छ कि छैन भन्ने चिन्ता हुन्छ, आफ्नो टिमको लागि राम्रो गर्नुपर्यो भन्ने हो’ उनले भने ।
सुदूरलाई झट्का ?
प्रतियोगितामा लगातार ६ खेल जितेको सुदूरपश्चिम सातौं खेलमा आएर पराजित भयो । गत संस्करणमा पनि लिग चरणमा सुदूरले एकमात्र हार बेहोरेको थियो । त्यसबेला भने लिग चरणको बीचमा हार बेहोरेको सुदूरले यसपटक भने प्लेअफको ठीक अगाडि हार बेहोरेको छ, त्यो पनि एकपक्षीय रूपमा ।
आजको खेलमा ब्याटिङमा सुरुवातदेखि नै दबाबमा रहेको सुदूरले बलिङ पनि फितलो गर्यो । यसमा विराटनगरका ब्याटरको शट सेलेक्सन पनि एउटा फ्याक्टर रह्यो । आजको हारले सुदूरपश्चिमलाई सानो झट्का भने दिएको छ ।
सुदूरले अब पहिलो क्वालिफायरमा पनि विराटनगरसँगै खेल्दैछ । त्यसपछि फाइनलमा पनि यी दुई टोली नै भेट हुन सक्ने सम्भावना पनि रहन सक्छ ।

सुदूरका ब्याटर आरिफ शेखले आजको हारले त्यस्तो केही असर नपर्ने बताए । ‘आज नयाँ कम्बिनेसनका साथ खेलेका थियौं, फेरि पनि एक दिन अभ्यास छ हामी राम्रो तयारी गरेर आउनेछौं’ आरिफले भने ।
उनले आजको खेलमा केही क्षेत्रहरूमा चुक्दा हार बेहोरेको बताए । ‘विकेट पनि अलि ट्रिकी देखिएको थियो, हामीले २०-२५ रन बढी बनाउने थियौं होला तर भएन । विराटनगरका ब्याटरले पनि धेरै राम्रो खेले’ उनको भनाइ थियो ।
प्रतिक्रिया 4