+
+
Shares

मिटर ब्याज पीडित आन्दोलनका अगुवा संघर्ष दाहाल नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २१ गते ९:३०

काठमाडौं । मिटर ब्याज आन्दोलन अगुवा संघर्ष दाहाल नेपाली कम्युनिष्ट पार्टी प्रवेश गरेका छन् । शनिबार जनकपुरमा आयोजित सभामा संयोजक प्रचण्ड र सहसंयोजक माधव कुमार नेपालले दाहाल पार्टी प्रवेश गराएका थिए ।

पछिल्लो समय चीनमा अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यावारिधी गरिरहेका दाहालसँगै मिटरब्याज पीडित र लघुवित्त पीडितहरुको समूह पनि नेकपामा प्रवेश गरेको थियो ।

दाहालले मधेसमा मिटर ब्याज पीडितलाई संगठित गरेर २०७९ चैत २ गते महोत्तरीको बर्दिवासबाट १२ दिन पैदल मार्च गराएर काठमाडौंसम्म ल्याएका थिए । दबाबमुलक पैदल यात्राका कारण तत्कालीन प्रचण्ड नेतृत्वको सरकारले मिटरब्याज सम्बन्धी कानुन बनाएको थियो भने मिटर ब्याज सम्बन्धमा छानबिन गर्न आयोग समेत बनाएको थियो ।

दाहालका अनुसार प्रचण्ड प्रधानमन्त्री भएका समय झन्डै ५ हजार पीडितले आफ्नो गुमाएको जमिन फिर्ता पाएका थिए ।

दाहालले उखु किसानको न्याएका लागि समेत आन्दोलन गरेका थिए । दाहाल मधेशका भूमिहीनहरुको आन्दोलनमा समेत सक्रिय छन् ।

२०५५ सालमा भूमि आयोगले महोत्तरीको भंगहा नगरपालिकाका थारू टोल नै अन्य व्यक्तिको नाममा पास गरेपछि पीडित भएकाहरुलाई उनीहरुको जमिन फिर्ता ल्याउन दाहाल संघर्षरत छन् ।

यसैगरी उनले चितवनको बाँदरझुलाका भूमिहीन सुकुम्बासीहरुलाई समेत काठमाडौं ल्याएर आन्दोलन गरेका थिए ।

झन्डै एक दशक विद्यार्थी आन्दोलनमा समेत सक्रिय भएर त्रिभुवन विश्वविद्यालय सुधार अभियान चलाएका थिए । त्रिवि सेवा आयोगले २०७६ सालमा १५६ जना कर्मचारी माग गरेकोमा अधिकांश कर्मचारी, नेताका आफन्तहरूलाई भर्ना गरेको भन्दै उनी २९ दिनसम्म आयोगको गेटमा धर्ना बसेका थिए ।

कोरोना महामारीको कारण लकडाउन भएका समयमा भारतले नेपालको भूमि लिपुलेक र लिम्पियाधुरामा सडक उदघाटन गरेपछि दाहालले आफ्ना साथीहरुलाई समेटेर माइतीघरबाट आन्दोलन सुरु गरेका थिए । उनले ती दिन आन्दोलन गरेपछि देशभरि आन्दोलन उठेको थियो । त्यसपश्चात एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले लिपुलेक र लिम्पियाधुरा समेटेर नेपालको नयाँ नक्सा जारी गरेको थियो ।

अन्तर्राष्ट्रिय‌ सम्बन्धमा विद्यावारिधी गरिरहेका दाहालले देश अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरुको खेलमैदानमा परिणत भएको र राष्ट्रियता इतिहासकै कमजोर अवस्थामा पुगेको भन्दै युवाहरु विचार सहित संगठित र गोलबन्द हुन आवश्यक रहेको बताए । उनले अग्रजहरूको अनुभव र युवाहरुको ऊर्जालाई मिलाएर नेपालमा समाजवादको यात्रालाई अगाडि बढाउन नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?