२६ मंसिर, काठमाडौं । नवनियुक्त चार जना मन्त्रीहरूले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित सभाका बीचमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूको शपथ ग्रहण गराएका हुन् ।
प्रधानमन्त्री सुशीला कार्कीले गरेको सिफारिसका आधारमा राष्ट्रपति पौडेलले उनीहरूलाई आजै मन्त्री नियुक्त गरेकी थिए । लगत्तै शपथग्रहण गराइएको हो ।
मन्त्री बन्नेहरूमा श्रद्धा श्रेष्ठ, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र कुमार इङ्नाम रहेका छन् ।
राष्ट्रपति कार्यालयका अनुसार नवनियुक्त चार मन्त्रीहरूमध्ये श्रद्धालाई महिला तथा बालबालिका, चौलागाईं वन, भण्डारीलाई श्रम र इङ्नाम भूमि मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
को हुन् नवनियुक्त मन्त्रीहरू ?
कुमार इङ्नाम
इङ्नामलाई भूमि, व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ । उनी काठमाडौं स्कूल अफ ल का प्राध्यापक कुमार इङ्नाम फौजदारी कानूनका विशेषज्ञ हुन् ।
उनले २५ वर्षदेखि त्यहाँ अध्यापन गराइरहेका छन् । २०४६ सालमा इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसबाट अध्यापन शुरु गरेका उनका कैयौ शोधग्रन्थ प्रकाशित छन् ।
उनी नेपाल लगायत कैयौ मुलुकमा अतिथि प्राध्यापकको रुपमा संलग्न छन् । उनका दर्जनौ, पुस्तक, शोधन र अनुसन्धानात्मक लेख प्रकाशित छन् ।
प्राज्ञिक पृष्ठभूमीका इङनामलाई सरकारले भूमी व्यवस्था मन्त्रालयको जिम्मेवारी दिन लागेको हो ।
राजेन्द्रसिंह भण्डारी
भण्डारीलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी दिइएको छ । उनी पूर्व एआईजी हुन् । नेपाल प्रहरीको अतिरिक्त महानिरिक्षक पदबाट अवकाश भएका थिए ।
उनी नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो (सीआईबी)का संस्थापक प्रमुख समेत हुन् ।
उनी पछि नेपाल प्रहरी अध्ययन प्रतिष्ठानको पनि प्रमुख भए । उनी आफ्नो कार्यकालमा अनुसन्धानमा पोख्न प्रहरी अधिकारीको रुपमा चिनिन्थे ।
माधव चौलागाईं
चौलागाईंलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ । उलेखक एवं अनुसन्धानकर्ता माधव चौलागाई कर्णालीसम्बन्धी अध्ययन र अनुसन्धानमा पोख्त छन् ।
उनले कर्णालीको इतिहास, संस्कृति, समाज र विकासका वारेमा लेखन गरिरहेका छन् । उनी कर्णाली उत्सव छलफल अभियान चलाइरहेका छन् । उनी जनस्वास्थ्य र ग्रामिण विकासको विषयमा रुची राख्छन् ।
श्रद्धा श्रेष्ठ
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीको जिम्मेवारी पाएकी श्रद्धा श्रेष्ठ नेपाल पर्यटन बोर्डकी वरिष्ठ प्रबन्धक हुन् ।
उनी पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघको संयुक्त परियोजना ‘दिगो पर्यटन परियोजना’ (एसटीपी) की राष्ट्रिय परियोजना संयोजक पनि हुन् ।
काठमाडौंकी श्रेष्ठ पर्यटन बोर्डमा २४ वर्षदेखि कार्यरत छिन् । उनले अमेरिकाको मिसिगन स्टेट युनिभर्सिटीबाट आर्थिक विकास अध्ययन गरेकी छिन् । उनी फुलब्राइट फेलो पनि हुन् ।
प्रतिक्रिया 4