२६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले यसअघिका चुनावमा अन्य दलभन्दा ढिलो गरी उम्मेदवार छनोट गर्थ्यो । स्थानीय, प्रदेश र संघीय संसद्सम्म उम्मेदवार टुंगो लगाउन ढिलाइ गर्ने कांग्रेसको परम्परा जस्तै थियो ।
तर, यसपालि पार्टीको १५औं महाधिवेशन र प्रतिनिधिसभा चुनावको तयारीमा एकसाथ जुटेको कांग्रेस उम्मेदवार टुंग्याउन अन्य दलभन्दा एक कदम अगाडि देखिएको छ ।
कांग्रेसले आगामी महाधिवेशनको कार्यतालिका पारित गरेकै दिन १५ मंसिरदेखि नै आसन्न प्रतिनिधिसभा र राष्ट्रिय सभा चुनावका लागि उम्मेदवार टुंगो लगाउन आकांक्षीहरूको नाम सिफारिस गर्न मातहतलाई परिपत्र गर्यो ।
प्रतिस्पर्धी दलहरूले उम्मेदवार टुंगो लगाइसक्दा पनि आन्तरिक मतभेदमा अल्झिरहने कांग्रेस यसपल्ट चुनावका लागि विगतको भन्दा फरक ढंगमा देखिएको छ ।
केन्द्रीय कार्यसमितिले मापदण्ड तोकेर परिपत्र गरेपछि एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्ला कार्यसमिति र दुई वा दुईभन्दा बढी निर्वाचन क्षेत्र भएका क्षेत्रीय कार्यसमितिहरूले माथिल्लो तहमा धमाधम आकांक्षीको नाम सिफारिस गरिरहेका छन् ।
यद्यपि, जिल्ला कार्यसमिति र क्षेत्रीय कार्यसमितिहरूले नाम सिफारिस गर्दा केन्द्रीय कार्यसमितिले निर्धारण गरेको मापदण्ड पालना गरेका त छैनन् । तर आकांक्षीको नाम सिफारिसमा फरक–फरक दृश्यहरू कांग्रेसमा देखिएका छन् ।
सिफारिसका क्रममा पार्टीको सहभागिता रहेको पूर्ववर्ती सरकार ढल्ने गरी गत भदौमा भएको जेनजी आन्दोलनको मर्म र भावनालाई कतै सम्बोधनको प्रयास गरेको देखिएको छ ।
कतै जेनजी आन्दोलनको मर्म र भावनालाई बेवास्ता गरेर पुरानै अनुहारहरू चुनावी मैदानमा होमिन इच्छुक रहेको देखिएको छ । कतै उम्मेदवारका लागि सिफारिसमा पर्न ‘हानथाप’ देखिएको छ भने कतै जेनजी आन्दोलनको मर्म र भावनाअनुसार उम्मेदवार नहुने घोषणा नेताहरूले गरेका छन् ।
कांग्रेसका चार जना नेताले २३ र २४ भदौमा भएको जेनजी आन्दोलनको मर्म र भावनाको कदर गर्दै नयाँ पुस्ताका लागि मार्गप्रशस्त गर्न आगामी चुनावमा उम्मेदवार बन्ने आकांक्षा नरहेको घोषणा गरेका छन् ।
उम्मेदवार नबन्ने घोषणा गर्नेमा दुई जना पूर्ववर्ती सरकारका मन्त्रीहरू छन् । जेनजी आन्दोलनको जगमा विस्थापित केपी शर्मा ओली नेतृत्वको सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे र कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले उम्मेदवार नबन्ने घोषणा गरेका छन् ।
पाण्डे कांग्रेसका सहमहामन्त्री र अधिकारी कांग्रेस धादिङका सभापति हुन् । प्रतिनिधिसभा निर्वाचन २०७९ मा बाजुराबाट प्रत्यक्षतर्फ निर्वाचित सहमहामन्त्री पाण्डेले चुनावी प्रतिस्पर्धा नगर्ने घोषणा गरेसँगै उनको नाम जिल्लाबाट सिफारिस गरिएको छैन ।
उनले नयाँ पुस्तालाई अवसर दिनका लागि आफूले निर्वाचन नलड्ने निर्णय गरेको अनलाइनखबरसँग बताए । ‘सांसद र मन्त्री भइसकेँ । नयाँ पुस्तालाई अवसर दिनुपर्छ भन्ने सोचेर चुनाव नलड्ने निधो गरेँ,’ सहमहामन्त्री पाण्डेले भने, ‘पार्टीलाई वैचारिक रूपमा सुदृढ र संगठनलाई सक्रिय बनाउने काम मेरो प्राथमिकता बनेको छ ।’
प्रतिनिधिसभाको प्रत्यक्ष/समानुपातिक एवं राष्ट्रिय सभा सदस्यको उम्मेदवारका लागि इच्छा नभएको भन्दै उनले पूर्ववर्ती सरकारमा रहेकाले आन्दोलनरत युवाका मागहरू समयमै अपेक्षित ढङ्गले सम्बोधन गर्न नसकिएको अनुभूति सुनाए ।
सरकार–आन्दोलनकारी अन्तर्क्रियामा आफ्नो प्रत्यक्ष भूमिका नरहे पनि मन्त्रिपरिषद्का सदस्यको नाताले नैतिक जिम्मेवारी आफूले लिने सहमहामन्त्री पाण्डेको भनाइ छ ।
पूर्वमन्त्री अधिकारीले २३ मंसिरमा आयोजित धादिङ–२ को पार्टी क्षेत्रीय कार्यसमिति बैठकमा जेनजी आन्दोलनले उठेका सन्दर्भलाई ध्यानमा राखेर उम्मेदवार नबन्ने घोषणा गरेका थिए ।
‘कांग्रेस प्रतिनिधिसभा क्षेत्र नम्बर–२ धादिङ’ नाम उल्लेख गरिएको फेसबुक पेजमा राखिएको भिडियोमा उनले भनेका थिए, ‘अनेक सन्दर्भ उठेका छन् । सन्दर्भलाई ध्यानमा राखेर यो उम्मेदवारीबाट बाहिरै रहने प्रण गरेको छु ।’
पूर्वमन्त्री अधिकारीले अनलाइनखबरसँग पनि जेनजी आन्दोलनको मर्म र भावनालाई आत्मसात गरेर आफूले उम्मेदवारमा दाबी नगरेको प्रतिक्रिया दिएका थिए । उम्मेदवारीका लागि आफ्नो दाबी नरहे पनि पार्टीलाई चुनावमा जिताउने जिम्मेवारी भने रहेको उनको भनाइ थियो ।
‘यति कुरा भनिरहँदा चुनाव जिताउने जिम्मेवारी पनि मसँग छ,’ अधिकारीले भनेका थिए, ‘मलाई राम्रो जानकारी छ ।’ अधिकारीले गत चुनावमा आफ्ना लागि मत माग्न गाउँ–गाउँ पुगेको स्मरण गर्दै आसन्न चुनावमा पनि मत माग्न गाउँ–गाउँ पुग्ने इच्छा प्रकट गरेका थिए ।
कांग्रेसका तर्फबाट काठमाडौं–१० बाट लगातार तीन पटक प्रतिनिधिसभा सदस्य निर्वाचित भएका केन्द्रीय सदस्य राजेन्द्र केसीले पनि आगामी चुनाव नलड्ने घोषणा गरेका छन् ।
पार्टीलाई रूपान्तरण र पुस्तान्तरण गर्नुपर्ने कारण देखाएर उनले प्रतिनिधिसभामा प्रत्यक्ष तथा समानुपातिकतर्फ र राष्ट्रिय सभा सदस्यका लागि अब चुनाव लड्न इच्छुक नरहेको बताएका छन् ।
‘अब पार्टीमा युवा, महिलालगायत आउनुपर्छ, सबैले अवसर पाउनुपर्छ । आफू सधैँ एकै पदमा बसिराख्ने, चुनाव लडिराख्ने अनि भाषणमा युवा, तरुण, रूपान्तरण र पुस्तान्तरणको कुरा गरेर हुँदैन,’ केसीले सञ्चारमाध्यमहरूसँग भनेका छन्, ‘आफैँले बाटो खोलिदिनुपर्छ ।’
उम्मेदवार सिफारिसका लागि तँछाड–मछाड चलिरहँदा कांग्रेसमा आगामी चुनाव नलड्ने घोषणा गर्ने अर्का नेता हुन्, केन्द्रीय सदस्य जिपछिरिङ लामा । उनले दोलखाका नेता–कार्यकर्ता सामु नयाँलाई अवसर दिन भन्दै आफू चुनाव नलड्ने घोषणा गरेका छन् ।
नेता लामाले अनलाइनखबरसँग आफूले आगामी चुनावमा उम्मेदवार नबन्ने घोषणा गरेको प्रतिक्रिया दिए । ‘दुईचोटि सांसद र तीनचोटि केन्द्रीय सदस्य भइहालेँ । अब अरू साथीहरूलाई पालो दिनुपर्यो,’ उनले भने, ‘मन्त्री हुन सकिएन, नेताहरूले मन्त्रीका लागि पत्याएनन् । अब पार्टीलाई सहयोग गर्ने हो ।’
लामाले पार्टीमा लागेका नेताहरू सबैले त्याग गर्न सक्नु पर्ने जिकिर गर्दै यसपल्ट आफूले आत्मादेखि नै ठूलो छाती गरेर चुनाव नलड्ने निर्णयमा पुगेको पनि बताए । ‘अलिअलि सबैले त्याग पनि गर्नुपर्छ । मौका पाए फेरि पनि आइन्छ नि,’ उनको भनाइ छ, ‘मैले आत्मादेखि नै ठूलो छाती गरेको हँु ।’
केन्द्रीय सदस्य लामाले पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा आफूले प्रदेशसभा र प्रतिनिधिसभा चुनावमा ५० प्रतिशत टिकट ४० वर्ष मुनिका युवालाई दिनुपर्ने प्रस्ताव गरेको पनि स्मरण गरे ।
‘मैले बैठकमा ५० प्रतिशत टिकट प्रदेशसभादेखि संघीय संसद्मा ४० वर्ष मुनिका युवालाई दिनुपर्छ भनेको छु,’ उनले भने, ‘५० प्रतिशतमा त्योभन्दा माथिको उमेरका नेताहरूले मिलाउनु पर्छ, पार्टीमा ब्यालेन्स मिलाउनुपर्छ भनेर प्रस्ताव राखेको थिएँ ।’
प्रतिक्रिया 4