२३ मंसिर, काठमाडौं । पूर्वी पाल्पाको निस्दी गाउँपालिका वडा नं.४ चिउँरीबासस्थित रामपुर अरुणखोला भित्री सडक खण्डमा शुक्रबार बिहान भएको जिप दुर्घटनाका मृतकमध्ये दुई जनाको पहिचान खुलेको छ ।
दुर्घटनामा परी मृत्यु हुने तीनमध्ये दुई जनाको पहिचान खुलेको हो ।
मृत्यु हुनेमा निस्दी गाउँपालिका– ७ हुवासकी ३६ वर्षीया हेम कुमारी सारु र सोही गाउँपालिकाको ठोक्सिङ्गिबासकी ४५ वर्षीया ओम कुमारी खाम्चा रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी होम प्रकाश चौधरीका अनुसार अर्की मृतक महिलाको अहिलेसम्म पहिचान खुल्न सकेको छैन । दुर्घटनामा परी आठ जना यात्रुहरु घाइते भएका छन् ।
घाइते मध्ये ४ जनाको मध्यविन्दु प्रादेशिक अस्पताल नवलपरासी र ४ जनाको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको र केही घाइतेहरु सामान्य उपचारपछि घर फर्किएका छन् ।
पूर्वी नवलपरासीको अरुणखोलाबाट पाल्पाको रामपुरतर्फ आइरहेको लु १ ज ३९०८ नम्बरको फोर्स जिप शुक्रबार बिहान उकालोमा यात्रु ओराल्दै गर्दा ब्याक भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
जिप चिउरीबासको सडकबाट करिब ११ सय मिटर तल खसेको थियो । जिपका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाएको पाल्पा प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4