News Summary
Generated by OK AI. Editorially reviewed.- सुदूरपश्चिम रोयल्सले लगातार दोस्रो पटक नेपाल प्रिमियर लिगको फाइनलमा हार व्यहोरेको छ।
- लुम्बिनी लायन्सले सुदूरपश्चिमलाई ८५ रनमै अलआउट गर्दै ९ ओभरमा लक्ष्य पूरा गरी उपाधि जित्यो।
- सुदूरपश्चिमको खराब ब्याटिङ प्रदर्शन र टस जितेर पहिले ब्याटिङ गर्ने निर्णयले हारमा भूमिका खेलेको छ।
२७ मंसिर, काठमाडौं । भनिन्छ नि, कुनैपनि प्रतियोगितामा लगातार खेल जित्नुभन्दा नि महत्वपूर्ण एक खेल जित्नु हुन्छ, जसलाई फाइनल भनिन्छ । लिग चरण वा समूह चरणमा जति नै उत्कृष्ट प्रदर्शन गरेपनि फाइनलमा त्यही प्रदर्शन गर्न नसकेमा बाँकी खेलका नतिजा अर्थपूर्ण नै मानिँदैन ।
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणमा पनि त्यस्तै भइदियो, त्यो पनि पहिलो संस्करणकै फाइनल सरह । लगातार दोस्रोपटक फाइनल पुगेको सुदूरपश्चिम रोयल्सले फेरि पहिलेकै नियति भोग्यो, लिग चरणमा लगातार ६ खेल जितेर पहिलो क्वालिफायर पनि जितेको सुदूर फाइनलमा चुक्यो, त्यो पनि दोस्रोपटक ।
यसपटकको उपाधि ‘अन्डरडग्स’ का रूपमा रहेको लुम्बिनी लायन्सले जित्यो । लिग चरणमा चौथो भएर इलिमिनेटर अनि दोस्रो क्वालिफायर लगातार जितेको लुम्बिनीले फाइनलमा प्रतियोगिताकै उत्कृष्ट लयमा देखिएको टोलीमाथि एकपक्षीय जित निकाल्यो ।
गत संस्करण हाइ स्कोरिङ फाइनलमा पराजित भएको सुदूरपश्चिम यसपटक लो-स्कोरिङ खेलमा पराजित हुन पुग्यो । पहिले ब्याटिङ गरेर १०० रन नै कटाउन नसकेको सुदूरपश्चिमले पहिलो इनिङमै खेल अनि उपाधि सम्भावना लगभग गुमाइसकेको थियो ।
दुई संस्करणमा भएका दुई खेलमा बेहोरेको हारको बदला समेत लिँदै लुम्बिनीले सुदूरपश्चिमलाई लगातार उपाधिबाट लगातार दोस्रोपटक वञ्चित गरायो ।

खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको सुदूरपश्चिमले राम्रो योगफल बनाउने धेरैको अनुमान थियो, जुन् गलत साबित भइदियो । सुदूरपश्चिम ८५ रनमै अलआउट भयो । लुम्बिनीले उक्त लक्ष्य पूरा गर्न धेरै समय पनि लगाएन, ९ ओभरमा लक्ष्य पूरा गर्यो ।
यहाँनेर सुदूरपश्चिम पूर्णरूपमा एउटै पक्षमा चुक्यो, त्यो थियो ब्याटिङ । लुम्बिनीले शानदार बलिङको लय कायमै राख्दा सुदूरले ब्याटिङमा इतिहासकै खराब प्रदर्शन गर्यो र फेरि पनि उपाधिबाट वञ्चित भयो ।
फाइनल खेलपछि मुख्य प्रशिक्षक जगत टमाटाले पनि त्यही भने । ‘फाइनलमा हाम्रो दिन रहेन, लुम्बिनीले धेरै राम्रो खेल्यो । हामी ब्याटिङमा चुकेको हो’ टमाटाले भने, ‘उनीहरूले बलरलाई धेरै राम्रोसँग प्रयोग पनि गरे, राम्रो खेलेका छन् । बधाइ छ लुम्बिनीलाई।’
टसको फाइदा उठाउन सकेन
सुदुरपश्चिम रोयल्सले आजको फाइनल खेलमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो । पिच हेर्दा रन बन्ने खालको नै देखिएको थियो । धेरैको अनुमान थियो सुदूरले राम्रो योगफल बनाउँछ अनि खेल अन्तिम ओभरसम्मै गएर रोमाञ्चक हुनेछ भनेर, तर त्यस्तो भइदिएन ।
सुदूरले राम्रो योगफल बनाउनै सकेन । ८५ रन मात्र बोर्डमा हुनु भनेको जित्नका लागि बलिङमा ठूलै चमत्कार हुनुपर्छ र सुदूरसँग राम्रो बलिङ त थियो, तर ८५ रन डिफेन्ड गर्न पर्याप्त भने थिएन नै ।
यहाँनेर सुदूर टसमै पनि चुकेको आकलन गर्न सकिन्छ । गत संस्करण १८४ रनको योगफल बनाउँदा पनि डिफेन्ड गर्न नसकेको सुदूरले यसपटक त्योभन्दा १०० रन कम बनाएको थियो ।

टस जितेपछि कप्तानले लिने निर्णय अनुसार प्रदर्शन पनि हुनुपर्छ त्यसो हुन सकेन । यस संस्करण जितेका ७ खेलमध्ये ५ खेल पहिले ब्याटिङ गरेर नै जितेको सुदूरले फाइनलमा सोही अपेक्षा राखेपनि पूरा गर्न सकेन ।
अर्कोतर्फ टस जितेर बलिङ रोजेको अवस्थामा सुदूरले लुम्बिनीलाई मध्यम योगफलसम्म रोकेर रन चेज गर्न सक्ने अवस्था बन्न सक्थ्यो । ब्याटिङ गरेको अवस्थामा साँझमा डिउ पनि आउने भएकाले डिफेन्ड गर्नुभन्दा चेज गर्नु नै उपयुक्त हुन सक्थ्यो ।
सुदूरले टस जितेर त्यसको राम्रो फाइदा उठाउन नसक्नु नै घातक साबित भयो ।
खराब ब्याटिङ प्रदर्शन
यो संस्करण ब्याटिङ, बलिङ र फिल्डिङ तीनवटै पक्षमा अब्बल देखिएको सुदूरपश्चिमले फाइनलमा भने राम्रो ब्याटिङ गर्न सकेन । ब्याटरहरू सम्हालिएर खेल्न नसक्नु सुदूरपश्चिमको हारको मुख्य कारण बन्यो ।
ब्याटरले गलत शटहरू खेलेर विकेट गुमाइरहेका थिए । टोलीका लागि सर्वाधिक रन बनाएर विनोद भण्डारी आज खाता नै नखोली आउट भए । उनले स्वीप शट खेल्ने क्रममा स्कूप पनि मिसाउन खोज्दा बल क्याचका लागि गएको थियो ।
त्यसपछि शेल्डन ज्याक्सन पनि १ रनमै आउट भएपछि सुदूरपश्चिम दबाबमा आएको थियो । पाँचौं ओभरमा आरिफ शेख पनि स्वीप खेल्ने धुनमा ६ रनमा आउट भएपछि सुदूर पावरप्लेमै ३ विकेट गुमाएर संकटमा थियो ।
त्यसपछि दीपेन्द्र र इशान पाण्डे मिलेर संयमित साझेदारी बनाइरहेका थिए । ११औं ओभरमा दीपेन्द्र पनि सम्हालिन सकेनन् । विपक्षी कप्तान रोहित पौडेलको बलमा ठूलो शट खेल्ने चक्करमा लङअनमा क्याच दिए । लगत्तै ब्याटिङमा आएका दिपक बोहराले पनि आउने बित्तिकै ठूलो शट खेले र क्याचआउट भए ।

यहाँ दिपकलाई ठूलो शटको आवश्यकता नै थिएन । ९ ओभरको खेल बाँकी नै छँदा क्रिजमा आएको पहिलो बलमै छक्का प्रहार गर्न खोज्नु निकै नै खराब निर्णय हो ।
त्यसलगत्तै ब्याटिङमा आएका पुनित मेहरा पनि पहिलो बलमै एलबीडब्लु धरापमा फसे । रोहितको ह्याट्रिक समेत यही ओभरमा पूरा भयो ।
त्यसपछि सुदूरपश्चिमले पुनरागमन गर्नै सकेन । १५औं ओभरमा हर्मीत पनि लगातार दोस्रो छक्काको प्रयासमा क्याचआउट भए भने ५० बलमा ३३ रन बनाएर खेलिरहेका इशान पनि ठूलो शटकै चक्करमा आउट भए ।
खेलपछि मुख्य प्रशिक्षक जगत टमाटाले १४० देखि १५० सम्मको योगफल बनाउन सकेको भए केही सम्भावना हुनसक्ने बताए । ‘हामीले १४०, १५० सम्म बनाउन सकेको भए केही हुन सक्थ्यो । हाम्रा ब्याटरहरू क्रिजमा स्टे हुन सकेनन्’ उनले भने ।
विदेशी खेलाडीमा परिवर्तन
सुदूरका लागि लिग चरणमा राम्रो खेलेका दुई अस्ट्रेलियन खेलाडी प्लेअफका लागि उपलब्ध भएनन् । क्रिस लिन र जोश ब्राउन अस्ट्रेलिया फर्किएपछि सुदूरले भारतका शेल्डन ज्याक्सन अनि अमेरिकी मुख्तार अहमदलाई टोलीमा भित्र्याएको थियो ।
विरटागरविरुद्ध पहिलो क्वालिफायरमा ज्याक्सनले २० अनि मुख्तारले १० रन बनाएका थिए । सुदूरले उक्त खेलमा १५५ रनको योगफल बनाएर विराटनगरलाई ७८ रनमै अलआउट गरेको थियो ।
त्यसपछि सिधै फाइनल खेलेको सुदूरका लागि मुख्तार टोलीमा थिएनन् भने ज्याक्सन चल्न सकेनन् । ‘एनपीएलसँग अरु प्रतियोगिता जुधेपछि खेलाडी आउने जाने भइरहेको छ । नयाँ खेलाडीलाई यो कन्डिशनमा भिज्न समय लाग्छ’ टमाटाले भने, ‘बीचमा आएका खेलाडीहरू चल्न नसक्नु पनि एउटा समस्या हो, त्यहीभएर सकेसम्म फूल सिजनका लागि खेलाडी ल्याएको राम्रो हुन्छ।’

खराब रेकर्ड
सुदूरले आजको खेलमा बिर्सनलायक रेकर्डरू बनायो । सुदूरपश्चिमले एनपीएल इतिहासमै आफ्नो सबैभन्दा कम योगफल बनाएको थियो । ८५ रनको उक्त योगफल एनपीएलै चौथो कम योगफल हो ।
यस्तै सुदूरले पावरप्लेको समाप्तिमा सिजनकै सबैभन्दा खराब प्रदर्शन गर्यो । ३ विकेट गुमाएर २० रन बनाएको सुदूरका लागि यो खराब रेकर्ड पनि फाइनलमै बन्यो ।
यस्तै ८५ रनको योगफल बनाएपछि बलिङ गर्ने क्रममा पहिलो ओभरमा आएका कप्तान दीपेन्द्रसिंह ऐरीले २७ रन खर्चिए ।
उक्त रन एनपीएलको कुनै पनि इनिङको पहिलो ओभरमा आएको सबैभन्दा धेरै रन हो । यस्तै प्रतियोगिताकै दोस्रो महँगो ओभर समेत बन्यो ।
***
प्रतियोगिताभर राम्रो प्रदर्शन गरेको सुदूरलाई फाइनलमा भाग्यको पनि साथ मिलेन । प्रशिक्षक टमाटाले पनि आजको दिन खराब रहेको उल्लेख गर्दै आफूहरूबाट कमजोर प्रदर्शन भएको अनि विपक्षी टिमले राम्रो खेलेर जित्न सफल भएको बताए ।
टमाटाले अर्को संस्करणमा अझै राम्रो भएर आउने प्रतिबद्धता व्यक्त गरेका छन् । ‘खेलाडीहरूले धेरै मेहेनत गरेका थिए यहाँसम्म आइपुग्न, आज हाम्रो दिन नै रहेन । आगामी सिजन अझै सम अप भएर आउनेछौं’ उनले भने ।
प्रतिक्रिया 4