म हेटौंडा १२ मकवानपुरको स्थायी बासिन्दा हुँ । जागिरको शिलशिलामा काठमाडौं बस्दै आएको छु । वि.स.२०६९ फाल्गुन १६ गते मेरो छोरीको जन्म भयो । वि.स.२०७० माघ १५ गते छोरीको नाम प्रत्युशा गिरी राखी वडा कार्यालयबाट नियमानुसार जन्मदर्ताको प्रमाण पत्र बनाएँ । छोरी हुर्किदै गइन् । सबैले ‘परी’ भनेर बोलाउन थालेपछि उनको नाम परी नै रहन गयो । उनलाई नर्सरीमा स्कुल भर्ना गर्ने बेलामा ‘परी गिरी’ नै नाम राखी भर्ना गरियो ।
८ कक्षा पुग्दासम्म स्कुलमा उनको नाम परी गिरी नै रहन गयो । जन्मदर्तामा भएको नाम हामी सबैले भुलिसकेका थियौं । छोरीलाई आफ्नो नाम प्रत्युशा गिरी थियो भन्ने त थाहा नै थिएन ।
जब कक्षा ८ मा फारम भर्ने बेला जन्मदर्ता अनिवार्य चाहिन्छ भनी स्कुलबाट पत्र आएपछि जन्मदर्ता खोजी भयो । स्कुलमा भएको नाम र जन्मदर्ताको नाम फरक भयो । जन्मदर्ता अनुसार नाम राख्दा त्यो नामबाट छोरीलाई चिन्ने हामी आमा–बुबा बाहेक कोही थिएनन् । छोरीलाई जन्मदर्ताको नाम स्वीकार्य नै भएन । जन्मदर्ताको नाम राख्दा छोरीलाई असहज हुने देखियो ।
वि.स.२०८२ श्रावण १४ गते पञ्जीकरण विभागको साइटबाट घटना दर्ताका लागि ऐन संशोधन भएको र एकपटक जन्मदर्तामा नाम सुधार गर्न सकिने परिपत्र अध्ययन गरेँ । कानुनविदहरुले ऐन संशोधन भएपछि त्यसकै आधारमा नाम सच्चाउन मिल्छ, कार्यविधि जारी भैरहनु पर्दैन भनेको सुनेँ ।
त्यसपछि आफ्नो वडा कार्यालयको अध्यक्ष र सदस्यसँग कुराकानी गर्दा अहिले एकपटकलाई स्कुलमा भएअनुसार जन्मदर्तामा नाम परिवर्तन गर्न मिल्ने व्यवस्था भएको छ, सचिवज्यूसँग कुरा गर्नुस् भन्नुभयो ।
वि.स.२०८२ श्रावण २७ गते वडा सचिव रामलाल थिङसँग फोनमा कुरा हुँदा उहाँले नाम परिवर्तन गर्न मिल्दैन भन्ने कुरा गर्नुभयो । मसँग बोल्न नै चाहनु भएन । मैले अनुरोध गरी एक मिनेट मेरो कुरा सुन्न अनुरोध गरें ।
मैले मेरीइ छोरीको बारेमा सबै कुरा उहाँलाई सुनाई पञ्जीकरण विभागबाट नाम परिवर्तन गर्न मिल्ने भनी ऐन संशोधन भएको छ, किन मिल्दैन ? भनी सोध्दा स्कुलको सिफारिस, पुरानो जन्मदर्ता, बाआमाको नागरिकता र विवाह दर्तासहित निवेदन पेश गर्नुस् भन्नुभयो । उहाँले भनेअनुसार सबै कागजात सहित निवेदन लेखेर मेरो बुवालाई वडा कार्यालय पठाएँ ।
सचिवले सबै कागजपत्र लिइसकेपछि म तपाईंको छोरासँग कुरा गर्छु तपाईं जानुस् भनेर बुवालाई फिर्ता पठाउनु भयो । त्यसको भोलिपल्ट मैले फोन गर्दा तपाईंकी छोरीको जन्मदर्ताको नाम परिवर्तन गर्न मिल्दैन नगरपालिकाबाट पत्र आउनुपर्छ त्यसपछि हेरौंला भन्नुभयो ।
मैले त्यो दिन उहाँलाई पटक–पटक फोन गरी अनुरोध गर्दा पनि मान्नुभएन । मैले हेटौंडा उपमहानगरपालिकाको वेबसाइटबाट पञ्जीकरण विभागद्वारा २०८२ श्रावण १४ गते जारी भएको ऐन संशोधित परिपत्र संलग्न गरी संशोधन अनुसार घटना दर्ता गर्नु भनी पालिकाले २०८२ भदौ ०४ गते सबै वडालाई जारी भएको पत्र खोजेर त्यही पत्र सचिव ज्यूलाई पठाएँ । अनि अब त जन्मदर्तामा नाम सच्चाइदिन अनुरोध गरें । उहाँले फेरी हुँदैन, कार्यविधि आउनुपर्छ भनेर अडान गरिरहनु भयो ।
स्कुलले जन्मदर्ता छिटो बुझाउनुस् ताकेता गरिरहेको थियो । उहाँले हाम्रो शाखा अधिकृत बिनामाया थिङ्गलाई कुरा गर्नुस् उहाँले हुन्छ भन्नुभयो भने म गरिदिन्छु भनी शाखा अधिकृतको मोबाइल नम्बर दिनुभयो ।
मैले २०८२ भदौ १३ गते शाखा अधिकृत बिनामया थिङ्गलाई फोन गरेँ । उहाँले पनि विस्तृत कार्यविधि नआई नाम सच्चाउन मिल्दैन भन्नुभयो ।
अनि मैले अन्यत्र त भैरहेको छ, किन हाम्रो वडामा मात्र नभएको हो ? छोरीका अरु साथीहरुले पनि नाम सच्चाएर स्कुलमा जन्मदर्ता बुझाइसके, किन हजुरहरुले मलाई दु:ख दिनु भएको हो ? भनेर सोधेँ । उहाँले मलाई धम्काउने र दबाब दिने काम नगर्नुस्, मिल्दैन भनेपछि मिल्दैन भन्नुभयो ।
मैले अब कहाँ कसलाई कुरा गरौं भनी सोध्दा पञ्जीकरण विभागका निर्देशक मुकेश कुमार केशरीलाई फोन गर्नुस् र उहाँले हुन्छ भनेको रेकर्ड मलाई पठाउनुस् । म सचिवलाई तपाईंको काम गर्न लगाइदिन्छु भनी निर्देशकको फोन नम्बर दिनुभयो ।
शाखा अधिकृतले दिएको नम्बरमा तत्कालै फोन गरें । उहाँको फोन अफ थियो । फेरी पञ्जिकरण विभागको साइट खोली हेर्दा उहाँको २ वटा नम्बर राखिएको रहेछ । एउटा नम्बर बन्द थियो भने अर्कोमा जति पटक फोन गर्दा पनि फोन उठेन ।
पुन: वडा सचिवलाई फोन गरी सबै कुरा सुनाएँ । उहाँले मेरो कुरा सुन्नै चाहनुभएन र फोन काट्न थाल्नु भयो । म के गरौं, कसो गरौं, सारै निर्विकल्प भएँ ।
त्यसको केही दिनपछि देशमा जेनजी आन्दोलन सुरु भयो । धेरै कुराहरु परिवर्तन भए । अब त सचिव ज्यूको पनि सोच परिवर्तन भयो होला भनि २०८२ असोज ९ गते उहाँलाई फोन गरें । उहाँ त कहाँ परिवर्तन हुनु ! पहिले जस्तो अहिले पनि त्यस्तै हुनुहुँदो रहेछ ।
उहाँलाई धेरै बिन्ती बिसाएँ । कि कार्यविधि आउनुपर्छ कि त शाखा अधिकृतले भन्नुपर्छ अनि मात्र गर्छु भन्ने बाहेकको अरु कुनै जवाफ उहाँबाट आएन । धेरै अनुरोध गरेपछि तपाईं दशैंपछि वडा कार्यालयमा आउनुस् उतै कुरा गरौंला भन्नु भयो ।
एक पटक मनले सोचे अब त पञ्जिकरण विभागको निर्देशक ज्यूले फोन उठाउनु हुन्छ की भन्ने लाग्यो र उहाँलाई फोन गरें । उहाँको एउटा नम्बर ९८५१३००…मा फोन उठेन भने अर्को नम्बर ९८५१३५७… मा फोन नै लागेन । त्यसपछि शाखा अधिकृतलाई फोन गरें । उहाँको फोन सुरुमा उठेन पछि उहाँ आफैंले मलाई फोन गर्नुभयो ।
पहिले पनि कुरा भएकाले उहाँलाई भन्ने बित्तिकै कुरा बुझ्नु भयो र तपाईंको छोरीको नाम परिवर्तन गर्न मिल्दैन । ऐन मात्र संशोधन भएको हो । कार्यविधि नआई हुँदैन भन्नु भयो । अरु कुरा बुझ्न मन भए एकपटक निर्देशकलाई फोन गर्नु भन्नुभयो ।
मैले तपाईंको निर्देशकले मेरो फोन नै उठाउनु हुन्न अब म आजित भैसकेँ, म थाकिसकें । अब कहाँ कुरा गर्नुपर्छ मलाई पनि थाहा छ । अब मैले सकेको गर्छु भनि रिसाएर फोन काटिदिएँ ।
केहीबेरमा शाखा अधिकृतले पुन: फोन गर्नुभयो र अर्को निर्देशक सरलाई तपाईंको नम्बर दिनएको छु । उहाँले उठाउनु हुन्छ कि एकपटक फोन गर्नुस् भन्नु भयो । उहाँले दिएको नम्बरमा फोन गरें ।
निर्देशक सानुबाबु अधिकारीले पहिलो पटकमै फोन उठाउनु भयो । मेरो सबै कुरा ध्यान दिएर सुन्नु भयो र भन्नुभयो– व्यक्तिगत घटना दर्ताको विवरण परिवर्तन गर्ने अख्तियारी वडा सचिव बाहेक कसैलाई पनि हुन्न । सचिवले गर्न चाहनु भयो भने गर्न सक्नुहुन्छ तर हामीले गर्नुस् भनेर दवाब दिन मिल्दैन भन्नुभययो । उहाँले ऐन संशोधन भैसकेको छ । देशमा पछिल्लो घटनाक्रम नभएको भए कार्यविधि पनि जारी भैसक्ने थियो । अब एक महिना कुर्नुस्, स्कुलमा पनि अनुरोध गर्नुस् । यो समस्या धेरैको छ, अब छिट्टै सम्बोधन हुन्छ । मैले ‘हस्’ बाहेक केही भन्न सकिनँ ।
त्यसपछि शाखा अधिकृतले मलाई पुन: फोन गर्नुभयो र निर्देशकसँग भएको कुराकानीका बारेमा सोध्नुभयो । मैले सबै कुरा उहाँलाई सुनाएँ । कार्यविधि आएपछि सुरुमै तपाईंलाई फोन गरेर जानकारी दिन्छु भन्नुभयो ।
सोही अनुसार म उहाँको फोनको प्रतिक्षामा बसेँ । नभन्दै उहाँले मलाई कार्तिक २० गते आफैंले फोन गर्नुभयो र कार्यविधि आयो, अब सोमबार तिर गएर तपाईंकी छोरीको जन्मदर्ता सच्चाउन मिल्छ गएर सच्चाउनु होला भन्नुभयो ।
अनि मैले आइतबार वडा सचिवलाई फोन गरेर शाखा अधिकृतले भनेको कुरा सुनाएँ । तर उहाँको पहिलेको बोली र अडानमा कुनै फेरबदल नै आएन । मलाई शाखा अधिकृतले फोन गरेर नभनी म गर्दै गर्दिनँ भन्नुभयो । त्यसपछि मैले शाखा अधिकृतलाई पटक–पटक फोन गरेँ । म्यासेज गरें । १२/१५ दिनसम्म पनि उहाँबाट कुनै फोन/प्रतिक्रिया आएन ।
पुन: मैले मिति २०८२ मंसिर २ गते उहाँलाई फोन गरेँ । दुई पटकसम्म पनि फोन उठेन । केहीबेरपछि उहाँ आफैंले कलब्याक गर्नुभयो ।
हिजोदेखि कार्यविधि लागु भयो अब तपाईंले छोरीको जन्मदर्ता सच्चाउन सक्नु हुन्छ भन्नुभयो । अनि मैले अघिल्लो पटक फोन गर्दा तपाईंले वडा सचिवलाई मैले बोलाएको हो भनी किन भन्नु भएको ? मैले त तपाईंलाई जानकारी गराएको मात्र हो भनी अलि रुखो स्वरमा प्रस्तुत हुनु भयो ।
मलाई अघिल्लो पटक तपाईंले जे भन्नुभएको हो त्यही कुरा वडा सचिवसँग गरेको हो । भनेपछि उहाँ चुप बस्नुभयो र फोन राख्नुभयो ।
त्यसपछि तुरुन्तै वडा सचिवलाई फोन गरें । उहाँले घटना दर्ता गर्ने कर्मचारी छोरी बिमारी भएर बिदामा हुनुहुन्छ । उहाँ आएपछि मात्र काम हुन्छ नत्र हुन्न भन्नुभयो । उहाँ कहिलेबाट आउनु हुन्छ त भनी सोध्दा बच्चा बिरामी भएर गएको मान्छे यही दिन आउनु हुन्छ भनेर भन्न त सक्दिनँ भन्नुभयो ।
त्यसोभए आएपछि खबर गर्नु है त भनेँ । तर उहाँले म व्यस्त हुन्छु तपाईंले सम्झाउनु होला भनेर फोन काटिदिनु भयो ।
फेरी मैले बिदामा बस्नु भएको कर्मचारी आउनुभयो की भएन भनेर केही दिनपछि उहाँलाई फोन गरें । आउनु भयो तर सक्कल जन्मदर्ता चाहिन्छ त्यो लिएर बुवालाई पठाइदिनुस् भन्नुभयो । मैले सक्कल जन्मदर्ता हेटौंडा पठाई गाउँको एकजना भाइ र बुवालाई वडा कार्यालय पठाएँ ।
पहिले बुझाएको कागजात हरायो । सबै कागजात सहित फेरी निवेदन पेश गर्नुस् भन्नुभयो । बुवा र भाइले फेरी सबै तयार गरी पेश गरेपछि वडा कार्यालयको अर्को कर्मचारीलाई फोन गर्न लगाएर स्कुलको सर्टिफिकेट माग्नुभयो । मैले स्कुलको पत्र फाइलमा छ भनी भनेपछि पुलिस रिपोर्ट पनि चाहिन्छ भन्नुभयो । अनि मैले सचिवलाई बोल्न दिनुस् न भन्दा सचिव मसँग बोल्न नै चाहनु भएन । उल्टो भाइ र बुवालाई हप्काई दप्काई गर्नुभएछ ।
अनि वडा सचिवसँग मैले अनुरोध गरें । मैले मेरो काम गर्ने हो । स्थानीय जनप्रतिनिधिको र वडाका स्थानीय व्यक्तिको रोहबरमा सरजिमन र पुलिस रिपोर्ट माग्ने मेरो अधिकार हो । मलाई चाहिन्छ भन्नुभयो । अनि मैले त्यो चाहिने भनेको अन्यन्त्रबाट बसाइँ सरेर आएमा, विदेशमा जन्मिएको भएमा, पहिलेको जन्मदर्ता प्रमाण पत्र नभएमा वा अन्य विवरण खुल्ने कागजात नभएमा मात्र सरजिमन र पुलिस रिपोर्ट चाहिन्छ भनेको छ । परिपत्र मैले पनि एक–एक पढेको छु भनेपछि उहाँ केही बोल्नु भएन ।
एकछिनपछि मलाई नानी पढ्ने स्कुलको प्रिन्सिपलको फोन नम्बर दिनुस् भन्नुभयो र मैले दिएँ । स्कुलले पुन: फेरी पत्र तयार गरेर पठायो । भाइ र बुवा पुलिस रिपोर्ट तयार गर्न वडा प्रहरी कार्यालय जानुभयो । तर त्यहाँका प्रहरीले हामीले यहाँबाट गर्न मिल्दैन । यो बारेमा हामीलाई थाहा नै छैन, तपाईंहरु जिल्ला प्रहरी कार्यालय जानुस् भनी भन्नु भएछ ।
त्यसपछि भाइ र बुवा वडा कार्यालय गएर वडा प्रहरीले हामीले गर्ने गरेको छैन, जिल्ला प्रहरी कार्यालय जानु भन्नुहुन्छ भनी वडा सचिवलाई जानकारी गराउँदा वडा सचिवले त्यसो हो भने तपाईंले टोल विकास समितिको अध्यक्ष सहित कम्तीमा ५ जना व्यक्तिको रोहबरमा मुचुल्का बनाउनपर्छ भन्नुभएछ ।
बुवा आजित भएर अबदेखि यो वडामा म फर्किएर पनि आउँदिनँ भनी त्यहाँबाट निस्किन लाग्दा सचिवले म केही दिन अध्ययन गरेर के हुन्छ खबर गर्छु भनि बुवालाई पठाउनु भएछ ।
त्यसको भोलिपल्ट मंसिर ८ गते सचिवले बुवालाई फोन गरी टोल विकास समितिको अध्यक्ष सहित ५ जना मानिस लिएर मुचुल्का बनाउन आउनुस् भनेर खबर गर्नुभयो ।
त्यसपछि बुवा अटो रिजर्भ गरेर बुवा सहित ५ जना व्यक्ति वडा कार्यालय जानु भयो । वडा कार्यालय पुग्दा वडा सचिव एक हप्ताको बिदामा हुनुहुँदो रहेछ । उहाँ नभई मुचुल्का बनाउन अरु कर्मचारीले आँट नै गर्न नसक्ने रहेछन् । उहाँलाई फोन गरेर मंसिर महिनाको मानिसलाई लिएर आएको हो मुचुल्का बनाउने काम चाहिँ आजै गरिदिनु पर्यो भनी अनुरोध गरेपछि मुचुल्का बनाउने काम त भयो तर जन्मदर्ता उहाँ नआई नसच्चिने भएकाले एकहप्ता पछि फोन गरेर आउनु भन्ने आदेश सचिवबाट प्राप्त भयो । त्यो दिन पनि बुवा जन्मदर्ता नलिएरै फर्किनुभयो ।
त्यसको ३ दिनपछि २०८२ मंसिर १२ गते बुवाले सचिवलाई फोन गरी तपाईं कहिलेबाट कार्यालय आउनु हुन्छ भनी सोध्दा म अझै बिदामा छु । कार्यवाहक सचिव हुनुहुन्छ उहाँलाई गएर भेट्नुस् उहाँले तपाईंको काम गरिदिनु हुन्छ भनी भन्नु भएछ ।
त्यसपछि बुवा वडा कार्यालय जानुभयो र कार्यवाहक सचिवलाई भेट्दा उहाँले हात हालेको काम म गर्दिनँ । उहाँ नै आएर गर्नुहुन्छ । यति लामो समय रोकिएको फाइल म छुँदा पनि छुन्न भन्नुभएछ । बुवा फेरि निराश हुँदै रित्तो हात फर्किनुभयो ।
त्यसकोे केही दिनपछि मंसिर १५ गते सचिवलाई फोन गर्दा हाजिर भएको जानकारी प्राप्त भयो र त्यो दिन बुवा वडा कार्यालय जानुभयो । सचिवले पुन: कुलको मार्कसिट र मेरो लिखित निवेदन माग्नुभयो । मैले तुरुन्तै पठाएँ ।
लगभग १११ दिनमा दुई–दुई पटक निवेदन दिँदा र पटक–पटक अटोको भाडा तिर्दा ६/७ हजार जति नगदै खर्च भयो । बुवाको र भाइको खर्च भएको समयको त के हिसाब गर्नु । झनै मानसिक तनाबको त के लेखाजोखा हुन्छ र ।
ठूलो संघर्षपछि मंसिर १५ गतेको दिन छोरीको जन्मदर्ताको नाम सच्चिँदा बुवा र मलाई जीवनकै सबैभन्दा ठूलो युद्ध जितेको अनुभूति भयो । मंसिर १६ गते मेरो मोबाइलमा पहिलो पटक सचिव ज्यूको फोन आयो । एकछिन त अचम्मै लागेको थियो । किन फोन गर्नुभएको थियो थाहा भएन । तर मलाई उहाँको फोन उठाउन मनै लागेन । मैले उहाँको फोन उठाइनँ ।
यो घटनामा मैले पैसा दिन्छु भनी प्रस्ताव राखेको भए सायद पहिले नै जन्मदर्ता सच्चिन्थ्यो कि ! तर घुस लिन र दिन मेरो नैतिकताले कहिल्यै मानेन ।
हेटौंडा उपमहानगरपालिका प्रमुख नजिकबाट चिनेको दिदी हुनुहुन्छ । तर मैले उहाँलाई एक पटक पनि फोन गरिनँ । किनकि हरेक जनता समान हुन् । सरकारी सेवा पावरले होइन, प्रक्रियाले सहज रुपमा सम्पन्न हुनुपर्छ । म अलिअलि बोल्न सक्नेलाई त यति धेरै सास्ती भोग्नु पर्यो भने अन्य दुरदराजमा रहनु भएका सोझासाझा जनताहरुले कति पीडा भोग्नु परेको होला ?
अधिकांश नेपाली जनताले सरकारी कार्यालयका केही कर्मचारीबाट यस्ता समस्या र घुसको मोलतोल खेप्नुपरेको छ । अनावश्यक मानसिक तनाव भोग्नुपरेको छ । सीमित संख्यामा रहेका गलत कर्मचारीहरुबाट तमाम इमान्दार राष्ट्रसेवकको पनि बदनाम भइरहेको छ । यसतर्फ कसले ध्यान दिने ? जबसम्म सरकारी कर्मचारीहरुको काम गराइको पुरानै पारा रोकिँदैन तबसम्म जनुसुकै सरकार र व्यवस्था आएपनि जनताले सहज रुपमा सरकारी सेवा र सुविधा पाउने छैनन् ।
– लेखक गिरी बैंकर हुन् ।
प्रतिक्रिया 4