+
+
Shares

नेपालको कृषि खाद्य प्रणाली रूपान्तरण गर्न सहकार्य, नवप्रवर्तन र युवा सहभागितामा जोड

कृषिमन्त्री डा. मदन परियारले कृषि क्षेत्रको आधुनिकीकरणका लागि नवप्रवर्तन, लगानी र समावेशीतामा सरकार प्रतिबद्ध रहेको बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २९ गते १९:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल फुड फोरम २०२५ ले कृषि खाद्य प्रणालीलाई समावेशी, जलवायुमैत्री र लगानीमैत्री बनाउन सरोकारवालाको सहकार्य अपरिहार्य रहेको बताएको छ।
  • कृषिमन्त्री डा. मदन परियारले कृषि क्षेत्रको आधुनिकीकरणका लागि नवप्रवर्तन, लगानी र समावेशीतामा सरकार प्रतिबद्ध रहेको उल्लेख गरे।
  • एफएओका नेपाल तथा भुटान प्रतिनिधि केन शिमिजुले युवालाई कृषि खाद्य प्रणालीको प्रमुख साझेदार र नेताका रूपमा हेरिनुपर्नेमा जोड दिए।

२९ मंसिर, काठमाडौं । कृषि खाद्य प्रणालीलाई समावेशी, जलवायुमैत्री र लगानीमैत्री बनाउने नेपालको लक्ष्यमा सरोकारवालाको सहकार्य अपरिहार्य रहेको ‘नेपाल फुड फोरम २०२५’ ले जोड दिएको छ।

ललितपुरमा आयोजित फोरममा सरकारी अधिकारी, युवा उद्यमी, निजी क्षेत्रका प्रतिनिधि, अनुसन्धानकर्ता, आदिवासी समुदाय तथा विकास साझेदारको सक्रिय सहभागिता थियो ।

संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको संयुक्त आयोजनामा भएको यस कार्यक्रममा साझेदारी प्रवर्द्धन, युवामुखी नवप्रवर्तनलाई प्रोत्साहन तथा खाद्य सुरक्षा, ग्रामीण जीविकोपार्जन र दिगो आर्थिक वृद्धि सुदृढ गर्ने विषयमा छलफल भएको थियो ।

कृषिमन्त्री डा. मदन परियारले कृषि क्षेत्रको आधुनिकीकरणका लागि नवप्रवर्तन, लगानी र समावेशीतामा सरकार प्रतिबद्ध रहेको बताए । उनले विशेषगरी ‘कृषि लगानी दशक (२०२४–२०३४) अन्तर्गत उत्पादन, प्रतिस्पर्धा र दिगोपनामा सुधार ल्याउन युवाको भूमिका निर्णायक हुनेमा जोड दिए ।

मन्त्री परियारले युवा, महिला र आदिवासी समुदायको सक्रिय सहभागिताले कृषि खाद्य प्रणाली रूपान्तरणमा महत्त्वपूर्ण योगदान पुर्‍याउने र सरकारले युवाका लागि सकारात्मक वातावरण सिर्जना गर्न सकारात्मक नीति, उद्यमशीलता प्रवर्द्धन, सिप विकास तथा वित्तीय पहुँचमा जोड दिएको उल्लेख गरे ।

एफएओका नेपाल तथा भुटान प्रतिनिधि केन शिमिजुले नेपालको कृषि खाद्य प्रणालीको भविष्य निर्माणमा युवालाई लाभग्राही मात्र नभई प्रमुख साझेदार र नेताका रूपमा हेरिनुपर्नेमा जोड दिए ।

युवाको नवप्रवर्तनशील सोच, प्राविधिक सिप र उद्यमशील ऊर्जाले जलवायु परिवर्तन, खाद्य असुरक्षा तथा ग्रामीण बेरोजगारी जस्ता चुनौती समाधानमा योगदान पुर्‍याउने उनको भनाइ थियो । शिमिजुले युवालाई ज्ञान, लगानीका अवसर र नीतिगत संवादमा पहुँच प्रदान गर्न एफएओ प्रतिबद्ध रहेको बताए ।

संयुक्त राष्ट्रसंघको नेपालस्थित आवासीय संयोजक हाना सिंगर ह्याम्डीले दिगो खाद्य प्रणाली दिगो विकास लक्ष्य प्राप्तिको केन्द्रमा रहेको भन्दै कृषि, पोषण, जलवायु, स्वास्थ्य र सामाजिक संरक्षणबीच सहकार्य सुदृढ गर्न आह्वान गरिन् ।

वन तथा वातावरण मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्र र कृषि मन्त्रालयका सचिव डा. दीपककुमार खरालले पनि जैविक विविधता संरक्षण, जलवायु उत्थानशीलता र प्रमाणमा आधारित नीति निर्माणमा जोड दिए ।

फोरमका सत्रहरूमा उत्पादकत्व र उत्थानशीलता सुधार गर्न विज्ञान र नवप्रवर्तनको भूमिका, डिजिटल प्रविधि प्रयोग, जलवायु अनुकूल कृषि अभ्यास तथा खाद्य सुरक्षा र जैविक विविधता संरक्षण लगायत विषयमा विस्तृत छलफल गरियो ।

युवा उद्यमीले नेतृत्व गरेका कृषि व्यवसाय र नवीन कृषि प्रविधि पनि प्रस्तुत गरिएका थिए । फोरममा अलैँची, अदुवा, हिमाली मह, याक चिज, उच्च पहाडी आलु र पाङ्गासियस माछाजस्ता उच्च प्राथमिकताका वस्तुमा लगानीका सम्भावित अवसर प्रस्तुत गरिए ।

यी मूल्य शृङ्खलाले ग्रामीण रोजगारी सिर्जना, निर्यात प्रवर्द्धन र जलवायु उत्थानशीलता सुदृढ गर्न सक्ने सम्भावना रहेको छलफलमा बताइयो ।

नेपाल फुड फोरम २०२५ ले विभिन्न क्षेत्रका सरोकारवालालाई एकै ठाउँमा ल्याएर नीति संवाद, लगानी परिचालन र युवामुखी पहलमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ, जसले वर्तमान तथा भावी पुस्ताका लागि दिगो, समावेशी र उत्थानशील कृषि खाद्य प्रणाली निर्माणमा सघाउने विश्वास एफएओले व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?