+
महिला क्रिकेट :

को हुन् महिला क्रिकेट टिमका मुख्य प्रशिक्षक बनेका हर्षल पाठक ?

२०८२ पुष  १ गते १४:०८ २०८२ पुष १ गते १४:०८

सन् २०१८ मा थाइल्यान्डको प्रशिक्षक नियुक्त भएका पाठकले एसिया छनोट र ग्लोबल छनोट दुवै पार गराएर थाइल्यान्डलाई पहिलोपटक महिला टी-२० विश्वकपमा पुर्‍याएका थिए ।

को हुन् महिला क्रिकेट टिमका मुख्य प्रशिक्षक बनेका हर्षल पाठक ?

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल क्रिकेट संघले पहिलोपटक नेपाली महिला क्रिकेट टिमको मुख्य प्रशिक्षकमा भारतीय मूलका हर्षल जयन्त पाठकलाई नियुक्त गरेको छ।
  • पाठकले थाइल्यान्ड महिला क्रिकेट टोलीलाई पहिलोपटक महिला टी-२० विश्वकपमा छनोट गराएका थिए र अब नेपाली टोलीलाई विश्वकपमा पुर्‍याउने लक्ष्य राखेका छन्।
  • क्यानका प्रवक्ता छुम्बी लामाले ग्लोबल छनोट खेल्दै गरेको नेपाली महिला टोलीलाई विश्वकपमा पुर्‍याउन एक डेढ महिनाको प्रशिक्षणबाट सहयोग हुने बताए।

१ पुस, काठमाडौं । नेपाली महिला क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार भारतीय मूलका हर्षल जयन्त पाठकलाई नियुक्त गर्‍यो ।

नेपाली क्रिकेट टिममा पहिलोपटक विदेशी प्रशिक्षक नियुक्ति भएका हुन् । त्यसका लागि क्यानले ईसीबी वा सीए लेभल-३ वा सो सरहको प्रमाणपत्र भएको र कम्तीमा पाँच वर्षको व्यावसायिक क्रिकेट प्रशिक्षण अनुभव भएको प्रशिक्षकका लागि आवेदन खुलाएको थियो ।

त्यसैअनुरुप थाइल्यान्ड क्रिकेटमा मात्रै ७ वर्षको प्रशिक्षण अनुभव भएका पाठक नेपाली टोलीको प्रशिक्षकमा नियुक्त भएका हुन् । करिब ७० जनाको हाराहारीमा आवेदन परेको अनि तीमध्येबाट पाठक चयन भएको क्यानका प्रवक्ता छुम्बी लामाले अनलाइनखबरलाई जानकारी दिए ।

सन् २०१८ मा थाइल्यान्डको प्रशिक्षक नियुक्त भएका पाठकले एसिया छनोट र ग्लोबल छनोट दुवै पार गराएर थाइल्यान्डलाई पहिलोपटक महिला टी-२० विश्वकपमा पुर्‍याएका थिए ।

नेपाली महिला क्रिकेट टोलीले पनि अब पहिलोपटक महिला टी-२० विश्वकपको ग्लोबल छनोट खेल्दै छ । त्यसअघि प्रशिक्षक नियुक्त भएका पाठकको मुख्य चुनौती अनि लक्ष्य अब नेपाली महिला टोलीलाई पनि विश्वकपमा पुर्‍याउनु हुनेछ ।

को हुन् पाठक ?

भारतको पुनेमा जन्मिएका पाठकले क्रिकेट खेलाडीका रूपमा भन्दापनि प्रशिक्षकका रूपमा धेरै समय बिताएका छन् । सुरुवातमा रमाइलोका लागि मात्र खेल्ने गरेका उनले जुनियर कलेजमा पुगेपछि मात्र गम्भीर रूपमा क्रिकेट सुरु गरेका थिए । यद्यपी २१ वर्षको हुँदा आँखामा चोट लागेपछि केही समय खेलेनन् ।

केही समयको विश्रामपछि उनी फेरि मैदानमा फर्किए । केही निमन्त्रणात्मक क्रिकेट प्रतियोगिताहरू खेल्ने गरेका उनले विस्तारै सोच परिवर्तन गरे । ‘फर्स्ट क्लास क्रिकेटमा करियर बनाउँछु जस्तो लागेन । विस्तारै प्रशिक्षण सुरु गरें’ उनले एक अन्तर्रवार्तामा भनेका छन् ।

उनी सुरुवातमा पुनेकै काडेन्स क्रिकेट एकेडेमीमा सहायक प्रशिक्षकका रूपमा काम गरेका थिए । केही समयमा त्यहीँ मुख्य प्रशिक्षक भए । सँगसँगै उनले बीसीसीआई लेभल १ अनि २ परीक्षासहित विभिन्न क्याम्पहरु गरे ।

सन् २०१४ मा उनले रनजी ट्रफीमा महाराष्ट्रको पुरुष टोलीमा सहायक प्रशिक्षकका रूपमा काम गरे । उनी कोचिङ स्टाफमै हुँदा महाराष्ट्र २१ वर्षपछि प्रतियोगिताको फाइनलमा पुगेको थियो ।

यसपछि उनी महिला क्रिकेटमा जोडिए । सन् २०१५ देखि करिब साढे दुई वर्षसम्म उनी भारतीय महिला क्रिकेटर हर्मनप्रीत कौरको पर्सनल ब्याटिङ कोचका रूपमा काम गरेका थिए । पाठककै प्रशिक्षणले हर्मनको ब्याटिङमा धेरै निखार ल्याउन मद्दत पुगेको भारतीय सञ्चारमाध्यमहरूमा समाचारहरू प्रकाशित छन् ।

त्यसपछि पाठकनिकट एक व्यक्तिले उनको नाम थाइल्यान्ड क्रिकेटलाई सिफारिस गरेका थिए । सन् २०१८ मा थाइल्यान्ड महिला क्रिकेट टिमको प्रशिक्षक नियुक्त भएका उनी डिरेक्टर अफ क्रिकेटका रूपमा समेत रहे ।

उनले थाइल्यान्डलाई पहिलोपटक महिला टी-२० विश्वकपमा छनोट गराएका थिए । उनी यसै वर्षसम्म पनि थाइल्यान्डकै प्रशिक्षकको रूपमा थिए ।

मुख्य प्रशिक्षकमा पहिलोपटक विदेशी

क्यानले पहिलोपटक विदेशी प्रशिक्षक नियुक्त गर्ने हिसाबले आवेदन खुलाएको थियो । त्यही अनुसार नेपाली महिला क्रिकेट टोलीका पहिलोपटक विदेशी प्रशिक्षक आएका छन् ।

यसअघि कन्स्ल्ट्यान्ट प्रशिक्षक अनि ब्याटिङ प्रशिक्षकका रूपमा भारतीय प्रशिक्षकहरू आएपनि मुख्य प्रशिक्षक भने पहिलोपटक विदेशी नियुक्त भएका हुन् ।

‘आधिकारिक रूपमा पहिलोपटक विदेशी प्रशिक्षक नियुक्त गर्ने भनेर आवेदन खुलाएका थियौं । त्यसअनुसार प्रशिक्षक आउनुभएको छ, महिला क्रिकेटका लागि राम्रो पनि भएको छ’ प्रवक्ता लामाले भनेका छन् ।

यसअघि महिला क्रिकेट टोलीमा जगत टमाटा, सामसंगजङ थापा, विनोद दास लगायतले मुख्य प्रशिक्षकका रूपमा काम गरिसकेका छन् भने भारतबाट देविका पाल्सिकर, मनिष कुमार झाले कन्सल्ट्यान्ट प्रशिक्षकका रूपमा काम गरेका छन् ।

विश्वकपमा छनोट गराउने अवसर र चुनौती

पाठकले थाइल्यान्डको महिला क्रिकेट टोलीलाई सन् २०२० मा पहिलोपटक महिला टी-२० विश्वकपमा छनोट गराएका थिए । विश्वकपमा थाइल्यान्डले टेस्ट राष्ट्र पाकिस्तानलाई हराएको थियो ।

पाठकसामू अब नेपाललाई पनि विश्वकपमा छनोट गराउने अवसर र चुनौती दुवै छ । उनी नेपाल आएको केही समयमा नै यो उपलब्धि दिलाउने लक्ष्यमा हुनेछन् भने त्यो चुनौतीका रूपमा पनि रहनेछ ।

‘आजको भोलि नै कार्यान्वयन हुन्छ भन्ने त होइन । दीर्घकालीन हिसाबले हेर्दा राम्रो लर्निङ र अनुभव प्राप्त हुनेछ’ प्रवक्ता लामाले भनेका छन्, ‘घरेलु मैदानमै ग्लोबल छनोट खेल्दैछ । हामीलाई अवसर पनि छ अनि चुनौती पनि छ । अब करिब एक डेढ महिनाको प्रशिक्षणबाट विश्वकपमा पुग्नका लागि धेरै सहयोग भने हुनेछ।’

प्रशिक्षक पाठकले एउटा राम्रो वातावरण बनाउने मान्यता राख्ने बताउँदै आएका छन् । ‘टिमभित्रका खेलाडीमा कुनैपनि प्रतियोगिता जित्नका लागि गहिरो चाहना हुनुपर्छ, त्यही चाहनाका बीच म वातावरण बनाउनुपर्ने कुरामा मान्यता राख्छु’ उनले एक अन्तर्वार्तामा भनेका छन्, ‘म यस्तो टिम वातावरण बनाउन चाहन्छु जहाँ खेलाडीहरू आफैं मोटिभेट हुन्छन्, टिमका लागि योगदान दिन चाहन्छन् र जिताउन चाहन्छन् । पहिले टिमको सफलता सोच्नेले व्यक्तिगत सफलता आफैं पाउँछ।यो कुरा बुझ्ने खेलाडी हुनुपर्छ’

नेपाली महिला क्रिकेट टोली
लेखक
प्रतिक भट्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय