News Summary
Generated by OK AI. Editorially reviewed.- उद्धब कँडेलले बाल्यकालदेखि त्रिशूली नदीप्रतिको लगाव राख्दै र्याफ्टिङ व्यवसाय सुरु गरी देशविदेशमा परिचित बनेका छन्।
- उनी स्थानीय युवालाई तालिम दिएर, किसानको उत्पादन किनेर र समुदायसँग पर्यटन जोड्दै समृद्धि ल्याउन सक्रिय छन्।
- कोरोना महामारीमा पनि १० करोड रुपैयाँ लगानी गरी त्रिशूली भिल्ला र जिपलाइन निर्माण गरेका छन्।
धादिङको बेनीघाट–बाहुनटारको पाखा, पखेरामा हुर्किएको एउटा बालक सधैं पुस्तकको अक्षरभन्दा नदीको आवाजतिर तानिन्थ्यो । त्रिशूली नदी उसका लागि केवल पानीको स्रोत थिएन, जीवनको सुरुदेखिकै गुरु थियो, निशब्द तर गहन ।
साथीहरू कक्षाकोठामा बसेका बेला ऊ झाडीमा झोला लुकाएर पानीतिर दौडिन्थ्यो । स्कुलको घण्टीले बोलाए पनि त्रिशूलीको छालले उसलाई अझै ठूलो आवाजमा डाक्थ्यो । कहिलेकाहीँ जीवनका सबैभन्दा गहिरा पाठ कक्षाले होइन, प्रकृतिले पढाउँछ । उद्धब कँडेलका लागि यो सत्य त्यसैबेला नै प्रमाणित भइसकेको थियो ।
समय फेरियो, वातावरण फेरियो, तर ती बालकको नदीप्रतिको लगाव कहिल्यै फेरिएन । आज उही बालक नेपालकै साहसिक पर्यटन क्षेत्रमा एक चिनिने व्यक्तित्व बनेको छ ।

बाल्यकालमा शिक्षकलाई झुक्याएर नदीमा भाग्ने जस्ता ‘अनुशासनहीन’ हर्कत भविष्यमा उसको जीवनको सबैभन्दा अनुशासित निर्णयको पृष्ठभूमि बन्नेछन् भन्ने उसले सोचेको सम्म थिएन । कक्षा १२ सकिएपछि उद्धब होटल म्यानेजमेन्ट पढ्न युरोप पुगे । विदेशको भूमिमा टेकेपछि उनले बुझ्न थाले- पैसा कमाउनु मात्र विदेश जानुको कारण हुँदैन ।
युरोपको कठोर समयमा उनले आत्मअनुशासन, दयालुपन र श्रमको मूल्य गहिरो रूपमा अनुभव गरे । बिहान–बेलुका काम, अपरिचित वातावरण र कठिनाइबीच उनले कुरा बुझ्दै गए । ’सपना कुनै देशले बनाइदिने होइन, सपना साहसले जन्मिन्छ’ उनले यो कुरा त्यहाँ बसेर मनन् गरे । कमाइभन्दा ठूलो कुरा उनले एकै पाठ सिके, ‘मान्छे बन्ने’ तरिका।
युरोप, अमेरिकाका देशमा पुगेर स्थापित भइसकेका धेरै नेपालीका लागि स्वदेश फर्कने इच्छा गर्नु भनेको अनावश्यक भावुकता देखाउनु ठानिन्छ । अझ मूर्ख बनेको भन्ने तरिकाले अर्थ्याइन्छ । तर उद्धबका लागि फर्कने तिर्सना हठ थिएन, यो त आत्माले गरेको आह्वान थियो । उनी फर्किए किनकि उनलाई थाहा थियो, उनको भविष्य त्यहीं छ, बाल्यकालले आवाज दिएको नदी किनारमै । फर्कंने जोखिम, अनिश्चित भविष्य, अपूर्ण योजना, सबै कुरा थाहा थियो । तर केही गर्न चाहने मन कहिलेकाहीँ यति ठूलो हुन्छ कि जोखिम पनि साना लाग्न थाल्छ ।

नेपाल फर्केर उनले धेरैले असम्भव ठानेको बाटो रोजे, र्याफ्टिङ व्यवसाय । एक–दुई डुंगाबाट सुरु भएको काम विस्तार हुँदै गएर देश–विदेशका पर्यटकका लागि विश्वासिलो नाम बन्यो । त्रिशूली आज पनि उद्धबका लागि पुरानै साथी हो, कहिल्यै धोका नदिने, कहिल्यै नफसाउने तर अनेकथरी सिकाउने सहयात्री । नदी रिसाउँछ, मौसम बदलिन्छ, पर्यटक कहिले धेरै, कहिले थोरै, तर पानीमा जन्मिएको साहस पानीमै परिक्षण हुन्छ । यही विश्वासले उद्धबलाई अघि बढायो ।
उनी केवल व्यवसायी होइनन्, एक अभियन्ता जस्तै खटिने मानिस । आफू मात्र सफल हुनु उनको लक्ष्य कहिल्यै रहेन । स्थानीय युवालाई तालिम दिए, गाइडहरू तयार गरे, किसानको उत्पादन किने, समुदायलाई पर्यटनसँग जोड्दै लगे । जसले गर्दा उनको सफलतामा स्थानीयहरूको पनि बराबरको हिस्सेदारी भयो । समुदायसँग सँगै हिँड्ने उनलाई थाहै थियो- जरा जहाँ रोपिन्छ, रुख त्यहीँ बलियो बन्छ ।
र्याफ्टिङ मात्रले उनको सपना पूरा हुन सक्दैनथ्यो । उनले अझ ठूलो चित्र देखे, त्रिशूली किनारमै यात्रुलाई घरजस्तो लाग्ने आवासको व्यवस्था । सुरुमा टेन्टेड क्याम्पमा पर्यटक राख्न थालियो । बिस्तारै कटेज रुम हुँदै आधुनिक बिल्डिङ बन्यो । स्विमिङ पुल, डिजे हल, डेक रेस्टुरेन्ट थपिँदै गए । अझ भनौं उद्धबले आफ्नो कमाइ त्यही किनारमा सिञ्चित गर्दै गए । यसरी जन्मियो ’त्रिशूली रिभर साइड रिसोर्ट’ । खोला किनारमै भएको उद्धबको पुर्ख्यौली जग्गा उनको पसिना र लगनले चिटिक्क सिंगारिएको छ ।

उनले यतिमै चित्त बुझाएनन् । रिसोर्टको पारीपट्टि नयाँ जग्गा किने । कोरोना कालमा अरू पर्यटन ब्यवसायी अताल्लिएर बसिरहेका बेला उनी फेरि निर्माणमा लागे । अनि तयार भयो साविक रिसोर्ट भन्दा प्रिमियम प्रपर्टी ’त्रिशूली भिल्ला’ ।
त्रिशूली भिल्ला र त्रिशूली रिभर साइड रिसोर्ट जोड्ने गरी जिपलाइन र स्काई साइक्लिङ बनेको छ । कोरोनासँग जुधिरहेको बेला १० करोड रुपैयाँ लगानी गर्ने आँट जो कोहिसँग हुँदैन । धेरैका लागि यो जोखिम देखिन्छ, तर उद्धबको नजरमा यो आत्मविश्वासको जग बसाल्ने इँटा थियो ।
भूकम्प, कोरोना जस्ता बिपत्तिमा जति पाएका थिए त्यति नै गुमाउनुपर्ने दिन पनि आए । यिनै क्षणमा कहिलेकाहीँ उनको मनले सोध्थ्यो, ‘विदेशबाट फर्किनु गल्ती त थिएन?’ तर त्रिशूलीको छालले आजसम्म उनलाई एउटा मात्र उत्तर दिएको छ, ’ठोक्किनु दुर्भाग्य होइन, बगिरहनु नै भाग्य हो’ ।
उद्धबको जीवनकथा केवल व्यक्तिगत सफलताको कथा होइन । यो कथा विदेशमा बसेका हजारौँ नेपालीको मनले सोध्ने प्रश्नको उत्तर हो । सपना वास्तवमै कसको–कहाँ पूरा हुन्छ ? थाहा हुँदैन ।

विदेशमा सीप, अनुशासन र अनुभव बटुलेर फर्केर केही निर्माण गर्ने साहस धेरैमा हुँदैन, तर सम्भव छ भन्ने प्रमाण उद्धबजस्ता मानिसहरू नै हुन् । उनीहरूको यात्रा भन्छ, ’देशमा कठिनाइ छ, तर सम्भावना पनि छ’। काम गर्ने आँट भए नदीको छालले जस्तै बाटो आफैँ कोरिदिन्छ ।
केही गर्न चाहने युवाका लागि मौन प्रेरणा हुन् उद्धब । सपना डरलाग्दो हुनु राम्रो हो, किनकि डरलाग्दा सपना नै जीवनको दिशा बनिदिन्छन् । त्रिशूली किनारमा पानीसँग खेल्दै हुर्किएको एउटा केटाले आज हजारौँलाई प्रेरणा दिन सक्नुको आधार त्यही मनको दृढता हो, जहाँ मन जोडिन्छ, बाटो त्यहीँ चम्किन्छ ।
प्रतिक्रिया 4