३ पुस, काठमाडौं । नेकपा एमालेका नवनिर्वाचित उपमहासचिव लेखराज भट्टले विजयीलाई अहंकार र दम्भमा लैजान नहुने बताएका छन् ।
उपमहासचिवमा विजयी भएपछि पत्रकारहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले विजयीलाई अहंकार र दम्भमा लैजानु नहुने र हारलाई निराशामा व्यक्त गर्न नहुने बताएका हुन् ।
जित र हारलाई एक अर्काले आत्मासात गर्नुपर्ने भन्दै उनले हारलाई सम्मान गर्ने र विजयलाई व्यावहारिक रूपमा नै पार्टीका नीति र विधिमा लैजानुपर्ने बताए ।
सबैलाई समेटेर लैजाने सके मात्रै समग्र र पूर्ण पार्टी बन्ने उनको भनाइ छ ।
माओवादीबाट आएकाहरू पनि एमालेबाट अनुमोदन हुनुभयो नि भन्ने पत्रकारहरूको प्रश्नमा उनले भने, ‘हामी हिजो माओवादी थियौं । एकतामा आएर नेकपा बन्यो । त्यसपछि नेकपा पनि टुट्यो, हामी एमाले भयौं । पृष्ठभूमिलाई हेर्ने हो भने त्यो अलग पक्ष हो, पाटो हो । सबैको जग भनेको ६ साल नै हो । त्यसका हाँगाहरू अलग-अलग थिए होला । कहिले कोही कतै कोही कतै भएर, जस्तो माले बन्दा २६ देखि ३२ वटा समूह मिलेर बन्यो । त्यसपछि एमाले बन्दा मार्क्सवादी र माले बन्यो । त्यसपछि विभिन्न हाँगाहरू समाहित हुन्छ ।’
उनले यस विषयमा थप उदाहरण दिँदै भने, ‘म कर्णालीको मान्छे । यसो जाँदा कर्णालीको तल पुल मुनि धेरै भंगलाहरू छन् । कोठियाघाटमा गएर एउटै मिल्छ के त्यो । हो त्यस्तै हो । त्यसरी बुझौं । अहिले हाम्रो मूल प्रवाह एमाले नै हो । म एमाले नै हुँ । एमालेकै विजयी हो ।’
प्रतिक्रिया 4