४ पुस, विराटनगर । नेकपा एमालेका नेता टीकाराम पुरीले पार्टी परित्यागको घोषणा गरेका छन् ।
एमाले कोशी प्रदेश कमिटीका सल्लाहकार रहेका पुरी केपी शर्मा ओली निकट थिए । उनले बिहीबार पार्टी छाडेको घोषणा गरेका हुन् । बिहीबार नै केपी शर्मा ओली तेस्रो कार्यकालका लागि एमाले अध्यक्ष निर्वाचित भएका थिए ।
२०३९ सालदेखि कम्युनिस्ट आन्दोलनमा रहेका पुरी पछिल्लो सयय राजनीतिक नेतृत्वको आलोचना गर्थे । दलका नेताले राजनीतिलाई पेसा बनाएका कारण भ्रष्टाचार मौलाएको दाबी गर्दै उनले राजनीतिमा लागेका मानिस उत्पादनमूलक पेसा व्यवसायमा जोडिनुपर्ने बहस चलाइरहेका थिए ।
विराटनगर–५ निवासी पुरीले एमाले कोशी प्रदेश कमिटीका अध्यक्षलाई सम्बोधन गर्दै आफ्नो राजीनामा बुझाएका हुन् । २०३९ सालमा तत्कालिन मालेमा जोडिएका उनले २०४७ सालमा नेकपा एमालेको सक्रिय सदस्यता लिएका थिए ।
‘पार्टीमा धरै वर्ष लागेर योगदान गरियो, एमालेले अहिलेको अवस्थामा अहिलेकै शैली र ढंगले देशमा परिवर्तन गर्नसक्छ भन्ने विश्वास रहेन,’ उनले भने, ‘ गुम्सिएर बस्न सकिएन, पत्यिाग गरेँ, अब नयाँ ढंगले अगाडि बढ्न सकिन्छ ।’
पुरी निजी तथा संस्थागत विद्यालयहरूको छाता संगठन प्याब्सनको पूर्वकेन्द्रीय अध्यक्ष हुन् ।
राजधानी बाहिरबाट पहिलो अध्यक्ष बनेका पुरी विराटनगस्थित एभरेष्ट स्कुलका सञ्चालक हुन् । उनको ‘खाली खुट्टा’ पुस्तक पनि प्रकाशित छ ।
प्रतिक्रिया 4