News Summary
Generated by OK AI. Editorially reviewed.- २७ वर्षीया प्रकृति ढकालले नेपालका १४ बढी जिल्लामा 'संवाद यात्रा' गर्दै सामाजिक-राजनीतिक अवस्था र जनमानसमा परेको प्रभाव अध्ययन गरिन्।
- प्रकृतिले भनेकी छिन्, 'भदौ बिद्रोहलाई सम्बोधन गर्न र बलिदान खेर जान नदिन भ्रष्टाचाररहित सुशासन स्थापना एक मात्र बाटो हो।'
- उनले विदेशमा रहेका नेपालीले मतदान गर्न पाउनुपर्ने संवैधानिक अधिकारका लागि निर्वाचन आयोगसँग पटक पटक बैठक बसेको बताइन्।
५ पुस, लन्डन । ‘नाताभन्दा क्षमता, परम्पराभन्दा पारदर्शिता र अहिले नै जवाफदेहिता’ भन्ने मान्यता बोकेर काठमाडौं केन्द्रित राजनीतिबाट बाहिर परेका आवाजहरूको अभिलेखीकरणमा जुटिरहेकी २७ वर्षीया प्रकृति ढकालले पछिल्लो एक महिनाभित्र ‘संवाद यात्रा’ को नेतृत्व गर्दै नेपालका १४ बढी जिल्ला (पहिलो खण्ड चितवनदेखि कर्णालीसम्म) यात्रा गरिन्।
भदौ विद्रोहपछिको बदलिएको सामाजिक-राजनीतिक अवस्था र त्यसले आम जनमानसमा पारेको प्रभाव अध्ययन गर्नु यात्राको उद्देश्य थियो ।
यस क्रममा उनले प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुख, नगर प्रमुख तथा स्थानीय समुदायका सदस्यहरूसँग संवाद गरेकी थिइन् ।
बेलायत सरकारको पूर्ण छात्रवृत्ति कार्यक्रम चिभनिङ स्कलरका रुपमा लन्डन स्कूल अफ इकनमिक्सबाट ग्लोबल हेल्थ पोलिसीमा एमएस्सी गरेकी उनी ग्रयाजुएसनका लागि यतिखेर लन्डनमा छिन् ।
जनताका कुरा सुन्दै, समस्या बुझ्दै र उनीहरुलाई राजनीतिक चेतसंग जोड्दै देश परिवर्तन गर्ने सपना बोकेर नेपालको ग्रासरुट समाइरहेकी यूके ग्रयाजुएट्स ढकालले बिहीबार बेलायती नेपाली डायष्पोरासंग आफ्नो अनुभव र उद्देश्य सुनाइन् ।
‘काठमाडौं बाहिरका ‘नदेखाइएका’ र ‘नभनिएका’ कथाहरू सङ्कलन गरी राष्ट्रियस्तरमा उजागर गर्ने, ती आवाजहरूलाई सामाजिक सञ्जालमार्फत देशभर साझा गर्ने, जागेको जेन-जी पुस्ता र अघिल्लो पुस्ताबीचको सोच, अनुभव र भविष्यको दृष्टिकोण बुझ्ने प्रयास गर्ने एवं स्थानीय समुदाय र नीति-निर्माताबीच संवादको पुल निर्माण गर्ने मेरो अभिष्ट हो’,उनले भनिन् ।
‘संवाद यात्रा’ को नेतृत्व गर्दै नेपालका १४ बढी जिल्ला पुग्दा उनले नेपालको वास्तविक चित्रसमेत देखेको बताइन् ।
‘जेनजी आन्दोलनपछि मानिसहरुमा केही हदमा परिवर्तनको आशा र राजनीतिक चेतना बढेको पाएं’, उनले सुनाइन्, ‘जस्तो कर्णालीका युवामा काठमाडौंभन्दा कम रहेनछ राजनीतिक चेतना । परम्परागत दलबाट परिवर्तन नभएपछि युवा पुस्ता वैकल्पिक शक्ति हुने धेरैको अपेक्षा रहेछ । चुनाव भएमा परिवर्तन हुने आशा धेरैमा छ ।’
उनले देशको आमुल परिवर्तन (रेडिकल चेन्ज) एक वा दुई व्यक्तिले भन्दा एउटा फोर्स नै आवश्यक रहेकाले आफूहरु त्यसमा लागेको बताइन् ।
‘मलाई लाग्छ जेनजी आन्दोलन आफू नेता बन्न होइन, परिवर्तनका लागि भएको हो । हामी अब चाहन्छौं नयां सोच, दिमाग र इच्छाशक्ति भएका व्यक्ति जसले देशको मुहार फेरोस्’, उनले भनिन् ‘त्यो जेनजी विद्रोह कुनै वाद वा तन्त्रको लागि थिएन। त्यो भ्रष्टाचारले बन्धक बनाएको हाम्रो तन, मन र आत्माको पुनरजागरणको लागि थियो, र हाम्रो भविष्य फिर्ता लिने लडाइँ थियो। भदौ बिद्रोहलाई सम्बोधन गर्न र बलिदान खेर जान नदिन एउटा मात्र बाटो छ- भ्रष्टाचाररहित सुशासन स्थापना ।’
प्रकृतिले म वा हामी भन्दा पनि राम्रो मान्छे आउनुपर्छ भन्ने सोच आफ्नो रहेको पनि बताइन् । ‘अबको चुनावमा राम्रो मान्छेले जितोस् भन्ने हो । हामीलाई पद चाहिने होइन्, देशको अजेण्डा माथि राख्ने व्यक्ति आओस्’- उनको धारणा थियो ।
उनले विदेशमा रहेका नेपालीले मतदान गर्न पाउनुपर्छ भनेर निर्वाचन आयोगका पदाधिकारीहरुसंग पटक पटक बैठक बसेको बताउंदै यो संवैधानिक अधिकार भएकाले यसैपटक व्यवस्था गरिनु पर्नेमा जोड दिइन् । ‘तपाईंहरु पनि आफ्नो हक अधिकारका लागि लड्नु पर्छ’, उनले डायष्पोरामाझ सुझाइन् ।
विदेशमा रहेका नेपालीबाट रेमिटेन्समात्र होइन, ज्ञान, सीप र उर्जासमेत जोडेपछि देशमा परिवर्तन ल्याउन सकिने उनको विश्वास छ ।
चितवनमा जन्मिएकी ढकालले गण्डकी मेडिकल कलेजबाट मेडिकल इमेजिङ टेक्नोलोजीमा एमएससी र किङ्स् कलेज नेपालबाट नन प्रफिट एमबीए डिग्री हासिल गरिन् । उनले अक्सफोर्ड विश्वविद्यालयबाट सिस्टम्स् थिंकिङ सम्बन्धी तालिम पनि लिएकी छन्।
पोखरा रिसर्च सेन्टरमा झन्डै चार वर्ष प्रोगाम अफिसर को रुपमा काम गरेकी प्रकृति अहिले युनाइटेड फर इम्प्याक्टकी कार्यकारी निर्देशक तथा आइएनल्याबकी ग्लोबल हेल्थ पोलिसी लिड पनि हुन्।
कार्यक्रममा एनआरएनए यूके अध्यक्ष राजेन्द्र पुडासैनी ले नेताहरुमा त्याग, बलिदान र समर्पण भएपनि देश र जनताप्रति जिम्मेवार नबन्दा जेनजी आन्दोलन भएको धारणा राखे । ‘देशमा सुशासन, भष्ट्राचार अन्त्य, हाम्रो भविष्यमाथि नखेल, काम देऊ भनेर नै युवाहरु आन्दोलनमा होमिएका हुन्’, उनले भने, ‘युवाको पहल प्रशंसनीय छ तर राजनीतिक शक्ति बनाउन मेकानिजम, फिलोसपी र सजगता पनि हुनुपर्छ ।’
वरिष्ठ पत्रकार भगिरथ योगीले सञ्चालन गरेको उक्त अन्तरक्रियामा स्वास्थ्य सेवा व्यवस्थापन विज्ञ डा। बच्चु कैलाश कैनी, लेक्चरर डा. जगन कार्की लगायतले विभिन्न सुझाव दिंदै बेलायतमा रहेका नेपालीले नेपालकै हितमा काम गरिरहेको बताएका थिए । सो अवसरमा विभिन्न मिडियाका सञ्चारकर्मीहरुले जिज्ञासा राखेका थिए ।
प्रतिक्रिया 4