News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल बास्केटबल संघले पुस ७ देखि १२ गतेसम्म काठमाडौंको बौद्धमा लिनिङ बास्केटबल प्रतियोगिता आयोजना गर्ने जनाएको छ।
- प्रतियोगितामा नेपालभरका १२ टोली चार समूहमा विभाजन गरी प्रतिस्पर्धा गर्नेछन् र क्वाटरफाइनलसम्म खेल हुनेछ।
- पहिलो संस्करणको हिमालयन जाभा बास्केटबल लिगको उपाधि टाइम्स बास्केटबल क्लबले जितेको थियो र यस पटक छनोट प्रतियोगिताको रुपमा लिनिङ आयोजना हुँदैछ।
६ पुस, काठमाडौं । नेपाल बास्केटबल संघको आयोजनामा ‘लिनिङ बास्केटबल प्रतियोगिता’ सोमबारदेखि काठमाडौंको बौद्धमा सुरु हुने भएको छ ।
संघले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता पुस ७ देखि १२ गते (डिसेम्बर २२ देखि २७) सम्म डंकमान्डु, बौद्धमा आयोजना हुने जानकारी दिएको हो ।
हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल)को छनोट प्रतियोगिताको रुपमा समेत रहेको यस प्रतियोगितामा नेपालभरबाट कूल १२ टिमको सहभागिता रहने संघका उपाध्यक्ष प्रविन थापाले जानकारी दिए ।
सहभागी १२ टोलीलाई चार समूहमा विभाजन गरेर आइतबार टाईसिट ड्र समेत गरिएको छ । हरेक समूहमा तीन-तीन टोली छन् ।
समूह ए मा त्रिभुवन आर्मी क्लब, आईएसए र तरहरा छन् । यस्तै समूह बी मा रोएल बास्केटबल क्लब, बिएमके र गण्डकी छन् । यसैगगरी चाणक्य बास्केटबल क्लब, सोलो बास्केटबल र बौद्ध बास्केटबल क्लब समूह सी मा छन् भने प्लेबक्स एरेना, बौद्ध पिपलबवट क्लब र शंकरदेव क्लब समूह डीमा छन् ।
समूह चरणको खेलपछि चारै समूहका शीर्ष दुई टोली क्वाटरफाइनलमा प्रवेश गर्नेछन् । क्वाटरफाइनलका समूह ए को विजेताले समूह सी को उपविजेतासँग खेल्नेछ भने समूह बी को विजेताले समूह डी को उपविजेतासँग खेल्नेछ । यस्तै समूह सी को विजेताले समूह ए को उपविजेतासँग तथा समूह डी को विजेताले समूह बी को उपविजेतासँग खेल्नेछ ।
प्रतियोगिताको सुरुवाती तीन दिन लिग चरणका खेलहरु हुने आयोजकले जनाएको छ । युते चौथो दिन क्वाटरफाइनलका खेलहरु हुनेछन् भने पुस ११ गते सेमिफाइनल र पुष १२ गते फाइनल खेल हुनेछ ।
असारमा पहिलो पटक भएको एचजेबीएलको उपाधि टाइम्स बास्केटबल क्लबले जितेको थियो ।
टाइम्ससँगै उपविजेता गोल्डेनगेट, तेस्रो भएको हाउण्ड्स र चौथो भएको कीर्तिपुरले भने अब हुने एचजेबीएलमा स्थान पक्का गरिसकेका छन् ।
पहिलो संस्करणमा पूछारमा रहेका दुई टोली रोएल र सामाखुशीले भने यस पटक छनोट प्रतियोगिताको रुपमा रहेको लिनिङ बास्केटबल प्रतियोगिता खेल्ने भएको हो ।
प्रतिक्रिया 4