News Summary
Generated by OK AI. Editorially reviewed.- इन्टरनेशनल नेपाली फिल्म फेस्टिभल एण्ड अवार्ड्सले पहिलो संस्करणको महोत्सव सन् २०२६ फेब्रुअरी १ देखि ३ सम्म नयाँ दिल्लीमा आयोजना गर्ने घोषणा गरेको छ।
- प्रतियोगिताका लागि सन् २०२५ मा प्रदर्शन भएका नेपाली फिचर फिल्महरूबाट आवेदन माग गरिएको छ र आवेदन दिने अन्तिम मिति २०२६ जनवरी ७ तोकिएको छ।
- महोत्सवमा उत्कृष्ट फिचर फिल्म, निर्देशन, कलाकार तथा प्राविधिक विधामा अवार्ड प्रदान गरिनेछ र फिल्म प्रदर्शन, प्यानल छलफल, टक शो तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिनेछन्।
७ पुस, काठमाडौं । नेपाली चलचित्रको प्रवर्द्धन र सम्मानका लागि स्थापना गरिएको इन्टरनेशनल नेपाली फिल्म फेस्टिभल एण्ड अवार्ड्स (आईएनएफएफए) ले पहिलो संस्करणको फिल्म महोत्सव तथा अवार्ड कार्यक्रम सन् २०२६ फेब्रुअरी १ देखि ३ सम्म भारतको नयाँ दिल्लीमा आयोजना गर्ने घोषणा गरेको छ।
आईएनएफएफएको उद्देश्य अन्तर्राष्ट्रिय दर्शकमाझ नेपाली चलचित्रको प्रचार गर्नु र फिल्मकर्मीबीच सहकार्य तथा व्यवसायिक सम्बन्ध विस्तार गर्नु हो।
प्रतियोगिताका लागि सन् २०२५ मा प्रदर्शन भएका नेपाली फिचर फिल्महरूबाट आवेदन माग गरिएको छ। आवेदन दिने अन्तिम मिति २०२६ जनवरी ७ तोकिएको छ।
महोत्सवमा उत्कृष्ट फिचर फिल्म, निर्देशन, कलाकार तथा प्राविधिक विधामा अवार्ड प्रदान गरिनेछ। साथै फिल्म प्रदर्शन, प्रिमियर शो, प्यानल छलफल, टक शो र सांस्कृतिक कार्यक्रमहरू पनि आयोजना हुनेछन्।
फेस्टिभलको प्रमुख जुरीमा अभिनेता कृष्ण मल्ल रहनेछन्। जुरी सदस्यमा निर्देशक तुलसी घिमिरे, अभिनेता सुनिल थापा, अभिनेत्री बिपना थापा र भारतीय थिएटर कलाकार अभतार शाहनी छन्।
आईएनएफएफएका अध्यक्ष राजेन्द्र घिमिरेले यो कार्यक्रम नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने महत्वपूर्ण अवसर हुने बताए।
महोत्सव निर्देशक (नेपाल) जनकदीप पराजुलीका अनुसार यस कार्यक्रमले नेपाल-भारत सांस्कृतिक सम्बन्ध मजबुत बनाउनुका साथै भारतस्थित नेपाली समुदायमा नेपाली चलचित्रको पहुँच बढाउनेछ।
आईएनएफएफएकी प्रवक्ता आकांक्षा शाहले फिल्म प्रदर्शनसँगै नेपाललाई छायांकन गन्तव्यका रूपमा प्रवर्द्धन गर्न र संयुक्त निर्माणका सम्भावनाबारे छलफल गरिने जानकारी दिइन्।
महोत्सवले भारतमा रहेका नेपाली भाषी दर्शक र फिल्मकर्मीलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया 4