News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच वैकल्पिक दुई शक्ति मिल्ने सहमति भएको छ।
- रास्वपा केन्द्रीय सदस्य असिम शाहले रवि र बालेनबीच पाँच घण्टा लामो संवाद गराएर भेटवार्ता मिलाएका थिए।
- दुवै पक्षले भेटघाटलाई आइस ब्रेक भनेका छन् र शीघ्र अर्को वार्ता गरी सहकार्यको टुंगो लगाउने तयारीमा छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच सोमबार राति भएको भेटवार्ताले राजनीति तरंगित भएको छ । भेटमा वैकल्पिक दुई शक्ति मिलेर जानेमा दुवै पक्ष सहमत भएका छन् ।
रवि र बालेनलाई भेटको तारतम्य मिलाउने कार्यमा सक्रिय भएका थिए, रास्वपा केन्द्रीय सदस्य असिम शाह । बालेन काठमाडौंको मेयर हुनु अघिदेखि नै सहकार्य गर्दै आएका असिमले नै भेटको चाँजोपाँचो मिलाएका थिए ।
सोमबार पाँच घण्टा बढी उनै असिमको कार्यालयमा रवि र बालेनले संवाद गरेका थिए । रवि र बालेन मिलाउन सक्रियता लिएका असिमसँग हिजोको भेटबारे अनलाइनखबरकर्मी लिलु डुम्रेले गरेको कुराकानीः
तपाईंको समन्वयमा रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरका मेयर बालेन शाहबीच लामो संवाद भयो । यो आधार कसरी बन्यो ?
तपाईंसँग केही दिनअघि कुरा हुँदा पनि एउटा संकेत दिएकै थिएँ । भेटको बारेमा धेरै कुरा बाहिर आइसकेको पनि छ । हिजोको भेटलाई अलि अगाडि फर्केर हेर्नुपर्छ । दुई पात्र आसिफ शाह र बालेन शाहको विगतदेखिको सम्बन्ध नियाल्नुपर्ने हुन्छ ।
दाइ आसिफ र म चलचित्र क्षेत्रमा काम गरिरहेको थियौं । कलाकारितामा रुचि भएकोले बालेन र मेरो दाइ आसिफको सम्बन्ध धेरै नजिक भएको हो । बालेनजीलाई रेकर्डिङ स्टुडियोमा भेट भइराख्थ्यो । कुमार बेनसँग फिल्म क्षेत्रकै काममा नजिक भएका थियौं । फिल्म र गीतमा एक आपसमा सरसल्लाह गर्थ्यौं ।
काठमाडौंको मेयरमा बालेन उम्मेदवार भएपछि हामीले फुल सपोर्ट गर्यौं । उहाँले जित्नुभयो । हाम्रो सहयोगले पनि काम गर्यो । रवि दाइ पनि मेयरमा उठ्ने कि भन्ने सोचमा हुनुहुन्थ्यो । तर उठ्नु भएन ।
उहाँले २०७९ असारमा पार्टी खोल्नुभयो । मलाई पहिले राजनीतिमा जाने इच्छा थिएन । बालेन शाहलाई मेयरमा हामीले गरेको सहयोग रवि दाइले नियालिरहनुभएको रहेछ । तिमीहरू मलाई चाहिन्छ भन्ने पनि रवि दाइलाई भयो होला ।
रवि दाइले पहिले मेरा दाइ आसिफसँग कुरा गर्नुभयो । राजनीतिमा आउन उहाँले आग्रह गरेपछि दाइले आफूलाई राजनीतिमा रुचि छैन भन्नुभयो । राजनीतिप्रति रुचि भाइलाई छ भनेर मेरो नाम लिनुभयो । बालेन र कुमार बेनसँग सल्लाह गरेर नै म राजनीतिमा आएको हो । उहाँहरूसँग बीचमा कुराकानी भइरहेको थियो ।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले अवस्था पहिलेको जस्तो रहेन । मैले सांसद पदबाट राजीनामा घोषणा गरें । रवि दाइले पनि अपिल जारी गर्नुभयो । रास्वपाका सबै सांसदले राजीनामा गर्नुभयो ।
पार्टीले वैकल्पिक शक्तिहरूसँग संवाद गर्न समिति पनि गठन गरेको थियो । कुलमान, कुमार बेन लगायतसँग छलफल भएका समाचारहरू आइरहेकै थिए । कुमार बेनसँग कुरा भएको विषय लिक हुन थाल्यो । समाचार आउन थाले । हामी मिल्ने हो भने संवादका कुरामा गोपनीयता अपनाउनुपर्छ भन्ने लाग्यो । रास्वपाका नेताहरू र कुमार बेनको भेटबारे अनलाइनखबरमा समाचार आइरहेको थियो ।
रास्वपा र बालेन मिलाउनका लागि म सक्रिय भएँ । बालेनसँग कुरा गर्न हामीलाई समस्या थिएन । रवि दाइसँग पनि नियमित कुरा भइराखेको थियो । रवि दाइलाई रेगुलर अपडेट गरिरहेका थियौं । मिडियामा कहीँ कतै ल्याएनौं । दुई जनाको भेटलाई अलि अघि र बेग्लै तरिकाले गराउने योजना पनि बनाएका थियौं ।
रवि दाइ अदालत जाने बेला भेट गराउने कि भन्ने पनि थियो । फोनबाट नै कुरा गराउने कि भन्ने पनि भयो । त्यो पनि भएन । त्यही बेला बालेनका बुबाको निधन भयो । भेट झन् सर्ने अवस्था बन्यो । अदालतले कस्तो आदेश देला भन्ने पनि भयो ।
रवि दाइलाई रिहा गर्न अदालतले आदेश दिएपछि सहज अवस्था भयो । भेट्ने टुंगो लाग्यो । भेटका लागि उपयुक्त स्थानबारे कुरा भए । रवि दाइ र बालेन दुवैलाई आउन मेरो कार्यालय सहज भयो । राडारमा नपरेको ठाउँ पनि भयो । चुनावको लागि मिल्ने होइन, एउटा जेनेरेसनका लागि मिल्ने कुरा हो । दुई जना एकका लागि अर्को सहज नभए त अघि बढ्न सकिन्न नि । एक अर्कामा विश्वासको वातावारण बनाउन पहिले त भेट हुनुपर्छ नि ।
रवि दाइ गृहमन्त्री हुँदा एकपटक बालेनको भेट भएको थियो । त्यतिबेला गृहमन्त्री रवि र काठमाडौंका मेयर बालेनका रूपमा भेट भएको थियो । हिजोको भेट व्यक्ति-व्यक्तिको पनि हो । रविप्रति बालेनको बुझाइ र बालेनप्रति रविको बुझाइ कस्तो छ भन्ने त व्यक्तिगत रूपमा भेटघाट भएपछि थाहा हुन्छ नि । उहाँहरूले दुवैलाई एक अर्काप्रति मान्छे नै फरक रहेछ भन्ने भयो । पहिले नै भेट गर्नुपर्ने मान्छे रहेछौं भन्नुभयो ।
सहकार्य गरेर कसरी अघि बढ्ने भन्ने बारेमा के-के कुरा भए ? मोटा–मोटी केही तय पक्कै भएको होला नि ?
मिलेर जाने र वैकल्पिक शक्ति एक ठाउँमा आउने कुरा नै हो । बीचमा उहाँहरू दुई जना मात्रै पनि कुरा गर्नुभएको हो । उहाँहरू दुई जनाले गरेको कुरा हामीलाई भन्ने कुरा भएन । प्रधानमन्त्री बालेनलाई बनाउने कुरा न्युजमा आएका छन् । पार्टी सभापति रवि दाइलाई कानुनी समस्या रहे प्रधानमन्त्रीमा सार्ने त बालेन नै हो नि ।
नयाँ शक्तिहरू मिल्दै गर्दा कुलमान घिसिङलाई जोड्ने पनि पक्कै कुरा भयो होला ?
हिजोको भेटमा कुलमानको विषय प्रवेश नै गराइएको छैन । रवि-बालेन मिलेपछि बाँकी सबै आफैं मिल्दै आइहाल्नुहुन्छ नि । कुलमानलाई भेट गराउने मेरो च्याप्टरको कुरा पनि होइन । कुलमानसँग पनि रवि दाइको कुरा होला । मैले जिम्मेवारी बोध गरेर भेटका लागि सक्रियता लिएको हुँ । आइस ब्रेक भएको छ । अब भेटिराख्नका लागि बाटो खुला भएको छ । मैले कथाको सुखद सुरुवात देखेको कारण नै त्यही हो ।
दुई शक्ति मिलेको औपचारिक घोषणा हुन कति समय लाग्ला ?
आइसब्रेक भएको छ । भेटिराखौं भन्नेमा दुवै जना हुनुहुन्छ । मिलेर जानुपर्छ भन्नेमा सहमत हुनुहुन्छ । प्रधानमन्त्रीको कुरा पनि आएको छ । एक अर्कासँग सहज महसुस गरेपछि जसरी जाँदा पनि भयो भन्ने कुरा हो । शीघ्र अर्को वार्ता होस् । छिटो टुंगोमा पुगोस् भन्ने त हो हामीलाई । अब एउटा आधार बनिसक्यो ।
आइस ब्रेक गराउने जिम्मा मेरो थियो । त्यो भयो । अब त जुनबेला कुरा गरे पनि भयो । एकचोटी भेटाइदिने काम मेरो थियो । तपाईंले सोचेको बालेन र तपाईंले सोचेको रवि यस्तो होइन है भनेर एक ठाउँमा राखेर कुरा गराउने काम त भयो नि ।
प्रतिक्रिया 4