+
+
Shares

राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम : होलिस्टिन र जर्सी गाई खोजी

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ८ गते १८:४५

८ पुस, चितवन । चितवनको रामपुरमा रहेको राष्ट्रिय गाई अनुसन्धान कार्यक्रमले नेपालमा पाइने होलिस्टिन र जर्सी जातका उन्नत गाईको खोजी अनुसन्धान गरिरहेको छ ।

नेपालमा होलिस्टिन र जर्सी जातका गाई ल्याएर पाल्ने चलन सुरु भएको दशकौं भए पनि ती जात भित्रका पनि उन्नत र राम्रा गाईहरूलाई छनोट गर्ने हिसाबले अनुसन्धान सुरु गरिएको हो ।

कार्यालयका प्रमुख देवीप्रसाद अधिकारीले लामो समयसम्म नेपालमा व्यावसायिक रूपमा पालिएका होलिस्टिन र जर्सी गाईहरू नेपालको हावापानीमा अभ्यस्त पनि भएकोले ती जातका गाईहरूबाट पनि उत्कृष्ट गाई र तिनका बाच्छाबाच्छीहरू छनोटका लागि अनुसन्धानको कार्य अगाडि बढेको बताए ।

पछिल्लो ३ वर्ष यता चितवन, नवलपरासी, मकवानपुर, बारा लगायतका जिल्लामा व्यावसायिक रूपमा गाई पाल्ने २० जना किसान छनोट गरिएको छ । ती फार्ममा रहेका गाईहरूले बिहान बेलुका दिने दूध, दूधको गुणस्तर, बाच्चाबाच्छीको अवस्था, शारीरिक बनावट, शरीरको तौल जस्ता विषयमा रेकर्ड राख्ने गरिएको छ ।

यो अनुसन्धानमा व्यावसायिक किसानलाई प्रत्यक्ष रूपमा जोडिएको छ । किसानहरूले हरेक दिन यस्ता गाईहरूको विवरणको रेकर्ड राख्नेछन् ।

‘दूध धेरै दिने तर विभिन्न समस्या झेलेका गाईहरू प्राथमिकतामा पर्ने भन्ने हुँदैन, हामीले एउटा प्यारामिटर बनाएका छौं, त्यसमा नम्बरिङ गरेपछि औसतमा सबैभन्दा धेरै अंक ल्याउने गाई छनोट गर्छौं, गाई कति दिनमा ब्यायो, कति दिनमा साँढे खोज्यो जस्ता सबै विषयको तथ्यांक लिने गरिन्छ,’ अधिकारीले भने, ‘समग्रतामा उत्कृष्ट हुने गाईका बाच्छालाई ब्रिडको रूपमा र बाच्छीलाई अन्यत्र पनि प्रसार गर्ने गरेर छनोट गर्छौं ।’

सरकारले चालु आर्थिक वर्षमा अनुसन्धानका लागि ११ लाख रकम विनियोजन गरेको छ । सधैं विदेशबाट मात्रै गाई ल्याउने भन्दा पनि देशभित्र किसानसँग रहेका उत्कृष्ट गाईलाई माटो र भूगोल अनुसार प्रसार गर्ने उद्देश्य अनुसन्धानको रहेको अधिकारीले जानकारी दिए ।

डा. उद्धव पनेरु नेतृत्वको टोलीले अनुसन्धान गरिरहेको छ । ५ वर्षसम्म चल्ने अनुसन्धानको ३ वर्ष बितिसकेको छ । बजेटको अभावमा धेरै गाईलाई छनोट गरेर अनुसन्धानलाई अझै बिस्तार गर्न नसकिएको कार्यक्रम प्रमुख अधिकारीले बताए ।

गाईको बहुआयामिक प्यारामिटरमा हेर्नुपर्ने र डाटा राख्नुपर्ने भएकोले बजेट अनुसार गाईको संख्या घटाइएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?