+
+
Shares

२१ फागुनमै चुनाव हुन्छ, कत्ति पनि शंका नगर्नुस् : अर्थमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ९ गते १८:१७
फाइल तस्वीर

९ पुस, विराटनगर । अर्थमन्त्री रामेश्वर खनालले २१ फागुनमा नै निर्वाचन हुने दाबी गरेका छन् ।

विराटनगरको आर्थिक र व्यापारिक गतिविधिमा नयाँ ऊर्जा भर्ने उद्देश्यका साथ मोरङ उद्योग व्यापार संघको आयोजना गरेको ‘विराट ट्रेड एक्स्पो २०२५’ को उद्घाटन गर्दै उनले निर्वाचन हुनेमा शंका नगर्न दलहरूलाई आग्रह गरेका हुन् ।

‘बरु हाम्रा छिमेकी दुइटा मुलुकका उच्च स्तरका अधिकृतहरूले आशंका गर्दैनन्, मैले उहाँहरूसँग प्रत्यक्ष वार्ता गर्दाखेरि तोकिएकै मितिमा चुनाव हुनेमा विश्वस्त हुनुहुन्छ,’ उनले भने,‘ हाम्रो यहाँ आन्तरिक रूपमा आशंका गर्छन् । तर मलाई खुसी के लाग्छ भने आशंका र हल्ला चाहिँ हामीकहाँ सत्य हुँदैनन् । २३ भदौमा त्यस्तो होला भनेर कसैले हल्ला फैलाएको थियो, हल्ला नफैलिएको घटना घट्यो । २४ भदौको २ बजे सरकार ढल्ला भनेर कसैले हल्ला फैलाएको थियो ५ महिनाअघि । यो अहिले हल्ला फैलाएको हुनाले, हुँदैन कि भनेको हुनाले २१ फागुनमै चुनाव हुन्छ, कत्ति पनि शंका नगर्नुस् ।’

२१ फागुनको निर्वाचनका लागि आन्तरिक तयारी र अन्तर्राष्ट्रिय सहयोग एवं समर्थन जुटिसकेको उनको भनाइ छ ।

अर्थमन्त्री खनालले संघीयताको वास्तविक कार्यान्वयनका लागि सिंहदरबारमा केन्द्रित शक्ति र अधिकारलाई प्रदेश र स्थानीय तहसम्मै पुर्‍याउनुपर्ने बताए ।

खनालले संघीय मामिला मन्त्रालयले कर्मचारी र शक्ति केन्द्रमै राख्न खोज्नु संघीयताको मर्मविपरीत भएको बताए ।

‘सफल संघीयता भएका मुलुकहरूमा संघीय मन्त्रीहरू आफैँ मेयर वा प्रदेश मन्त्रीहरूकहाँ पुग्छन्,’ उनले भने, ‘हामीकहाँ भने अधिकार केन्द्रमै राख्ने प्रवृत्ति छ । अब कर्मचारीलाई संघीय मन्त्रालयले एकमुष्ट प्रदेशमा पठाउने र प्रदेशले स्थानीय तहमा खटाउने व्यवस्था हुनुपर्छ।’

‘असल संघीय व्यवस्था भएका मुलुकमा त्यस्तै हुन्छ । संघीय मन्त्रीले ज्ञापन पत्र बुझाउनलाई मेयर कहाँ र प्रदेश अथवा स्टेटका मन्त्रीहरूकहाँ जानुपर्छ,’ उनले भने, ‘डेनमार्कमा मैले देख्या छु । संघीय सरकारका मन्त्रीहरूले नगरपालिकाले राजस्वको शेयर पर्याप्त हामीलाई दिएनौ, तिमीहरूले दिनुपर्‍यो भनेर ज्ञापन पत्र बुझाउन जान्छन् ।’

१९ पुससम्म सञ्चालन हुने एक्स्पोमा घरेलु, साना, मझौला तथा ठूला उद्योगका उत्पादनहरू प्रदर्शनीमा राखिएका छन् । एक्स्पोमा जम्मा २३० वटा स्टलहरू रहेका छन् । प्रदर्शनीमा कृषिजन्य वस्तु, औद्योगिक सामग्री, शिक्षा, स्वास्थ्य, सूचना प्रविधि, पर्यटन र सेवा क्षेत्रसँग सम्बन्धित सामग्रीहरूको स्टल राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?