१० पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रतिनिधि सभा निर्वाचनमा समानुपातिक तर्फको उम्मेदवारका लागि आकांक्षीहरूले घरदैलो प्रचार गरेका छन् ।
उम्मेदवार छनोट विधिअन्तर्गत मतदाताको घरदैलोमा प्रचारमा निस्केका उनीहरूले देशभर खटिएका थिए । समानुपातिक उम्मेदवारका लागि आवेदन पेस गरेकै प्रदेशका विभिन्न स्थानमा आकांक्षीहरूलाई घरदैलोमा खटाइएको थियो ।
सोमबार र मंगलबार घरदैलो प्रचारका लागि उनीहरू मतदाताको घर घरमा पुगेका थिए । एकजना आकांक्षीसँग पाँच जनाभन्दा बढीको टोली बनाएर वडा वडामा खटाइएको थियो ।
जिल्ला समितिसँग समन्वय गरेर आकांक्षीहरू प्रचारका लागि वडामा खटिएको घरदैलो गर्ने नेताहरूले जानकारी गराएका छन् । रास्वपाले ४ पुसमा सार्वजनिक गरेको प्रारम्भिक सूचीमा ३५३ जनाको नाम थियो । सहमहामन्त्री विपीन आचार्यका अनुसार, आज थप नामसहित सूची प्रकाशित गरिने भएको छ ।

समानुपातिक उम्मेदवार हुन इच्छुकहरूमा केन्द्रीय नेताहरूमा सहमहामन्त्री विपिन आचार्य, कोषाध्यक्ष लिमा अधिकारी, सहप्रवक्ताद्धय प्रतिभा रावल र रमेश प्रसाईंसहित अरनिको पाँडे, क्रान्तिशिखा धिताल, मेघ आले, विजय जैरु, टीका संग्रौला, खुश्बु सरकार श्रेष्ठ, नन्दन यादव, इश्रा मुल्ला मिया, कुसुम महर्जन, एलिजा गुरुङ, प्रमिला कुलुजु निशा मेहता लगायत छन् । विवेकशील साझाबाट रास्वपा आएका, समीक्षा बाँस्कोटा, प्रकाशचन्द्र परियार र रञ्जु दर्शना पनि समानुपातिकका आकांक्षी छन् ।

पूर्वसञ्चारकर्मी प्रमोद न्यौपान, नेपाली कांग्रेस चितवनका पूर्वनेता जगन्नाथ पौडेल, वैदेशिक रोजगारबाट फर्केर रास्वपाका राजनीतिमा सक्रिय यमप्रसाद श्रेष्ठ, प्रदीप तिमिल्सेना (साजन), दीपक विश्वकर्मा लगायतले समानुपातिक उम्मेदवार हुने प्रारम्भिक सूचीमा छन् । उपनिर्वाचनमा इलाममा पराजित मिलन लिम्बु पनि समानुपातिक उम्मेदवार हुन रुची देखाएका छन् ।
दलहरूले समानुपातिकको बन्दसूची बुझाउँदा समावेशिताका लागि दलित, आदिवासी, खसआर्य, मधेसी, थारू र मुस्लिमको प्रतिनिधित्व हुने गरी बुझाउनुपर्ने हुन्छ । त्यही आधार बनाएर रास्वपाले आकांक्षीहरूको आवेदन माग गरेका थियो ।

उम्मेदवार छनोटका लागि सहमहामन्त्री आचार्यको नेतृत्वमा विधि बनाइएको छ । त्यसअन्तर्गत रहेर बिहीबार आकांक्षी उम्मेदवारले ब्लुप्रिन्ट प्रस्तुत गर्ने कार्यतालिका राखिएको छ । आवेदकहरूले ‘आकस्मिक शून्य समय’ को प्रस्तुति पनि गर्नुपर्ने हुन्छ । समानुपातिक उम्मेदवारका लागि आवेदन दिएकाहरू काठमाडौं आइसकेको सहमहामन्त्री आचार्यले जानकारी गराए ।
आगामी आइतबार र सोमबारका लागि देशभित्र र बाहिर रहेका रास्वपाका सदस्यहरूले आकांक्षीहरूलाई मोबाइल एपमार्फत मत दिन सक्ने व्यवस्था गरिएको छ । ‘संसारभर रहेका रास्वपा सदस्यले समानुपातिकतर्फ उम्मेदवार हुन चाहनेलाई मोबाइल एपमार्फत मत दिन सक्नेछन्’, सहमहामन्त्री आचार्यले अनलाइनखबरसँग भने ।


प्रतिक्रिया 4