News Summary
Generated by OK AI. Editorially reviewed.- म्यान्चेस्टर सिटीले नोटिङहम फरेस्टलाई २-१ ले हराउँदै इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा उक्लिएको छ।
- तेजानी रेन्डर्स र रायन चेर्कीले सिटीका लागि एक-एक गोल गरे भने ओमारी हचिन्सनले फरेस्टका लागि गोल गरे।
- सिटीले १८ खेलमा ४० अंक जोड्दा आर्सनल दोस्रो स्थानमा छ र आर्सनलले ब्राइटनसँग खेल्दै छ।
१२ पुस, काठमाडौं । म्यान्चेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको शीर्षस्थानमा उक्लिएको छ । शनिबार बेलुका भएको खेलमा नोटिङहम फरेस्टलाई हराउँदै सिटी शीर्षस्थानमा उक्लिएको हो ।
नोटिङहमकै मैदानमा भएको खेलमा सिटी २-१ ले विजयी भयो । सिटीको जितमा तेजानी रेन्डर्स र रायन चेर्कीले १-१ गोल गरे । फरेस्टका लागि ओमारी हचिन्सनले एक गोल गरे ।
४८औं मिनेटमा रायन चेर्कीको पासमा तेजानी रेन्डर्सले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । ५४औं मिनेटमा काउन्टर मुभ मार्फत नोटिङहमले शानदार फिनिस गर्यो । इगोर जेससको पासमा ओमारी हचिन्सनले गोल गर्दै खेल बराबरीमा ल्याए ।
८३औं मिनेटमा रायन चेर्कीले गोल गर्दै सिटीलाई पुन: अग्रता दिलाए । कर्नरबाट आएको बल क्लियर नहुँदा बक्सबाहिर चेर्कीले पाएको बल सिधै प्रहार गर्दा गोलमा परिणत भएको थियो ।
जितपछि १८ खेलमा ४० अंक भएको सिटी शीर्षमा उक्लँदा एक खेल कम खेलेर ३९ अंक भएको आर्सनल दोस्रोमा झरेको छ । फरेस्ट १८ खेलमा १८ अंकसहित १७औं स्थानमा छ ।
आजै केहीबेरमा आर्सनलले ब्राइटनसँग खेल्दै छ । उक्त खेलमा जित निकालेमा आर्सनल फेरि शीर्षमा फर्किनेछ ।
प्रतिक्रिया 4