+
+
Shares

बलिउडको करियर छाडेर नेपालमा सवारी सुरक्षासम्बन्धी समस्या समाधान गरिरहेका विजय

‘सानो आम्दानीका लागि नेपाली युवा विदेश जानु नपरोस्, देशमै परिवारसँग बसेर काम गर्न सकियोस् भनेर म देखाउन चाहन्छु’ विजय भन्छन्।

सापेक्ष सापेक्ष
२०८२ पुष १३ गते १९:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कोभिड महामारीपछि बलिउड कलाकार विजय कँडेलले नेपाल फर्केर सवारी सुरक्षा कम्पनी एटीएस नेपाल स्थापना गरेका छन्।
  • एटीएस नेपालले सवारी दुर्घटनापछि उद्धार र सम्पर्क प्रणाली सुधार्न क्यूआर कोडमार्फत सेवा प्रदान गर्छ।

… अनि उनी आफ्नै देश फर्के ।

अहिले एउटा समस्या समाधानमा लागेका छन् । सवारी सुरक्षा सम्बन्धीको । कम्पनीको नाम छ, एटीएस नेपाल । अर्थात् एट योर सर्भिस नेपाल । यो कम्पनी बनाउँदै गर्दा उनले बन्दै गरेको एउटा करियरलाई बिट मारे । र, अहिले नयाँ करियर हुर्काउन व्यस्त छन् ।

उनी हुन्, ३५ वर्षीय विजय कंडेल । एटीएस नेपालका संस्थापक । कोभिड महामारी आएको थिएन भने उनी अहिले पनि भारतमै हुन्थे । बलिउडमा भर्खर बनाउँदै गरेको फिल्मी करियरलाई थप उचाइमा पुर्‍याउन व्यस्त हुन्थे होलान् । तर कोभिड आइदियो । मनोरञ्जनका कम्पनीहरू ठप्प भए । अनि काम नभएपछि आफ्नै देश नेपाल फर्के।

बलिउडको यात्रा

गुल्मीको सिरिंगा गाउँमा जन्मेका विजयको बाल्यकाल भारतमै बितेको थियो ।

उनी जम्मा २ वर्षको हुँदा आर्थिक अवस्थाका कारण परिवार भारत छिरेको थियो । अनि त उनको पढाइ र भविष्य त्यतै बन्न लाग्यो । नयाँ दिल्लीमा बस्ने उनले त्यहाँ होटल म्यानेजमेन्ट पढे। काम पनि होटल क्षेत्रमै गरेका थिए । तर एउटा सल्लाहले उनको करियर मोडियो ।

अब उनी यो कम्पनीमार्फत एउटा सन्देश दिने तरखरमा छन् । कम्पनी सानै होस्, आम्दानी सानै होस्, युवाले विदेश नगई यतै बसेर केही गर्न सक्छ भन्ने सन्देश दिन सक्दो प्रयास गरिरहेको उनी बताउँछन् ।

नयाँ दिल्लीको एउटा क्याफेमा काम गर्ने क्रममा दिवंगत निर्देशक राज कंवरका छोरा अभिनव कंवरले विजयलाई बलिउडमा आउन सुझाए । विजयका कलेजका साथी प्रशान्त बब्बरले समेत उनलाई फिल्म क्षेत्रमा जान उक्साइरहेका थिए । त्यसपछि विजयले होटल क्षेत्र छाडिदिए । र, मुम्बईमा गए । त्यहाँ पुगेपछि उनको करियर मोडियो ।

उनले अभिनयको तालिम लिए । थिएटरमा काम गरे । टेलिभिजन तथा फिल्म उद्योगमा काम गरे । अहिलेसम्म जलेबी, मन्नफोडगंज की बिन्नी, द चार्जशीट: इनोसेन्ट और गिल्टी र भ्याङओभर जस्ता बलिउड फिल्ममा उनले अभिनय गरिसकेका छन् ।

तर बलिउडको त्यो यात्रामा कोभिडले ब्रेक लगाइदियो ।

जब नेपाल फर्के

कोभिडका कारण उद्योग करिब ठप्प भए पछि अनि उनी आफ्नै देश फर्के । त्यही समयमा उनको विवाह पनि भयो । अनि उनले भारत नगई यतै बस्ने निर्णय गरे । नेपालमा बसिरहेको बखत उनी रोडिजको सिजन पाँचौमा समेत देखा परे । तर त्यहाँ उनीमाथि उक्लन सकेनन् । बरू नेपालमा एउटा ठूलो समस्या देखे । सवारी दुर्घटना । अझ दुर्घटनापछि परिवारसँग सम्पर्क नहुने समस्या । प्रहरीहरूले बिना जानकारी गाडी उठाउने समस्या ।

त्यसपछि ती समस्यालाई समाधान गर्ने उपाय खोज्नतिर लागे उनी । त्यही साहसले जन्माएको हो, एटीएस नेपाल । उनी आफैं फ्रन्टेन्ड डेभलप गर्थे । त्यसमा आफूलाई सहयोग गर्न उनले दुई जना डेभलपरलाई राखे । र, एप र प्रणाली तयार गरे । अहिले यो कम्पनी स्थापना भएको २ वर्ष भइसकेको छ । छोटो अवधिमा कम्पनीले उल्लेखनीय प्रगति हासिल गरेको विजय बताउँछन् ।

एटीएस नेपाल काठमाडौं महानगरपालिकाको स्टार्टअप इनोभेसन कार्यक्रममा छनोट भएको छ । आइडिया इनोभेसनमा उत्कृष्ट १५ मा परेको छ । आईटी अवार्डमा उत्कृष्ठ १२ मा परेको छ । अनि अहिले नै एन्जल इन्भेस्टसरलाई भित्र्याइसकेको छ । साथै, २६०० बढी ग्राहक समेत कम्पनीले पाइसकेको छ ।

विजयका अनुसार मुलत: अहिले यो कम्पनीले नेपालमा सडक दुर्घटनापछि उद्धार तथा सम्पर्क प्रणाली कमजोर भएकाले त्यसलाई समाधान गर्छ । त्यसका लागि ग्राहकले कम्पनीले दिने क्यूआर कोड आफ्नो सवारी साधनमा राख्नुपर्ने हुन्छ । जसमा अन्य व्यक्तिले स्क्यान गरे स्वत: सवारी धनीको आधारभूत विवरण देख्न सक्ने छन् । साथै, परिवारका सदस्यसँग सम्पर्क गर्न सक्नेछन् । त्यसो गर्दा सम्पर्क नम्बरहरू सबै गोप्य राखिन्छ ।

यसले सार्वजनिक सुरक्षा र जिम्मेवारी बढाउने विजयको भनाइ छ । हाललाई यो काम गर्न काठमाडौं महानगरपालिकासँग समन्वय गरिरहेको उनले सुनाए । यी बाहेक एटीएस नेपालको आईओएस र एन्ड्रोइड दुवैमा मोबाइल एप उपलब्ध छ । जसमा अन्य थप फिचर छन् ।

जस्तो: पार्किङ एरिया, पेट्रोल पम्प, स्पेयर पार्ट्स शप, सर्भिस सेन्टर कहाँ-कहाँ छन् भनेर प्रयोगकर्ताले हेर्न सक्छन् । त्यस्तै सडक दुर्घटना, वायुप्रदूषण अथवा ट्राफिक नियम उलंघनबारे प्रयोगकर्ताले एपबाट सोझै रिपोर्ट समेत गर्न सक्छन् । त्यसका लागि आफूहरूले ट्राफिक प्रहरीहरूसँग सहकार्य गरेको उनको भनाइ छ ।

हालै मात्र उनीहरूले एपमा नयाँ फिचर ल्याएका छन् । जसअनुसार अब अन्य व्यक्तिले बिनाइन्टरनेट, बिनाशुल्क क्यूआरमार्फत सवारी धनीलाई तुरुन्तै सम्पर्क गर्न सक्ने छन् । यसो हुनाले यो सुविधा दुर्गम ठाउँहरूमा समेत उपलब्ध हुने उनको भनाइ छ ।

कम्पनीको त्यस्तो फिचर प्रयोग गर्न भने ग्राहकहरूले क्यूआर कोड खरिद गर्नुपर्ने हुन्छ । कम्पनीले दिने हरेक क्यूआर कोड भिन्न हुन्छन् । त्यसरी प्राप्त हुने क्यूआर सवारी साधनमा टाँसिन्छ । यसैमा स्क्यान गरेर अन्य व्यक्तिले सवारी धनीलाई सम्पर्क गर्ने हुन् ।

कोभिडका कारण उद्योग करिब ठप्प भए पछि अनि उनी आफ्नै देश फर्के । त्यही समयमा उनको विवाह पनि भयो । अनि उनले भारत नगई यतै बस्ने निर्णय गरे ।

एक पटक खरिद गरेको क्यूआर कोड एक वर्ष मान्य हुने र अर्को पटकदेखि ग्राहकले वार्षिक रूपमा नवीकरण गर्न सक्ने उनले जानकारी दिए । यसको शुल्क दिनको एक रुपैयाँ भएको विजयले बताए ।

अब उनी यो कम्पनीमार्फत एउटा सन्देश दिने तरखरमा छन् । कम्पनी सानै होस्, आम्दानी सानै होस्, युवाले विदेश नगई यतै बसेर केही गर्न सक्छ भन्ने सन्देश दिन सक्दो प्रयास गरिरहेको उनी बताउँछन् । ‘सानो आम्दानीका लागि नेपाली युवा विदेश जानु नपरोस्, देशमै परिवारसँग बसेर काम गर्न सकियोस् भनेर म देखाउन चाहन्छु’ विजय भन्छन्, ‘समय लाग्ला, तर म यो गरेर देखाउँछु ।’

लेखक
सापेक्ष

सापेक्ष अनलाइनखबरमा कला, मनोरञ्जन विधामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?