News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल फुटबल क्लब एसोसिएसन र केटीएम सिटीबीच तीन वर्षे सहकार्य सम्झौता भएको छ।
- सम्झौताअनुसार राष्ट्रिय लिग खेल्ने आठ क्लबलाई फुटबल सामग्रीमा ५० प्रतिशत छुट दिइनेछ।
- एसोसिएसनका अध्यक्ष कर्मा छिरिङ शेर्पाले क्लबहरूलाई सहयोग पुर्याउने उद्देश्य रहेको बताए।
१४ पुस, काठमाडौं । नेपाल फुटबल क्लब एसोसिएसन (एनएफसीए) र खेलकुद एपरेल ब्रान्ड केटीएम सिटीबीच सहकार्यको सम्झौता भएको छ। उक्त सम्झौतामा एसोसिएसनका महासचिव उपेन्द्रमान सिंह र केटीएम सिटीका प्रतिनिधि (सीईओ) सबिन महतोले हस्ताक्षर गरेका हुन्।
सम्झौता हस्ताक्षर कार्यक्रममा एसोसिएसनका अध्यक्ष कर्मा छिरिङ शेर्पा्को उपस्थिति पनि रहेको थियो। अध्यक्ष कर्मा छिरिङ शेर्पाका अनुसार राष्ट्रिय लिगमा सहभागी हुने क्लबहरूलाई सहयोग पुर्याउने उद्देश्यले केटीएम सिटीसँग तीन वर्षको सम्झौता गरिएको हो।
यस सहकार्यबाट अन्य ब्रान्डसँग सम्झौता नभएका क्लबहरूलाई विशेष लाभ पुग्ने अध्यक्ष शेर्पाले बताए। केटीएम सिटीका सीईओ सबिन महतोले यो साझेदारीलाई एउटा महत्वपूर्ण उपलब्धिको रूपमा लिँदै एसोसिएसन मार्फत सबै डिभिजनका क्लबहरूलाई सस्तो मूल्यमा फुटबल सामग्री उपलब्ध गराउने उद्देश्य रहेको बताए।
सम्झौता अनुसार राष्ट्रिय लिग खेल्ने क्लबहरूले यो सुविधा पाउनेछन्। साथै, उपत्यका बाहिरका राष्ट्रिय लिग खेल्ने चार क्लबलाई पनि सहयोग गरिने बताइएको छ। कुल आठ वटा क्लबलाई सहयोग गर्ने लक्ष्य राखिएको अध्यक्ष शेर्पाले जानकारी दिए।
केटीएम सिटीले फुटबलका लागि आवश्यक जर्सी तथा सम्पूर्ण किटहरूमा ५० प्रतिशत छुट प्रदान गर्ने सबिन महतोले बताए।
नेपाल फुटबल क्लब एसोसिएसन नेपालका ए, बी र सी डिभिजनका क्लबहरूको साझा संस्था हो। दुई वर्षअघि स्थापना भएको यस संस्थामा हाल ३० वटा क्लब सदस्य रहेका छन्।
प्रतिक्रिया 4